आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको संवैधानिक अधिकार सुनिश्चित हुनुपर्छ: नेता महर

शुक्रबार, २३ साउन २०८२, १६ : ५१
शुक्रबार, २३ साउन २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको अधिकार समावेश गर्नुपर्नेमा जोड दिए।
  • उनले शिक्षाको गुणस्तर र विद्यार्थीको भविष्यलाई केन्द्रमा राख्नुपर्ने र बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने बताए।
  • महरले गरिब, निमुखा र विपन्न वर्गले पनि शिक्षाको अधिकार उपभोग गर्न सक्ने बनाउनुपर्ने र छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको अधिकार विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा समावेश हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनले आयोजना गरेको 'शिक्षा सरोकार तथा विमर्श' कार्यक्रममा बोल्दै उनले यो धारणा राखेका हुन्।

नेता महरले लामो समयदेखि प्रतीक्षामा रहेको विद्यालय शिक्षा विधेयक देशको शैक्षिक भविष्यका लागि गम्भीर चिन्तनको विषय भएको बताए। उनले नेपाली कांग्रेसको शिक्षा विभागले यसअघि नै संसदीय समितिलाई आफ्नो संस्थागत सुझाव बुझाइसकेको जानकारी दिँदै सरोकारवालाहरूसँगको छलफलपछि विधेयकलाई परिमार्जन गर्न कांग्रेसले पहल गरिरहेको प्रस्ट पारे।

शिक्षाको गुणस्तर र विद्यार्थीको भविष्यलाई सधैँ केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै महरले अधिकार मात्र खोज्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या निम्त्याएको तर्क गरे। उनले कर्तव्यबोधसहितको सुधार आवश्यक रहेको औँल्याए।

गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रको कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने धारणा पनि उनले दोहोर्‍याए। शिक्षकलाई निजामती कर्मचारीसरहको सेवा सुविधा, प्रधानाध्यापकको छुट्टै व्यवस्था, भौतिक पूर्वाधार र तालिममा राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ।

महरले संविधानले दिएका अधिकार गरिब, निमुखा र विपन्न वर्गले पनि उपभोग गर्न सक्ने किसिमको हुनुपर्नेमा जोड दिए। यसका साथै, कमजोर वर्गका जेहनदार विद्यार्थीका लागि छात्रवृत्तिअन्तर्गत आवासको व्यवस्था गर्नुपर्ने माग उठिरहेको सन्दर्भमा कांग्रेसले यस विषयमा गम्भीर छलफल गरिरहेको उनले बताए। शिक्षामा पहुँच र समानता सुनिश्चित गर्न यस्ता प्रावधान ऐनमै व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप