भेरीका छालहरू
सारांश
- सुर्खेतबाट पश्चिमको यात्रामा लेखकले दुर्गम भेगका जनताको दुःख र पीडाको वर्णन गरेका छन्।
- लेखकले गाउँलेहरूको इमान्दारिता र सोझोपनाको प्रशंसा गर्दै उनीहरू ठगिएकोमा चिन्ता व्यक्त गरेका छन्।
- भेरी र कर्णाली नदीको संगमस्थलको भ्रमण र तिनको महत्वबारे लेखकले प्रकाश पारेका छन्।
२०७९ भदौ २५ गते । झिसमिमेमै सुर्खेतको वीरेन्द्रनगरबाट पश्चिम हानिएका हामी बड्डीचौर हुँदै पञ्चपुरी पुग्यौँ । पञ्चपुरी नगरपालिकाका बरेङ, बराइचे, चौर र जाजुरादह गाउँ डुल्यौँ । त्यसपछि तिखाकुना खोला तरेर नार्सीगाउँ पुग्यौँ ।
ती गाउँका दारुण कथाले यसरी पोल्यो कि होसै हरायो मेरो । मेरो हृदयमा लागेको गहिरो चोट देखेर भेरी रोयो, पहाडहरू स्तब्ध भए, आकाश उदास देखियो । जहाँ पुगे पनि अशिक्षा, गरिबी, अव्यवस्था र बेथितिको बिगबिगी रहेछ । हरेक विकृतिले निमुखाहरूको सामुन्ने सुरसाको जत्रो मुख बाएको रहेछ ।
गाउँलेका नामबाट किर्ते गरेर कसैले लाखौँ कुम्ल्याएको भन्ने गुनासो थियो । गाउँलेका खुम्चिएको कागजजस्ता अनुहार हेर्छु, तिनको सोझोपना र सत्य वचन सुन्छु । इमानदारको पक्ष लिँदा पनि मनमा ठेस लागेझैँ हुन्छ । छट्टुको बथानमा इमानदारी पनि अभिशाप पो हुँदो रहेछ, इमानदार पनि बेकम्मा ठहरिँदो रहेछ । जीवनमा पहिलोपटक सोझा गाउँलेलाई धिक्कारेँ मैले । कसैले मिठो बोलेर सस्तैमा बेचेछ उनीहरूलाई । राज्यले दिएको अनुदान हात नपर्दै बिचबाटोमै डकैती भएछ ।
‘यी गाउँलेहरूलाई सचेतनासहितको नागरिक शिक्षा देऊ !’ कसलाई सम्बोधन गरुँ र यो सुझाव निर्धक्क राखुँ मैले ? म अलमलिएँ । मैले कसैलाई सोझै सम्बोधन गर्ने हैसियत राख्दिनँ सायद । म बेस्सरी घोत्लिएँ, यस्ता आदेश त सम्माननीय र माननीयले पो दिनुपर्ने हो !
सही उपाय पहिल्याएर सुझाउ दिँदा त फरक पर्दैन होला ! म पनि सच्चा नागरिक हुँ यो देशको । नियामकीय दायित्व बोकेको प्रतिनिधि पनि हुँ म यतिखेर ।
परिस्थितिका कसीमा विचारका घाउहरू घोटिरहेँ मैले । भर्खरै कुनै आकार नलिए पनि खारिँदै जाँदा एक दिन अवश्य काम लाग्लान् यी । कसैले नचलाई थन्क्याए पनि कच्चा पदार्थमा त गणना होलान् ।
मैले मेरा चह¥याइरहेका घाउ मुसारेँ । अजिङ्गरले आधा निलेको सिकारजस्ता भएका गाउँले पनि हातखुट्टा चलमलाइरहेथे ।
हो, जीवन गतिशील बन्न स्नायुमा तरङ्ग आउनुपछ; त्यसको झङ्कार मस्तिष्कमा सुनिनुपर्छ; नसा र तन्तुमा ऊर्जा थपिनुपर्छ अनि पाइला उचालिनुपर्छ; मुठी कसिनुपर्छ; कम्मर दरिनुपर्छ । त्यसैले त हजुरहरूले सिकाएका आस्था र उपदेशका मन्त्रहरू जपिरहेछु मैले ।
मैले आमालाई सम्झेँ, जन्मभूमिलाई सम्झेँ अनि ती भर्खरै धिक्कारेका सोझा गाउँलेहरूलाई पनि सम्झिरहेँ ।
जसको सर्वस्व लुटिएको छ, उसैलाई दुःख दिइरहेकाहरूलाई भने बिर्सन चाहेर पनि सम्झिएँ बारम्बार । सम्झन चाहेर सम्झनु र बिर्सन खोज्दा बाध्यताले सम्झनुको बिचमा कत्रो भेद रहेछ ? तामाको मुनाझैँ मनमा पलाएको माया र जङ्गली च्याउको विषालु ढुसीजस्तो घृणाबिच कत्रो फरक रहेछ ? राम्ररी अनुभूत भयो आज ।
मन अमिलो पार्दै दिनभर सँगै बसेका नार्सीवासीसँग बिदा भयौँ हामी । उनीहरूको अनुहारमा अझै पनि देखिन्थ्यो मिठो बोलेर ठग्नेहरूप्रतिको आक्रोश !
‘हामीले मासुभात खाएकै होइनौँ । कुनै होटलमा बास बसेर तालिम लिएकै होइनौँ । आतेजाते भत्ता पनि बुझेनौँ हामीले । हाम्रै आँगनमा केहीबेर छलफल भयो । सरहरूले राम्रा कुरा सुनाउनुभयो । सरहरूलाई देउतै ठान्यौँ । धाइरहने सरहरू अचेल आउनै छोड्नुभयो । बल्ल पो बुझियो रहस्य !’
गाउँलेहरूले खुलस्त बोलेका ती भनाइ प्रतिध्वनित भइरहेछन् कानमा । विचारको तुफान मच्चाउँदै ती हरेक शब्द कतुवाझैँ नाचिरहेछन् मनमा । छेउमै भेरी नमिठो स्वर उरालेर बगिरहेथ्यो त्यतिबेला ।
निर्धारित काम सकिएपछि भेरी र कर्णालीको सङ्गम हेर्दै फर्कन लाग्यौँ हामी । अनि नार्सीगाउँबाट दक्षिण पश्चिम हानियौँ । आ–आफ्ना दुनियाँका कहर र विरह बोकेर आए पनि अनायास जम्काभेट हुँदा त निकै उत्फुल्ल हुँदा हुन् यी नदी । भेरी र कर्णालीको मिलन कल्पँदै उत्साहित छु घरीघरी म । कर्णाली भेट्न कुदिरहेको भेरी पनि सँगै छ समानान्तर ।
वरपर विशाल फाँटहरू छन्; खेतका गरा र सिमला भित्ता छन्; भित्तामा सजाएका चित्रझैँ देखिन्छन् चिटिक्कका थुम्काहरू; क्षितिजका वनेली पहाडहरू उस्तै । एउटै पहाडमुन्तिर फाँट, खोला र वन–जङ्गल भएपछि के कमी रहन्छ र प्रकृतिमा ?
बाटोभन्दा मन कुदिरहेछ बेसरी । सन्धाकालीन सयरले खुसी बढिरहेछ चौगुना । आहा ! क्या गज्जब यात्रा शीतल पथको, क्या सुन्दर दृश्य नदी तटको । यी फूलबारीजस्ता बस्ती, सरल गाउँले, अर्गानिक खेतिपाती, आँगनमै पुग्ने बाटाघाटाहरू । घना छाया झार्ने आँपका रूख उस्तै । घर, गोठ, आँगन र गाइभैँसीका भकारा उस्तै । स्वर्गभन्दा के कम छ र यो ठाउँ ?
अलिकति समय घर्कियो र पो ! नत्र रमाउँदै कति डुल्दो हो यो मन ? यी हरिया मकैबारी देखेर कतिपटक बाल्यकालसम्म पुग्दो हो ! आफ्नो लागे हरेक पाइलामा टेकिन्छ माया । माया भए बिरानो पनि लाग्छ आफन्त । मिठो बोलीले जोडिएका छन् कैयौँ नेपाली मनहरू ।
गाउँलेका नामबाट किर्ते गरेर कसैले लाखौँ कुम्ल्याएको भन्ने गुनासो थियो । गाउँलेका खुम्चिएको कागजजस्ता अनुहार हेर्छु, तिनको सोझोपना र सत्य वचन सुन्छु । इमानदारको पक्ष लिँदा पनि मनमा ठेस लागेझैँ हुन्छ । छट्टुको बथानमा इमानदारी पनि अभिशाप पो हुँदो रहेछ, इमानदार पनि बेकम्मा ठहरिँदो रहेछ ।
खोला छेवैमा स्कुल देखियो । अलिक चस्कियो छाती । मिठो गासमा दर्शनढुङ्गा लागेझैँ भयो । रमाइलो यात्रामा अनायास ठेस लागेझैँ भयो । प्रायः यस्तै अफालिएको जग्गामा देखिन्छन् सरकारी स्कुलहरू ।
दिनभरको भोकप्यास स्याउका दानासँग साट्न थाल्छौँ हामी । स्याउ राखेकै प्लास्टिकमा पानी हालेर बेस्सरी हल्लाउनुहुन्छ याम थापा । स्याउ धुने गजब काइदा रहेछ यो । स्याउ बाँड्दा सहयात्रीतिर तानियो ध्यान । मेरो साथमा हुनुहुन्छ— गोपालकृष्ण खर्बुजा, निरोज दाहाल, कुशल नेपाली र धर्मराज पुरी ।
रात्रिको कालो छाया मसँगै दगुरिरहेछ । छेउको काठेघर, गोठ, गाईवस्तु र केटाकेटीका आकृति भने ठम्याउन सकेकै छु अझै । पहाडलाई अँध्यारोले निल्दै गए पनि मन उज्यालै छ, भेरीको जल उज्यालै छ । भेरी हार मान्दैन । अँध्यारो बगाउँदै लैजान्छ भेरी । फोहोर बढार्दै लैजान्छ भेरी । आफूलाई निर्मल राख्न मान्छेले हातगोडाझैँ असंख्य छालहरू छचल्काइरहन्छ यो । भेरीलाई देखेर मेरो छाती पनि गर्वले विशाल भएको छ ।
गोधुलीको चकमन्नता छ, सर्वत्र छाएको छ सन्नाटा । उज्यालो हराउनुपूर्वको सन्नाटा हो यो । हामी बिचमा पनि छिरिसकेको छ, अलिकति सन्नाटा ।
सहयात्रीसँग मन नखोली नखोली पनि हुन्छ र यात्रा ? गाउँबस्तीसँग नबोली नबोली पनि हुन्छ र यात्रा ? यात्राविना अधुरा रहन्छन् जीवनका हरेक अध्याय । हरेक पाइलाबाट सुरु हुन्छन्, जीवनका सम्भावनाहरू । यात्रा त सर्वव्यापी र अवश्यम्भावी छ । कहिले सहयात्रीसँग कहिले एक्लै हुन्छ यात्रा । कहिले परिवेश र दृश्यसँग मौन संवादमै दगुर्छ यो । भिड बिचमा पनि एक्लिएर हिँडेका अनेकौँ पल सम्झिन्छु म !

भेरी किनारमा काँस फुल्यो । झ्याउँकिरीको कर्कश सङ्गीत गुञ्जियो त्यहीँ । साँच्चै, झ्याउँकिरी किन रुन्छ यतिसारो । किन रुन्छ त्यो वनै थर्किने गरी, मनै धर्किने गरी ? सायद सोच्दो हो— छाती चर्किने गरी रुँदा हराउँछ मनको वेदना र बिलाउँछ रात्रिको अन्धकार । पन्छिन्छ सन्नाटा र उदासी तर किनकिन झ्याउँकिरीको रुवाइ र भेरीको सुसाइ सुनेर हतप्रभ भएको छु म यतिखेर । रुनु कि हाँस्नु भएको छु ।
फेरि सम्झाउँछु, आफैँलाई— म कमजोर भएँ छिचोलिनेछैनन् भेरी र कर्णालीका यी अक्करे भिरहरू । तरिनेछैनन् दुःखका सागरजस्ता अनगिन्ती छाल र जँघारहरू । भेरी र कर्णालीले फुटाएका पहराका चेप समात्दै बाटो पहिल्याउनुछ । आफूलाई सुरक्षित राख्दै पार गर्नुछ, विकटताले भरिएका दुर्गमै दुर्गम, अनि पो सुगम हुनेछ जीवन । सिस्नु समातेर खस्न जोगिएका भिर र काँडाघारी टेकेर उभिएका पाइलाको शक्ति अनुभूत हुनेछ अन्तस्करणमा । साहसको सौन्दर्यले उज्यालिनेछ हृदय ।
उहिले साथीहरूले काठमाडौँमा मेरो नाम संक्षिप्त पार्दै मलाई पनि ‘भेरी’ भनेर बोलाउँथे । कस्तो संयोग, अहिले मेरो पर्याय भेरी भएको छ । मेरो यात्रा भेरी, मेरो वास भेरी, मेरो बिहान भेरी, मेरो साँझ भेरी । भेरी छ र म छु । फरक यति छ, म नभए पनि भेरी भने रहिरहनेछ । यसरी नै शान्त छालहरूसँग लहरिँदै र हेलिँदै निष्फिक्री बगिरहनेछ युगौँयुग । मान्छेका मनहरूलाई सिञ्चित गर्दै हुर्काइरहनेछ सरसता, शीतलता र खुसी । सभ्यताको अर्को नाम नदी । नदीको सुन्दर सन्तान भेरी ।
म अचम्मित छु, नाम पनि कर्मसँग जोडिएको पो हुँदो रहेछ । म भाग्यमानी पनि छु । भेरी र कर्णालीका छालहरू छुन पाएको छु । भेरी र कर्णालीको पानीले मन धुन पाएको छु । मन फुकाएर दगुर्न पाएको छु ।
फेरि सोच्छु, भेरीको नाम धारण गरेर मात्र के गर्नु ? काम पनि भेरीले जस्तै गर्न पाए पो ! साँच्चै भनुँ भने भेरीको निरपेक्षता र निष्पक्षताप्रति अघोरै तानिएको छु म ।
मान्छेलाई नारायणी, गण्डकी, सेती, काली आदि नामले पुकारिन्छ तर भेरी कर्णाली भनेको सुनेको छैन । म पनि लाजले खुम्चिन्छु र साथीहरूसँग माफी माग्छु, स्वच्छ कर्णालीको सपना देखेर निकै लखेटिएको हुँ । त्यसैले कुत्सित स्वार्थहरूसँग लडिरहेँ म निरन्तर । तथापि म कर्णालीमा समाहित भेरी हुन सकिनँ । बिन्ती छ, मलाई अब भेरी नभिदिनुस् !
‘अब त आइपुग्नुपर्ने होइन र गन्तव्य ?’ अँध्यारोसँग डराए जसरी सुस्तरी बोल्छौँ हामी ।
‘अब दश मिनट लाग्ला !’ पथप्रदर्शक धर्मराज पनि बोल्नुभएथ्यो उसरी नै ।
जुनेली उज्यालोमा देखियो, गोरुको जुरो ठडिएको जस्तो डाँडो । त्यसको स्वरूप र सौन्दर्य अद्भुत देखियो । मैले त्यसको नामै गोरुजुरे राखिदिएँ । भेरीसँग कदम मिलाउँदै गोरुजुरे दक्षिणै दक्षिण हानिएको छ । प्रकृतिसँग लट्ठिँदा गल्फा र तातापानीगाउँ कति बेला छाडिए थाहै भएन । गाउँका मधुरा बत्तीपल्तिर उभियो तप्तबहादुर विष्टको सुकिलो सालिक । पार्कछेउबाट बाटो ओर्लियो र भेरी त¥यो । अनि चौकुनेको घाटगाउँ टेकियो । बाटो खोबिल्टिँदा मन धर्मराउँछ । बस्ती देखिए पनि न मान्छेको आवाज छ न उपस्थिति । नदीको सुसाइ र जङ्गलको एकलास त छँदै थियो । अँध्यारो बस्तीमा झन् थपिएको छ भयानकता । यी सबै एकैपटक सामना गर्न कति कठिन भएको होला, यहाँका मान्छेहरूलाई ?
‘पारिपट्टि कैलालीको मोहन्याल र पञ्चपुरीकै कुइने !’ धर्मको यो जानकारीले पनि छैन कसैमा उत्साह । अँध्यारोमा चोबलिएर आएका शब्दले केबल दिन्छन् थकान र निराशा । दुर्गमका सङ्घर्षका कथाहरू त सुबिस्ताको सुगमलाई पो चाखलाग्दो हो ।
हर्न बज्यो घाटगाउँको शिव मन्दिर गेटमा । प्रत्युत्तरमा सुसायो नदी र अट्टहास ग¥यो रातको साम्राज्य । अनि गाडीबाट झरेर आफैँ गेट खोल्नुभयो कुशल ।
मन्दिर परिसर पार गरेर ओर्लियौँ दोभानमा । अलि पल्तिर रातको नीरवतामा फैलियो जामुकुइने । आफूले नदेखेको आफैँभित्रको अँध्यारो जस्तो भएर पो भेटियो भेरी र कर्णालीको दोभान ।
‘हामीले मासुभात खाएकै होइनौँ । कुनै होटलमा बास बसेर तालिम लिएकै होइनौँ । आतेजाते भत्ता पनि बुझेनौँ हामीले । हाम्रै आँगनमा केहीबेर छलफल भयो । सरहरूले राम्रा कुरा सुनाउनुभयो । सरहरूलाई देउतै ठान्यौँ । धाइरहने सरहरू अचेल आउनै छोड्नुभयो । बल्ल पो बुझियो रहस्य !’
उत्तरबाट वेग हान्दै आएको छ कर्णाली । पूर्वबाट फाल हाल्दै आइपुगेको छ भेरी । कर्णालीमा समाहित भयो भेरी । यही अपूर्व मिलनका लागि हुनुपर्छ भेरीको सुसेली र कर्णालीको गडगडाहट । कैलाशबाट आइपुगेको कर्णाली र डोल्पाली भूमिबाट आइपुगेको भेरीले आहा कसरी अङ्कमाल गरेका ? सेती, बुढीगंगा, हुम्ला कर्णाली, मुगु कर्णाली, हिमा र तिलालाई साथमा लिएर आएको कर्णालीले भेरीलाई पनि आफ्नो बनायो । अनि गंगा भेट्न कुदिहाल्यो हतारहतार । चिसापानी त क्षणभरमै पुग्दो हो कर्णाली ।
भेरीका अनेक घाट तरेको र कर्णालीका किनार डुलेको सम्झना जीवन्त बन्यो । मेरा आँखामा पनि हर्षका आँसु उर्ले । क्षितिजलाई साक्षी राखेर एकाकार भएका यी विशाल नदीको मिलन दिनको उज्यालोमा हेर्न पाएको भए ! तैपनि केही छैन । दिनमा कर्णाली त सबैले देख्छन्, रातको कर्णाली हेरेँ मैले । सलल बग्ने भेरीका शान्त छालजस्तै अश्रुधारा गुडिरहे मेरा परेलीका डिलमुन्तिर पनि ।
हातेमालो गर्दै दोभानको बगरमा चारपाइला सँगै हिँड्यौँ हामी । भेरी कर्णालीका आवाज सुन्यौँ । तिनका दुःख देख्न र पर्गेल्न त कहाँ सक्नु ? तैपनि जुनेलीको आँखीझ्यालबाट बेस्सरी आँखा तान्यौँ । नजिक पुगेर कान थाप्यौँ । दुर्गमको विकटता त बगाउन सक्दैनन् भेरी कर्णाली । दुर्गमका चित्कार भने साथै ल्याएका रहेछन् । अविरल सुसाइरहेछन्— विकटता, गरिबी र वेदनाका सुस्केराहरू ।
जून पनि आकाशबाट ओर्लेर पृथ्वी नजिक आइपुगी । हाम्रो साउती सुन्दै मुस्कुराई । भोलिको पूर्णिमामा सजिन अनुहार बाटुलो पारिसकेकी रहिछ । दिनदिनै अनुहार सिँगारेर मान्छेको माया बटुल्न खप्पिस छे ऊ । हुन पनि यस्तो उज्यालो अनुहार औँसीको आकाशमा लुकाएर के काम ?
भेरी र कर्णालीका जलमा नुहाएर त यति सुन्दर हुँदी हो जून ! घरी भेरी कर्णालीका छालहरू त घरी मोहिनी जून हेरिरहेँ मैले । सत्ते, जूनको छल र नदीका छाल हेर्दा आफूलाई पनि बिर्सिंदो रहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण