बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कूटनीति

भारतीय विदेश सचिवको नेपाल भ्रमण : शीर्ष नेतादेखि राष्ट्रपतिसम्म एकैदिन भेटवार्ता

आइतबार, ०१ भदौ २०८२, २१ : ३०
आइतबार, ०१ भदौ २०८२

सारांश

  • भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालको दुई दिने भ्रमणको पहिलो दिन उच्चस्तरीय भेटवार्ता गरे।
  • मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिए, र नेपाल-भारत सम्बन्धबारे छलफल भयो।
  • राष्ट्रपति रामचन्द्र पौडेलले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै दुई देशबीचको सम्बन्धबारे चर्चा गरे।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणको पहिलो दिन उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् । उनले प्रधानमन्त्री, राष्ट्रपतिसहित विभिन्न दलका शीर्ष नेतासँग तीव्र गतिमा आइतबार नै भेटवार्ता गरेका हुन् ।

आइतबार बिहान नेपाल आइपुगेका मिस्रीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो भेट गरे ।

533846449_1180789360752770_420443232504238512_n

प्रधानमन्त्रीसँग सिंहदरबारमा भेट गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणको निम्ता दिन नेपाल आएका मिस्रीले नेपालमा गरेका उच्चस्तरीय भेटवार्तामा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएका छन् ।

‘भारतसँगको सम्बन्ध उच्च प्राथमिकतामा’

विदेश सचिव मिस्रीसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएका छन् ।

‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

535175919_1180797480751958_2284378858450124083_n

विदेश सचिव मिस्रीसँगको भेटपछि राष्ट्रपति  नेपाल र भारतबिच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक,  तथा जनस्तरको निकट सम्बन्ध रही आएको  र दुई मुलुकबिचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।

‘नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने भारत सरकारको छिमेक पहिलो नीतिको नेपाल सराहना गर्दछ’, राष्ट्रपति पौडेलले भने ।

साथै विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबिचको प्रगति एवम् विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका छन् ।  सिंहदरबारमा भएको शिष्टाचार भेटपछि मिस्रीले प्रधानमन्त्री ओलीलाई निम्तो हस्तान्तरण गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि आधिकारिक रूपमा ओलीको भ्रमण मिति भने औपचारिक रूपमा सार्वजनिक भैसकेको छैन ।

आरजुसँग भेटेपछि रात्रिभोज

Indian foreign secretary and foreign Minister of Nepal Arju Deuwa Rana_-826

विदेश सचिव मिस्रीले आइतबार नै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । त्यसपछि परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुई पक्षीय भेटवार्ता गरे। भ्रमण सकेर मिस्री सोमबार फर्कनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप