पर्वतारोहण संघको चुनावी सरगर्मी : गुरुङ र शेर्पा आमनेसामने
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को केन्द्रीय कार्यसमिति निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेको छ । निर्वाचन समितिले आगामी भदौ ७ गतेका लागि निर्वाचनको मिति तोकेसँगै पर्यटन व्यवसायीहरू दुई शक्तिशाली प्यानलमा विभाजित भएर चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट व्यवसायीहरूको एउटा गठबन्धन र नेकपा माओवादी केन्द्र निकट तथा एमालेकै अर्को समूहको अर्को गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाले आ–आफ्नो प्यानलको नेतृत्व गरेका छन् ।
निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत १७ सदस्य पदका लागि भदौ ७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ । संघमा आबद्ध पर्वतारोही र पर्यटन मजदुरतर्फका चार सदस्य पदका लागि भने भदौ ८ गते छुट्टै मतदानको व्यवस्था मिलाइएको छ । दुवै प्यानलले आ–आफ्ना उम्मेदवारहरूको सूचीसहित प्रचारप्रसार तीव्र पारेका छन् ।
एमाले-कांग्रेस गठबन्धनको प्यानल
एमाले र कांग्रेस गठबन्धनले पर्यटन व्यवसायी कुलबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनीसहित वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुनी लामा रहेका छन् ।
सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नर्बु छिरिङ शेर्पा लामा र पासाङ शेर्पा छन् ।

माओवादी र एमालेको अर्को समूहको प्यानल
नेकपा माओवादी निकट र नेकपा एमालेको अर्को समूहले फुर गेल्जे शेर्पाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ । यस प्यानलका वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्ब शेर्पा रहेका छन् ।
सदस्यहरूमा डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, देण्डी शेर्पा, गोकुल थापा, विक्रम कार्की, थुप्देन शेर्पा, मुलाल गुरुङ, माधवकुमार धमाल, रिन्जे शेर्पा र देवेन्द्र डंगोल छन् । विगतमा जस्तै यसपटक पनि राजनीतिक दल निकट व्यवसायीहरू प्यानल बनाएर चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा निकै रोचक बनेको छ ।

अनुभवी गुरुङ र आरोही शेर्पा कस्ता उम्मेदवार ?
आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना अनुभवी पर्यटन व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । लामो समयदेखि यस क्षेत्रमा सक्रिय कुलबहादुर गुरुङ र पर्वतीय पर्यटनमै बाल्यकालदेखि होमिएका शेर्पा पनि अनुभवी उम्मेदवार हुन् ।
सानैबाट सक्रिय शेर्पा
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पा उम्मेदवार बाल्यकालदेखि नै ट्रेकिङ र आरोहण क्षेत्रमा सक्रिय छन् । उनले पढाइ र कामलाई सँगै अगाडि बढाउँदै आफ्नै कम्पनी स्थापना गरेर व्यावसायिक यात्रा सुरु गरेका थिए ।
उनले ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् । चार दशकअघि पर्याप्त सामग्री र सुरक्षाको अभावमा सगरमाथा आरोहण गर्ने सपना भने पारिवारिक कारणले पूरा गर्न सकेनन् । यद्यपि, उनले हिमाल आरोहण क्षेत्रलाई कहिल्यै छाडेनन् ।
आरोहीहरूसँग निरन्तर संवादमा रहेर हिमाली क्षेत्रका समस्या पहिचान गर्ने र समाधानका लागि सरकारी निकायसँग पहल गर्ने काममा उनी निरन्तर लागिरहे ।
उनले सन् १९९९ देखि २००२ सम्म पर्वतारोहण संघको कार्यसमिति सदस्य र पछि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । समाजसेवा र उद्धार कार्यमा समेत सक्रिय उनी भन्छन्, ‘मेरो जीवनको सबैभन्दा बढी समय बिताएको क्षेत्र नै पर्वतारोहण हो । अहिलेसम्म हासिल गरेको ज्ञान र अनुभवलाई अब संघको नेतृत्वमा रहेर प्रयोग गर्न चाहन्छु ।’
अनुभवी गुरुङ
नेपालको पर्वतीय पर्यटनमा स्थापित नाम कुलबहादुर गुरुङ २०३२ सालमा धादिङको रुबीभ्यालीमा जन्मिएका हुन् । विगत साढे तीन दशकदेखि पर्यटन क्षेत्रमा समर्पित गुरुङ सन् १९९२ देखि पर्वतीय पर्यटनमा सक्रिय छन् ।
एलायन्स ट्रेक्स एण्ड एक्स्पेडिसन प्रालिका प्रबन्ध निर्देशक गुरुङले नेपाल पर्वतारोहण संघको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन (टान) मा समेत उनले केन्द्रीय कार्यसमिति सदस्य र द्वितीय उपाध्यक्ष जस्ता पदमा रहेर काम गरिसकेका छन् । गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनको विकास र विस्तारको पक्षमा लबिङ गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण