मानवअधिकार आयोगद्वारा कैलाली कारागार घटनाबारे अध्ययन
सारांश
- कैलालीको धनगढी कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ, भने ४७ जना घाइते भएका छन्।
- घटनाको कारणबारे छानबिन गर्न समिति गठन गरिएको छ, जसलाई दश दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
- मानव अधिकार आयोगको टोलीले स्थलगत अध्ययन गरेको छ, क्षमताभन्दा बढी कैदीबन्दी रहेको र भौतिक स्रोतसाधनको अभाव रहेको जनाएको छ।
कैलाली । कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट नेतृत्वको तीन सदस्यीय टोलीले आज घटनाबारे अध्ययन गरेको हो ।
आयोग प्रदेश कार्यालयका प्रमुख भट्टले क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, भौतिक स्रोतसाधानको अभाव रहेको र कैदीबन्दी स्थानान्तरण गर्दा परिवारका सदस्यसँग आवश्यक समन्वय नहुने गरेको पाइएको बताए ।
उनले भने– ‘हामी अध्ययनकै क्रममा छौंँ, घटनाको कारणबारे अध्ययनपछि आयोगको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउने छौँ र त्यसपछि यसबारे विस्तृत जानकारी गराइने छ ।’ आयोगले गएराति कैदीबन्दीबीचको झडपपछि उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन स्थानीय प्रशासनले थप चुस्त व्यवस्थापन गरिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएको भट्टले बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति नियन्त्रणमा रहेको र त्यसका लागि सबै व्यवस्थापन गरिएको बताएका छन् । ‘उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौंँ । सुरक्षा व्यवस्था चुस्त बनाउन सम्पूर्ण रूपमा रणनीति अपनाइएको छ । अब थप अप्रिय घटना हुन नदिन हामी सचेत छौँ’, उनले भने ।
छानबिन समिति गठन
यस्तै घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आज बसेको सुरक्षा समिति बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिलाई दश दिनभित्र प्रतिवेदन दिनगरी जिम्मेवारी दिइएको छ ।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकृत दीपेन्द्र सिंह र प्रशासकीय अधिकृत शिवराज जोशीलाई तोकिएको छ ।
कारागारभित्र ब्लक ‘ए’ र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच शुक्रबार राति झडप भएको थियो । त्यसक्रममा घाइते भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको हो । चौधरी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका छन् । झडपमा ४७ जना घाइते भएका थिए ।
यसअघि बिहीबार राति झडप भएको थियो । त्यसदिन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था सामान्य बनेको थियो, तर सोही राति फेरि आपसमा ढुङ्गामुढा हानाहान भएको कारागारका निमित्त जेलर रामप्रसाद चौधरीले बताए । उनले भने, ‘बिहीबार फेरि झडप हुँदा छ जना घाइते भएकोमा एक जनाको उपचार अझैँ चलिरहेको छ । अरु सबै उपचारपछि कारागार फर्किएका छन् ।’
त्यसअघि गएको असार २८ गते पनि कारागारमा कैदीबन्दीबीच कुटाकुट भएको थियो । यहाँ कारागारमा एक सय ५० जना अटाउने क्षमता भए पनि करिब छ सय ८० जना कैदीबन्दी छन् ।
नेतृत्व छनोटमा विवाद हुँदा झडप : प्रशासन
जिल्ला प्रशासन कार्यालयले कैदीको नाइके छनोटका विषयमा कुरा नमिल्दा झडप भएको प्रारम्भिक अनुमान गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हमालले नेतृत्व छनोटमा विवाद हुँदा दुई समूहबीच हातपात तथा झडप भएको जानकारी आए पनि थप विवरण अध्ययनपछि थाहा हुने बताए । उनले मृतक चौधरीका आफन्तसँग संवाद भइरहेको र घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
घाइतेमध्ये गोदावरी नगरपालिकाका आयुस भट्टलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिँदै प्रजिअ हमालले भने, ‘भट्टको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरमार्फत् काठमाडौँ लगिएको छ, घटनामा घाइते भएका अन्यको अवस्था सामान्य छ ।’
घटनालाई केन्द्र र प्रदेश सरकारले पनि गम्भीर रूपमा लिएका छन् । आजै गृहमन्त्री रमेश लेखकले गृहसचिव, तीन वटै सुरक्षा निकायका प्रमुखसहित सम्बद्ध अधिकारीबाट घटनाको समग्र अवस्थाबारे जानकारी लिँदै आवश्यक काम गर्न निर्देशन दिएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आजै गृहमन्त्री रमेश लेखकसँग भेट गरी घटनाबारे छलफल गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण