बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कूटनीति

प्रधानमन्त्री ओली चीन  भ्रमणमा जाने, राष्ट्रपति सीसँग भेटघाटको कार्यक्रम तय

बिहीबार, २९ साउन २०८२, १३ : ००
बिहीबार, २९ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली अगस्ट ३० मा चीन भ्रमणमा जाने भएका छन्, जहाँ उनी एससीओ शिखर सम्मेलनमा भाग लिनेछन्।
  • भ्रमणमा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुनेछ, र मोदीसँग पनि भेटघाटको सम्भावना रहेको छ।
  • ओलीको यो एक वर्षको अवधिमा दोस्रो चीन भ्रमण हुनेछ, र उनी सेप्टेम्बर ३ मा भारत भ्रमणमा जानेछन्।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली भदौ १४ गते चीन गएर १८ मा स्वदेस फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी त्यता जान लागेको बताइएको छ । भदौ १५ (अगस्ट ३१) देखि सो सम्मेलन सुरु हुँदैछ । 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र त्यहाँका राष्ट्रपति सी चिनफिङ बिच भेटवार्ता हुने तय भएको छ । ओली र सीबिच भदौ १८ मा भेटघाट हुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ । 

सोही कार्यक्रममा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदैछन् । त्यहाँ मोदीसँग पनि प्रधानमन्त्री अ‍ोलीको भेटघाट हुने सम्भावना रहेको स्रोतले जनाएको छ । तर अझै त्यसको कार्यतालिका तय भइनसकेको बताइएको छ । 

त्यहाँ अन्य देशका प्रधानमन्त्रीहरू पनि आउने छन् । ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ ।  सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले भदौ १८ (सेप्टेम्बर ३) मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ । 

एक वर्षको कार्यकालमा प्रधानमन्त्री ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ । यसअघि उनले २०८१ मङ्सिरमा चीन भ्रमण गरेका थिए । यो कार्यकालमा प्रधानमन्त्री ओलीले हालसम्म भारतको भ्रमण गरेका छैनन् । 

ओलीले यो बिचमा अमेरिका, थाइल्याण्डलगायतका देशको भ्रमण गरिसकेका छन् । उनी साउन २३ गते तुर्कमेनिस्तानको भ्रमणबाट फर्केका हुन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी तुर्कमेनिस्तान गएका थिए । 

चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने छन् ।  सो भ्रमणको तयारीका लागि भदौ १ गते भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आउँदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप