बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘नेपालमा ठुलो आतंकवादी हमला भएको छैन, तर कानमा तेल हालेर सुत्नु हुँदैन’

आतंकवादको कुनै सीमा हुँदैन, नेपाल जोखिममै छ : टेकप्रसाद राई, पूर्वएआईजी
आइतबार, ०१ भदौ २०८२, १० : १७
आइतबार, ०१ भदौ २०८२

सारांश

  • पूर्व एआईजी टेकप्रसाद राईले आतंकवादको जोखिमबारे प्रकाश पारे, जसमा दक्षिण एसिया उच्च जोखिममा रहेको बताए।
  • राईले गरिबी, बेरोजगारी, र धार्मिक कट्टरता आतंकवादको कारक भएको र नेपाल उच्च जोखिममा रहेको उल्लेख गरे।
  • उनले नेपालले आतंकवाद नियन्त्रणका लागि अझै धेरै काम गर्नुपर्ने र सार्कलाई सक्रिय बनाउनुपर्ने बताए।

गत चैत ५ गते प्रहरीको एआईजीबाट अवकाशप्राप्त टेकप्रसाद राई आतंकवादका विज्ञ मानिन्छन् । प्रतिआतंकवाद तथा इन्टेलिजेन्सको क्षेत्रमा करिब २० वर्ष काम गरेका उनले अपराध अनुसन्धान विभागमा लामो समय अन्डरकभर भएर पनि काम गरे । 

उनी एफबीआई ग्य्राजुएट पनि हुन् । उनले फेडरल ब्युरो अफ इन्भेस्टिगेसनमा पनि काम गरे । 

नेपालमा इन्डियन मुजाहिद्दिनका सहसंस्थापक यासिन भट्खल, इन्डियन मुजाहिद्दिनको नेपाल प्रमुख इरफान अहमदजस्तालाई पक्राउ गर्ने मिसनमा काम गरेका राईसँग विश्वमा देखिएको आतंकवादको अवस्था, दक्षिण एसिया कसरी त्यसको चपेटामा परेको छ तथा नेपाल कत्तिको जोखिममा छ ? लगायत विषयमा रातोपाटीका लागि गरिएको कुराकानीको सम्पादित अंशः

  • विश्वमा त ठुला–ठुला देशहरू पनि आतंकवादबाट पीडित छन् । यसमा पनि दक्षिण एसिया सबैभन्दा पीडित किन ? 

– जब विश्व शक्तिसम्पन्न राष्ट्रहरूमाथि आक्रमण हुन्छ, त्यसपछि मात्रै यसले विश्वव्यापी रूप लिन्छ । अमेरिकामाथि आक्रमण नभएको वेलासम्म विश्वका ठुला शक्ति राष्ट्रहरूको ध्यान त्यतातिर थिएन । अहिले विश्वका शक्ति राष्ट्रहरूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यसलाई महत्त्वका साथ उठाएका छन्, आतंकवाद समाप्त गर्न लगानी पनि गरेका हुन्छन् । त्यसमा आफूलाई संलग्न पनि गराएका हुन्छन् । 

तर अन्य युरोपेलीभन्दा दक्षिण एसियाका देशहरू आतंकवादबाट बढी प्रभावित छन् । त्यसको मुख्य कारण गरिबी, बेरोजगारी नै हो । त्यसमा रिलिजियस आइडोलोजी (धार्मिक विचारधारा)ले पनि काम गरेको छ । यसलाई आतंकवादीहरूले टुल्सका रूपमा प्रयोग गरेका छन् । 

तर जब अमेरिकामा ९/११ को हमला भयो, त्यसपछि मात्र विश्वले पनि ‘वार अगेन्स्ट टेरोरिज्म’ भनेर घोषणा नै गर्‍यो । प्रतीकात्मक लक्ष्यहरूमा आक्रमण गरेर पब्लिक, सर्वसाधारण तथा विश्वको ध्यान आकर्षित गर्ने अन्तर्राष्ट्रिय आतंकवादीहरूको रणनीति नै हो । विश्व शक्तिसम्पन्न राष्ट्रहरूमा जब आक्रमण हुन्छ, त्यसले विश्वव्यापी रूप लिन्छ । त्यसपछि ससाना राज्यहरूमा कहीँ न कहीँ त्यसैलाई टुल्सका रूपमा प्रयोग भएको नै छ र हुन्छ नै ।

धर्मको नाममा अन्धो भइसकेका हुन्छन् । आफ्नो विचार अर्थात् आइडियोलोजीलाई लिएर पागल हुन्छन् । अफिमको नशामा हुन्छन् । त्यसपछि मर्न र मार्न तयार हुन्छन् ।

आतंकवादबाट दक्षिण एसिया बढी प्रभावित हुनुको कारण गरिबी र अभाव नै हो । अहिले दक्षिण एसियामा देखिएको सबैभन्दा ठुलो कुरा फन्डामेन्टालिज्म हो र त्यहाँ र्‍याडिकलाइजेसनहरू (कट्टरपन्थी) बढिरहेका छन् । इन्जस्टिस (अन्याय) र गरिबी मुख्य रूपमा दक्षिण एसियामा बढ्दै गइरहेका छन् । जुन ठाउँमा गरिबी हुन्छ, जहाँ अशिक्षा हुन्छ, त्यहाँका जनतालाई भड्काउन वा प्रभावमा पार्न सजिलो हुन्छ । सबैभन्दा बढी अशिक्षा, बेरोजगारी र गरिबी दक्षिण एसियामा छन् । त्यही अशिक्षाका कारण यहाँका जनता विभिन्न धर्म, विचारमा बाँडिएका छन् । त्यसले गर्दा उनीहरूलाई कन्भिन्स गर्न सजिलो हुन्छ । त्यसैले दक्षिण एसियालाई टेररिज्मको हब भनिएको हो । विशेषतः आइडोलोजीभन्दा पनि यो रिलिजियस र फन्डामेन्टालिज्म बढेर गएको छ । दक्षिण एसियाली देशका जनताहरू आफ्नो धर्म र आस्थाप्रति जति कट्टर हुन्छन्, त्यति अरू देशमा हुँदैनन् । यहाँका कट्टरवादीहरू मर्न र मार्न समेत पछाडि पर्दैनन् ।

  • दक्षिण एसियाका नेपाल, बंगलादेश, भुटान, श्रीलंकालगायत देशहरू पनि अविकसित देशहरूमा पर्छन्, तर खासगरी पाकिस्तान र अफगानिस्तानमा कि आतंकवादीहरू बढी उत्पादन हुन्छन् ? 

– पहिलो कुरा, मान्छेले सबैभन्दा ठुलो विश्वास आफ्नो धर्म, संस्कृतिमा गर्छन्, आफ्नो भाषामा गर्छन् । विश्वास मात्र होइन, अन्धविश्वास पनि गरेका हुन्छन् । धर्मको नाममा अन्धो भइसकेका हुन्छन् । आफ्नो विचार अर्थात् आइडियोलोजीलाई लिएर पागल हुन्छन् । अफिमको नशामा हुन्छन् । त्यसपछि मर्न र मार्न तयार हुन्छन् । जसरी दुव्र्यसनीलाई मर्न र मार्न गाह्रो हुँदैन, के गरिरहेको छु थाहा हुँदैन । ‘धर्म भनेको अफिम हो’ भनी त्यत्तिकै भनिएको होइन । रिलिजियस र आइडोलोजीमा विश्वास गरेको हुन्छ र त्यो विश्वासभित्र पनि र्‍याडिकलाइजेसन गरेर लगेका हुन्छन् । अफगानिस्तान र पाकिस्तानमा त्यही देखिएको छ । त्यहाँको टेररिज्म भनेको रिलिजियस फन्डामेन्टालिज्ममा आधारित हुन्छ । पाकिस्तान र अफगानिस्तानको समस्या आइडोलोजिकल रिलिजियस नै हो । त्यसैले त्यहाँका जनतालाई कन्भिन्स गर्न सजिलो भयो र आतंकवादीका लागि भौगोलिक रूपमा पनि त्यहाँ सजिलो भएको छ । टाढा भएको कारण विश्वका सुरक्षा निकायको ध्यान पुग्न नसक्ने अवस्था भएकाले पनि त्यसरी बढेको देखिन्छ । गरिबी, अशिक्षा र बेरोजगारी पनि त्यस्तै छ त्यहाँ ।

सुरक्षा संयन्त्रमा पनि कोअर्डिनेसनको अभाव देखिएको हुन्छ । सुरक्षाका विभिन्न एजेन्सीहरू छन् । उनीहरूले ‘फलानोले हेर्दै होला, फलानोले फलो गर्दै होला’ भनी सम्झेर बसेका हुन्छन् र त्यसैबिच घटना हुन जान्छ ।
  • दक्षिण एसियामा हरेक हिसाबले भारत एउटा शक्तिशाली देश हो, तर आतंकवादको चपेटामा सबैभन्दा बढी परेको छ नि ?

– भारत र पाकिस्तान अलग भएपछि दुई देशबिच विवाद बीजारोपण भयो । भारत प्रजातान्तिक देश हो, त्यहाँका जनताले आफ्नो कुरा सजिलैसँग राख्न पाउँछन् । आर्थिक रूपमा जति नै विकसित भए पनि त्यहाँ पनि गरिबी र अशिक्षा छ । त्यहाँ पनि धर्म र विभिन्न विचारमा बाँडिएका छन् । त्यसले गर्दा आतंकवादी संगठनकर्ताहरूलाई आफ्नो समर्थक बनाउन, सेल्टर बनाउन सजिलो भएको छ । 

पाकिस्तान भारतबाट अलग भएको देश हो । ती दुई देशबिच धेरै कुरा मेल खान्छन् । कतिपय अवस्थामा धर्म, संस्कृतिमा पनि एकरूपता देखिन्छ । त्यसले गर्दा त्यहाँ घुलमिल हुन गाह्रो हुँदैन । घुलमिल भएर बसेका हुन्छन् र मौका पाएर त्यहाँ उपद्रो गरेका हुन्छन् । अर्को कुरा सुरक्षा पनि हो । सुरक्षा संयन्त्रमा पनि कोअर्डिनेसनको अभाव देखिएको हुन्छ । सुरक्षाका विभिन्न एजेन्सीहरू छन् । उनीहरूले ‘फलानोले हेर्दै होला, फलानोले फलो गर्दै होला’ भनी सम्झेर बसेका हुन्छन् र त्यसैबिच घटना हुन जान्छ ।

  • हाम्रै छिमेकी देशको बोर्डरमै आतंकवादी क्रियाकलापहरू भइरहेका हुन्छन् । आतंकवादबाट बंगलादेश पनि प्रभावित छ, भारत पनि निकै ठुलो मात्रामा प्रभावित भएको छ । यी दुवै देशमा भइरहेको गतिविधिले नेपाललाई कत्तिको खतरा छजस्तो लाग्छ ? 

– अहिलेसम्म नेपालमा टेरोरिस्ट अर्गनाइजेसनहरू खुलेको देखिँदैन । तर नेपालको भूमिलाई प्रयोग गरेको पाइन्छ । जस्तोः नेपालको भूमिबाट इन्डियन एयरलाइन्स हाइज्याक भएको थियो । भारत र नेपालको ओपन बोर्डर छ । दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, नेपाल लगायतका देशका भाषा, भेषभूषा उस्तै–उस्तै छन् । बंगलादेशीहरू हिन्दी पनि बोल्छन् । भारतमा बंगालीहरू बस्छन् । त्यहाँको भाषा बंगाली नै हो । पाकिस्तानमा बंगालीहरू छन् । त्यहाँ पनि बंगाली बोल्छन् । पाकिस्तानमा बोल्ने उर्दु भारत र नेपालमा पनि बोल्छन् । अफगानिस्तानमा हिन्दी र उर्दु पनि बोल्छन् । नेपाली भाषीहरू भारतमा पनि छन् । झापातिर बोर्डर साइडका जनता बंगाली भाषा पनि बुझ्छन् र बोल्छन् पनि । नेपालमा हिन्दी भाषा त घरघरमा बोल्छन् । 

नेपाल आतंकवादको जोखिममा छ त । किनभने टेररिस्टको कुनै बोर्डर नै हुँदैन । यहाँ बसेर दक्षिणका कुनै देशलाई एक्सन गर्छ भने भोलि नेपालीमाथि एक्सन गर्दैन भनी भन्न सकिँदैन ।

यसरी यी देशहरू एकापसका भाषा, संस्कृतिमा मिसमास भएका छन् । जसले गर्दा एक–अर्काको देशमा आउजाउ गर्न, घुलमिल हुन कुनै समस्या छैन । भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानका जनतालाई नेपालमा बस्न कुनै गाह्रो छैन । नेपाल–भारतबिच खुला बोर्डर छ । सीमापार आउजाउ गर्न कुनै गाह्रो हुँदैन । झापातिर बंगलादेशीहरूलाई नेपाल छिर्न त्यति समस्या छैन । त्यसैले अरू देशविरुद्ध आतंकवादी गतिविधि गर्दा नेपालको भूमि प्रयोग गर्न कुनै समस्या छैन । र विभिन्न अध्ययनले पनि नेपालको भूमि आतंकवादी वा अन्य अवैध कामका लागि प्रयोग भइरहेको देखाएको छ ।

  • यसरी विभिन्न संगठनहरूले नेपालको भूमि प्रयोग गरिराखेका छन् भने त्यसबाट नेपाल कति जोखिममा छजस्तो लाग्छ तपाईंलाई ?

– नेपाल आतंकवादको जोखिममा छ त । किनभने टेररिस्टको कुनै बोर्डर नै हुँदैन । यहाँ बसेर दक्षिणका कुनै देशलाई एक्सन गर्छ भने भोलि नेपालीमाथि एक्सन गर्दैन भनी भन्न सकिँदैन । किनभने टेरोरिस्टहरूको कुनै ह्युम्यानिटी हुँदैन, कुनै बोर्डर हुँदैन, उनीहरूले आफ्नो अनुकूलतामा विश्वको ध्यान आकर्षित गर्न नेपालमा पनि केही गर्न सक्ने जोखिम छ । नेपाललाई यो थ्रेट जहिले पनि छ, म त भन्छु, उच्च जोखिममा छ ।

  • नेपाल यसमा सचेत छ कि छैन ?

– छ । जब नाइन इलेभेनको घटना घट्यो, त्योभन्दा अगाडिदेखि नै नेपालमा नेपाल प्रहरीको एउटा टोली यस्ता गतिविधिहरूमाथि निगरानी गर्ने काम गरिरहेको थियो । अहिले त छुट्टै ब्युरो नै भइसकेको छ । त्यसमा अन्य कानुनी कामहरू पनि भइरहेका छन् । त्यस्तै अन्य सुरक्षा निकायहरू जस्तै एपीएफ छ, नेपाल आर्मी छ, एनआईडी छ । सबैले आफ्नो–आफ्नो ठाउँमा त केही न केही गरिरहेकै हुन्छन् । तर फेरि कुरा आउँछ कोअर्डिनेसनको, जसको अभाव छ ।

नेपालले आफ्नो भूमि कुनै पनि देशको विरुद्ध प्रयोग हुन दिने छैन भनी पटक–पटक प्रतिबद्धता जनाएकै छ । यसका लागि दुईपक्षीय छलफल तथा वार्ताहरू पनि भएका छन् ।
  • नेपालको भूमि प्रयोग गरेर अन्य देशविरुद्ध विभिन्न काम आतंकवादी संगठनले काम गरिरहेको छ भन्नुभयो । त्यसलाई रोक्न, निस्तेज पार्न नेपाल प्रहरी या सुरक्षा निकायबाट कत्तिको काम भइराखेको छ ?

– नेपाल सरकार एकदम सिरियस छ । कुनै पनि इन्फर्मेसनहरू आयो भने त्यसलाई फलो गर्ने, शंका लागेका व्यक्तिहरू, संस्थाहरूमाथि निगरानी गर्ने काम गरिरहेकै छ । केही कामलाई अन्जाम पनि दिएको छ । केही अन्तर्राष्ट्रिय टेरोरिस्टहरूलाई कानुनी कठघरामा ल्याएको छ । कन्सन्र्ड कन्ट्रीहरूसँग समन्वय गरेर उनीहरूलाई सुम्पिने काम पनि गरेको छ । आतंकवादी वा अन्य अपराधी समूहलाई पक्राउ गर्न भारतको समन्वयमा नेपालमा ठुला–ठुला अपरेसन पनि भएका छन् । यसमा नेपाल प्रहरीले आफ्नो सक्षमता देखाएको छ । अन्तर्राष्ट्रिय आतंकवादबारे दक्षिण एसियामा भइरहेको गतिविधिमा नेपालले चासो लिएर काम गरिरहेको छ ।

  • तर यति हुँदाहुँदै पनि भारत र चीनले नेपाललाई शंकाको दृष्टिले हेरिरहेका हुन्छन् । खम्पा विद्रोहपछि चीनले पनि नेपाललाई शंकाले हेरेको छ । भारतले पनि पाकिस्तानलगायत अन्य मुलुकहरूका कारण नेपाललाई शंका गर्छ । यी दुवै देशलाई नेपालले विश्वासमा लिन नसकेको हो ? 

– नेपाल शक्तिशाली सम्पन्न राष्ट्र त होइन । खम्पा विद्रोह टेरोरिज्मभन्दा अलिकति फरक हो । त्यो पोलिटिकल, विद्रोही समूह भयो । कुनै पनि देशले आफ्नो देशविरुद्ध सीमाबाट कुनै पनि आतंकवादी गतिविधि, कुनै गैरकानुनी गतिविधि नहोस् भन्ने चाहना राख्छ । र चीन र भारतले गरेको आशंका त्यसैको प्रतिक्रिया हो । तर नेपालले आफ्नो भूमि कुनै पनि देशको विरुद्ध प्रयोग हुन दिने छैन भनी पटक–पटक प्रतिबद्धता जनाएकै छ । यसका लागि दुईपक्षीय छलफल तथा वार्ताहरू पनि भएका छन् । भारत र चीनलाई कसरी विश्वासमा लिन सकिन्छ, त्यस खालका गतिविधिहरू भइरहेका हुन्छन् । अर्थात्, नेपालको भूमिबाट भारत, चीनलगायत अन्य कुनै पनि मुलुकविरुद्ध कुनै पनि गतिविधि नहोस्, त्यसमा नेपाल सचेत छ । 

  • आतंकवादलाई नियन्त्रण या निर्मूल गर्न नेपालले कस्तो भूमिका खेल्नुपर्छ र दक्षिण एसियामा कसको मुख्य भूमिका देखिन्छ ?

– पहिलो कुरा, जुन देशमा आतंकवादी गतिविधि बढी हुन्छ, जो बढी प्रभावित र पीडित छ, त्यो देशले यसको अगुवाइ गर्नुपर्छ । दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित भारत भएको देखिन्छ । आतंकवादी समूह वा अन्य इलिगल समूहले भारतमा कुनै न कुनै गतिविधि गरिरहेका हुन्छन् । गत अप्रिलमा मात्र भारतको पहलगाममा आतंकवादीहरूले आक्रमण गरेपछि एक नेपालीसहित २७ जनाको ज्यान गएको थियो । त्यसअघि पनि पटक–पटक त्यस्ता उपद्रो गरिरहेका हुन्छन् । त्यसैले भारत यसमा बढी सचेत रहनुपर्ने देखिन्छ र अरू देशहरूले पनि सहयोग गर्नुपर्छ । 

नेपालमा ठुलो आतंकवादको हमला भयो रे ! भारतको ताज होटलमा जस्तो आक्रमण भयो भने त्यसको नेतृत्व कसले गर्ने ? त्यो मेकानिज्म के हो, कसले के गर्ने ?

पाकिस्तान र अफगानिस्तानमा त दिनहुँ यस्ता घटना भइरहेका हुन्छन् । अफगानिस्तानमा जुन तालिबानलाई टेररिस्ट अर्गनाइजेसन नै भनेको थियो, ऊ आफैँ सत्तामा आएको अवस्था छ । त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा हेर्ने दृष्टिकोण के हो त ? अर्को कुरा, इन्डिया र पाकिस्तान सचेत रहनुपर्ने अवस्था छ । अनि सार्क छ, टेरोरिज्म हेर्ने एउटा छुट्टै डेस्क छ, त्यसलाई पनि एक्टिभ बनाउनुपर्‍यो । अन्तर्राष्ट्रिय रूपमा सूचनाको पनि सेयरिङ हुनुपर्छ । त्यसका लागि एउटा हटलाइन वा कुनै मेकानिजम बनाउनुपर्छ ।

  • नेपालमा आतंकवादी हमला हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? 

– मैले अघि नै भनेँ, आतंकवादीका लागि कुनै बोर्डर हुँदैन, कुनै मानवीयता हुँदैन, कुनै जात वा धर्म हुँदैन । विश्वलाई आकर्षित गर्न, आफ्नो कुरा सुनाउन जहाँ पनि, जे पनि गर्न सक्छन् । नेपालमा अहिलेसम्म ठुलो आतंकवादी हमला भएको छैन । हमला भएको छैन भनेर कानमा तेल हालेर सुत्नु हुँदैन । हमला जुनसुकै वेला पनि हुन सक्छ भनी सोचेर सचेत रहनुपर्छ । त्यसका लागि हाम्रो पोलिसी के हो, त्यो पनि स्पष्ट हुनुपर्छ ।

नेपालमा ठुलो आतंकवादको हमला भयो रे ! भारतको ताज होटलमा जस्तो आक्रमण भयो भने त्यसको नेतृत्व कसले गर्ने ? त्यो मेकानिज्म के हो, कसले के गर्ने ? त्यसमा नीतिगत काम केही पनि भएको छैन । अहिलेसम्म कुनै पनि सानोतिनो घटना भयो भने नेपाल प्रहरीले सबै गरिरहेको हुन्छ । नेसनल टेरोरिज्म होस्, चाहे कुनै ठाउँमा बम पड्कियोस्, त्यहाँ नेपाल प्रहरी जान्छ । 

तर ठुलो आक्रमण भयो भने के गर्ने, कसो गर्ने, कसको भूमिका के, एपीएफको भूमिका के हुने, नेपाल प्रहरीको भूमिका के हुने, नेपाली सेनाले के गर्ने भनी नीतिगत रूपमा स्पष्ट हुनै पर्छ । हामीले एउटा कोअर्डिनेटेड जोइन्ट रूपमा टेररिज्मलाई हेर्ने गरी एउटा छुट्टै डेस्क स्थापना गर्न अतिआवश्यक छ । अहिले नेपालमा पनि जातीयताको कुरा, धर्मको कुरा, विचार र आस्थाका कुराहरू जोडतोडले उठ्न थालेका छन् । 

पछिल्लो समय जातीय दंगा वा झडपहरू हुन थालेका छन् । पहिचानका लागि विभिन्न आन्दोलनहरू भइरहेका छन् । यो ठट्टा होइन, राजनीतिक रूपमा पनि तनावको स्थिति छ । नेताहरू बोलिरहेका छन्, तर त्यो बोलीले भविष्यमा कस्तो असर गर्छ, कसलाई के फरक पार्छ, ती कुराहरूमा पनि ध्यान दिनुपर्छ । नेपालका सुरक्षा संयन्त्रलाई सुविधासम्पन्न बनाउनुपर्छ । अहिलेसम्म नेपालमा ह्युमन इन्टेलिजेन्स बढी प्रयोग भएको छ । अब टेक्निकल इन्टेलिजेन्सहरू पनि तयार गरी प्रयोगमा ल्याउनुपर्छ ।

  • यो आतंकवाद या विद्रोही समूहविरुद्धमा एकजुट भएर लड्नुपर्ने अवस्थामा सार्कजस्तो प्रतिष्ठित संस्था त्यही आतंकवादका कारण बन्द भएकोजस्तो छ नि ? 

–आतंकवादका कारण सार्कलाई पनि असर गरेको छ । भारतले पाकिस्तानमाथि आतंकवादी गतिविधि गरेको आरोप लगाइरहेको छ भने पाकिस्तानले त्यसलाई इन्कार गर्दै आइरहेको छ । यो अवस्थामा सार्कलाई अगाडि बढाउन गाह्रो हुन्छ, किनभने सार्कमा दुवै देश सदस्य राष्ट्र हुन् । त्यसमा पनि भारत सार्क सदस्य देश्मध्ये मुख्य हो । तर यसलाई त्यत्तिकै छोड्नु हुँदैन, दुवै देशबिच वार्ता गराएर यसको समाधान खोज्नेतिर जानुपर्छ । 

नेपाल सार्कको अध्यक्ष राष्ट्र भएका कारण नेपालले यसमा भूमिका खेल्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप