पाण्डे, भुसाल र हमाललाई साक्षी राखेर माधव–झलनाथबिच छलफल
सारांश
- नेकपा एसका अध्यक्ष र सम्मानित नेताबीचको आरोप-प्रत्यारोपपश्चात संवाद भएको छ।
- सम्मानित नेताले एमालेसँगको विद्रोहको औचित्य पुष्टि नभएको बताएपछि दुवै नेताबीचको विवाद चर्किएको थियो।
- पार्टीको केन्द्रीय कमिटी बैठक २० दिन पछि सारिएको छ, जसका कारण तीज र नेताहरूको विदेश भ्रमण रहेको बताइएको छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच छेडखानी र आरोप प्रत्यारोप चलिरहेका बेला भेटवार्ता भएको छ ।
शनिबार पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा साक्षीका रूपमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल रहेका थिए ।
अध्यक्ष नेपाल र नेता खनालबिच केही दिनयता सार्वजनिक रूपमै एकअर्कालाई पार्टी छोड्न सुझाव दिइरहेका बेला नेताहरू पाण्डे, भुसाल र हमालले नेताद्वयलाई संवादमा जुटाएका हुन् ।
‘नेताद्वय एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रेका बेला पार्टीभित्रको समस्या संवादबाटै समाधान गर्नुपर्छ भनेर नेताद्वयलाई संवादमा राखिएको हो’, एक नेताले भने, ‘शनिबारको भेटवार्तामा दुवै नेताले आफूले बोलेका विषयहरू प्रस्ट्याउने प्रयास गर्नुभयो ।’
सम्मानित नेता खनालले अझैसम्म एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको आफूलाई महसुस भएको बताएपछि अध्यक्ष नेपालले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नभएको भन्दै सार्वजनिक रूपमै पार्टीबाट राजीनामा दिन आग्रह गरेका थिए ।
त्यसपछि खनालले नेपाललाई जवाफ फर्काउँदै आफूले होइन, अध्यक्ष नेपालले पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए । शुक्रबारमात्र अध्यक्ष नेपालले खनाललाई विद्रोहको औचित्य पुष्टि नभए केपी ओलीको सेवा गरेर बस्न सुझाव दिएका थिए ।
पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सम्मानित नेता खनालले पार्टीको बदख्वाइँ गरेको, मिडियामा गएर विद्रोहको औचित्य छैन भनेको बताएका थिए ।
‘मिडियामा जाने, पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो विद्रोह नै ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्यो नि,’नेपालको भनाइ थियो ।
यसरी दुई नेताबिच विवाद चर्किएपछि अन्य नेताहरूले दुई नेताको भेटवार्ता गराएका हुन् ।
त्यसक्रममा सम्मानित नेता खनालले एमालेसँग गरिएको विद्रोहको पुष्टि गर्न नसकिएको आफूलाई लागेको बताएका थिए । ‘एमालेसँग विद्रोहको पुष्टि गर्न हामीले गम्भीर ढंगले कदम चाल्नुपर्छ भन्ने मेरो पुरानै कुरा हो, यसमा केही थपेको छैन’, खनालले नेपालसँगको संवादमा भनेका थिए । खनालले राजीनामा गर्न र ओलीको सेवा गर्न भनेर अध्यक्षले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । त्यस्तै अध्यक्ष नेपालले चौतर्फी पार्टीमाथि आक्रमण भएका बेला औचित्य पुष्टि भएन भनेर पार्टीलाई थप कमजोर बनाउने प्रयास गरेको भन्दै खनालसँग आक्रोश पोखेका थिए ।
यसैबिच भदौ ७ र ८ गते बोलाइएको सो पार्टीको केन्द्रीय कमिटी बैठक २० दिन पछि सारेर भदौ २७ र २८ गते बस्नेगरी बोलाइएको छ ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार भदौ ७ र ८ गतेका लागि तय भएको बैठक दुईतीन वटा कारणले २० दिन पछि बस्नेगरी सारिएको हो । उनका अनुसार पहिलो कारण तीज पर्व भदौ पहिलो साता नै पर्ने र महिलाहरूलाई समस्या हुने भएकाले त्यसलाई मध्यनजर गरिएको हो भने लगत्तै महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल विदेश भ्रमणमा जानुपर्ने भएकाले बैठकको मिति सारिएको हो ।
‘भदौ पहिलो साता तीजको माहौल पर्ने रहेछ । त्यसमा महिलाहरूलाई अप्ठेरो हुने भयो । त्यसलगत्तै महासचिव पार्टी कामले जापान जाने र त्यही बिचमा सम्मानित नेता झलनाथ खनाल अमेरिका जाने भएका कारण भदौ ७ र ७ को बैठक पछि सार्नुपरेको हो’,उपप्रमुख अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण