बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गीता त्यस्तो शास्त्र हो, जसमा मानवजीवनका सबै समस्याको समाधान भेटिन्छ

शनिबार, ३१ साउन २०८२, २१ : ०३
शनिबार, ३१ साउन २०८२

सारांश

  • भगवद्गीताको महत्व र सान्दर्भिकताको बारेमा महात्मा गान्धीको विचार प्रस्तुत गरिएको छ।
  • गीतामा अर्जुन र श्रीकृष्णबीचको संवाद र यसको सार, साथै मानव जीवनका विभिन्न पक्षबारे उल्लेख छ।
  • कर्म, ज्ञान, भक्ति र राजयोगको मार्गबाट मोक्ष प्राप्तिको बारेमा गीतामा बताइएको छ, जसले जीवनलाई संयमित बनाउन जोड दिन्छ।

‘जब मेरो मन शंकाले भरिपूर्ण हुन्छ, जब मेरो अनुहारमा असन्तुष्टिका चिन्हहरू देखिन थाल्छन्, र जब मैले जीवनमा प्रकाशको एउटा पनि रेखा देख्दिन, अनि म भगवद्गीताका पानाहरू पल्टाउंछु, जहां म कुनै एउटा त्यस्तो श्लोक भेट्टाउंछु, जसले मेरो अनुहारमा दुखहरूको वीचमा पनि मुस्कान उत्पन्न गराउंछ ।’ 

उपरोक्त भनाई गीताबारे महात्मा गान्धीको विचार हो ।

करीव ५ हजार वर्ष पुरानो, अठार अध्यायमा विभाजित, ७०० श्लोक भएको प्राचीन ग्रन्थ गीता एउटा यस्तो ग्रन्थ हो, जसको उपादेयता, महत्व वा सान्दर्भिकता अहिले पनि त्यत्तिकै छ । महाभारतका एक महत्त्वपूर्ण पात्र अर्जुन र भगवान् श्रीकृष्णवीच कुरुक्षेत्रको युद्धभूमिमा भएको वार्तालापमा आधारित गीता बास्तवमा वेद वा उपनिषदहरूको सार हो । वेदव्यास रचित यो शास्त्र ज्ञानको एक अथाह भण्डार हो, जसले मानिसलाई अत्यन्त जटिल एवं विपरित परिस्थितिलाई सहज रुपमा पार गर्ने उपाय बताउँछ । भनिन्छ, चारवेद गाई र श्रीकृष्ण ग्वाला हुन् भने गीता अर्जुनलाई बाच्छो मानेर त्यसलाई दुहेर निकालिएको दूधरुपी ज्ञानामृत हो, जसलाई पिउनाले मानवमात्रको कल्याण हुन्छ ।

शरीर नाशवान् छ, तर आत्मा अमर छ

मानव शरीर नाशवान छ, तर आत्मा, जो कहिल्यै जन्मँदैन, अमर छ भन्ने शास्त्रले बताउंछ । तसर्थ गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, संसारमा जुन कुरा नित्य छ, कहिल्यै नास हुँदैन,  त्यो मात्र सत्य हो, त्यसबारेमा शोक गर्नु आवश्यक छैन । तर यो शरीर, जुन अनित्य र नाशवान् छ, जसको अन्त्य निश्चित छ, त्यसमा पनि बुद्धिमान् मानिसहरू शोक गर्दैनन् । 

सर्पले कांचुली फेरे जस्तै वा मानिसले पुरानो लुगा फेरे जस्तै जीवात्माले पनि पुरानो शरीरलाई फेरेर नयाँ शरीर धारण गर्छन् । यसरी नित्य र अनित्य वा सत्य र असत्य अनि नाशवान् र अविनाशीबिचको भेद जानेर त्यसमा शोक नगर्न भगवान् अर्जुनलाई उपदेश दिनुहुन्छ । मनिसको शरीर, मन, विचार, इन्द्रीय आदि सबै परिवर्तनशील छन् र त्यसैले अनित्य छ । तर यो चेतना, जुन शरीर, मन, इन्द्रियहरूको साक्षी मानिन्छ, अपरिवर्तनीय र अविनाशी छ । त्यही चेतनालाई वेदमा आत्माको संज्ञा दिइएको छ । वेदका चार महावाक्य मध्ये एउटामा भनिएको पनि छ, प्रज्ञानंब्रह्म अर्थात् चेतना नै ब्रह्म हो ।

भगवान् भन्नुहुन्छः यो आत्मालाई न शस्त्रले काट्न सकिन्छ, न आगोले डढाउन सक्छ, न पानीले गलाउन, न त हावाले सुकाउन नै सक्छ । अर्थात् यो अमर, अविनाशी आत्माको केही गरेर पनि क्षय हुँदैन । यो आत्मा न जन्मन्छ, न मर्छ, न उत्पन्न हुन्छ, न यसको विनाश नै हुन्छ, यो शरीर मर्दा पनि आत्मालाई कसैले मार्न सक्दैन । (गीता २.२३) 

संयम नै सफलताको सिँढी हो

मानिसले जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि आफूलाई संयमित राख्नुपर्छ र विचलित हुँदैन, गीता शास्त्रले भन्छ । जो मानिस सर्दी, गर्मी, सुख, दुःख, सफलता, असफलता आदि कुनै  कुराबाट पनि विचलित हुँदैन, बास्तवमा त्यही मानिस श्रेष्ठ कहलिन्छ । सानो दुःखले आत्तिने र सानो सुखले मात्तिने मानिस कहिल्यै पनि जीवनमा सफल र मुक्त हुन सक्दैन । त्यसैगरी भगवान् भन्नुहुन्छ, जुन मानिस प्रियलाई प्राप्त गरेर हर्षित हुँदैन र अप्रियलाई प्राप्त गरेर हतोत्साही हुँदैन, त्यस्तो स्थिर बुद्धि भएको मानिसको चित्त परमात्मामा एकीभावले नित्य स्थित हुन्छ । यसरी भगवान् आफ्नो मनलाई सदा संयमित र सन्तुलित राख्नमा जोड दिनुहुन्छ, किनभने त्यस्तो व्यक्तिको निम्ति नै सफलताको ढोका खुला रहन्छ ।

जो मानिस सन्तुलित र संयमित हुन्छ त्यसले जीवनमा सफलता प्राप्त गर्दछ । गीतामा भगवान् भन्नुहुन्छ– न त धेरै खाने, न खाँदै नखाने, न धेरै सुत्ने, न सधैँ जागा हुने मानिसलाई योग सिध्द हुन्छ । जीवनमा अति भनेको केही पनि गर्नु ठीक छैन, सबै कुरा ठीक्क मात्रामा हुन पर्छ, तब मानिसले सफलता प्राप्त गर्दछ भन्ने शिक्षा पनि हामीलाई गीताबाट प्राप्त हुन्छ ।

मनलाई वशमा राख्ने कला
 
मानिसको मन बडो चन्चल र विचित्रको छ, र त्यसलाई नियन्त्रण गर्न अत्यन्त कठीन छ, भगवान् भन्नुहुन्छ । यद्यपि यो मन अत्यन्त चन्चल छ, वशमा राख्नु गाह्रो छ । तर विस्तारै, विस्तारै अभ्यासद्वारा यसलाई वशमा पार्न सकिन्छ, श्रीकृष्ण भन्नुहुन्छ । यो मन नै मानिसको सफलता र असफलताको कारक तत्त्व हो । तसर्थ भगवान् भन्नुहुन्छः आफू नै आफ्नो मित्र हो भने आफू नै आफ्नो शत्रु हो । वशमा राखिएको मन मित्र हो भने वशमा राख्न नसकिएको अनियन्त्रित मनचाहिँ उसको शत्रु हो ।

त्यसैले भगवान् अगाडि भन्नुहुन्छः आफैले आफ्नो उध्दार गरोस, आफूले आफनो पतन नगरून् । यसको अर्थ हो, हामी आफैमा निर्भर गर्छ कि हामी जीवनमा सफलताको सिँढीमा चढ्दै छौँ  कि पतनको बाटोबाट ओरालोतर्फ लाग्दै छौँ । हाम्रो भाग्य अरू कसैले कोरिदिन सक्दैन, हामी आफैले कोर्ने हो, भन्ने शिक्षा यसबाट मिल्छ । मानिसले जे कुराको चिन्तन गर्छ उसको मन त्यसकै पछि लाग्छ । यदि हामीले बाहिरी विषय, वासनाहरूको चिन्तन धेरै गर्न थाल्यौं भने त्यसले हामीलाई विषय, वासनाप्रति आकर्षित तुल्याउँछ र त्यसप्रकारको आशक्तिले हामीमा कामना उत्पन्न हुन्छ र कामनामा बाधा उत्पन्न भए क्रोध उत्पन्न हुन्छ । क्रोधका कारण हामीले विवेक गुमाउँछौँ र यसरी हाम्रो बुद्धि भ्रष्ट भई पतन गराउँछ, गीतामा भनिएको छ । (गीता २.६३, ६४)

आफ्नो धर्मलाई अपनाउनमा जोड

भगवान् अर्जुनलाई आफ्नो धर्म अँगाल्नमा जोड दिनुहुन्छ । यहाँ धर्म भन्नाले आध्यात्मिक कुरा गर्न खोजिएको हैन, कर्तव्यलाई जोड दिइएको हो । मानिसले सर्वप्रथम आफ्नो कर्तव्य के हो, दायित्व के हो त्यो ठम्याउन पर्छ । गीतामा अर्जुन एक वीर योध्दा भएर पनि मोह र अज्ञानका कारण बरु म भिक्षा मागेर खाउँला तर आफ्ना बन्धुबान्धवहरूसँग युद्ध गर्दिनँ भनी हतियार बिसाउन खोज्छ । त्यस्तो अवस्थामा श्रीकृष्णले उनलाई सम्झाउँदै भन्नुहुन्छ, क्षत्रीयको कर्तव्य युद्ध गर्नु हो न कि भिक्षा मागेर खानु ।

त्यसो भएकोले तिमी आफ्नो धर्मअनुसार कर्तव्य गर भनेर भगवान् अर्जुनलाई आफ्नो कर्तव्य पालना गर्न उत्प्रेरित गराउनुहुन्छ । यहाँ कसै, कसैले प्रश्न गर्न सक्ला कि कृष्णले त अर्जुनलाई युद्धमा होमिन उक्साएको पो हो कि ? त्यसो भन्नु ठीक छैन, अर्जुन त क्षेत्रीय धर्म पालन गर्न युद्धकै निम्ति रणभूमिमा आएका थिए तर शोक र मोहका कारण विचलित भएर आफ्नो धर्मलाई बिर्सेर भिक्षा मागेर खाने अर्काको धर्म अपनाउन खोजेका थिए । श्रीकृष्णले उनको अज्ञान र मोह हटाइदिएर उनलाई आफ्नो कर्तव्य पूरा गर्न अभिप्रेरित मात्र गरेका हुन्, आदि शंकराचार्य आफ्नो गीता भाष्यमा व्याख्या गर्छन् । कृष्णले युद्ध गर्न उक्साएको नभै केवल अनुमति मात्र दिएका हुन्, शंकराचार्य भन्छन् ।

कर्मको मार्ग कि ज्ञानको मार्ग ?

गीताका अनुसार आध्यात्मिक मार्गमा अघि बढ्न चाहनेले वा मुक्तिको आकांक्षा राख्ने मानिसले सन्यास नै ग्रहण गर्नुपर्छ भन्ने छैन । ज्ञानमार्गबाट आध्यात्मिक मार्गमा अघि बढ्न चाहनेले सन्यासको विकल्प खोज्न सक्छ भने कर्मको मार्गबाट अघि बढ्न चाहनेले निष्काम कर्मलाई अँगाल्न सक्छन्। कर्मलाई ईश्वरमा अर्पण गरेमा मानिसले कर्म बन्धनमा पर्नु पर्दैन, अर्थात शुभ, अशुभ फलको ऊ भागी हुँदैन । रमण महर्षिले यस कुरालाई उपदेश सार नामक स्तोत्रमा यसरी उल्लेख गरेका छन् : जुन सामान्य कर्म हाम्रो निम्ति बन्धनको कारण बन्दछ भने त्यही कर्म ईश्वरलाई अर्पण गरेर गरेको खण्डमा त्यो मुक्तिमा सहायक हुन्छ ।

गीतामा कर्म र ज्ञान मार्गको मात्र व्याख्या गरिएको छैन, यसमा आध्यात्मिक मार्गका प्रायः सबैजसो विकल्पहरूबारे उल्लेख छ । गीतामा कर्म, ज्ञान, भक्ति र राजयोग अर्थात ध्यान आदि सबै मार्गबारे उल्लेख गरिएको छ ।

गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छः ममा मनलाई एकाग्र गरेर जो भक्त श्रद्धाले युक्त भई निरन्तर मेरो भजन ध्यानपूर्वक गाउँछ, त्यसैलाई म उत्तम योगी मान्छु । यसरी गीतामा परमात्माको नाम निरन्तर भज्ने व्यक्ति, जो भक्तिमार्गमा लाग्छ, त्यसलाई योगी भनिएको छ । 

श्रीकृष्ण भन्नुहुन्छः तिमी ममा नै मनलाई लगाएर मेरै पूजा गर । यसरी चित्तलाई ममा स्थिर गरी मलाई नै नमन गरी मेरै शरणमा परेको खण्डमा तिमी मलाई नै प्राप्त हुन्छौ अर्थात् मुक्त हुन्छौ। (गीता ९.३४)

कर्ममा ध्यान देऊ, फलको चिन्तन गर्न छोड

गीतामा भगवान् भन्नुहुन्छः कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन, मा कर्मफलहेतुर्भूर्मा ते संगो ऽस्त्वकर्मणि 

अर्थात् कर्म गर्नमा मात्र तिम्रो अधिकार छ, नकि फल प्राप्तिमा । तसर्थ तिमी कर्मफलको कारण नबन र कर्म नगर्नमा पनि आशक्ति नराख । गीताले हामीलाई फल लाई त्याग्न पर्छ उपभोग नै गर्नु हुँदैन भनेको हैन। यहां केवल फलको चिन्तन नगर भनिएको हो । किनभने हामीले फलको चिन्तन बार, बार गर्न थाल्यौं भने कर्ममा हाम्रो ध्यान जाँदैन र उचित फल प्राप्त हुँदैन । यहाँ ठुलो मनोविज्ञान लुकेको छ । कुनै कार्य गर्नुपर्दा सुरुमा एकपल्ट त्यसको उद्देश्य र फलको विचार गरेपछि त्यसलाई मनबाट हटाई केवल कर्ममा एकाग्र भएर लाग्ने हो । त्यसो गर्दा कर्मफलप्रति हाम्रो आशक्ति हुँदैन र हामी आफ्नो शतप्रतिशत ध्यान कर्ममा लगाउन सक्छौं, जसले नतिजा उत्कष्ट प्राप्त हुन्छ । हामी फलप्रति आशक्त भएनौँ भने हामी त्यसको सफलता वा असफलताबाट विचलित पनि हुँदैनौँ ।

सबै चिन्ता छोड र परमात्माको शरणमा जाऊ

त्यसैगरी गीताको अन्तिम अध्यायतिर भनिएको छः सर्वधर्मान्परित्यज्य मामेकं शरणं ब्रज । अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।। (गीता १८.६६)

अर्थात्, सबै प्रकारका धर्म वा अधर्मलाई त्यागेर म परमात्मस्वरूप श्रीकृष्णको शरणमा पर । म तिमीलाई सबै प्रकारका पापहरूबाट मुक्त गराइदिने छु, त्यसैल, शोक नगर । शास्त्रहरूमा भनिएको छ, ईश्वरप्रति अनन्य प्रेम गर्ने व्यक्तिलाई नै ईश्वर कृपा प्राप्त हुन्छ र यसरी ऊ सांसारिक बन्धनबाट मुक्त हुन्छ । 

त्यसैगरी गीतामा ध्यानको विधिबारे पनि चर्चा गरिएको छ । श्रीकृष्ण भन्नुहुन्छः शरीर, शिर र गर्दनलाई सीधा र निश्चल राखेर नाखको टुप्पोमा एकाग्र भई हेर्ने अभ्यास गर्नु अर्थात् नाकको टुप्पोलाई हेरेसरह मनलाई एकचित्त बनाऊ । (गीता ६.१६) त्यस्तै अर्को श्लोकमा भनिएको छ, आफ्नो मनलाई जित्नसक्ने योगीले मन अन्य बाह्य विषयहरूबाट हटाएर म परमात्मामा स्थिर पार्न सकेमा उसले परम् शान्ति प्राप्त गर्दछ अर्थात् उसलाई मुक्ति प्राप्त हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिरीषवल्लभ प्रधान
शिरीषवल्लभ प्रधान
लेखकबाट थप