शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राप्रपाभित्रको किचलो

मुकुन्दश्याम गिरीको कारबाहीले राप्रपा सुर्खेतमा दुई चिरा

गिरी पक्षले ल्यायो अध्यक्षमाथि नै अविश्वास प्रस्ताव
बुधबार, २८ साउन २०८२, २१ : २९
बुधबार, २८ साउन २०८२

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कारबाहीपछि सुर्खेतमा पार्टीभित्रै विवाद चर्किएको छ।
  • केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि गिरी पक्षधरले जिल्ला अध्यक्षलाई हटाएर समानान्तर नेतृत्व खडा गरेको छ।
  • जिल्ला अध्यक्ष कविराम पुरीले गिरीको उक्साहटमा विवाद भएको आरोप लगाएका छन् भने गिरी पक्षधरले अन्याय भएको बताएका छन्।

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देनले चलाएको कारबाहीको ‘डण्डा’ले अन्ततः पार्टीको तल्लो तहमा विद्रोहको आगो सल्काएको छ । 

अध्यक्ष लिङ्देनले केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेसँगै गिरीको गृह जिल्ला सुर्खेतमा राप्रपाको राजनीतिमा भाँडभैलो भएको हो । सुर्खेतमा राप्रपा अहिले स्पष्ट रूपमा दुई चिरा परेको छ । विवाद यति उत्कर्षमा पुगेको छ कि; पदमुक्त गरिएका गिरी पक्षधरले जिल्ला अध्यक्षलाई नै पदमुक्त गरी समानान्तर नेतृत्व खडा गरेको छ ।

संस्थापन अर्थात् पार्टी केन्द्रको पक्षमा वर्तमान जिल्ला अध्यक्ष कविराम पुरी र वरिष्ठ उपाध्यक्ष छत्रपति थापा उभिएका छन् । अर्कोतर्फ, कारबाहीमा परेका गिरीको पक्षमा मानबहादुर खड्का लगायतका नेताहरूको ठुलो समूह देखाइएको छ ।

यही इतर समूहले साउन २३ गते बैठक बसी जिल्ला अध्यक्ष कविराम पुरीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेको छ । उक्त समूहले पुरीमाथि गम्भीर आरोप लगाएको छ । पत्रमा भनिएको छ, ‘अध्यक्ष पुरीले ०७८ देखि हालसम्म जिल्ला कार्यसमितिको पूर्ण बैठक बसाल्न सक्नुभएन । उहाँका गतिविधि पार्टीगतभन्दा व्यक्तिगत स्वार्थबाट प्रेरित छन् र संगठन विस्तारमा उहाँको कुनै योगदान देखिएन, जसकारण सक्रिय सदस्यको संख्या विगतभन्दा उल्लेख्य रूपमा घटेको छ ।’

यही आधारमा राप्रपाको विधान ०४७ (०७८ संशोधनसहित) अनुसार पुरीलाई पदमुक्त गरिएको दाबी गर्दै इतर पक्षले जिल्ला कार्यसमितिकी उपाध्यक्ष लक्ष्मी कुमारी सार्कीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । 
सार्कीको अध्यक्षतामा साउन २३ गते बैठक बसेको र निर्णयमा १ उपाध्यक्ष, १ सचिव, १ कोषाध्यक्षसहित दर्जनौँ सदस्यको हस्ताक्षर रहेको उनीहरूको जिकिर छ ।

‘हाम्रो नेतामाथि अन्याय हुँदा चुप बस्न सक्दैनौं’

गिरी पक्षधरले विभिन्न आरोप अध्यक्ष पुरीविरुद्ध अनेक आरोप लगाए पनि विवादको चुरो कुरो नै केन्द्रीय उपाध्यक्ष गिरीमाथिको कारबाही नै हो । यो कुरा अध्यक्ष बनाइएकी अध्यक्ष लक्ष्मी कुमारी सार्की स्वीकार्छिन् । उनले रातोपाटीसँग भनिन्, ‘केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विनाकारण पदमुक्त गरेपछि हाम्रा युवाहरूले ‘के कारणले कारबाही भयो ?’ भनेर पार्टी केन्द्रसँग स्पष्टीकरण मागौं भन्नुभयो । तर, जिल्ला अध्यक्षज्यूले त्यस विषयमा छलफल गर्न बैठक बोलाउनै मान्नुभएन ।’ 

पटक–पटक बैठक राखेर पार्टीभित्रको समस्या समाधान गर्न आग्रह गर्दा पनि अध्यक्ष पुरीले केही सीमित कार्यकर्तालाई मात्र बोकेर हिँड्न खोजेपछि बाध्य भएर यो कदम चाल्नुपरेको उनको भनाइ छ । सार्कीले थपिन्, ‘विवाद समाधानका लागि केन्द्रीय सल्लाहकार मानबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति बनाएर छलफल गर्न खोज्दा पनि सफल भएनौं । सुर्खेतको हकमा पार्टीका मुख्य नेता भनेकै मुकुन्द श्याम गिरी हुन् । हाम्रो नेतामाथि अन्याय हुँदा हामी आवाज नउठाई बस्न सक्दैनौं । केन्द्रले पनि कारबाही गर्नुअघि जिल्लाको अवस्थाबारे छानबिन गर्नुपथ्र्यो, त्यो नगर्दा आज पार्टीमा यो अवस्था आयो ।’

पुरी भन्छन् – यो सबै गिरीले उचालेर भएको भाँडभैलो हो

यता जिल्ला अध्यक्ष कविराम पुरी भने यो सबै घटनालाई पदमुक्त उपाध्यक्ष गिरीले नै उचालेर गराएको भाँडभैलोको संज्ञा दिन्छन् । वीरेन्द्रनगरस्थित जिल्ला पार्टी कार्यालयमा अहिले पनि तालाबन्दी छ, जसलाई पुरीले अराजक कदम भनेका छन् ।

उनले रातोपाटीसँग भने, ‘उहाँ (गिरी)ले नै उचालेर केही साथीहरूलाई उत्साहित गराएपछि यो तालाबन्दी र विवादको अवस्था आएको हो ।’ चित्त नबुझे पार्टीको विधि र प्रक्रियाअनुसार आउनुर्नेमा सीधै तीनपाते ताल्चा लगाएर हिँडेकाे उनको भनाइ छ । 

पुरीले इतर पक्षको बहुमतको दाबीलाई खारेज गरेका छन् । ‘उहाँहरूले ३०–४० जनाको समूह देखाउनुभएको छ, तर ती सबै पार्टीको जिम्मेवार व्यक्ति होइनन् । जिल्ला कमिटीका आधिकारिक सदस्य कोही छैनन् ।’
९ वटा इलाकामध्ये कुनै पनि इलाकाका अध्यक्ष वा पदाधिकारी त्यो समूहमा छैनन् । ‘कोही साधारण मान्छे, कोही पार्टीको अवस्था बुझ्न आएकालाई भेला गरेर यस्तो गरिएको हो,’ पुरीको भनाइ छ । 

आफूलाई अध्यक्ष पदबाट हटाउने कुराको कुनै वैधानिकता नभएको पनि उनले बताए । 

उनका बुझाइमा सडकमा ५० जना मान्छे भेला गरेर अविश्वासको प्रस्ताव पारित हुँदैन । यसका लागि केन्द्रीय सचिवालयमा निवेदन दिने, पार्टीको निर्वाचन आयोगमा जाने प्रक्रिया छ । अर्को पक्षमा रहेका केही केन्द्रीय सदस्यले समेत प्रक्रिया सिकाउनुको सट्टा काठमाडौँमा मान्छे थुपार्ने र यहाँ तालाबन्दी गर्ने गलत काम भएको पुरीले बताए । ‘ती साथीहरूलाई ल हिँड, पद पाइन्छ, केन्द्रीय सदस्य बनाइन्छ भनेर झुक्याइएको छ,’ पुरीले भने । 

राप्रपाका एक केन्द्रीय नेताका अनुसार यो विवाद केन्द्रमा बढेको ध्रुवीकरणको असर हो । ‘मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि त्यसको विरोधमा सुर्खेतमा दबाब दिनुपर्छ र भाँडभैलो मच्चाउनुपर्छ भन्ने उद्देश्यबाट यो प्रेरित देखिन्छ,’ उनले भने । 

राप्रपाको विधानको धारा ५९ मा अविश्वासको प्रस्ताव ल्याउन जिल्ला परिषद्का एकतिहाइ सदस्यले माथिल्लो कमिटीमा निवेदन दिनुपर्ने व्यवस्था छ । ती नेताका अनुसार इतर पक्षसँग त्यो एकतिहाइ सदस्य पुग्दैन । ‘उहाँहरूले वीरेन्द्रनगर नगरपालिकाभित्रका केही मान्छेको मात्रै हस्ताक्षर गराउनुभएको छ, अन्य आठ पालिकाको सहमति छैन,’ उनले भने, ‘यो केवल बखेडा झिक्ने कुरा हो । ताल्चा लगाउनेहरूलाई कारबाहीको डण्डा चल्छ भन्ने सुइँको पाएपछि यो गतिविधि गरिएको हुन सक्छ ।’  

photo (1)photo (2)photo (3)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप