शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाम्रा नदीहरूमा बाढी–पहिरोको जोखिम र प्रभावकारी व्यवस्थापन

आइतबार, ०१ भदौ २०८२, १५ : ०२
आइतबार, ०१ भदौ २०८२

नेपाल हिमालयको मुटुमा अवस्थित सानो तर भौगोलिक दृष्टिले अत्यन्तै जटिल देश हो । उत्तरमा चिसो र उकालो हिमाल, बिचमा पहाडी भेग र दक्षिणतिर तराईको विशाल मैदानले बनेको यो भूपरिवेशमा अत्यन्तै विविधता छन् । यहाँ (कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटरमा) रहेका  नदीहरू, जलप्रवाह प्रणाली र तिनीहरूसँग जोडिएका बस्तीहरूको संरचनालाई अत्यन्त संवेदनशील मानिन्छ ।

प्रमुख नदी प्रणाली (कोशी, गण्डकी र कर्णाली) मा सयौँ उपनदी मिसिएका छन् । यी नदी प्रायः हिमनदीबाट उत्पन्न हुने भएकाले तिनको जलप्रवाह वर्षभरि रहन्छ, तर वर्षायाममा वर्षाको पानी र हिमपात पग्लने कारण प्रवाह थप बढी हुन्छ ।

हामीकहाँ बस्ती बस्ने ढाँचा नदी किनार, खोँच र पहाडी ढलानसँग नजिक हुने भएकाले बाढी, पहिरो र टुक्राटाक्रीसहित फोहोरको प्रवाह (डेब्रिस फ्लो) को जोखिम सधैँ रहन्छ । नदीजन्य विपत्तिहरूमा ‘डेब्रिस फ्लो’ विशेष खतरनाक मानिन्छ, किनकि यसमा पानी मात्र होइन, ठुलो मात्रामा ढुंगा, बालुवा, माटो र रूखका ठुटो मिसिएका हुन्छन् । यस्तो प्रवाहको वेग र क्षमताले पुल, सडक, घर, खेतबारी समेत नष्ट गर्न सक्छ । नेपालमा यस्ता घटना विशेष गरी हिमनदी फुट्दा वा निरन्तर वर्षा भएर पहिरो नदीमा खस्दा हुन्छन् ।

विशेषतः पहाडी र हिमाली जिल्ला (जस्तै ः सिन्धुपाल्चोक, मुस्ताङ, मनाङ, म्याग्दी, रसुवा, हुम्ला आदि) मा नदी किनारमै खेतीपाती र बस्ती विकास भएको छ । हाम्रो जलवायु प्रणालीमा दक्षिण–पश्चिमी मनसुन (जुनदेखि सेप्टेम्बरसम्म) ले बढी प्रभाव पार्छ । देशको वार्षिक वर्षाको ७० देखि ८० प्रतिशतसम्म पानी मनसुनको समयमा पर्छ । मनसुनका वर्षाहरू कहिलेकाहीँ धेरै छोटो अवधिमा अत्यधिक मात्रामा हुने भएकाले नदी र खोलामा एक्कासि पानीको मात्रा र बहाव बढ्छ, जसले ठुलो क्षति पुर्‍याउँछ । पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण मनसुन अनिश्चित र चरम बन्दै गएको छ । कहिले अत्यधिक वर्षा, कहिले लामो खडेरी अनि कहिले निरन्तर वर्षा भएर पहिरो र बाढी बढ्ने अवस्था छ ।

गत ५० वर्षको तथ्यांक हेर्दा नेपालमा हरेक वर्ष नदीजन्य बाढी र फोहोर प्रवाहका कारण सयौँ मानिसको ज्यान जान्छ, हजारौँ विस्थापित हुन्छन् र अर्बौंको भौतिक क्षति हुन्छ । १९९३ मा बाढीले हामीकहाँ १,३०० भन्दा बढीको मृत्यु भएको तथ्यांक भेटिन्छ । यस्तै २००८ मा कोशीमा आएकाले बाढीबाट ५० हजारभन्दा बढी विस्थापित भए । २०२१ मा मेलम्ची–इन्द्रावतीमा आएको फोहोरको प्रवाहले दर्जनौँ बस्ती बगायो । २०२५ (यही असार) मा हिमनदीयुक्त ताल फुटेर भोटेकोसीमा आएको बाढी (ग्लोफ ः ग्लासिएल लेक आउटब्रट फ्लड) ले रसुवास्थित नाकाको मितेरी पुल बगायो । 

भौगोलिक अवस्थिति, नदी प्रणाली र बस्तीको संरचनाका कारण हामीकहाँ ‘डेब्रिस फ्लो’को जोखिम छ । जलवायु परिवर्तन, वन क्षेत्रको कमी, अव्यवस्थित सडक निर्माण र नदी किनारमा अनियन्त्रित बसोबासले यो खतरा अझै गहिरो बनाइरहेको छ । त्यसैले भविष्यमा यस्ता क्षति कम गर्न वैज्ञानिक आधारमा दीर्घकालीन रणनीति अत्यन्तै जरुरी छ ।

नदीजन्य विपत्तिहरूमा ‘डेब्रिस फ्लो’ विशेष खतरनाक मानिन्छ, किनकि यसमा पानी मात्र होइन, ठुलो मात्रामा ढुंगा, बालुवा, माटो र रूखका ठुटो मिसिएका हुन्छन् । यस्तो प्रवाहको वेग र क्षमताले पुल, सडक, घर, खेतबारी समेत नष्ट गर्न सक्छ ।
  • केही घटना र सिकाइ

यही असारमा रसुवास्थित नाकामा आएको ‘ग्लोफ’बाट हामीले धेरै सिक्नुपर्नेछ । त्यहाँको माथिल्लो भागमा रहेको हिमताल अचानक फुट्दा ठुलो मात्रामा पानी, हिउँ, ढुंगा र माटो एकैपटक नदीमा बगेर तलतिर आएको थियो । यस प्रवाहको वेग यति तीव्र थियो कि केही मिनेटमै ठुलो भाग नष्ट भयो । प्रमुख राजमार्ग, व्यापारिक गोदाम र बस्तीहरू क्षतिग्रस्त भए । चीनको तिब्बती क्षेत्रमा पनि यसले असर पुर्‍यायो । प्रारम्भिक तथ्यांक अनुसार, ३५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते र करिब सात अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । 

यस घटनाको मुख्य कारण उच्च हिमाली क्षेत्रमा रहेको एक ग्लेसियल तालमा पानीको अत्यधिक सञ्चय र त्यसको बाँध (मोरेन ड्याम) अचानक भत्किनु हो । गर्मी याममा उच्च तापक्रम, असारको मनसुन वर्षा र हिमताल वरिपरि भएको चट्टानी पहिरोका कारण बाँध कमजोर भई एकैपटक फुटेको अनुमान वैज्ञानिकले गरेका छन् । यससँग मिल्दोजुल्दो अर्को उदाहरण छिमेकी भारतको उत्तराखण्डमा भएको उत्तरकाशी–धराली बाढी घटना हो । यो घटना यही वर्षको जुलाईमा भयो र यसको कारण पनि हिमालयकै जल–भू–जलवायु सम्बन्धित कारक थिए । उच्च भागमा लगातार भएको भारी वर्षा र हिमनदी पग्लँदा बनेको आकस्मिक प्रवाहले भागीरथी नदीको बहावलाई खतरनाक तहमा पुर्‍यायो । सडक, पुल, विद्युत् उत्पादन संरचना र बस्तीहरूमा ठुलो क्षति भयो ।

दुवै घटनाले यो सिकाउँछ कि हिमनदी र हिमतालको निगरानी अझै पर्याप्त छैन; सीमापार नदी प्रणाली भएकाले एक देशको मात्र प्रयासले जोखिम कम हुँदैन; आकस्मिक प्रवाह अत्यन्तै छिटो तलसम्म पुग्ने भएकाले चेतावनी प्रणालीलाई अत्यन्त तीव्र र प्रभावकारी बनाउनुपर्छ; नदी किनारको अव्यवस्थित विकासले क्षतिको मात्रा बढाउँछ ।

यी उदाहरणले देखाउँछन् कि आधुनिक उपकरण, सुदृढ संस्थागत समन्वय र स्थानीय समुदायलाई सचेत बनाउन सके क्षति घटाउन सकिन्छ, तर अहिलेको अवस्थामा यी उपाय पर्याप्त रूपमा कार्यान्वयन भएको छैन ।

  • वैज्ञानिक कारण 

हाम्रो भौगोलिक अवस्थिति उत्तरमा उच्च हिमाल, मध्य भागमा पहाड र दक्षिणमा तराई हुँदै ‘इन्डो–ग्याङ्गेटिक’ मैदानसम्म फैलिएको छ । 

हिमाली क्षेत्र समुद्री सतहबाट ८,००० मिटरभन्दा माथिसम्म पुग्छ, जसमा विश्वको सबैभन्दा अग्लो सगरमाथा समेत पर्छ । यी भौगोलिक र जलवायु विशेषताले गर्दा नेपाल बाढी, पहिरो र ‘डेब्रिस फ्लो’का लागि प्राकृतिक रूपमा संवेदनशील क्षेत्र हो । 

हाम्रो भौगोलिक बनावट प्राकृतिक रूपमा जति सुन्दर छ, त्यति नै यहाँ विभिन्न जोखिम पनि रहेका छन् । वैज्ञानिक दृष्टिले हाम्रो हिमालय शृंखला विश्वकै सबैभन्दा युवा पर्वत हो, करिब ५० मिलियन वर्षअघि भारतीय प्लेट र युरेसियन प्लेटको टकराबबाट बनेको । यस टेक्टोनिक गतिविधि अझै जारी छ, जसका कारण नेपालमा वार्षिक रूपमा सतहको उचाइ केही मिलिमिटर बढिरहेको देखिन्छ । यो सक्रिय टेक्टोनिक प्रक्रियाले भू–भागलाई अस्थिर बनाउँछ, जसले ठुलो वर्षा, हिमपात पग्लनु वा भूकम्पको झट्काले पहिरो र ‘डेब्रिस फ्लो’ उत्पन्न गर्न सजिलो बनाउँछ ।

  • प्राकृतिक र भौगोलिक कारण

हाम्रो हिमाली क्षेत्रका धेरै नदी हिमनदी र हिमतालबाट उत्पन्न हुन्छन् । हिमताल प्रायः ‘मोरेन ड्याम’द्वारा अवरुद्ध हुन्छन्, यो ड्याम ठोस चट्टानको नभई बरफ, माटो र ढुंगाको मिश्रण हो । यसको संरचना स्थायी हुँदैन, जसले गर्दा यो भारी वर्षा, भूकम्प वा हिमनदी खस्दा सहजै फुट्न सक्छ । नेपालमा तीन हजारभन्दा बढी हिमताल छन्, जसमा करिब २५–३० वटा ‘अत्यधिक जोखिमयुक्त’ भनेर पहिचान गरिएका छन् । उच्च हिमालयमा जब मौसमी वर्षा र हिमपातको पग्लने पानी एकैसाथ तल बग्छ, नदीको बहाव अचानक बढ्छ । त्यही समयमा ‘मोरेन ड्याम’ कमजोर भई फुट्यो भने बाढी आउँछ, जसलाई ‘ग्लोफ’ (ग्लासिएल लेक आउटब्रस्ट फ्लड) भनिन्छ, जसले तलका बस्तीहरूमा आकस्मिक र भीषण क्षति पुर्‍याउँछ ।

पहिरो–अवरोधित ताल (ल्यान्डस्लाइड ड्याम्ड लेक) पनि नेपालका पहाडी भू–भागमा सामान्य खतरा हो । लगातार वर्षा वा भूकम्पले ठुलो पहिरो खस्दा नदीको बहाव रोक्छ, तल जलाशय बनाउँछ । यो बाँध सामान्यतया अस्थायी हुन्छ र जब पानीको दबाब बढी हुन्छ, एकैपटक फुटेर तलतिर विनाशकारी ‘डेब्रिस फ्लो’ जान्छ ।

  • जलवायु र मौसमी वर्षाको प्रभाव

नेपालको वर्षा प्रणाली प्रायः दक्षिण–पश्चिमी मनसुनद्वारा प्रभावित हुन्छ, जो जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहन्छ । मनसुनको चरित्र अत्यन्त अनियमित छ, कहिलेकाहीँ लामो समयको सुक्खापछि एकैपटक अत्यधिक वर्षा हुन्छ । वैज्ञानिक तथ्य अनुसार, नेपालमा औसत वार्षिक वर्षाको ८० प्रतिशतभन्दा बढी वर्षा तीन–चार महिनामा हुन्छ । यस्तो सघन वर्षाले माटोको सतहको जल–अवशोषण क्षमता पार गर्छ, जसले सतही बहाव (सर्फेस रनअफ) बढाउँछ र पहिरो तथा ‘डेब्रिस फ्लो’को जोखिम बढाउँछ । जलवायु परिवर्तनको प्रभाव पनि यहाँ महत्त्वपूर्ण छ । हिमालय क्षेत्रमा औसत तापक्रम हरेक वर्ष ०.०३ डिग्री सेन्टिग्रेडदेखि ०.०६ डिग्री सेन्टिग्रेडसम्म बढिरहेको वैज्ञानिक अध्ययनले देखाएका छन् । यसले दुई किसिमका असर ल्याउँछ ः १) हिमनदीको पग्लने दर बढ्नु, जसले हिमतालहरूको आकार ठुलो बनाउँछ र मोरेन ड्याममा अतिरिक्त दबाब सिर्जना गर्छ । २) चरम वर्षाको तीव्रता बढ्नु, छोटो समयमा अत्यधिक वर्षा हुँदा पहिरो र बाढी दुवैको खतरा तीव्र हुन्छ ।

नेपालका जलवायु मोडलहरूले भविष्यवाणी गरेका छन् कि सन् २०५० सम्म मनसुनको वर्षा अझ बढी असमान र चरम हुनेछ, कहिलेकाहीँ हप्तौँसम्म वर्षा नपरेर एकै दिन वा दुई दिनमा महिनाभरको वर्षा खस्ने । यस्तो परिस्थितिले अचानक बाढी (फ्लास फ्लड) र ‘डेब्रिस फ्लो’को सम्भावना बढाउँछ । 

  • ‘डेब्रिस फ्लो’को भौतिक विज्ञान

‘डेब्रिस फ्लो’ साधारण बाढीभन्दा धेरै खतरनाक हुन्छ । सामान्य बाढीमा मुख्यतया पानी हुन्छ, तर ‘डेब्रिस फ्लो’मा पानीसँगै माटो, ढुंगा र काठपातजस्ता ठोस सामग्री मिसिन्छन् । ठोस सामग्रीको अंश ४० देखि ८० प्रतिशतसम्म हुन सक्छ, जसले यसलाई बाक्लो, चिपचिपो र उच्च विनाश–क्षमता भएको बनाउँछ । यस्तो प्रवाहको गति ३०–५० किमि प्रतिघण्टा पुग्न सक्छ र भारी वस्तुहरू (जस्तै ः साना घर वा गाडी)लाई सजिलै बगाएर लैजान सक्छ । पानीको उच्च घर्षण शक्ति र ठोस पदार्थको आघातले पुल, सडक र संरचना क्षणभरमै नष्ट गर्छ । 

यस वर्ष रसुवा नाकामा क्षति गरेको ‘ग्लोफ’का सम्बन्धमा वैज्ञानिकले प्रारम्भिक विश्लेषण गरिसकेका छन्, जस अनुसार पहिलो ३० मिनेटमै करिब २० लाख घनमिटर अवशेष र पानीको मिश्रण तलतिर बग्यो । यस्तो प्रवाहको ऊर्जा त्यति उच्च थियो कि यसले नदी किनारका कडा संरचनासम्म उखेल्यो र सडकको आधार माटो ध्वस्त पार्‍यो ।

यस्तै मेलम्ची–इन्द्रावती घटना (सन् २०२१) पनि लगातार वर्षापछि माथिल्लो क्षेत्रमा ठुलो पहिरो खसेर नदी अवरुद्ध हुँदा भएको थियो । केही घण्टापछि अस्थायी बाँध फुट्दा विशाल ‘डेब्रिस फ्लो’ तलका बस्तीमा पुग्यो, जसले जल आपूर्ति आयोजना र सडक नेटवर्कलाई ठुलो क्षति पुर्‍यायो ।

भारतको उत्तरकाशी धराली गाउँमा यस वर्ष भएको घटना पनि भारी वर्षा र हिमनदी पग्लिएका कारण भएको देखिन्छ । यी घटनाले देखाउँछन्, एक कारणले मात्र होइन थुप्रै कारणको संयोजनले हिमालयन बाढी र ‘डेब्रिस फ्लो’ उत्पन्न गर्छ ।

  • तत्काल र दीर्घकालीन असर 

नेपालमा नदीजन्य विपत्ति अर्थात् हिमताल फुट्नु, पहिरो–अवरोधित ताल फुट्नु वा अचानक आएको ‘डेब्रिस फ्लो’को असर केवल केही घण्टा वा दिनको कुरा होइन, यसका परिणाम वर्षौंसम्म देखिन्छन् । तत्कालीन असरको प्रायः ठुलो समाचार बन्छ, तर दीर्घकालीन असरले चुपचापसँग मानिसको जीवन र अर्थतन्त्रमा गहिरो प्रभाव पार्छ । 

तात्कालिक असर भन्नाले घटना घटेको केही घण्टा, दिन वा हप्ताभित्र देखिने क्षतिलाई बुझिन्छ । रसुवा नाकामा देखिएझैँ केही मिनेटमै शक्तिशाली ‘डेब्रिस फ्लो’ गाउँमा पुगेपछि भौतिक क्षति त भयो नै मानिस भाग्न समेत पाएनन् । 

रसुवा नाकामा माटो, ढुंगा र पानीको भारी प्रवाहमा घर लगायत संरचना क्षणभरमै बगे । प्रमुख सडक र पुल बग्दा नजिकैको व्यापारिक आवागमन रोकिन पुग्यो । 

यस्ता घटनापछि बाँच्न सफल मानिसमा समेत मानसिक त्रास, तनाव वा आघात उत्पन्न गर्छ । 

दीर्घकालीन असर भनेको घटना भएको महिनौँ वा वर्षौंसम्म समुदाय र अर्थतन्त्रमा देखिने असर हो । बाढीपछि पुनर्निर्माण, राहत र पुनर्वासमा अर्बौं रुपैयाँ खर्च हुन्छ । नेपालजस्तो विकासशील देशमा यो रकम प्रायः अन्तर्राष्ट्रिय दातृ निकाय, सरकारी बजेट र स्थानीय योगदानबाट जुटाइन्छ । जब सरकारी स्रोत पुनर्निर्माणतर्फ मोडिन्छ तब शिक्षा, स्वास्थ्य र दीर्घकालीन पूर्वाधार विकासका बजेटमा कटौती हुन्छ । यसले विकासको गति सुस्त बनाउँछ ।

  • किन भए विपत्तिहरू विनाशकारी ? 

नेपालका बाढी, पहिरो, ‘डेब्रिस फ्लो’ र हिमताल फुटेर आउने बाढी (ग्लोफ) जस्ता विपत्तिहरूको मुख्य सुरुवात प्राकृतिक कारणबाट हुन्छ । भारी वर्षा, हिमताल फुट्ने, भूकम्पपछिका ढलान कमजोर हुनु आदि यसका मूल कारण हुन् तर ती विपत्ति यति ठुलो विनाशमा परिणत हुनुमा मानवनिर्मित कमजोरी नै प्रमुख छन् ।

क) पूर्वसूचना प्रणाली कमजोर

नेपालमा बाढी र पहिरोको पूर्वसूचना प्रणाली अझै प्रारम्भिक स्तरमा मात्र छ । धेरै जोखिमयुक्त नदी बेसिनमा हाइड्रोलोजिकल (पानीको बहाव नाप्ने) र मेट्रोलोजिकल (मौसमको मापन गर्ने) उपकरण छैनन्, भए पनि ती उपकरण नियमित रूपमा मर्मत हुँदैनन् । फलतः कुनै ठुलो वर्षा वा हिमताल फुट्ने सम्भावनामा समयमै चेतावनी पठाउन सकिँदैन । 

रसुवा नाकाको घटनामा चीनतर्फको हिमताल फुटेर आएको बाढीको बारेमा प्रारम्भिक सूचना चीनमा तत्काल थाहा भयो । तर त्यो सूचना नेपालतर्फ पुग्दा धेरै ढिलो भइसकेको थियो । यसले प्रभावित बस्तीका मानिसलाई घर छाड्ने वा सुरक्षित स्थानतर्फ जान पर्याप्त समय दिइएन । धेरै ग्रामीण क्षेत्रमा अझै पनि चेतावनी पठाउने संरचना रेडियो वा स्थानीय स्वयंसेवकमा भर पर्छ, जसले भारी वर्षा र अवरोधका कारण ढिलो सूचना पुर्‍याउँछ ।

ख) अव्यवस्थित बसोबास र खेती

नेपालको भौगोलिकस्वरूप पहाडी भए पनि नदी किनार र तलाउको किनारमा बसोबास गर्ने परम्परा पुरानो छ । नदीको आसपासको जमिन प्रायः उर्वर हुन्छ, जसले खेती गर्न सजिलो बनाउँछ । यसै कारण नदी किनारमै घर, खेत र बजार बसाल्ने चलन आजसम्म रहँदै आएको छ । यसले प्राकृतिक जोखिमलाई धेरै बढाउँछ । बाढी वा ‘डेब्रिस फ्लो’ आउँदा यी संरचनामा सीधै प्रभाव पर्छन् । मेलम्चीमा आएको बाढीले नदी किनारमा बनेका घर, होटल र पानीको पाइपलाइन समेत बगायो । यसले देखाउँछ कि बसोबास र खेती योजनाबद्ध नभएकाले बाढीको क्षति गुणात्मक रूपमा बढ्छ ।

ग) सीमापार समन्वयको कमी

नेपालका धेरै ठुलो नदी प्रणालीहरू (जस्तै : कोशी, गण्डकी र कर्णाली) को स्रोत क्षेत्र चीन (तिब्बत) वा भारतमा पर्छ । स्रोत क्षेत्रमा ठुलो वर्षा, हिमताल फुट्ने वा पहिरो रोकावट फुट्ने घटना भयो भने त्यसको असर केही घण्टामै नेपालतर्फ आउँछ तर समयमै सूचना आदानप्रदान गर्ने प्रभावकारी संयन्त्र नेपाल र छिमेकी मुलुकबिच छैन । 

घ) पूर्वाधार कमजोर

नेपालका धेरै पुल, सडक र जलविद्युत् आयोजना पुरानो प्रविधि वा कम लागतको सोचमा निर्माण गरिएका छन् । डिजाइन गर्दा भविष्यको जलवायु परिवर्तन, बाढीको शक्ति वा ‘डेब्रिस फ्लो’को सम्भावित दबाबलाई पर्याप्त ध्यान दिइँदैन । 

ङ) जनचेतना र अभ्यासको कमी

पूर्वसूचना भए पनि धेरै मानिसले तत्काल प्रतिक्रिया दिने अभ्यास गरेका हुँदैनन् । ग्रामीण क्षेत्रमा बाढी वा पहिरोको खतरा सामान्य कुराजस्तो मानिन्छ । चेतावनी आएपछि पनि कतिपय परिवारले सामान बचाउन समय खर्च गर्छन्, जसले ज्यान जोखिममा पार्छ । 
अर्कोतिर विद्यालय, समुदाय वा गाउँ तहमा विपत्ति तयारी अभ्यास (मक ड्रिल) नगरी चेतावनी मात्रले पर्याप्त सुरक्षा दिन सक्दैन ।

च) दीर्घकालीन जोखिम मूल्यांकनको अभाव

नेपालमा ठुला निर्माण र विकास परियोजनामा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने प्रचलन छ तर प्रायः यो औपचारिकता मात्र पूरा गर्न प्रयोग हुन्छ । बाढीको सम्भावित मार्ग, ‘डेब्रिस फ्लो’ को शक्ति वा भविष्यको जलवायु परिवर्तनले ल्याउने वर्षा–ढाँचामा पनि वैज्ञानिक अध्ययन अनुसन्धान हुनुपर्छ । 

छ) रणनीति 

नेपालजस्तो भौगोलिक रूपमा जोखिमयुक्त देशका लागि नदीजन्य विपत्ति नियन्त्रण गर्न र जनजीवन सुरक्षित बनाउन दीर्घकालीन, व्यावहारिक र वैज्ञानिक रणनीति आवश्यक हुन्छ । बाढी, पहिरो, ‘डेब्रिस फ्लो’ र हिमताल फुटेर आउने बाढी (ग्लोफ) को जोखिम नेपालमा निरन्तर बढ्दै गएको छ । यसले कृषि, पूर्वाधार, जीवन र आर्थिक समृद्धिमा गम्भीर प्रभाव पारिरहेको छ । यसैमा आधारित भएर नेपालले जापानजस्ता विकसित देशले अपनाएका आधुनिक उपायबाट सिक्नुपर्ने अवस्था छ ।

  • जापानको सफलताका उदाहरण

विश्वकै अत्यधिक भौगोलिक जोखिमयुक्त देशमध्ये एक हो जापान । त्यहाँ लगातार भारी वर्षा, भूकम्प, ज्वालामुखी विस्फोट र सुनामी आउँछन् तर जापानले पूर्वसूचना प्रणाली, संरचनात्मक उपाय र समुदाय सशक्तीकरणमार्फत हरेक वर्ष हुने बाढी र ‘डेब्रिस फ्लो’बाट हुने जोखिमलाई प्रभावकारी रूपमा घटाउन सकेको छ । नेपालले पनि यी उपायबाट ठुलो लाभ लिन सक्छ ।

क) अत्याधुनिक पूर्वसूचना प्रणालीको विकास

जापानमा रियल–टाइम वर्षा मापन र नदीको पानीको बहाव मापन गर्ने अत्याधुनिक उपकरण सिंगो मुलुकभर जडान छन् । यी उपकरणले कुनै पनि नदीमा पानीको सतह कति छ, वर्षा कति भइरहेको छ र पानीको बहावमा कस्तो परिवर्तन भइरहेको छ भनेर तुरुन्त जानकारी दिन्छ । यसले खतरा भएको खण्डमा तुरुन्तै सम्बन्धित निकाय र समुदायलाई सूचना पुर्‍याउन मद्दत गर्छ । 

नेपालमा पनि उच्च हिमालय क्षेत्रका हिमताल, नदी र पानीको बहावलाई नियमित निगरानी गर्न आधुनिक मापन उपकरणहरू (जस्तै : रिमोट सेन्सिङ, जीआईएस, स्याटेलाइट डाटा) स्थापना गर्न आवश्यक छ । नेपाल सरकारको जलविद्युत् आयोजना, पर्यावरण, मौसम पूर्वानुमान र विपत्ति व्यवस्थापन विभागले यस्ता प्रणालीलाई थप प्रविधिमैत्री र पहुँचयोग्य बनाउनुपर्नेछ ।

यस्तै छिमेकी देशसँग सूचनाको आदान–प्रदान गर्ने संयन्त्र पनि विकास गर्न आवश्यक छ । 

ख) स्थानीय चेतावनी प्रणाली र जनसचेतना अभिवृद्धि

जापानमा पूर्वसूचना मात्र होइन, त्यसलाई समुदायसम्म पुर्‍याउने माध्यम पनि अत्यन्त प्रभावकारी छन् । रेडियो, मोबाइल एप, सार्वजनिक साइरन र स्थानीय स्वयंसेवकमार्फत गाउँसम्म समेत चेतावनी तुरुन्त पुग्छ । साथै बाढी र पहिरो आउने सम्भावित समयलाई जनताले बुझ्न र सुरक्षित ठाउँमा जानका लागि नियमित तालिम र अभ्यास गरिन्छ । नेपालका ग्रामीण क्षेत्रमा पनि स्थानीय भाषा र सांस्कृतिक सन्दर्भ अनुसार चेतावनी प्रणाली विकास गर्नुपर्छ । रेडियो प्रसारण, मोबाइल टेक्स्ट र सामुदायिक रेडियो माध्यमले समयमै जानकारी पुर्‍याउन सकिन्छ । साथै विद्यालय, स्वास्थ्य चौकी र स्थानीय सरकारको समन्वयमा नियमित ‘ड्रिल’ अर्थात् बाढी–पहिरो जोखिममा के गर्ने भन्ने अभ्यास गराउनु अत्यन्त जरुरी छ ।

ग) ‘डेब्रिस फ्लो’ रोक्ने ‘साबो ड्याम्स’ र नदी व्यवस्थापन

जापानले पहाडी क्षेत्रमा ‘डेब्रिस फ्लो’ रोक्न र पानीको बहावलाई नियन्त्रण गर्न ‘साबो ड्याम’ नामक संरचना (बाँध) निर्माण गरेको छ । यस्ता बाँधले ठुला ढुंगा र माटो वहन नदिई रोकथाम गर्छन् । नदीमा ठुला ‘डेब्रिस फ्लो’लाई कम गर्छन् । साथै नदी किनारामा ‘स्टोन ग्याबियन’, ‘चेक ड्याम’ र कंक्रिटको बलियो संरचना राखेर बाढीको दबाब कम गर्ने उपाय अपनाइएको छ । नेपालमा पनि हिमाली क्षेत्र र पहाडी नदीहरूमा यस्ता संरचना निर्माण गर्नुपर्छ । 

पहिरोबाट उत्पन्न ‘डेब्रिस फ्लो’लाई नियन्त्रण गर्न साना–ठुला चेक ड्याम, ग्याबियन र कम्प्याक्ट संरचना बनाई निरन्तर मर्मत–सम्भार गर्नुपर्छ । साथै नदीको प्रवाह मार्गलाई प्राकृतिक अवस्थामा राख्न मानवीय हस्तक्षेप सीमित गर्नुपर्छ ।

घ) नदी किनारमा हरियाली पुनर्स्थापना र संरक्षण

जापानमा नदी किनारमा रुख र वनस्पति रोपेर बाढीको दबाब कम गर्ने प्रयास गरिएको छ । वनस्पतिले जमिनलाई मजबुत बनाउँछ र पानीको बहावलाई क्रमशः मन्द बनाउन सहयोग गर्छ । यसले बाढीको तीव्रता र क्षतिको सम्भावना घटाउँछ ।
नेपालमा पनि पहाडी क्षेत्र र नदी किनारमा व्यापक रूपमा हरियाली पुनर्स्थापना गर्नुपर्ने हुन्छ । यसले केवल बाढी नियन्त्रण मात्र होइन, माटो कटान रोक्न र जैविक विविधता संरक्षणमा पनि योगदान गर्छ । सरकारी कार्यक्रम, स्थानीय समुदायको सहभागिता र गैरसरकारी संस्थाहरूको सहकार्यले यस्ता हरियाली विस्तार गर्न सकिन्छ ।

ङ) दीर्घकालीन पुनर्वास योजना 

जापानले जोखिमयुक्त क्षेत्रमा अव्यवस्थित बसोबास रोक्न कडा कानुन बनाएको छ । त्यस्ता क्षेत्रमा निर्माण रोक्ने वा विस्थापित गर्ने नीति छ । साथै बाढीपछि प्रभावितलाई दीर्घकालीन पुनर्वासका लागि सुरक्षित नयाँ स्थलमा पुनः स्थापना गर्ने व्यवस्था छ । 

नेपालमा पनि विशेष गरी नदी किनार, तलाउको किनार र पुराना बाढी र पहिरो प्रभावित क्षेत्रमा पुनर्वास योजनालाई प्राथमिकता दिनुपर्छ । सरकार र स्थानीय तहले जोखिम नाप्ने नक्सा तयार गरी जोखिमयुक्त क्षेत्रबाट समुदायलाई सुरक्षित ठाउँमा सार्ने कार्यक्रम सुरु गर्नुपर्छ ।

च) जलवायु परिवर्तन अनुकूलन पूर्वाधार

नेपालका पुल, सडक, बाँध र जलविद्युत् आयोजना जलवायु परिवर्तन र बाढीको जोखिम वा अवस्थालाई ध्यानमा राखेर बनाइनुपर्छ । जापानमा नयाँ निर्माण गर्दा बाढीको चरम बहाव र डेब्रिस फ्लो मापन गरिन्छ र त्यस अनुसार संरचना डिजाइन गरिन्छ । नेपालमा पनि पूर्वाधार निर्माण गर्दा जोखिम मूल्यांकन अनिवार्य गर्नुपर्छ । साथै पुराना संरचनाको मर्मत र सुधारमा लगानी बढाउनुपर्छ ताकि ती चरम घटनामा बच्न सकुन् ।

  • निष्कर्ष

नेपालको हिमाली भूभागमा बहुमुखी नदी प्रणाली छन्, जहाँ भारी वर्षा, हिमनदीको पग्लाइ र भूगर्भीय गतिविधिका कारण बाढी, पहिरो र ‘डेब्रिस फ्लो’ हुने जोखिम धेरै छ । विगतका विपत्तिहरूको मुख्य कारणमा जलवायु परिवर्तनले बढाएको चरम वर्षा, हिमनदीको पग्लने क्रिया, कमजोर पूर्वसूचना प्रणाली, अव्यवस्थित बसोबास र सीमापार समन्वयको कमी आदि छन् । 

कमजोर पूर्वाधार र जनचेतनाको अभावले विपत्तिलाई अझ विनाशकारी बनाएको छ । नेपालले जापानजस्ता विकसित मुलुकबाट सिकेर आधुनिक रियल–टाइम निगरानी प्रणाली, स्थानीय चेतावनी प्रविधि, डेब्रिस फ्लो रोक्ने संरचना, नदी किनारमा हरियाली पुनर्स्थापना र दीर्घकालीन पुनर्वास योजना अपनाउन आवश्यक छ । यसले मात्र प्राकृतिक जोखिमलाई व्यवस्थापन गरेर जनधनको सुरक्षा गर्न सकिन्छ । सामुदायिक तालिम, सीमापार सूचना आदान–प्रदान र पूर्वाधारमा जलवायु अनुकूलनले नेपालका नदीलाई थप सुरक्षित बनाउन मद्दत गर्नेछ । यसरी नेपालले बाढी र डेब्रिस फ्लोको जोखिमलाई कम गर्दै दिगो विकासको बाटो अघि बढ्न सक्छ ।

(लौडारी जापानको एहिमे विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा बाढी नियन्त्रण प्रविधिसम्बन्धी विद्यावारिधि र अनुसन्धानकर्ता हुन् । हाल उनी जापानको कोची विश्वविद्यालयमा जलवायु परिवर्तन, जल स्रोत व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका विषयमा अनुसन्धान गरिरहेका छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई.  डा. सुरेश लौडारी
ई. डा. सुरेश लौडारी
लेखकबाट थप