बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सिजन श्रेष्ठलाई नौ प्रश्न

‘भड्किला कभर भएका पुस्तकको बिक्री–वितरण बढिरहेको देखिन्छ’

शनिबार, २४ साउन २०८२, १८ : ००
शनिबार, २४ साउन २०८२

सङ्खुवासभाका सिजन श्रेष्ठको एकल र संयुक्त गरी पाँच कृति प्रकाशित छन्— ‘मकालुको मुस्कान’ (संयुक्त गजलसङ्ग्रह, २०६९), ‘एकात्म’ (संयुक्त कवितासङ्ग्रह, २०७३), ‘सुन्दरहरैँचा दर्पण’ (संयुक्त कवितासङ्ग्रह, २०७८), ‘हावामा अल्झिएको स्वर’ (कवितासङ्ग्रह, २०८१), ‘सुनौलो जून’ (संयुक्त हाइकुसङ्ग्रह, २०८२) । 

फाट्टफुट्ट रूपमा निबन्ध, कथा र लघुकथा पनि लेख्ने श्रेष्ठलाई हामीले रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा निम्त्याएका छौँ ।

१) तपाईंले किन लेख्नुहुन्छ ?

१० वर्षको कलिलो उमेर (२०५९ साल) देखि नै मैले साहित्य लेख्न थालेको हुँ । त्यस हिसाबले साहित्य लेखनको क्षेत्रमा निरन्तर क्रियाशील रहेको २२ वर्षभन्दा बढी भएछ । पहिले म ज्यादै अन्तर्मुखी स्वभावको थिएँ । त्यसैले सुरु–सुरुमा मेरो मनको अन्तरतहमा बाक्लै जमेर बसेका नितान्त व्यक्तिगत कुरालाई अभिव्यक्त गर्न लेख्न थालेँ । कालान्तरमा लेखनको त्यो उद्देश्य परिवर्तन भइसकेको छ ।

समाज र राष्ट्र परिवर्तनका लागि लेख्ने अन्य थुप्रै कवि–लेखक हुनुहुन्छ । त्यसैले समाज या राष्ट्र परिवर्तनका लागि भनेर मैले कहिल्यै लेखिनँ । मेरा रचनाहरू कुनै निश्चित सामाजिक उद्देश्य वा राष्ट्रिय उद्देश्यका लागि उपयोग भए भने त्यो बेग्लै कुरा हो । कुनै विशेष मुद्दा, आन्दोलन, राजनीतिक परिवर्तन र क्रान्तिका लागि पनि मैले कहिल्यै लेखिनँ । मानिसमा अन्तर्निहित ज्ञान, बुद्धि, विवेक, तर्क, क्षमता, कल्पनाशीलता र अनुभव इतिहासको गर्तमा हराएर जान्छन्, उसको नश्वर शरीर अलप भएसँगै । म आफू स्मृतिको गर्तमा यत्तिकै हराएर नजाउँ भन्नका खातिर लेख्ने गर्दछु । संसारमा छरिएर रहेका विशद सौन्दर्यका झिल्कालाई धर्ती, आकाश र सारा चराचर जगत्मा फिँजाउनका लागि म लेख्ने गर्दछु ।

शब्दहरूमार्फत सपनाको प्रेम, प्रेमको सपना र सपनाको सपना साकार गर्न म लेख्छु । म नभए पनि साहित्यको अस्तित्व रहिरहन्छ तर साहित्यकै कारण मेरो अस्तित्व छ । त्यसैले म आफू हुनुको अनुभूति वा अस्तित्वबोधको अनुभूतिका कारण लेख्छु । यो संसार यहाँसम्म आइपुगेको मानिसले सपना देखेरै हो । स्वप्नदर्शी मानिसहरू मलाई सदासर्वदा मन पर्छन् । तिनै स्वप्नदर्शी मानिसको पङ्क्तिमा आफूलाई उभ्याउनका लागि म लेख्छु । विभिन्न काल, परिस्थिति, वातावरण र परिवेशका क्षणहरूमा हराएको म आफैँलाई खोज्नका लागि लेख्छु । आत्मचिन्तन र आत्मबोधका लागि म लेख्छु । कविताका रोशनीहरू भरेर आफ्नो आत्मालाई अझै चम्किलो बनाउन सक्छु कि वा लेख्दालेख्दै कतै आफ्नै आत्माको ज्योति भेटाउँछु भन्ने लालसाले म लेख्छु । आत्मामा वर्षौंदेखि तैरिँदै–उत्रिँदै फेरि तैरिँदै गरेका ज्ञान, अनुभव र कल्पनाको उद्बोधनका लागि म लेख्छु ।

पूर्वीय दर्शनका अनुसार खाली ठाउँ दिनु आकाशको धर्म हो, तातो पार्नु वा उज्यालो दिनु सूर्यको धर्म हो, चिसो पार्नु वा भिजाउनु पानीको धर्म हो, पृथ्वीको धर्म धारण गर्नु हो, हावाको धर्म प्राण सञ्चार गर्नु हो, त्यस्तै मानिसको धर्म सद्गुण हो । लेखेर सद्गुणी बन्न सकिन्छ भन्ने गहिरो बोध भएर म लेख्ने गर्दछु ।

त्यसो त नलेख्दा पनि हुने कारणहरू धेरै छन् तर अहिलेसम्म नलेख्नुपर्ने एउटा पनि कारण नभेटेर म निरन्तर लेखिरहेको छु ।

नेपाली बजारमा सस्ता साहित्य ज्यादा बिक्री भइरहेका कारण मेरो नजरमा खासखास साहित्यिक किताब अहिले पनि चर्चाको घेराभन्दा बाहिर छन् । अहिलेका साहित्यिक सभा र सम्मेलनहरूमा साहित्यभन्दा ज्यादा साहित्यइतरका विषयमा बहस भइरहेको देखिन्छ ।

२) अन्तिमपटक कुन कृति पढ्नुभएको थियो, त्यो कृति कस्तो थियो ?

कवितालाई ज्यादा प्रेम गर्ने भएका कारण पनि होला म संख्यात्मक रूपमा ज्यादा कविताका किताब पढ्न रुचाउँछु । त्यसो त पढ्दापढ्दै अधुरै छाडेका पुस्तक धेरै छन् तर पछिल्लो समय मैले पूरै पढेको कृति हो, कवि कृष्णभूषण बलको ‘नदीकिनाराको पूर्णिमा’ । भूषणका तीन कृति ‘भोलि बास्ने बिहान’, ‘बाँकी कविताहरू’ र ‘दाज्यू तिम्रो हात चाहिन्छ’ को एकमुष्ट सङ्कलन हो यो पुस्तक । यो पुस्तक मलाई विराट वाङ्मय उत्सव २०८२ मा उपहारस्वरूप प्राप्त भएको थियो ।

लामो पैताला भएको पदयात्रीले लामा लामा पाइलाहरू चालेर हिँडेजस्तो निकै लामा लामा हरफहरू भएका उनका कविताहरूमा शिल्पगत र शैलीगत नवीनता भएका कारण पढ्दा बेग्लै आनन्दको अनुभूति सञ्चार हुन्छ । गर्मी मौसममा दह, पोखरी, झिल वा खोला किनारका वरिपरि खेलिरहेका बालकहरू पौडी खेल्न जसरी झ्वाम्मै हाम्फाल्छन् त्यसै गरी बलका कविताहरूको किनारमा बसेर पढ्दै गएपछि तिनीहरूले अनुभूतिको गहिरो दहमा झ्वाम्मै हामफाल्न बाध्य तुल्याउँछन् । माथि पहरोबाट एकनासले खसिरहेको झरना वा पहाडी खोँचहरूमा बग्ने खोलाको जस्तो अनुभूतिको तीव्र वेग छ उनका कविताहरूमा । उनका कविताहरू निकै उपल्लो रेन्जका छन् । बाँचुन्जेल मोफसलमा साहित्य साधना गरेका कवि बल मोफसलमा रहेर पनि राजधानीलाई हल्लाउन सक्ने सामर्थ्य भएका भव्य कवि थिए । उनको कविता ‘काठमाण्डू एक्लैले काठमाण्डू बोक्न सक्दैन’ त्यसैको दरिलो प्रमाण हो । आफ्ना कविताहरूमा उनी बलियो विद्रोही चेतसहित खडा भएका छन् । अधिकांश कवितामा कवि बल समयलाई पक्डेर बेस्सरी दगुरिरहेका भेटिन्छन् । उनका कविताहरूमा तामाङ सेलोमा पाइने सुमधुर र मन्त्रमुग्ध सङ्गीतको लय पाउन सकिन्छ । उनी जीवितै छँदा विभिन्न साहित्यिक गोष्ठी, सम्मेलन तथा कार्यक्रमहरूमा उनलाई मैले पटकपटक भेट्न पाएँ । अहिले त्यो क्षण सम्झिँदा ‘म निकै सौभाग्यशाली व्यक्ति रहेछु, जीवनमा त्यति अग्लो कविलाई भेट्ने अवसर पाएको थिएँ’ भन्ने लाग्छ ।

३) पछिल्लो समय नेपालको साहित्यको बजार र बहस कस्तो पाउनुहुन्छ ? 

नेपाली साहित्यको बजार त्यति ठुलो छैन । पहिलेको तुलनामा विस्तार भने भएकै छ । केही लोकप्रिय पुस्तक देशैभर उपलब्ध भए पनि अन्य धेरै पुस्तक खोज्दा बजारमा पाइँदैनन् । नेपाली साहित्यको बजार अहिले पनि राजधानी केन्द्रित छ । आफ्नो अध्ययन र अनुसन्धानका लागि खोजी गरेका थुप्रै किताब पूर्वको बजारमा नपाएर म आफैँले पनि काठमाडौँबाट मगाउने गरेको छु । अनलाइनमार्फत किताब (प्रिन्टेड भर्सन र ई–बुक दुवै) किन्न पाइने हुनाले अलिक सहज त भएको छ तर दूरदराजसम्म त्यसको पनि सहज पहुँच छैन । नेपालमा नाम चलेका एकाध प्रकाशन गृहहरू छन् । तिनले राम्रा पुस्तक प्रकाशन गरेर देशैभर बिक्री–वितरण समेत गरिरहेका छन् तर अन्य थुप्रै प्रकाशन गृहहरूको पहुँच राजधानीमै सीमित छ । अझ भन्नुपर्दा केही प्रकाशन गृहहरूको पहुँच त झन् राजधानीका दुई–चारवटा पुस्तक पसलहरूमा भन्दा ज्यादा छैन ।

साहित्यिक गोष्ठी, सभा र सम्मेलनहरूमा जाँदा नेपालमा प्रत्येक घरमा कवि, लेखक छन् कि के हो जस्तो लागे पनि वास्तविकतामा राम्रो लेख्ने कवि, लेखकहरू अझै पनि औँलामा गन्न सकिन्छ । पहिला पहिलाका लेखकलाई छापिनका लागि स्तरीय लेख्नैपर्ने बाध्यता थियो । अहिलेका कवि, लेखकहरूमा साधनाको कमी छ । आज लेख्ने, भोलि छाप्ने र पर्सि नै बजारमा पुर्‍याएर हिट हुनुपर्ने हुटहुटी कतिपयमा देखिन्छ । यस्तो प्रवृत्तिले नेपाली साहित्यको भण्डारमा संख्यात्मक वृद्धि त होला तर नेपाली साहित्यको गुणात्मक अभिवृद्धि वा श्रीवृद्धिमा अलिकता पनि योगदान गर्छ जस्तो मलाई लाग्दैन । अर्को कुरा नेपाली पुस्तकहरूमा असल सम्पादनको ठुलो खडेरी छ । पुस्तकहरूमा असंख्य भाषिक, व्याकरणिक त्रुटिहरू भेटिन्छन् । त्यसले पक्कै पनि पठनमा समस्या निम्त्याउँछ ।

Sijan Stha Photo

वर्तमान बजारशास्त्रले साहित्यलाई पनि फगत एउटा कमोडिटीका रूपमा हेर्छ । विख्यात भनाइ छ– गाता हेरेर किताबको मूल्याङ्कन नगर । अहिले नेपाली बजारमा भड्किला कभर भएका पुस्तकहरूको बिक्री–वितरण बढिरहेको देखिन्छ । त्यस्ता पुस्तकमा पढ्नैपर्ने गतिला विषयवस्तु भने केही हुँदैनन् । नेपाली बजारमा सस्ता साहित्य ज्यादा बिक्री भइरहेका कारण मेरो नजरमा खासखास साहित्यिक किताब अहिले पनि चर्चाको घेराभन्दा बाहिर छन् । अहिलेका साहित्यिक सभा र सम्मेलनहरूमा साहित्यभन्दा ज्यादा साहित्यइतरका विषयमा बहस भइरहेको देखिन्छ । नेपालका चोक, गल्ली र बजारहरूमा अझै पनि साहित्यको भन्दा जोक्सको बारेमा ज्यादा चर्चा, परिचर्चा र बहस भएको सुन्न पाइन्छ । नेपाली कवि, लेखक र साहित्यप्रेमी पाठकका निम्ति पक्कै पनि यो दुःखको कुरा हो ।

अहिले तपाईंले मलाई पाँच वा दशवटा उत्कृष्ट नेपाली पुस्तकको सूची माग्नुभयो भने पचासको दशकभन्दा अगाडिकै कृतिलाई मैले नाम लिन्छु । अन्य अधिकांश कवि–लेखकको अन्तर्वार्ता हेर्दा, पढ्दा वा सुन्दा पनि म त्यही पाउँछु । यसको मतलब समकालीन नेपाली साहित्य जति समृद्ध हुनुपर्ने हो त्यति भएको देखिँदैन । विश्व साहित्यको हालको अवस्थालाई मध्यनजर गर्दै नेपाली कवि–लेखक, प्रकाशन गृह र बजारको हालको अवस्था हेर्ने हो भने नेपाली साहित्यको गुणात्मक विकास हुन अझै धेरै समय लाग्छ ।

४) यहाँको बुझाइमा कविता के हो ? कविता लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ?

मलाई विन्दुहरूप्रति अत्यन्तै अनुराग छ । चेतनाका यावत् उज्यालाहरूको खोजी गर्दै जीवनको एउटा लामो यात्रामा हिँडेका यायावरजस्ता स्वप्नदर्शी मानिसहरूले कहिले आफ्ना औँलाहरूले त कहिले आफ्ना पैतालाहरूले स–साना विन्दुहरूलाई बिस्तारै बिस्तारै जोड्दै गएपछि जादुयी शब्दहरूको निर्माण हुने गर्दछ । मेरा लागि तिनै जादुयी शब्दहरूको संयोजनद्वारा देख्न नसकिने कुराहरूलाई समेत देखाउन सक्ने, भन्न नसकिने कुराहरूलाई समेत व्यक्त गर्न सक्ने, सुन्न नसकिने कुराहरूलाई समेत सुनाउन सक्ने, सुवास नभएका कुराहरूलाई समेत सुवासित बनाउन सक्ने, छुन वा छाम्न नसकिने कुराहरूलाई समेत छुवाउन सक्ने र हृदयको सबैभन्दा गहिरो तहलाई समेत झङ्कृत गराउन सक्ने मानिसको अप्रतिम आविष्कार हो— कविता । कविताको बारेमा यो धारणा मैले मेरो कवितासङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ को भूमिकामा पनि उल्लेख गरेको छु । 

छोटकरीमा भन्नुपर्दा कविता मेरा लागि ‘म्याजिकल थिङ’ हो । संसारभरिका आत्माहरूलाई आफूमा वशीभूत गराउन सक्ने मोहनीमन्त्र हो कविता । मेरा लागि कविता आफ्नो सुललित देहमाथि मलाई अनवरत हिँडाउने लयदार बाटो हो र हो बिसौनी पनि । त्यही बाटोमा ठाउँठाउँमा आफूलाई बिसाउँदै, हिँडाउँदै फेरि बिसाउँदै अन्ततः दिनभरि यात्रा गराएर साँझमा थकाइ मार्न बास बसाउने कुटी हो मेरा लागि कविता । मानिसको व्यक्तित्व उसका स्वभावहरूले निर्माण हुने गर्दछ । कविता कविको आत्मा र उसका स्वभावहरूको परावर्तन हो, प्रतिबिम्ब हो ।

मन र मस्तिष्कमा हर समय, हर परिवेशमा अनेक किसिमका भावना र चिन्तनहरू खेलिरहेका हुन्छन् । नदीमा एक्कासि ठुलो बाढी आएजस्तो कहिलेकाहीँ मनमा उथलपुथल भएर अनेकौँ किसिमका भावनाहरूको कवितारूपी छाल पनि एक्कासि नै आउने गर्दछ । आए जति ती सबै तर कविता भने हुँदैनन् । कविता लेखनमा मनमा उर्लेका भावनाहरूको भेलबाढीलाई फिल्टर गरेर त्यसबाट सङ्लो कविता छान्नु मलाई सदैव चुनौतीपूर्ण लाग्छ । त्यसो गर्न सकेन भने कवितामा कविताइतरका कुराहरू पनि आउने सम्भावना रहन्छ । कविता लेखनमा त्यसो हुन नदिनु एउटा सच्चा वा असल कविको धर्म हो ।

मूर्तिकारले कस्तो रूपको मूर्ति कुँद्ने भनेर मूर्ति कुँद्न सुरु गर्नुअघि नै सोचिसकेको हुन्छ । त्यस्तै कविले पनि कस्तो कविता लेख्ने भनेर कविता लेख्नुअघि नै मन र मस्तिष्कमा कविताको एउटा प्रारूप तयार गरिसकेको हुन्छ तर कल्पनामा निर्मित उक्त कवितालाई त्यही र त्यस्तै रूपमा शब्दमार्फत उतार्न ज्यादै नै मुस्किल हुन्छ । कविता लेखनमा म सधैँ यही चुनौतीको डोरी टाँगेर थापेको पिङमा मच्चीमच्ची खेलिरहेको हुन्छु ।

जादुयी शब्दहरूको संयोजनद्वारा देख्न नसकिने कुराहरूलाई समेत देखाउन सक्ने, भन्न नसकिने कुराहरूलाई समेत व्यक्त गर्न सक्ने, सुन्न नसकिने कुराहरूलाई समेत सुनाउन सक्ने, सुवास नभएका कुराहरूलाई समेत सुवासित बनाउन सक्ने, छुन वा छाम्न नसकिने कुराहरूलाई समेत छुवाउन सक्ने र हृदयको सबैभन्दा गहिरो तहलाई समेत झङ्कृत गराउन सक्ने मानिसको अप्रतिम आविष्कार हो— कविता ।

५) समकालीन नेपाली कविताको अवस्था कस्तो देख्नुभएको छ ? अनि लेख्नका लागि यहाँलाई कुन कुराले सबैभन्दा धेरै झकझकाउँछ ? कविता लेखनका तपाईंका कुनै उद्देश्य छन् कि ?

कवितालाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ तर मेरो मूल्याङ्कनमा समकालीन नेपाली कविताको वर्तमान अवस्था गुणात्मक हिसाबले त्यस्तो उच्चकोटीको छैन तर यसो भन्दै गर्दा समकालीन नेपाली कविताको अवस्था कमजोर पनि छैन । समालोचनात्मक दृष्टिकोणबाट समग्र रूपमा हेर्ने हो भने समकालीन नेपाली कविताको स्तर मध्यमकोटीको छ । गर्व गर्नुपर्ने कुरा के छ भने समकालीन नेपाली कविताको स्तर समकालीन नेपाली आख्यानको भन्दा निसन्देह उच्चस्तरको छ । त्यसैले मैले नेपाली साहित्यमा समकालीन नेपाली कविताको भविष्य उज्यालो देखेको छु ।

मलाई कविता लेख्नका लागि ठ्याक्कै यही नै कुरा वा विषयले झकझकाउँछ भन्ने छैन । कुनै प्राकृतिक होस् वा कृत्रिम होस् तर जब मेरो मन–मस्तिष्कमा केही चित्रमय सुरुवात (विम्बात्मक, प्रतीकात्मक र आलङ्कारिक रूपमा) हुन्छ तब म कविता लेखनका लागि तयार हुन्छु । कविताको प्रारूप पूर्ण रूपमा मस्तिष्कमा निर्माण भइसकेपछि मात्रै म त्यसलाई शाब्दिक रूपमा उतार्न थाल्छु । यो प्रक्रिया कहिले निकै लामो भइदिन्छ भने कहिलेकाहीँ क्षणभरमै टुङ्गिएको उदाहरण पनि छ । मैले बारम्बार भन्ने गरेको एउटै कुरा के हो भने जुनसुकै विषयवस्तुले झकझकाएर लेखे पनि कविको अन्तरआत्माबाटै निसृत भएको कविता मात्रै लामो समय बाँच्छ । यो मेरो विश्वास हो र दाबी पनि ।

कवितामार्फत नयाँ–नयाँ सौन्दर्यहरूको खोजी गरी नयाँ–नयाँ रहस्यहरूको उद्घाटन गर्नु मेरो कविता लेखनको उद्देश्य हो । सुरुमा छाप्नका लागि थुप्रै प्रकाशन गृहहरूले अस्वीकार गरेको जेके रोलिङको ‘ह्यारी पोटर’ कविताको पुस्तक त हैन तर त्यो जादुयी भएकै कारण संसारप्रसिद्ध भयो र लाखौँको संख्यामा बिक्री पनि भयो । स्वैरकल्पना मेरो कविताको शक्ति हो । मेरा ज्यादातर कविताहरू स्वैरकल्पनामा आधारित भए पनि तिनीहरूले अन्त्यमा धर्तीलाई छोएकै छन् अर्थात् ती यथार्थताको एकदम नजिक पनि छन् । नेपाली कविता साहित्यमा ‘म्याजिकल पोइट्री’हरू त्यति धेरै लेखिएजस्तो मलाई लाग्दैन । ‘हावामा अल्झिएको स्वर’मा सङ्ग्रहित ईश्वर भएँ भने, उड्ने खोलो, हावाको रङ, ईश्वर फल्ने रूख, पखेटा नपलाएको कविता लगायत कविताहरू त्यसैका प्रमाण हुन् ।

नेपाली कविता साहित्यमा ‘म्याजिकल पोइट्री’को गुणात्मक र संख्यात्मक रूपमा अभिवृद्धि गर्नु मेरो कविता लेखनको एउटा उद्देश्य हो । कविता लेख्नुका अन्य उद्देश्यका बारेमा मैले पहिलो प्रश्नमै धेरै कुरा भनिसकेको हुँदा यहाँ फेरि त्यही कुराहरू दोहोर्‍याउन चाहिनँ ।

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ?

प्रसिद्ध बेलायती कवि रोबर्ट ग्रेभ्सले ‘कवितामा पैसा छैन र त पैसामा पनि कविता छैन’ भनेका थिए । म सानैदेखि उनको यो भनाइबाट प्रभावित थिएँ । त्यसैले लेखन क्षेत्रमा लागेर त्यस्तो केही आर्जन गरुँला भन्ने नै थिएन । यसै प्रश्नसँग मेल खाने एउटा रमाइलो प्रसङ्ग छ । एकजना व्यक्ति अनेकन् इस्युहरू लिएर म कार्यरत कार्यालयमा आइरहन्थे । कार्यालयमा उनको त्यस्तो स्पेसिफिक काम केही पनि हुन्थेन तर उनी आउँदा सधैँ ढुङ्गाले हानुँलाझैँ गरेर आउँथे र जाँदा पनि त्यसरी नै जान्थे । उनलाई मैले कहिल्यै नराम्रो बोली–व्यवहार पनि गरेको थिइनँ । उनी भने मसँग सधैँ रुखो व्यवहार गरेर जाने गर्दथे तर जब उनले म कविता लेख्छु भन्ने थाहा पाए, त्यसपछि उनले मलाई ‘प्रेमको आँखा’ले हेर्न थाले । लेखेर अहिलेसम्म मैले त्यस्तो केही गुमाएँ जस्तो लाग्दैन बरु कविता लेखेकै कारण देशैभरिबाट मलाई बडो प्रेमले हेर्ने ‘सुन्दर आँखाहरू’ कमाएँ ।

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि तपाईंको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’मा के छ त्यस्तो छ ? पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ? 

पश्चिमेली समाजमा ‘डेट एक्सपायर्ड’ भइसकेका तर हाम्रो देशमा भर्खरै मात्र प्रवेश गरेका विभिन्न मुद्दा, आन्दोलन, क्रान्ति र परिवर्तनका सन्दर्भमा हाल बजारमा उपलब्ध प्रचारको अत्यधिक मोह र बढ्दो उपभोक्तावादी बजार संस्कृतिको अनुकरण गरी लेखिएका सिधा, सपाट तथा कला र सौन्दर्यहीन कविताहरू पढ्दापढ्दा दिक्क हुनुभएका पाठकहरूलाई बिल्कुल फरक स्वाद, शिल्प, शैली र सौन्दर्यको विशिष्टताले समीचीन मेरा कविताहरूको रसास्वादन गरी काव्यको भरपूर आनन्द लिनका लागि म मेरो कवितासङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ पढ्न सिफारिस गर्छु ।

तीव्र कल्पनाचेत र सौन्दर्यचेतले भरिएका कविताहरूको सङ्ग्रह हो, ‘हावामा अल्झिएको स्वर’ । यसमा मैले २०६७ देखि २०७६ सालसम्म सिर्जना गरेका संरचनागत हिसाबले लामा छोटा ५३ वटा कविता समावेश गरेको छु । भाव र लयको सङ्गतिसहित सुन्दर अन्तर्वस्तु समेटेर अभिव्यञ्जनात्मक भाषाशैलीमा लेखिएका कविता यसमा समाविष्ट छन् । ‘हावामा अल्झिएका स्वरहरू’मार्फत मैले अनुभूति र संवेदनाको गहिराइ, जीवन र जगत्को गहिरो बोध र चिन्तनद्वारा प्रकृति, जीवन र प्रेमका रहस्यहरूको उद्घाटन गर्ने प्रयत्न गरेको छु । ‘स्वैरकल्पना’ नामक जहाजमा अत्यन्तै लामो र असीमित उडान भरेर पनि यथार्थतामा सुरक्षित तवरले पुनः धर्तीमा अवतरित गराउन सक्ने सामर्थ्यवान् कविताहरू पाठकहरूले यस सङ्ग्रहमा पढ्न पाउनुहुनेछ ।

विसङ्गत राजनीति, बिग्रँदो अर्थ–व्यवस्था, जातीय, वर्गीय, धार्मिक र लैङ्गिक आन्दोलनका चर्का अभिव्यक्तिहरूभन्दा पर प्रेमिल र हराभरा प्राकृतिक छटाहरूले भरिपूर्ण अक्षरहरूको कलात्मक संयोजनद्वारा निर्माण भएको प्रेममय र प्रकृतिमय विचरण स्थलमा क्षणभर भए पनि सुस्ताउन चाहनु हुने पाठकका लागि मेरो कृति ज्यादा रुचिकर होला । मेरा कविताहरूमा स्वयं मानिसभित्रको प्रकृति र मानिस बाहिरको विशाल प्रकृति, विश्वव्यापी विषयवस्तुहरू र आदि सत्यहरू छन् । अक्षरका आँचलहरूले ढाकिएका सौन्दर्यका केही आदिम र ज्यादातर सौन्दर्यका नवीन झिल्काहरू छन् । किशोरवयका असंख्य सपना, प्रेम र नोस्टाल्जियाहरू छन् । एकान्तमा समेत एक्लै रमाउने बनाउन सक्ने बेग्लै आलाप र ध्वनिको गुन्जायस गराउने गहिरो बोध, चिन्तन र अनुभूतिहरू छन् । मेरा कविताहरूको पोखरीमा डुबुल्की मार्दै गर्दा क्षणभर नै किन नहोस् तर पाठकहरूले आफूलाई वटवृक्षको फेदमुनि ध्यान वा तपस्यामा लीन ऋषिमुनिझैँ महसुस गर्न सक्नुहुनेछ ।

८) तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुन सम्झिनुहुन्छ ? किन ?

मलाई सधैँ झकझकाइरहने एउटा मात्रै साहित्यिक कृतिको नाम लिनुपर्दा म कविवर माधव घिमिरेद्वारा लिखित ‘चारु चर्चा’को नाम लिन्छु । कवितामा अत्यधिक रुचाइएका कवि माधव घिमिरेको चारु चर्चाको जति चर्चा हुनुपर्ने हो, त्यति चर्चा कहिल्यै भएन । सङ्गीत, कला, दर्शन, भाषा, संस्कृति, लेखन विधि, साहित्य चिन्तनजस्ता विषयवस्तु समेटिएको कवि घिमिरेको भूमिका, प्रकाशकीय, मन्तव्य, वक्तव्य, अन्तर्वार्ता र निबन्धहरूको सङ्ग्रह हो— चारु चर्चा । गैरआख्यानमा पनि अतीव सुन्दर र लालित्यपूर्ण काव्यिक भाषाको रसास्वादन गर्नका लागि यो पुस्तक पढ्नैपर्ने हुन्छ । ‘म बाहिर कवि हुँ, तर भित्र योगी हुँ’ भनेर आफूलाई कविभन्दा ज्यादा योगी ठान्ने प्रकृतिवादी तथा स्वच्छन्दतावादी कवि घिमिरेले विशेषतः पूर्वीय दर्शनमा आधारित रहेर जीवनबोध, दर्शन, आत्मज्ञान, तत्त्वज्ञान र व्यावहारिक ज्ञान–विज्ञानका विषयमा चित्ताकर्षक ढङ्गले चर्चा गर्नुभएको यो पुस्तक लेखन क्षेत्रमा अझ सुन्दर र उत्कृष्ट लेख्न चाहने कवि तथा लेखकका लागि निकै नै महत्त्वपूर्ण रहेको छ । 

९) आखिर जिन्दगी के रहेछ ?

कहिले लाग्छ, पृथ्वी एउटा कर्कलोको विशाल पात हो भने जिन्दगी त्यसमा हरपल ढलपल–ढलपल गरिरहने शीतको थोपा हो । जिन्दगीलाई शब्दहरूले परिभाषित गर्न सकिन्छ जस्तो मलाई लाग्दैन । कहिले जिन्दगी रहस्यहरूको पर्दा हो जस्तो लाग्छ । जुन पर्दा खोलेपछि संसारमा देख्नुपर्ने वा नदेख्नुपर्ने अझ अरू धेरै रहस्यका पर्दाहरू निरन्तर रूपमा खुल्दै जान्छन् कि ती पर्दाहरू खुल्दाखुल्दै एक दिन समयको कुनै एउटा मोडमा पुगेर अचानक एकै निमेषमा स्वाट्टै बन्द हुन्छन् । त्यो जुन मूल पर्दा छ, त्यसपछि फेरि कहिल्यै खुल्दैन । जहिल्यै अदृश्यमा रहेर त्यो पर्दा कसले बन्द गर्छ ? मानिसको सृष्टि भएदेखि हालसम्म अविराम रूपमा मानिस त्यसैको खोजीमा लागिरहेको छ तर यो रहस्य हालसम्म न अध्यात्मले पत्ता लगाउन सकेको छ, न त विज्ञानले नै । फेरि पनि कहिलेकाहीँ जिन्दगी अचेतन (अन्कन्सस) र अति चेतना (सुपर कन्ससनेस) बिचको यात्रा हो भन्ने लागिरहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप