शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीको ३० प्रतिशत खेतीयोग्य जमिन बाँझो, अब जमिन बाँझो राखे जरिबाना तिर्नुपर्ने

खेती गर्नेलाई अनुदानका साथै कृषि आयमा करको व्यवस्था
सोमबार, २६ साउन २०८२, ०९ : ००
सोमबार, २६ साउन २०८२

सारांश

  • कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राखे जरिबाना तिर्नुपर्ने व्यवस्थासहितको नयाँ आर्थिक ऐन लागू हुने भएको छ।
  • ऐनले १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५०० रुपैयाँ, १० देखि २० रोपनीलाई १ हजार र २० रोपनीभन्दा बढीलाई १५०० रुपैयाँ जरिबाना तोकेको छ।
  • प्रदेश सरकारले कृषि आयमा कर लगाउने र बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने नीति लिएको छ।

सुर्खेत । कर्णाली प्रदेशभित्र अब खेतीयोग्य जमिनलाई बाँझो छाड्न नपाइने भएको छ । यदि कसैले खेतीयोग्य जमिन बाँझो राखेमा जरिबाना तिर्नुपर्ने छ ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) का लागि ल्याएको नयाँ आर्थिक ऐनमा यस्तो व्यवस्था छ । खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरिबानाको व्यवस्था गरिएको हो ।

ऐनको दफा २३, अनुसूची–१३ मा अब्बल र दोयम प्रकृतिको जग्गामा यो कर लाग्ने उल्लेख गरिएको छ । ऐनमा भनिएको छ, ‘खेतीयोग्य जमिन बाँझो राखेमा कर लाग्ने छ । यस्तो करको नियमन तथा प्रशासन स्थानीय तहको समन्वयमा प्रदेश सरकारको कृषि क्षेत्र हेर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हेर्ने छ ।’

ऐनमा उल्लेख भएअनुसार १० रोपनीसम्म खेतीयोग्य जमिन बाँझो राख्नेलाई वार्षिक ५०० रुपैयाँ जरिबाना तोकिएको छ । यस्तै, १० देखि २० रोपनीसम्म बाँझो राख्नेलाई वार्षिक १ हजार र २० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाँझो राख्नेलाई एक हजार ५०० रुपैयाँ जरिबाना (कर) तोकिएको छ ।

क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठुलो प्रदेश भए तापनि कर्णालीमा १० प्रतिशतभन्दा पनि कम जमिनमात्र खेतीयोग्य छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ‘कर्णाली कृषि विकास रणनीति’ अनुसार प्रदेशको कुल ३० लाख २० हजार ९०० हेक्टर क्षेत्रफलमध्ये केवल ९.५२ प्रतिशत भूभागमात्र खेतीका लागि उपयुक्त छ ।

कृषि कार्य हुने गरेकोमध्ये २ लाख ६०२ हेक्टर अर्थात् ६.६४ प्रतिशतमा मात्रै खेती गरिएको पछिल्लो तथ्याङ्क छ । खेती कम हुनुका पछाडि सिँचाइ अभाव लगायतका कारण पनि छन् ।

कृषिमन्त्री विनोदकुमार शाहले भने, त्यसमा अझ चिन्ताको विषय खेतीयोग्य जमिनको पनि करिब ३० प्रतिशत हिस्सा बाँझै रहँदा प्रदेशको कृषि विकास र खाद्य सुरक्षामा गम्भीर चुनौती देखिएको छ ।’ उनका अनुसार कुल खेतीयोग्य जमिनमध्ये ६९.७१ प्रतिशत क्षेत्रफलमा मात्र कृषि कार्य हुने गरेको छ भने बाँकी ३०.२९ प्रतिशत जमिन पूर्ण रूपमा बाँझो छ ।

‘एकातिर खेतीयोग्य जमिनको अभाव र अर्कोतिर भएको जमिनसमेत पूर्ण उपयोग हुन सकेको छैन,’ मन्त्री शाहले रातोपाटीसँग भने, ‘यसले प्रदेशको कृषिमा आधारित अर्थतन्त्र र आत्मनिर्भर बन्ने लक्ष्यमा ठुलो बाधा पुर्‍याएको छ ।’

कृषि कार्य हुने गरेकोमध्ये २ लाख ६०२ हेक्टर अर्थात् ६.६४ प्रतिशतमा मात्रै खेती गरिएको पछिल्लो तथ्याङ्क छ । खेती कम हुनुका पछाडि सिँचाइ अभाव लगायतका कारण पनि छन् । कुल खेतीयोग्य जमिनको जम्मा १९.०६ प्रतिशत अर्थात् ६९ हजार ६४० हेक्टरमा मात्रै सिँचाइ सुविधा छ ।

जनशक्तिको अभाव, सिँचाइको असुविधा, बजारको अनिश्चितता र परम्परागत खेती प्रणालीका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको हो ।

कृषि उत्पादन बढाउन र खाद्य संकट टार्नका लागि बाँझो जमिनलाई उपयोगमा ल्याउने नीति सरकारले लिएको मन्त्री शाह बताउँछन् । ‘कृषि क्षेत्र देशको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएता पनि मानिसहरू यसबाट पलायन हुँदै जाने र जमिन बाँझो राख्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘यसले कृषि व्यवसायमा ठुलो क्षति पुर्‍याएको छ । यही समस्यालाई सम्बोधन गर्न हामीले निरुत्साहित र प्रोत्साहित गर्ने दुवै किसिमको नीति लिएका छौँ ।’

शाहका अनुसार कर्णाली सरकारको मुख्य जोड दण्डमा मात्र नभएर प्रोत्साहनमा पनि छ । बाँझो जमिनमा खेती गर्नेलाई विभिन्न अनुदान र सहुलियतको व्यवस्था गरिएको छ । 

बाँझो जमिनमा (चाहे लिजमा लिएर होस् वा आफ्नै) खेती गर्ने युवाहरूलाई बैंकबाट ऋण लिन सहजीकरण गरिएको उनको भनाइ छ । शाहका भनाइमा ५ हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको सम्पूर्ण ब्याज सरकारले तिरिदिन्छ । ५ हेक्टरभन्दा कममा खेती गर्नेको हकमा पनि ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने छ । ‘यो व्यवस्थाले मानिसहरूलाई कृषिमा टिकाइराख्न अभिप्रेरित गर्ने हाम्रो विश्वास छ,’ उनी भन्छन् ।

प्रदेश सरकारले पहिलो पटक कृषि आयमा कर लगाउने व्यवस्थासहित नयाँ ऐन कार्यान्वयनमा ल्याएको छ ।

उनका अनुसार जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न दण्ड वा करको व्यवस्था गरिएको हो । यसको उद्देश्य सजाय दिनुभन्दा पनि मानिसहरूलाई आफ्नो जमिनको महत्त्वबारे सचेत गराउनु र खेती गर्न जिम्मेवार बनाउनु हो ।

मन्त्री शाहले भने, ‘यो एक प्रकारले चेतना जगाउने प्रयास पनि हो । हाम्रो उद्देश्य स्थानीय तह र प्रशासनको सहयोगमा बाँझो जमिनमा फेरि खेतीपाती सुरु गराउनु हो, ताकि कृषि उत्पादन बढोस् र अर्थ व्यवस्थामा सकारात्मक असर परोस् ।’

अर्थ मन्त्रालयका वरिष्ठ राजस्व अधिकृत गणेशबहादुर चन्द यो कर उठाउने भन्दा पनि खेती लगाउनलाई प्रोत्साहन गर्ने हिसाबले ल्याइएको नीति रहेको बताउँछन् । ‘हाम्रो लागि नयाँ हो, सुदूरपश्चिमले यसअघि नै ल्याइसकेको थियो । हामी पनि लागु गरौँ न त भन्ने हिसाबले ल्याइयो,’ चन्दले रातोपाटीसँग भने, ‘कर उठ्छ भन्ने आशले राखेकोचाहिँ होइन ।’

  • अब कृषि आयकर पनि लिइने

प्रदेश सरकारले पहिलो पटक कृषि आयमा कर लगाउने व्यवस्थासहित नयाँ ऐन कार्यान्वयनमा ल्याएको छ । प्रदेशको राजस्व स्रोतलाई सुदृढ गर्ने उद्देश्यले ल्याइएको यस ऐनअनुसार अबदेखि प्रदेशभित्र उत्पादित कृषि उपजको बिक्रीबाट हुने आयमा तोकिएको दरमा कर लाग्ने भएको हो । यसअघि कृषि क्षेत्रबाट हुने आय करमुक्त रहँदै आएको थियो ।

नयाँ ऐनको दफा ८ र सोही ऐनको अनुसूची–४ मा गरिएको व्यवस्थाले कृषि आयलाई करको दायरामा समेटेको हो । उक्त व्यवस्थाअनुसार, प्रदेशभित्र उत्पादन भई बिक्री–वितरण गरिने कृषि उपजबाट प्राप्त हुने आयमा कर लाग्ने छ ।

ऐनले निर्धारण गरेको नयाँ कर प्रणालीअनुसार, वार्षिक ५ लाख रुपैयाँसम्म कृषि आय गर्ने किसानहरूलाई कुनै कर लाग्ने छैन । तर, सोभन्दा बढी आय गर्नेहरूका लागि भने प्रगतिशील करको व्यवस्था गरिएको छ । जसअनुसार, वार्षिक ५ लाखदेखि २५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत, २५ लाखदेखि ५० लाख रुपैयाँसम्ममा १.५ प्रतिशत, ५० लाखदेखि १ करोड रुपैयाँसम्ममा १.७५ प्रतिशत र १ करोडभन्दा बढीको आयमा २ प्रतिशतका दरले कर लाग्नेछ ।

  • करका दरहरू

१.वार्षिक कुल आय रु. ५ लाखसम्मः शून्य (कर छुट)

२. रु.५ लाखदेखि रु. २५ लाखसम्मः १ प्रतिशत

३. रु. २५ लाखदेखि रु. ५० लाखसम्मः १.५ प्रतिशत

४. रु. ५० लाखदेखि रु. १ करोडसम्मः १.७५ प्रतिशत

५ रु. १ करोडभन्दा माथिः २ प्रतिशत

यो व्यवस्थाले कृषि क्षेत्रलाई क्रमशः करको दायरामा ल्याएर प्रदेशको राजस्व स्रोतलाई बलियो बनाउने लक्ष्य राखेको देखिन्छ ।

कृषिमन्त्री शाहले भने, ‘आम्दानी नै नभए कर लाग्दैन । यदि खेतीबाट आय बढ्छ भने राज्यलाई कर तिर्नु गर्वको विषय हो ।’

कृषि आय कर लगाउने अधिकार प्रदेशको एकल अधिकार क्षेत्रभित्र पर्दछ । यद्यपि यसअघि (गत वर्ष) नीतिमै नराख्दा जम्मा ८०० रुपैयाँमात्रै राजस्व उठेको थियो ।

अर्थ मन्त्रालयका वरिष्ठ राजस्व अधिकृत गणेशबहादुर चन्दले भने, ‘प्रदेश सरकारले अरूलाई बाँड्नु नपर्ने कृषि आयको करमात्रै हो । अरू प्रदेशहरूले पहिलेदेखि लगाइरहेका थिए तर कसैले उठाउन सकेको छैन ।’

अब संविधानले दिएको अधिकारलाई कहीँ न कहीँ राख्नुपर्छ भन्ने हिसाबले नयाँ ऐनमा राखिएको चन्द बताउँछन् । उनका अनुुसार अहिले जुम्लामा स्याउ राम्रै फलेको छ । ठुला फर्मबाट राजस्व आउने सम्भावना रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप