शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषका कर्मचारीहरूको आन्दोलन अझै जारी

आइतबार, ०१ भदौ २०८२, १६ : ०९
आइतबार, ०१ भदौ २०८२

सारांश

  • लुम्बिनी विकास कोषका कर्मचारीहरूले विभिन्न माग राख्दै २५ दिनदेखि आन्दोलन जारी राखेका छन्।
  • कर्मचारी युनियन र मन्त्रालयबीचको वार्ता बिना ठोस नतिजा टुङ्गिएपछि आन्दोलन झन् चर्किने देखिएको छ।
  • कर्मचारीहरूले सञ्चित बिदा, भत्ता, र सेवा करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग राखेका छन्।

बुटवल । लुम्बिनी विकास कोषका कर्मचारीहरूको आन्दोलन २५ दिन नाघ्दासमेत जारी छ।

साउन ८ गतेदेखि विभिन्न माग राख्दै तालाबन्दी गर्दै आन्दोलन सुरु गरेका कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने बताएका छन् । 

विकास कोष कर्मचारी युनियनका कोषाध्यक्ष प्रकाश यादवका अनुसार, कर्मचारीहरूको माग सम्बोधनका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश श्रेष्ठको संयोजकत्वमा समिति बनाएर वार्ता थाले पनि ठोस नतिजा ननिस्केको कारण आन्दोलन रोकिएको छैन।

शुक्रबार सिंहदरबारमा भएको वार्तामा पनि माग सम्बोधन हुने संकेत नदेखिएको यादवले बताए। उनका अनुसार, अब बोर्डस्तरीय वार्ता नभएसम्म आन्दोलन झन् चर्किनेछ। हाल कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरी बाहिरै बसेका छन्।

वार्तामा सहभागी हुन कर्मचारी युनियनका अध्यक्ष अब्दुल ओफा, सचिव जितेन्द्र यादव र सदस्य अब्दुल अहद खाँ काठमाडौँ पुगेका थिए। मन्त्रालयले सहसचिव श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष ल्याह्क्याल लामा लगायत तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।

कर्मचारीहरूले सञ्चित बिदा, कोष भत्ता, महँगी भत्ता उपलब्ध गराउनुपर्ने, सेवा करारमा कार्यरत कर्मचारीलाई दरबन्दी स्वीकृत गरी स्थायी गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। तीमध्ये केही माग अर्थ मन्त्रालयसँग सम्बन्धित रहेकाले त्यहाँसँग समन्वय गरेर अघि बढाउनुपर्ने अवस्था रहेको बताइएको छ।

साउन १३ गतेदेखि कर्मचारीहरूले प्रधान कार्यालयमा तालाबन्दी गर्दै सम्पूर्ण कामकाज ठप्प पारेका छन्। लुम्बिनी शान्ति क्षेत्र नै अशान्त बन्न थाले पनि कोषका पदाधिकारी र उच्च अधिकृतको बेवास्ताले कर्मचारीहरूको आक्रोश बढेको युनियनको आरोप छ।

यादवका अनुसार, २२ दिनपछि शुक्रबार भएको वार्ता सकारात्मक नदेखिएपछि अब सोमबार साँझतिर पुनः वार्ता हुने तय भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप