शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

बाँच्न के चाहिन्छ ?

शनिबार, ३१ साउन २०८२, १८ : १७
शनिबार, ३१ साउन २०८२

सारांश

  • मानिसको जन्म र मृत्यु जीवनका अपरिहार्य पक्ष हुन्, र यसले सृष्टिलाई निरन्तरता दिन्छ।
  • मानिसलाई बाँच्न भौतिक, भावनात्मक, र आध्यात्मिक आवश्यकताहरू पूरा गर्नुपर्छ।
  • जीवनको उद्देश्य आत्मिक शान्ति, मानवता, र सहअस्तित्वको अनुभूति गर्नु हो।

मानिसको जन्म र मृत्यु किन र कसरी हुन्छ भन्ने विषयमा बहस गर्न सकिएला तर सृष्टिको निरन्तरताका लागि जन्म र मृत्यु अवश्यम्भावी छन् । जन्म भोगाइ हो, मृत्यु कीर्ति हो । यी जीवनका बीज र गन्तव्य हुन् । सुरु र अन्त्यबाट कोही उम्कन सक्दैन । जीवन भोग्न मानिसलाई अनेकौँ सहारा आवश्यक हुन्छन् । जीवन सहाराको पुञ्ज हो । 

जीवनयापनका लागि मानिसले अनेकौँ भौतिक आवश्यकता पूरा गर्नुपर्छ । आवश्यकता पूर्तिका लागि सङ्घर्ष गर्नुपर्छ । मानिसको जन्म पानीबाट सुरु हुन्छ । आमाको पेटमा पानीमै डुबेर मानिसले आकृति लिन्छ । शरीरमा पानी नै हुन्छ । स्वच्छ, ताजा र पिउनयोग्य पानी उसको जीवनपर्यन्त आवश्यकता हो । आँसु, पसिना, दिसापिसाब, थुक पानीका प्रतिकृति हुन् । पानीकै लागि मानिसले सङ्घर्ष गर्नुपर्छ । तिर्खा अनमोल हुन्छ । जिउँदो रहनका लागि भोजन आवश्यक हुन्छ । भोजनभन्दा आवश्यक पानी हुन्छ । पानी जत्तिकै आवश्यक वायु हुन्छ । वायुले आयु बढाउँछ । आयु बढाउन स्वस्थ बन्नुपर्छ । स्वस्थ बन्न सकिन्छ तर स्वास्थ्य किन्न सकिँदैन । 

प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, खनिजसहितको सन्तुलित खाना कामको आधार हो । आवास वा सुरक्षित ठाउँ संरक्षण र आश्रय हो । मानिसलाई शरीर र दिमागको पुनः स्थापनाका लागि निद्रा चाहिन्छ । निद्राले मानिसलाई स्फूर्ति दिन्छ । निदाउन सक्नु र पाउनु विशेष अवसर हो । सबैले निदाउन पाउँदैनन् र निदाउन सक्दैनन् । मानिसलाई उपचार र रोग निदानका लागि स्वास्थ्य सेवा र हिंसा, दुव्र्यवहार र खतराबाट जोगिन शारीरिक सुरक्षा र स्वच्छता चाहिन्छ । बाह्य सुरक्षाका लागि मानिस मौसम अनुसारको जुत्ता, कपडा लगाउँछ मान्छेले । यस्तै मांसपेशी, मुटु, श्वासप्रश्वास स्वस्थ राख्न व्यायाम गर्छ । उज्यालो, ताप, सञ्चार, खाना पकाउनका लागि ऊर्जाको खपत गर्छ मान्छेले । प्रसूति, परिवार नियोजन, यौनिक स्वास्थ्यका लागि प्रजनन स्वास्थ्य र सुरक्षाको उपयोग गर्छ मान्छेले । यस्तै जानकारी र सहयोगका लागि सञ्चारको पहुँच खोज्छ । आधारभूत खर्च जुटाउन न्यूनतम आर्थिक स्रोतको खोजी गर्छ । यो भौतिकी बाँच्नका लागि सबैलाई चाहिन्छ । 

बाँच्न स्वच्छ हावा र उपयुक्त वातावरण चाहिन्छ । हावा अदृश्य छ । संसारमा अदृश्य वस्तुकै मूल्य हुन्छ तर हावा निःशुल्क पाइन्छ । निःशुल्क सम्पदालाई दूषित बनाउने हक मानिसलाई छैन । मानिसलाई तनाव शमन गर्न प्राकृतिक, भौतिक, मानसिकर आध्यातिमक वाताव रण अनुकूल हुनुपर्छ । सेवा र अधिकारको पहुँचका लागि पहिचान चाहिन्छ । जीवनयापनका निर्णय लिन आधारभूत ज्ञान चाहिन्छ । काम गर्न, सेवा गर्न र सम्बन्ध बढाउन गन्तव्यमा पुग्ने क्षमता चाहिन्छ । रोगबाट बच्न औषधी र प्रोत्साहन तथा सहयोगका लागि पारिवारिक समर्थन चाहिन्छ । सङ्कटमा सुरक्षित रहन आपत्कालीन तयारी चाहिन्छ । मानिस अनावश्यक दबाब वा शोषणबाट जोगिन चाहन्छ । यसका लागि सामाजिक र स्वतन्त्र गतिशीलता आवश्यक छ । आवाज उठाउने स्वतन्त्रता आवश्यक छ । प्राकृतिक सम्पदाले भौतिक र मानसिक स्वास्थ्य प्रवर्धन गर्छन् । रोजगारीले जीविकोपार्जन र आत्मसम्मान बढाउँछ । समय व्यवस्थापनले दैनिकी व्यवस्थापन गर्छ । स्वस्थ निद्रा र ऊर्जा सन्तुलन जैविक घडी अनुसारको जीवन आधार हुन् । आहारको विविधता र व्यक्तिगत सुरक्षा बाँच्ने भौतिक आधार हुन् ।

विश्वास, सकारात्मक आत्मवार्ता, कठिनाइ सामना गर्ने क्षमता र पारदर्शी सम्बन्धविना मानिस बाँच्न सक्दैन । उसलाई मनोरञ्जन, व्यक्तिगत विकास, दुःख बाँड्ने ठाउँ, क्षमा र विश्वसनीयता पनि चाहिन्छ । मानिस एक्लो बाँच्न सक्दैन ।

स्वच्छ हावा, सुरक्षित पिउने पानी, पोषणयुक्त खाना, आश्रय, न्यानो कपडा दैनिक भौतिक आवश्यकता हुन् । ओछ्यान, उपचार, औषधि, स्वच्छता, शौचालय सहज ढङ्गले बाँच्ने आधार हुन् । तापमान नियन्त्रण, शान्त वातावरण, व्यायाम, खेलकुद साधन, फोहोर व्यवस्थापन, बिमा, अध्ययन सामग्री, वित्तीय पहुँच दैनिक भोगाइका सहायक हुन् ।

बाँच्न भावनात्मक आवश्यकता पनि पूरा गर्नुपर्छ । माया, अपनत्व, स्वीकृति, सामुदायिक सम्बन्ध, स्वाभिमान, आत्मगौरव र आत्मविश्वास मानिसका भावनात्मक आवश्यकता हुन् । भावना संवेदनशील हुन्छ तर भावको उच्चताविना मानिस सामान्य रहन सक्दैन ।

मानिसलाई समस्या आउँदा परिवार र साथ दिने साथी चाहिन्छ । आफ्ना कुरा सुन्ने र महत्त्व दिने साथ चाहिन्छ । आफूलाई व्यक्त गर्न पाउने स्वतन्त्रता चाहिन्छ । प्रशंसा, पहिचान, संवेदना र आशा चाहिन्छ । मनको शान्ति, भावनात्मक नाता, सामाजिक अन्तक्र्रिया र आत्मिक स्वतन्त्रता चाहिन्छ । विश्वास, सकारात्मक आत्मवार्ता, कठिनाइ सामना गर्ने क्षमता र पारदर्शी सम्बन्धविना मानिस बाँच्न सक्दैन । उसलाई मनोरञ्जन, व्यक्तिगत विकास, दुःख बाँड्ने ठाउँ, क्षमा र विश्वसनीयता पनि चाहिन्छ । मानिस एक्लो बाँच्न सक्दैन ।

माया र स्नेह, सम्झदारी, आदर, सुरक्षित सम्बन्ध र विश्वास बाँच्नका लागि भावनात्मक आवश्यकता हुन् । समर्थन, साँचो मित्रता, सकारात्मक सञ्चार, प्रशंसा, आत्मसम्मान र स्वतन्त्रताबिना मानिस बाँच्न सक्दैन । समुदायको साथ, सङ्गीत, कला र सौन्दर्य, आफ्नो कुरा राख्ने हक र प्रेरणा जीवनका उद्देश्य हुन् । भावनात्मक सुरक्षा र स्मरणीय अनुभव जीवनका सकारात्मक प्रतिक्रिया हुन् । पछुतोबिनाको जीवन बाँच्ने अनि सपना देख्ने र पूरा गर्ने मानिस भावनात्मक रूपमा सुखी र खुसी हुन्छ । मानिस सुखको खोजमा रमाउँछ ।

जीवनको उद्देश्य म किन यस धर्तीमा छु भन्ने हो । यसलाई सार्थक बनाउन मानिसले आध्यात्मिक उपाय पनि खोज्छ । आत्मिक शान्ति, ध्यान, स्वपरिचय, मानवता र सहअस्तित्वको अनुभूति यस्ता उपाय हुन् ।

विश्वास, जीवनको मार्गनिर्देशन गर्ने सिद्धान्त, कृतज्ञता भाव, प्रकृतिसँग सम्बन्ध, गहन मनन पनि यस्ता उपाय हुन् । भित्री न्यायको अनुभूति, क्षमा माग्ने र दिने सामथ्र्य, अहङ्कारको परिमार्जन र नैतिक निर्णय गर्ने क्षमता पनि बाँच्ने आध्यात्मिक आधार हुन् । अनिश्चितताको बिचमा विश्वास राख्न सक्ने, सहिष्णु बन्ने र मृत्यु, अर्थ, भाग्य जस्ता गहिरा विषयमा धारणा बनाउन सक्नेको जीवन सहज हुन्छ । मौन बुद्धिसँगको सहवास, अन्तज्र्ञान, क्षणिकभन्दा बाहिरको अर्थ तथा आत्मिक प्रकटीकरण बाँच्ने आध्यात्मिक सम्पदा हुन् । 

अध्यात्मले मानव जीवनलाई गहिरो अर्थ, शान्ति र नैतिक आधार दिन्छ । आन्तरिक शान्ति, आध्यात्मिक विश्वास, ध्यान, प्रार्थना, आत्मअन्वेषण र क्षमाशीलताले मासिका पीडा शमन गर्छ । अरुप्रति आशा र आफूप्रति भरोसा, दया र करुणा, अहिंसा, सत्य र नैतिकता जीवन उद्देश्यका खोज हुन् । कृतज्ञता, दान र सेवा, अनुशासन, धैर्य र सहनशीलता सादा जीवनका परिचय हुन् । मौन र एकान्तको अनुभवबाट सकारात्मक सोच विकास हुन्छ । यसले जन्मलाई मात्र होइन, मृत्युलाई स्विकार्न सिकाउँछ । प्राप्ति र चुनौतीमा रमाउन सिकाउँछ । 

मानिसले अरूको भलाइमा आग्रह गर्न सक्नुपर्छ । उसमा असमानता र अन्यायविरुद्ध आवाज उठाउने क्षमता हुनुपर्छ । सीमित स्रोतको बुद्धिमत्तापूर्ण उपयोग गरी सकारात्मक वातावरण सिर्जना गरेर ज्ञान आदानप्रदान गर्नु बाँच्ने सरल उपाय हुन् । मानिसले सिकाइ र सुधारका लागि समय लिन सक्नुपर्छ । समस्यासँग सामना गर्ने क्षमता आफैँसँग हुन्छ र यसले अरू र आफूप्रति जवाफदेही बनाउँछ । भौतिक, भावनात्मक र आध्यात्मिक तालमेल सङ्कटमा सम्हाल्ने आशा बन्न सक्छ ।

बाँच्नलाई धेरै तयारी गर्नुपर्छ । मर्नलाई बाँच्ने तयारी गर्नुपर्दैन । मानिस हेर्दाहेर्दै, बस्दाबस्दै, सुत्दासुत्दै मर्छ । मानिसका सपना, प्रेम, विश्वास र खुसी सकिएका दिन मानिस अकालमै मर्छ । मानिस जन्मनुभन्दा पहिल्यै पनि मर्छ । यसैले मानिसले जीवनलाई आशीर्वाद ठान्ने दृष्टि बनाउनुपर्छ । 

बाँच्नु भँगालो र किनारको भोगाइ हो । भोगाइ जीवनको सार्थकता हो । म सार्थक जीवन बाँच्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. गणेशप्रसाद भट्टराई
डा. गणेशप्रसाद भट्टराई
लेखकबाट थप