शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य सेवा

मातहतका अस्पताललाई मन्त्रालयको परिपत्र : एक साताभित्र वार्षिक कार्ययोजना बुझाऊ

बिहीबार, २९ साउन २०८२, १८ : १८
बिहीबार, २९ साउन २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पताल र स्वास्थ्य संस्थालाई एक हप्ताभित्र व्यावसायिक योजना पेस गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्य अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र गरिएको जनाएको छ । 

मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबीच कार्य सम्पादन सम्झौता गर्ने तयारी पनि मन्त्रालयले गरेको छ । यो सम्झौताले अस्पताल तथा स्वास्थ्य संस्थालाई थप जवाफदेही र नतिजामुखी बनाउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‘हाम्रो मुख्य उद्देश्य स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र हरेक संस्थालाई आफ्नो लक्ष्यप्रति जिम्मेवार बनाउनु हो,’  बुढाथोकीले भने, ‘कार्य सम्पादन सम्झौताले हरेक संस्थाको वार्षिक कार्ययोजना र त्यसको प्रगतिको स्पष्ट मापन गर्न सहयोग पुग्नेछ ।’

महालेखा परीक्षकको प्रतिवेदनले समेत पटक–पटक यस्ता विषयलाई औंल्याउँदै आएको छ । यसअघि स्वास्थ्य संस्थाहरूको स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका २०७० मा प्रस्तावित स्वास्थ्य संस्थाका लागि व्यावसायिक कार्य योजना आवश्यक पर्ने उल्लेख थियो । 

अहिले भने सञ्चालनमा रहेका सबै संघीय संस्थाहरूलाई एकैपटक व्यावसायिक योजना पेस गर्न भनिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप