शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीलाई फेरि रोड्रीको चोटको धक्का

शनिबार, २४ साउन २०८२, १० : ५८
शनिबार, २४ साउन २०८२

सारांश

  • म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री सेप्टेम्बरसम्म पूर्ण रूपमा फिट नहुने भएका छन्, प्रशिक्षक पेप गार्डिओलाले जानकारी दिए।
  • क्लब वर्ल्ड कपमा चोटग्रस्त भएपछि रोड्री अल हिलालविरुद्धको खेलमा पुनः चोटिल भएका थिए।
  • रोड्रीको अनुपस्थितिमा सिटीले गत सिजन लिगमा संघर्ष गरेको थियो र यस सिजन पनि सुरुवाती खेलहरूमा उनी नखेल्ने सम्भावना छ।

म्यानचेस्टर। क्लब वर्ल्ड कपमा चोटग्रस्त बनेपछि म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर रोड्री कम्तिमा सेप्टेम्बरसम्म पूर्ण फिट नहुने भएका छन्। प्रशिक्षक पेप गार्डिओलाले यो जानकारी दिएका हुन्।

एसीएल चोटबाट पुनरागमन गर्दै क्लब वर्ल्ड कपमा खेलेका स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी अल हिलालविरुद्धको अन्तिम खेलमा पुनः चोटिल भएका थिए । गार्डिओलाका अनुसार उनले पछिल्ला केही दिनमा राम्रो प्रशिक्षण गरे पनि अहिले पूर्ण रूपमा खेल्न सक्ने अवस्थामा छैनन्।

‘रोड्रीको अवस्था सुधार हुँदैछ तर अल हिलालविरुद्धको खेलमा ठूलो चोट लागेको थियो,’ गार्डिओलाले पत्रकारलाई भने, ‘हामी आशा गर्छौं, अन्तर्राष्ट्रिय ब्रेकपछि उनी पूर्ण रूपमा फिट हुनेछन्। अहिलेका खेलहरूमा केही मिनेट खेलाउने योजना छ, तर सबभन्दा महत्त्वपूर्ण कुरा उनको शरीरमा पीडा नहोस् भन्ने हो, ताकि फेरि चोट नफर्कियोस्।’

गत सिजन रोड्रीको अनुपस्थितिमा सिटीले लिगमा संघर्ष गर्नुपरेको थियो । अन्ततः लिगमा तेस्रो स्थानमा सीमित रहँदै कुनै उपाधि जित्न सकेन। यो सिजन पनि उनी सुरुवाती खेलहरूमा नखेल्ने सम्भावना बढेसँगै, सिटीको सुरुवात चुनौतीपूर्ण हुने देखिन्छ।

सिटीको पहिलो खेल आउँदो साता वुल्भ्सविरुद्ध हुनेछ, जसमा रोड्रीको ठाउँमा तिज्जानी रेजिन्डर्स खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप