शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : महामन्त्री शर्मा

शनिबार, २४ साउन २०८२, ११ : ४९
शनिबार, २४ साउन २०८२

सारांश

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको निगरानी गर्ने सरकारको अधिकारबारे प्रश्न उठाए।
  • उनले सरकारले नागरिकको गोपनीयताको हक हनन गर्ने गरी कानुन बनाउन खोजेको आरोप लगाए।
  • विधेयकको मस्यौदामाथि उनले गम्भीर पुनर्विचार गर्नुपर्ने र जनतालाई स्पष्ट पार्नुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।  न्युज एजेन्सी नेपालसँग काठमाडौँमा कुराकानी गर्दै महामन्त्री शर्माले नागरिकमाथि शङ्का गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे ।

उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताए । सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ । 

नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने र  वदनियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनको तर्क छ । नेपालमा कानूनको दुरुपयोग र अपव्याख्या धेरै हुने हुँदा यस्ता कानुनहरू सत्ता र शक्तिमा बस्नेहरूले आफू अनुकूल प्रयोग गर्ने जोखिम रहेको महामन्त्री शर्माको भनाइ छ । 

उनले सरकारले जनतालाई स्पष्ट रूपमा भनेर मात्र यस्ता कानुनहरू निर्माण गर्नुपर्ने बताए । महामन्त्री शर्माले २०७६ केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यस्तै कानुन ल्याउन खोज्दा धेरै विरोध भएपछि अगाडि बढ्न नसकेको उल्लेख गर्दै अहिले पनि सोही व्यक्ति प्रधानमन्त्री हुँदा ल्याउन खोज्दा शङ्काको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘यस विधेयकमा मैले दिने प्रथम प्रतिक्रिया के हो भने यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढङ्गले व्यवहार गर्ने विषयमा दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेन्ड र ब्वाईफ्रेण्डको कुराकानीसम्म पनि सरकारको पहुँच देखियो । नेपालको संविधानले दिएको गोपनीयताको हक बमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो नि । यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ ।’ 

महामन्त्री शर्माले भने, ‘विधेयकका दफा र उपदफामा आएका कुराहरूमा सरकारको अभीष्ट के हो ? क्लियर गर्नुपर्छ । अहिले बच्चाको सम्बन्धमा कानुन बनाउँदा बहुविवाहसँग सम्बन्धित कानुन अनर्थ भयो नि त । त्यसैले यस विधेयकका सम्बन्धमा पार्टीको धारण के हो भने २०७६ सालमा यस्तै कानुन प्रस्तावित हुँदै गर्दा विरोध गर्दा बोलेको थिएँ । अहिले फेरि त्यही चिजलाई नयाँ कागजमा टाइप गरेर प्रस्तावित गरेको छ । यसमा गम्भीर पुनर्विचार गर्नुपर्छ । संविधान प्रतिकूल व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप पुग्ने गरी सरकारले गर्ने कार्य बिल्कुलै स्वीकार्य हुँदैन । व्यक्तिको गोपनीयताको हकको सन्दर्भमा सरकारले व्यक्तिको आँगनसम्म पुग्ने हो व्यक्तिको बेडरुमसम्म होइन ।’

सरकारले मस्यौदा गरेको यो विधेयकले नेपालको संविधानको धारा १८ ले दिएको गोपनीयताको हक नै हनन गर्ने भन्दै चौतर्फी विरोध भइरहेको छ । -न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप