बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

अनिल झा नेतृत्वको सद्‍भावना पार्टीले सार्वजनिक गर्‍यो १२ बुँदे प्रतिबद्धता

बिहीबार, २९ साउन २०८२, १४ : ४०
बिहीबार, २९ साउन २०८२

सारांश

  • अनिल झाले नेपाल सद्भावना पार्टीको नेतृत्व सम्हाल्दै पार्टीका प्रतिबद्धता सार्वजनिक गरे।
  • पार्टीले मधेस आन्दोलनका सहिदलाई सम्मान र नागरिक हकका लागि संघर्ष गर्ने प्रतिबद्धता जनायो।
  • पार्टीले संघीयता कार्यान्वयन र सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने जनाएको छ।

काठमाडौँ । हालै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गरी पुनर्गठित नेपाल सद्भावना पार्टीको नेतृत्व सम्हालेका अनिल झाले पार्टीका तर्फबाट विभिन्न प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सद्भावना पार्टीका ४ वटा सैद्धान्तिक र ८ वटा व्यावहारिक प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

सैद्धान्तिक प्रतिबद्धताको पहिलो बुँदामा मधेस आन्दोलनका सहिदलाई अन्य आन्दोलनका सहिदसरह सम्मान स्थापित गराउने उल्लेख छ ।

यस्तै, महिला, दलित, मुस्लिम, पिछडावर्ग सहित पहाड तथा तराईका अल्पसंख्यक आफ्नै देशभित्र सदियौँदेखि दमन, उत्पीडन, अन्याय, अत्याचारमा परेको भन्दै उनीहरूको सम्मानपूर्ण नागरिक हक, पहिचान, पहुँच, प्रतिनिधित्व, प्राकृतिक स्रोत एवं राजस्वको बाँडफाँटमा समान अधिकारका लागि संघर्षरत रहने प्रतिबद्धता पनि नेपाल सद्भावना पार्टीले व्यक्त गरेको छ ।

‘एकीकृत नेपालभित्र समृद्ध मधेस र अधिकार सम्पन्न मधेसी समुदाय’ भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागि संघर्षरत रहने प्रतिबद्धता पनि सो पार्टीले जनाएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट राजनीतिक, आर्थिक, सामाजिक, भाषिक सांस्कृतिक, लैंगिक, क्षेत्रीय, जातीय एवं सामुदायिक विभेद अन्त्य एवं प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको प्रत्याभूतिका लागि संघर्षरत रहने प्रतिबद्धता समेत नेपाल सद्भावना पार्टीले जनाएको छ ।

व्यावहारिक प्रतिबद्धता अन्तर्गत मधेसमा खानेपानी संकटको दीर्घकालीन समाधान, मधेसको उर्वर माटोको क्षयीकरण रोक्न, उन्नत कृषि प्रणालीे स्थापना, स्वरोजगार प्रवर्द्धनका समाधानमुखी प्रयासमा ध्यानाकर्षण गराएको छ ।

यस्तै संघीयता कार्यान्वयनमा प्रदेश सरकारहरूले देखाइरहेको उदासीनता र केन्द्र सरकारको उपेक्षाभावप्रति सो पार्टीले चिन्ता प्रकट गरेको छ ।

सद्भावना पार्टीले सुकुम्बासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भइरहेको मधेसको भूमि वितरण कार्य अविलम्ब रोक्न माग गरेको छ ।

मधेस लगायत देशभरका किसानले भोगिरहेको रासायनिक मलको कमी अविलम्ब समाधानका लागि केन्द्र र प्रदेश सरकारहरूसँग माग पनि गरिएको छ ।

महिला, युवा, युवालाई रोजगारमूलक शिक्षा एवं देशको रोजगारमुखी विकास आजको आवश्यकता रहेको सद्भावना पार्टीले प्रस्ट पारेको छ ।

सुकुम्वासी समस्या समाधानका लागि विगतका सबै प्रयत्न मधेसमा आन्तरिक औपनिवेशीकरणलाई बढावा दिने गरेको भन्दै सद्भावना पार्टीले मधेसका भूमिहीन दलित एवं विपन्न समुदायलाई भूमि अधिकार अकुण्ठित रूपमा उपलब्ध गराउन माग गरेको छ ।

एकल महिला र वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनु पर्नेमा पनि यो पार्टीले जोड दिएको छ ।

त्यस्तै, प्रहरी प्रशासनमा अझै मधेसलाई मौजाको रूपमा ठान्ने तथा मधेसीजनलाई शासित मान्ने मनोविज्ञान रहेको भन्दै सो पार्टीले यस्तो मनोविज्ञान अविलम्ब समाप्त पार्ने नीति बनाउन र निर्देशन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल सद‌भावना पार्टी समावेशी संविधान, समान प्रतिनिधित्व र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनाको सरक्षणप्रति दृढ रहेको पनि अध्यक्ष झाले प्रस्ट पारेका छन् ।

‘यो पार्टी आफ्नो ऐतिहासिक आदर्श र सिद्धान्तप्रति अडिग रहँदै लोकतन्त्र र समानताको पक्षमा निरन्तर संघर्षरत रहनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप