ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
सारांश
- ललितपुरमा मल्ल राजाको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा बिहीबार सम्पन्न भयो।
- यो जात्रा दैवी प्रकोप निवारण र विश्व शान्तिको कामनाका साथ मनाइन्छ, जसमा बाजागाजा र भजनको साथ नगर परिक्रमा गरिन्छ।
- यस जात्रामा नृसिंह अवतारको परिक्रमा, विभिन्न देवीदेवताको पूजापाठ, र बालबालिकाहरूलाई ढोगाउने चलन छ।
ललितपुर । मल्ल राजा सिद्धिनरसिँहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा बिहीबार सम्पन्न भएको हो ।
कुनै पनि दैवी प्रकोप नहोस् र विश्वमै शान्ति कायम रहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । ललितपुरका ६ कूलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने प्रचलन छ ।
यसपाली गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो । विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर सहर परिक्रमा गराइन्छ ।
नृसिंहतिर फर्केर हातमा धूप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ । नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा छ जोडी कन्याको पनि सहभागिता रहने गर्दछ ।
जात्रामा पालोवालाको पुरोहित, ज्वाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ । जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गाल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजापाठ गर्नुका साथै बालबालिकालाई ढोगाउने चलन रहेको छ ।
ललितपुरमा कात्तिक नाच र उपालकं सायाःका गरी दुई नृसिंहका रूप रहेका छन् । कार्तिक नाचका नृसिंहको उग्ररूप र उपालकं सायाः लाई शान्त स्वभावका रूपमा लिने गरिन्छ । नेपाल सम्वत् ७५१ अर्थात् विक्रम संवत् १६८८ देखि यो जात्रा सञ्चालन भइरहेको जनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण