बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचार क्रममा मृत्यु

बिहीबार, २९ साउन २०८२, २१ : ३६
बिहीबार, २९ साउन २०८२

सर्लाही । सर्लाहीको ईश्वरपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका-७ पोखरी टोलका २४ वर्षीय अमनदिप रामको बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राम गत मंगलबार दिउँसो करिब २ बजे पोखरियाबाट राईटरखोरतर्फ जाँदै गर्दा ईश्वरपुर-१ चौलिखास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेका थिए । तीव्र गतिका कारण उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो । 

दुर्घटनामा परी रामको टाउको, छाती, खुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै उद्धार गरी बयलबासस्थित अमृत मेडिकलमा प्रारम्भिक उपचारका लागि लगिएको थियो ।

अवस्था गम्भीर भएपछि थप उपचारका लागि  उनलाई बाराको एलएस न्युरो अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा बिहीबार साँझ करिब पौने सात बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ । 

प्रहरीका अनुसार चालक रामले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र पनि नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शवको पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप