शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा वर्षमा २७ सयभन्दा बढी आगलागीका घटना, सबैभन्दा बढी बिजुलीको पोलमा

बुधबार, २८ साउन २०८२, १५ : ०२
बुधबार, २८ साउन २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा आगलागीका घटनाहरू डरलाग्दो रूपमा बढेको पाइएको छ । तीमध्ये अधिकांश घटना बिजुलीका पोलमा तार सर्ट भएर भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति प्रतिवेदनअनुसार एक वर्षको अवधिमा राजधानीमा कुल २ हजार ७२२ वटा आगलागीका घटना रेकर्ड भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले कुल आगलागीका घटनामध्ये १ हजार ८७६ वटा घटना बिजुलीका पोलमा भएका थिए ।

’यो तथ्याङ्क निकै चिन्ताजनक छ । आगलागीका अधिकांश घटना मानवीय लापरबाहीभन्दा पनि पूर्वाधारको कमजोरी, विशेष गरी अव्यवस्थित तार र पुरानो प्रणालीका कारण भएको देखिन्छ,’ एसएसपी अधिकारीले भने, ’यसले ठुलो जनधनको क्षति निम्त्याउन सक्ने जोखिमलाई दर्शाउँछ ।’

विद्युत सर्ट भएर घर तथा पसलमा आगलागी हुने, ग्यास लिक हुने र जङ्गलमा आगलागी हुने घटनाहरू पनि उल्लेख्य  सङ्ख्यामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आगलागीका सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेर नियन्त्रणका लागि पहल गर्ने गरेको बताएको छ । प्रहरीले बिजुलीका पोलमा हुने आगलागीका घटना न्यूनीकरणका लागि सम्बन्धित निकाय, विशेष गरी नेपाल विद्युत प्राधिकरणसँग समन्वय बढाउन आवश्यक रहेकोमा जोड दिएको छ ।

अव्यवस्थित तार हटाउने र प्रणालीगत सुधार नगर्ने हो भने यस्ता घटना भविष्यमा अझै बढ्न सक्ने चेतावनीसमेत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप