दशौँ राष्ट्रिय खेलकुद : मन्त्रीले बैठक नबोलाए प्रधानमन्त्री गुहार्ने राखेपको तयारी
सारांश
- कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति अन्योलमा परेको छ।
- युवा तथा खेलकुद मन्त्रीले बोर्ड बैठक बोलाउन ढिलाइ गर्दा प्रतियोगिताको मिति तय हुन सकेको छैन।
- प्रतियोगिता छिट्टै आयोजना गर्न प्रधानमन्त्रीले निर्देशन दिए पनि बोर्ड बैठक नबस्दा अन्य काम ठप्प भएका छन्।
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोक्ने विषय अन्योलमा परेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले बोर्ड बैठक आह्वान गर्न ढिलाइ गर्दा प्रतियोगिता फेरि पनि अन्योलमा पर्ने देखिएको हो ।
चौधरीले लामो समयसम्म बैठक नबोलाए आफूहरू परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुग्न बाध्य हुने राखेप उपाध्यक्ष ध्रुव आचार्यले बताएका हुन् ।
प्रतियोगिताको नयाँ मिति तय गर्न खेलकुद मन्त्री चौधरीले बोर्ड बैठक बोलाउनुपर्ने हुन्छ । तर उनले हालसम्म बैठक बोलाउने कुनै योजना बनाएका छैनन् ।
यसअघि जेठ ३ गतेदेखि १० गतेसम्म आयोजना हुने भनी मिति तोकिएको थियो । उक्त समय राखेपका उपाध्यक्ष आचार्यले त्यहाँको भौतिक अवस्था र मौसमलाई मध्यनजर गरेर मिति सार्न प्रधानमन्त्रीलाई नै भेटेर अनुरोध गरेका थिए ।
उपाध्यक्ष आचार्यले दसौँ राष्ट्रिय खेलकुद छिट्टै आयोजना गर्ने विषयमा प्रधानमन्त्रीले पनि निर्देशन दिएको अवस्था भए पनि औपचारिक निर्णयका लागि परिषद्को बोर्ड बैठक अनिवार्य रहेको स्पष्ट पारे ।
‘हाम्रो परिषद्को अध्यक्ष खेलकुद मन्त्रीज्यू हुनुहुन्छ । उहाँले बैठक आह्वान गरिसकेपछि मात्रै दसौँ खेलकुदको प्रक्रिया अगाडि बढ्छ । बैठकले निर्णय गरेपछि मात्र संस्थागत रूपमा काम गर्न सकिन्छ, कुनै एक व्यक्तिले बोलेर मात्र हुँदैन,’ उपाध्यक्ष आचार्यले रातोपाटीलाई भने ।
आफूले मात्र नभई परिषद्का सदस्य–सचिव र अन्य बोर्ड सदस्यहरूले समेत पटक–पटक बैठक बोलाउन मन्त्रीलाई अनुरोध गर्दा पनि कुनै जवाफ नआएको उपाध्यक्ष आचार्य बताउँछन् ।
‘मैले पटक–पटक अनुरोध गरेको छु । सदस्य–सचिवज्यू र अन्य बोर्ड सदस्यहरूले पनि अनुरोध गर्नुभएको सुनेको छु । तर अहिलेसम्म बैठकको मिति तय भएको छैन ।’
यसअघि जेठ ३ गतेबाट खेलकुद समुद्घाटन गर्ने तयारी भए पनि पूर्वाधार, कानुनी प्रक्रिया र प्रतिकुल मौसमका कारण सम्भव नहुने भन्दै कोइरालाकै नेतृत्वमा गएको एक टोलीले प्रतिवेदन बुझाएपछि प्रतियोगिता स्थगित भएको थियो ।
‘त्यतिवेला मैले १२ बुँदे प्रतिवेदन बुझाएको थिएँ, जसमा कानुनी मापदण्ड, समय अभाव र मौसमको प्रतिकुलता जस्ता विषय थिए । त्यही प्रतिवेदनका आधारमा प्रतियोगिता रोकिएको थियो,’ आचार्यले भने ।
अहिले खेलकुद आयोजनाका लागि ढिलाइ भइरहँदा खेल क्षेत्रमा नैराश्यता छाएको उपाध्यक्ष आचार्यले बताए । मन्त्रीले बैठक बोलाउन थप ढिलाइ गरे परिषद्को विधानअनुसार संरक्षकको भूमिकामा रहेका प्रधानमन्त्रीलाई गुहार्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘हामीले एक निश्चित समयसम्म पर्खन्छौँ । यदि मन्त्रीज्यूले बैठक बोलाउन चासो देखाउनुभएन भने हामी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष निवेदन गर्न पुग्नेछौँ । प्रधानमन्त्री परिषद्को संरक्षक पनि हुनुहुन्छ । उहाँलाई अहिलेको अवस्थाबारे जानकारी गराएर समस्या समाधान गर्नेछौँ,’ आर्चायले भने ।
उपाध्यक्ष आचार्यले कर्णालीमा भौतिक संरचनाहरूको अवस्था र हस्तान्तरण प्रक्रियाबारे पनि यथार्थ जानकारी लिनुपर्ने आवश्यकता औँल्याए । खेलकुदजस्तो महत्त्वपूर्ण राष्ट्रिय अभियानलाई मन्त्रीको व्यक्तिगत सक्रियताको अभावमा रोकेर राख्न नहुने उनको तर्क छ ।
परिषद्को बोर्ड बैठक नबस्दा दसौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय गर्ने, बजेट व्यवस्थापन गर्ने र अन्य प्राविधिक तयारी गर्ने सम्पूर्ण काम ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण