शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य/ जीवनशैली

उच्च रक्तचापका बिरामीलाई हृदयघातको जोखिम कति ?

शुक्रबार, ३० साउन २०८२

काठमाडौँ । उच्च रक्तचापको समस्याबाट अहिले धेरै जना पीडित छन् । आधुनिक जीवनशैली, अस्वस्थकर खानपान, व्यायामको कमी लगायत कारणले यसका बिरामी बढिरहेका छन् । 

उच्च रक्तचाप हुनु भनेको हृदयघातको जोखिम निम्त्याउनु समेत हो । छाती दुख्नु हृदयघातको मुख्य लक्षण हो । 

छाती दुखाइ र हृदयघात कुन अवस्थामा हुन्छ ? छाती दुख्नु हृदयघातको संकेत हो ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका पूर्वनिर्देशक डा. चन्द्रमणि अधिकारीसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हृदयघात भनेको के हो ?
मुटु शरीरभर रगत पुर्‍याउने अंग हो । मुटु आफैँलाई काम गर्न पनि रगतको आवश्यकता पर्छ । कोरोनरी आर्टरी भन्ने धमनीले रगतलाई शरीरका विभिन्न अंगमा पुर्‍याउने काम गर्छ । कोरोनरी आर्टरीमा कुनै समस्या आएमा त्यसमा बोसो जम्छ । जसकारण मुटुको नसा साँघुरो भई आवश्यक रगत पास हुन पाउँदैन । त्यस्तो अवस्थालाई हृदयघात भनिन्छ । 

हृदयघात मुटुरोगको प्रकृतिअनुसार फरक–फरक हुन्छ ?
हुन्छ । कसैलाई हिँड्डुल गर्दा, भर्‍याङ चढ्दा, अलिकति छिटो हिँड्दा छाती दुख्ने हुन्छ भने त्यसलाई क्रोनिक स्टेबल एनजाइना भनिन्छ । यो मुटुको नसा साँघुरो भएका कारण हुन्छ । मुटुको नसामा ब्लक भएर १०० प्रतिशत बन्द भयो भने त्यसलाई एसटी एलिभेसन एमआई भनिन्छ । जसलाई हाम्रो जनजिब्रोको भाषामा हृदयघात भएको भनिन्छ । 

अर्को चाहिँ पूरै बन्द भएको हुँदैन । लगभग त्यस्तो समस्या भएकालाई बस्दा छाती दुख्ने, अलिकति थोरै हिँड्दा पनि दुख्ने हुन्छ । त्यसकारण मुटुको मांसपेशी मर्न थाल्छ । त्यस्तो अवस्थालाई एनएसटीएमआई भनिन्छ । 

अर्को अनस्टेबल एनजाइना हो । यो मुटुको नसा बन्द हुन खोजेको तर मांसपेशी मरिनसकेको अवस्था हो । 

हृदयघात हुँदा कस्ता लक्षण देखिन्छन् ?
हृदयघात भएको बिरामीको पहिलो लक्षण छाती दुख्नु हो । छातीको अग्रभागमा थिचेजस्तो गरेर दुख्ने हुन्छ । 

त्यसो भए हृदयघातको प्रमुख लक्षण छाती दुखाइ नै हो ? 
हृदयघात भएमा तत्कालै मान्छेको ज्यानै पनि जानसक्ने भएकाले छाती दुख्दा ख्याल राख्नुपर्छ । त्यसैले छाती दुखिसकेपछि हृदयघातको जोखिम छ कि छैन भनेर छुट्याउन जरुरी छ ।

छाती दुख्न थालेको १२ घण्टाभित्र अस्पताल पुगेर जँचाउनुपर्छ । त्यस्तो बेला मुटुको नसा बन्द भएमा तुरुन्तै खोल्ने र उपचार गर्न सकिन्छ ।  

छाती दुखेको १२ घण्टाभित्र आएमा जुन मुटुको नसा जुन बन्द भएको हुन्छ त्यसलाई हामीले तुरुन्तै खोल्ने र उपचार गर्ने हुँदा जसको कारणले गर्दा मृत्युदर कम गराउन सकिन्छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको तथ्यांक हेर्ने हो भने ३०–३५ प्रतिशत बिरामी मात्र समयमा अस्पताल आइपुग्छन् । 

हृदयघात कुन उमेर समूहका व्यक्तिलाई लाग्ने जोखिम उच्च हुन्छ ? 
हृदयघात लाग्ने भनेको रिस्क फ्याक्टर हो । हृदयघात लाग्ने कारण दुई प्रकारका हुन्छन्- बदल्न नसकिने र बदल्न सकिने । 

उमेर बढ्दै जाने क्रममा हृदयघात हुनसक्ने सम्भावना बढी हुन्छ । जस्तै- २० वर्षको मान्छेलाई हृदयघात हुनसक्ने सम्भावना कम हुन्छ भने ८० वर्षको मान्छेलाई उच्च हुन्छ । 
महिलालाई पुरुषको तुलनामा हृदयघात हुनसक्ने सम्भावना कम हुन्छ । परिवारमा कसैलाई कम उमेरमा हृदयघात भएको छ भने परिवारका अरु सदस्यलाई पनि हुनसक्ने सम्भावना उच्च हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया