शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

आइतबार, ०१ भदौ २०८२, १९ : ०४
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । बालसंसार डट कमले बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी तयार पारिएको चौथो बालगीत आइतबार सार्वजनिक गरेको छ । यो गीत विशेषगरी बाबाप्रति कृतज्ञता र स्नेह प्रकट गर्ने उद्देश्यले सिर्जना गरिएको हो ।

यस बालगीतको रचना ललिता ‘दोषी’ले गरेकी हुन् भने स्वर अनमोल सेवाले दिएका छन् । कक्षा सातमा अध्ययनरत अनमोलले आफूलाई बालगायकका रूपमा स्थापित गर्दै आएका छन् । संगीतकार बद्री सेवाद्वारा सिर्जित धुनमा गीतलाई आधुनिक बालसंगीतको स्वाद दिने गरी प्रस्तुत गरिएको छ । एरेन्ज तथा मिक्सिङ राम कार्कीले गरेका छन् । रेकर्डिङ थापागाउँस्थित ‘द पिक रेकर्डिङ स्टुडियो’मा गरिएको हो ।

गीतको विशेषता भनेकै यसले राष्ट्रिय स्तरमै मान्यता पाएको पृष्ठभूमि हो । रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी बालगीत प्रतियोगिता २०८१ मा यो गीतले प्रथम स्थान हासिल गरेको थियो । प्रतियोगितामा विजयी भएपछि यसलाई अझ परिष्कृत गर्दै बालसंसार डट कममार्फत सार्वजनिक गरिएको हो । रचनाकार 'दोषी'को भनाइमा गीतले केवल बालबालिकामाझ होइन, अभिभावकमाझ पनि बाबाप्रतिको माया र सम्मानलाई उजागर गर्नेछ ।

बुवाको मुख हेर्ने दिनलाई नेपाली समाजमा विशेष भावनासहित मनाइन्छ । यस अवसरमा बाबाप्रति समर्पित भक्ति, श्रद्धा र सम्झनाका कार्यक्रम हुने गर्छन् । बालसंसार डटकमले सार्वजनिक गरेको यो गीत त्यही अवसरलाई अझ अर्थपूर्ण बनाउन सहयोगी बन्ने विश्वास गरिएको छ । गीतका शब्द र धुन दुवै बुबाको भूमिका, माया र परिश्रमलाई उजागर गर्ने खालका छन् ।

बालसंसारले यसअघि पनि बालबालिकाका लागि विविध बालगीत र सिर्जनाहरू सार्वजनिक गर्दै आएको छ । यो गीत बालसंसारको युट्युब र फेसबुक च्यानलमा हेर्न र सुन्न सकिनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप