चाडपर्वमा महँगी बढ्न नदिन चीन जोड्ने सडक तत्काल खोल्न सांसदहरूको दबाब
काठमाडौँ । चाडपर्वको मुखमा मन्सुनजन्य विपदले सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । नेपालको उत्तरी नाका चिनसँग जोड्ने रसुवागढी र तातोपानी नाकामा सवारी सञ्चालन ठप्प छ ।
जसका कारण चाडपर्वलक्षित आपूर्तिमा प्रभाव परेको छ भने चाडपर्वको मुखैमा आपूर्ति ठप्प हुँदा महँगी बढ्ने भन्दै तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सांसदहरूले जोड दिएका छन् ।
गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवागढी/टिमुरे नाका तहसनहस पारेको छ । नेपाल–चीन जोड्ने मितेरीपुल बगाउनका साथै सडक क्षति गरेको थियो । बाढीले क्षति गरेको सडक मर्मत सकिएपछि फेरि साउन १४ गते आएको बाढीले क्षति गरेको छ ।
यस्तै तातोपानी नाका जोड्ने अरनिको राजमार्गअन्तर्गत कोदारी (इको)मा साउन १८ गते गएको पहिरोले यो सडक पूर्ण रूपमा अवरुद्ध छ । यो सडक खुलाउन दुई साता लाग्ने सडक विभागले जनाएको छ ।
आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा यी सडकबारे छलफल थियो । छलफलमा सांसदहरूले चाडपर्वमा सडक यातायात सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले के कस्ता पहल गरिरहेको छ सो सम्बन्धमा प्रश्न उठाएका छन् ।
सांसद प्रकाश ज्वालाले वर्षाले अवरुद्ध भएका राजमार्गहरू, विशेषगरी उत्तरी नाका जोड्ने सडकहरू, तत्काल सुचारु गर्न नसके चाडपर्वमा महँगी र कालोबजारीले जनता मारमा पर्ने बताए । सांसद ज्वालाले कोदारी र रसुवागढी जोड्ने सडकहरू राजधानीसँग मात्र नभई देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले तत्काल खुलाउनुपर्ने बताए ।
उनले राजधानी नजिकका सडकमा मात्र सरकारको ध्यान केन्द्रित भएको तर पश्चिमका सडकहरू उपेक्षामा परेको तर्क गरे । ‘राजधानी जोड्ने सडक दार्चुला र बाजुराबाट पनि सुरु हुन्छ, तर सरकारको ध्यान दाउन्नेभन्दा पश्चिम गएको देखिएन,’ उनले भने ।

बीपी राजमार्गको खुर्कोटस्थित पुल मर्मतमा ध्यान नपुगेको भन्दै उनले देशभरका मुख्य राजमार्गहरूको अवस्थाप्रति गम्भीर हुन आग्रह गरे ।
सांसद माधव सापकोटाले अरनिको राजमार्गस्थित कोदारीको पहिरो (इको पहिरो) को तत्काल व्यवस्थापन गर्न नसके चाडपर्वको मुखमाम बजारमा अचाक्ली महँगी बढ्ने बताए । साथै यसको दीर्घकालीन समाधानका लागि पहल गर्न भौतिकमन्त्रीसमक्ष आग्रह गरे ।
सांसद सापकोटाले २०७२ सालको भूकम्पपछि धाँजा फाटेर निरन्तर समस्या बनेको उक्त पहिरो वर्षायाममा राष्ट्रिय मुद्दा बन्ने र हिउँदमा सबैले बिर्सने प्रवृत्तिका कारण स्थानीय जनताले १० वर्षदेखि सास्ती भोगिरहेको बताए । साथै पहिरोका कारण उक्त क्षेत्रका ७५ घर उच्च जोखिममा रहेको, १२ वटा घर पूर्ण रूपमा बस्न नमिल्ने गरी क्षति भएको र अर्बौंको लगानीमा बनेका गुम्बा, विद्यालय तथा प्रहरी चौकी जस्ता सार्वजनिक संरचनासमेत खतरामा रहेको भन्दै ध्यानाकर्षाण गराए । भूगर्भविद्हरूले उक्त क्षेत्रलाई मानवीय बसोबासका लागि अयोग्य भन्दै ’रातो’ लगाएको साथै मानवीय र भौतिक क्षतिको ठुलो जोखिम रहेको भएपनि त्यहाँ वस्ती व्यवस्थापन हुन नसकेको बताए ।
सांसद सापकोटाले यो पहिरो स्थानीय समस्या मात्र नभई राष्ट्रिय अर्थतन्त्र र आम उपभोक्ताको भान्सासँग समेत जोडिएको बताए ।
सांसद सापकोटाले पहिरो व्यवस्थापनका लागि दीर्घकालीन समाधानका लागि चिनियाँ अनुदानको उपयोग गर्न सकिने ठोस प्रस्ताव गरे । ‘तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको चीन भ्रमणका वेला चीन सरकारले अरनिको राजमार्ग स्तरोन्नति र मर्मतका लागि दिएको करिब १४ अर्ब रुपैयाँको अनुदानमध्ये ठुलो रकम (अनुमानित ८–१० अर्ब) अझै खर्च नभइरहेको जस्तो लाग्छ,’ सापकोटाले भने, ‘त्यो रकम प्रयोग गरेर चीनले खासा क्षेत्रमा पहिरो व्यवस्थापन गर्न प्रयोग गरेको प्रविधि प्रयोग गरेर पहिरोको दिगो समाधान गर्न सकिन्छ ।’
सांसद निशा डाँगीले सरकारले बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई अल्पकालीन समाधानमा मात्रै सीमित राखेको भन्दै आलोचना गरिन् । उनले जलवायु प्रतिरोधी सडक र पुल निर्माणमा ध्यान नदिएसम्म बर्सेनि उही समस्या दोहोरिने बताइन् ।
‘पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने, हरेक वर्ष बाढी–पहिरोले सयौँ पुल र सडक बगाएको छ,’ डाँगीले भनिन्,‘तर हाम्रो ध्यान कति क्षति भयो र त्यसलाई पुनर्निर्माण गर्न कति पैसा लाग्छ भन्नेमा मात्रै केन्द्रित भयो । हामीले कहिले पनि दीर्घकालीन समाधान खोजेनौँ ।’
उनले सरकारको ध्यान क्षतिग्रस्त संरचनालाई जस्ताको तस्तै बनाउनेतर्फ मात्र गएको तर त्यसलाई भविष्यमा सुरक्षित राख्ने गरी जलवायु प्रतिरोधी बनाउनेतर्फ नगएको बताइन् । ‘विज्ञहरूले जलवायु प्रतिरोधी पूर्वाधारको आवश्यकता औँल्याइरहे पनि मन्त्रालयले यसतर्फ कहिलेबाट काम सुरु गर्छ ?,’ उनले प्रश्न गरिन् ।
सांसद डाँगीले छलफलका क्रममा दुईवटा विषयमा मन्त्री र सचिवबाट स्पष्ट जवाफ मागिन् । लामो समयदेखि चर्चामा रहेको ‘सडक सुरक्षा ऐन’ संसदको यही अधिवेशनमा पेस गर्न सकिन्छ कि सकिँदैन भनी स्पष्ट जवाफ दिन डाँगीले आग्रह गरिन् ।
बिना लामाले रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले यो क्रम चलिरहँदा राज्यको स्रोत दुरुपयोग भइरहेको र जनताले सास्ती भोग्नुपरेको भन्दै यसको दीर्घकालीन समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सडकलाई सुरक्षित बनाउन विशेष कार्ययोजना ल्याउन मन्त्रालयसँग माग गरिन् ।
के भन्छ सडक विभाग ?
सडक विभागले दसैँअघि देशभरका मुख्य राजमार्गहरूमा रहेका खाल्डाखुल्डी मर्मत गरिसक्ने जनाएको । तर, वर्षाका कारण क्षति पुगेका चीनसँग जोड्ने कोदारी र रसुवागढी नाकाका सडकहरू खुल्न भने अझै समय लाग्ने भएको छ ।
संसदको पूर्वाधार विकास समितिमा सांसदहरूलाई सडकको अवस्थाबारे जानकारी दिँदै विभागका महानिर्देशक विजय जैसीले चाडपर्वमा नागरिकको सहज यात्राका लागि मुख्य राजमार्गहरूको पटके मर्मतको काम अघि बढाइएको जानकारी दिए ।
‘दसैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी हामीले देशभरका राजमार्गमा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएका छौं,' महानिर्देशक जैसीले भने, ‘ठेक्का प्रक्रिया सुरु भइसकेको छ, यदि केही ढिलाइ भएमा विभाग आफैंले काम गरेर पनि सडक सहज बनाउनेछ ।’
विभागले वर्षाको समयमा सडक अवरुद्ध भए ३० देखि ६० मिनेटभित्र उपकरण परिचालन गर्ने र ४ घण्टाभित्र एकतर्फी भए पनि सडक खुलाउने नीति लिएको उनले बताए । वर्षाका कारण सबैभन्दा बढी क्षति चीनसँग जोड्ने कोदारी र रसुवागढी राजमार्गमा पुगेको उनले जानकारी दिए ।
कोदारी राजमार्गको इको भन्ने स्थानमा ठुलो र जोखिमपूर्ण पहिरो गएकाले तत्काल सडक खुलाउन कठिन रहेको उनले बताए । ‘त्यो पहिरो पुरानो र निकै अस्थिर प्रकृतिको छ । चिनियाँ पक्षले त्यहाँ सुरुङमार्ग बनाउने दीर्घकालीन प्रस्ताव गरेको छ, तर त्यसमा समय लाग्छ,’ उनले भने, ‘तत्कालका लागि हामीले पहिरोमा थप पानी नछिर्नका लागि प्लास्टिकले छोप्ने र १० दिनभित्र एकतर्फी बाटो खोल्ने प्रयास गरिरहेका छौं ।’
स्थानीयले दीर्घकालीन समाधानको लिखित प्रतिबद्धता मागेकाले काममा केही अवरोधसमेत भएको उनले समितिमा जानकारी गराए ।
रसुवागढी नाका जोड्ने सडक २० भन्दा बढी स्थानमा अवरुद्ध भएको र मितेरी पुलसमेत बाढीले बगाएको छ । महानिर्देशक जैसीका अनुसार चिनियाँ पक्षको सहयोगमा त्यहाँ बेली ब्रिज राख्ने काम भइरहेको र सडक खुलाउन अझै एक साताभन्दा बढी लाग्न सक्ने देखिएको छ ।
बागमती नदीले बगाएको कान्ती राजपथमा पर्ने पुलको ठाउँमा बेली ब्रिज राखेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।
पाँचथरस्थित तमोर करिडोरमा बाढीले बगाएको हेवा खोलाको बेली ब्रिजको मर्मत सम्पन्न भई लोड परीक्षण समेत भइसकेको छ । भारतीय पक्षको सहयोगमा मर्मत गरिएको उक्त पुल अब छिट्टै सञ्चालनमा आउनेछ । यस क्रममा २४ जना नेपाली प्राविधिकलाई बेलिब्रिज जडानसम्बन्धी तालिम समेत दिइएको जैसीले बताए ।
मुग्लिन–नारायणगढ खण्डमा खस्ने पहिरोलाई व्यवस्थापन गरी सडकलाई धेरै हदसम्म सुरक्षित बनाइएको छ ।
‘रसुवागढी नाका चाडपर्वअघि चलाउन सकिँदैन’
वर्षाका कारण अवरुद्ध भएका चीनसँगका दुवै प्रमुख व्यापारिक नाका रसुवागढी दसैँअघि खुल्ने सम्भावना टरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले संसदको पूर्वाधार विकास समितिमा यस्तो जानकारी दिएका हुन् ।
सचिव शर्माका अनुसार चिनियाँ पक्षले रसुवागढीको मितेरी पुल बनाउन अझै दुईदेखि अढाई महिना लाग्ने बताएकाले चाडपर्वअघि नाका सञ्चालनमा आउन नसक्ने निश्चित भएको हो ।
‘हामीले चिनियाँ कन्सुलरसँग कुरा गर्दा उहाँहरूले पुल निर्माणका लागि समय लाग्ने जानकारी दिनुभएको छ,’ सचिव शर्माले भने, ‘यसले गर्दा दसैँमा नाका खुल्ने अवस्था रहेन ।’
रसुवागढी नाका जोड्ने सडकमा पनि धेरै ठाउँमा पहिरो गएको छ । पहिलो पटक पहिरो पन्छाएर १३ दिनमा सडक खुलाइए पनि फेरि आएको बाढी र पहिरोले थप क्षति पुर्याएको उनले बताए । उनका अनुसार नेपालतर्फको सडक खुलाउने काम भइरहेको भए पनि सीमामा पुल नबन्दा नाका पूर्ण रूपमा सञ्चालनमा आउन सक्ने छैन ।
तातोपानी नाका जोड्ने अरनिको राजमार्गको अवस्था झन् जटिल रहेको सचिव शर्माले बताए । कोदारी ‘इको’ भन्ने स्थानमा पहाड नै खस्ने जोखिम रहेकाले तत्काल दीर्घकालीन समाधान सम्भव नभएको उनको भनाइ छ ।
‘त्यहाँको भौगोलिक अवस्था निकै कमजोर छ, माथि बस्तीसमेत जोखिममा छ,’ उनले भने, ‘हामीले तत्कालका लागि अल्पकालीन उपाय अपनाएर १० दिनभित्र बाटो खुलाउने प्रयास गरिरहेका छौं ।’
यसका लागि प्लास्टिकले छोप्ने र ’होरिजोन्टल ड्रेनेज’ को काम गरिनेछ । दीर्घकालीन समाधानका लागि चिनियाँ पक्षले सुरुङमार्ग लगायतका विकल्पमा अध्ययन गरिरहेको उनले समितिमा जानकारी दिए । सचिव शर्माकाअनुसार देशका अन्य मुख्य राजमार्गहरू भने सहज रहेको छ । गल्छी–त्रिशूली–बेत्रावती सडक, कान्ति राजपथ, पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ खण्डमा ठुलो समस्या नरहेको उनले बताए ।
‘नारायणगढ–बुटवल सडक खण्डमा विनय खोलाको पुल र दाउन्नेको समस्या समाधान भइसकेको छ,’ उनले भने, ‘अन्य राजमार्गमा पनि हामीले नियमित मर्मत र निगरानी गरिरहेका छौं ।’ यसैगरी, पाँचथरको हेवा खोलामा भत्किएको बेलिब्रिजको मर्मत सम्पन्न भइसकेकाले छिट्टै सञ्चालनमा आउने उनले जानकारी दिए ।
सांसदले उठाएको जलवायुप्रतिरोधी पूर्वाधारको प्रश्नमा सचिव शर्माले भने, ‘हामीले अब क्षति भएपछि जस्ताको तस्तै बनाउने होइन, के कारणले क्षति भयो त्यसको अध्ययन गरेर अझ राम्रो र टिकाउ बनाउने नीति लिएका छौँ ।’ उनले मुग्लिन–नारायणघाट सडक खण्डमा पहिले नगरिएको ‘रक ग्रुटिङ’ र ‘नेटिङ’ जस्ता प्रविधिको प्रयोग गरिएको, पुलहरूको डिजाइन गर्दा ५० वर्षको सट्टा १०० वर्षको बाढीलाई आधार मानिएको र पुलको उचाइ (फ्रि–बोर्ड) पनि बढाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण