गम्भीर रोग नभएका युवा पनि डेंगुको जोखिममा !
सारांश
- काठमाडौंमा डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु भएको छ, जसले युवाहरूमा पनि जोखिम रहेको देखाएको छ।
- डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेको छ, र यस वर्ष ६० हजारभन्दा बढी संक्रमित हुने अनुमान छ।
- स्वास्थ्य मन्त्रालयले लामखुट्टेको प्रजनन स्थल खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिन आग्रह गरेको छ।
काठमाडौँ । डेंगु संक्रमणका कारण काठमाडौँमा एक २४ वर्षीया युवतीको मृत्यु भएको छ । कुनै गम्भीर दीर्घरोग नभएकी उनको डेंगुका कारण मृत्यु हुनुले यसपटकको संक्रमणलाई सामान्य रूपमा लिन नहुने चिकित्सकहरूले चेतावनी दिएका छन् ।
काठमाडौंको कालीमाटी निवासी ती युवतीको बुधबार मृत्यु भएको हो । उनलाई अन्य कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले जनाएको छ । ती युवतीमा रक्त परीक्षण लगायतका रिपोर्ट पनि आत्तिनुपर्ने खालको थिएन ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले २४ वर्षीय युवतीको मृत्युको घटनाले डेंगुले वृद्धवृद्धा वा दीर्घरोगीलाई मात्र गाह्रो बनाउँछ भन्ने आम धारणालाई गलत साबित गरिदिएको बताए ।
‘यो घटना सबैका लागि एउटा गम्भीर चेतावनी हो,’ उनले भने, ‘हामीले खाली वृद्धवृद्धा वा दीर्घरोगीलाई मात्र जोखिम छ भन्दै आएका थियौं । तर यो घटनाले युवा र स्वस्थ व्यक्ति पनि गम्भीर जोखिममा छन् भन्ने देखाएको छ ।’
डेंगु संक्रमितको संख्या १०० को हाराहारीमा पुगेको अहिलेको अवस्थामा नै मृत्युको घटना देखिनुले संक्रमणको गम्भीरतालाई संकेत गरेको गरेको डा. पुनले बताए ।
‘डेंगुको व्यवस्थापनमा बेवास्ता नगरौं । युवा पनि बिरामी भएर यस्तो गम्भीर अवस्था आउन सक्छ भन्ने कुरा यसले देखाएको छ,’ उनले भने ।
विगत वर्षको डेंगु संक्रमण दर हेर्दा असार, साउन, भदौ, असोज र कात्तिक डेंगु फैलावटको उच्च जोखिम हुने महिना हुन् । यस अवधिमा यो वर्ष ६० हजारभन्दा धेरै डेंगु संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ ।
समुदायमा भने वास्तविक संख्याभन्दा १० गुणा बढी संक्रमित हुन सक्छन् । महाशाखाका अनुसार १० हजार जना संक्रमित हुँदा करिब १ हजार जनामा डेंगु देखिएको छ ।
देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रवाल झाले बताए । पछिल्लो एक हप्तामा मात्रै १६१ जनामा डेंगु संक्रमण भएको छ ।
डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । सन् २०२५ को सुरुवातदेखि हालसम्म देशभर ३ हजार २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्र्तगत्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार पछिल्लो २४ घण्टामा मात्रै १२ जना नयाँ डेंगुका बिरामी थपिएका छन् । जसले संक्रमणको जोखिम समुदायस्तरमा बढ्दै गएको इडिसिडिका निर्देशक डा. झाले बताए ।
गण्डकी र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । आँकडा अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ८८५ जना संक्रमित भएका छन् ।
बागमती प्रदेशमा ६२६ जना संक्रमित भएको छन् । कोशी प्रदेशमा ५३० जना संक्रमित भएका भने लुम्बिनी प्रदेशमा ४७४ जना संक्रमित भएका छन् ।
पछिल्लो एक हप्तामा सबैभन्दा बढी सक्रिय संक्रमण बागमती प्रदेशमा देखिएको छ । यस प्रदेशमा ४२ जना नयाँ बिरामी थपिएका छन् । त्यसपछि कोशी प्रदेशमा ३६ र लुम्बिनी प्रदेशमा २७ जनामा संक्रमण पुष्टि भएको छ । अगस्ट महिनामा डेंगुको संक्रमण उच्च देखिएको छ । जुन गत वर्षको ट्रेन्डसँग मिल्दोजुल्दो रहेको निर्देशक डा. झाले बताए । विज्ञहरूले वर्षायाम जारी रहँदा लामखुट्टेको प्रजनन् स्थल बढ्ने भएकाले अझै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर झाले डेंगुको बढ्दो जोखिमलाई कम गर्न स्वास्थ्य मन्त्रालयले लामखुट्टेको प्रजनन स्थलहरू ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिन सबैलाई आग्रह गरेका छन् ।
घरवरिपरि पानी जम्न सक्ने टायर, गमला, खाली बोतल तथा भाँडाहरू सफा गर्न र पानी जम्न नदिन सुझाव छ ।
उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा देखिने तथा वाकवाकी लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न डा. झाको आग्रह छ । उनले चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि, विशेषगरी ब्रुफिन र एस्प्रिन जस्ता दुखाइ कम गर्ने औषधी सेवन नगर्न सुझाव छ ।
डेंगुको अवस्था
२०६१ सालमा नेपालमा पहिलो पटक चितवनमा एक विदेशी नागरिकमा डेंगु पहिचान भएको थियो भने २०६३ सालमा चितवनमा डेंगुको प्रकोप पहिलो पटक देखिएको थियो । २०६७, २०७०, २०७३ र २०७६ सालमा विभिन्न जिल्लामा प्रकोप देखा परेको थियो । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३३८ जना डेंगुबाट संक्रमित भएका थिए भने ८८ जनाको मृत्यु भएको थियो । २०८०/८१ भने घटेर ४८ हजार ८८३ जना संक्रमित देखिए भने २० जनाको मृत्यु भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण