बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

के अमेरिकाले इरानमा जस्तै उत्तर कोरियामाथि आक्रमण गर्न सक्छ ?

सोमबार, ०२ भदौ २०८२, १५ : ००
सोमबार, ०२ भदौ २०८२

सारांश

  • अमेरिकाले इरानमा बम खसालेपछि उत्तर कोरियाले आणविक हतियारको महत्वबारे जोड दियो।
  • उत्तर कोरियाले आणविक हतियार निर्माण गरिरहेको छ, जसले अमेरिकालाई चुनौती दिन्छ।
  • लेखमा उत्तर कोरियाको आणविक कार्यक्रम र यसलाई नियन्त्रण गर्ने कूटनीतिक प्रयासको चर्चा छ।

अमेरिकाले इरानमा ३० हजार पाउण्ड तौलका १४ वटा बम खसालेको एक दिनपछि उत्तर कोरियाको विदेश मन्त्रालयले सरकारी सञ्चार माध्यममार्फत गज्जबको वक्तव्य जारी गर्‍यो । त्यस वक्तव्यमा अमेरिकाले ‘सार्वभौम मुलुकको सुरक्षा चासो तथा भौगोलिक अक्षुण्णतालाई हिंसात्मक’ रूपमा कुल्चिएको दाबी थियो ।

उत्तर कोरियामा जस्तो इरानसँग हालसम्म आणविक हतियार छैन । अहिले अमेरिकाले इरानका सम्भावित आणविक अखडामा हवाई आक्रमण गरेपछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन आफ्नो धारणा सत्य भएको अनुभव गरेका हुन सक्छन् । अर्थात् आफू र आफ्नो मुलुकको अस्तित्वका लागि आणविक हतियार महत्त्वपूर्ण छ भन्ने धारणा थप पुष्टि भएको ठानेका हुन सक्छन् ।

इरान आणविक हतियार सम्पन्न हुन्थ्यो भने अमेरिकाले त्यसै गरी हमला गर्न सक्थ्यो त ? यो अवस्था किमको दिमागमा एक दशक अघि आफ्ना पिताबाट सत्ता लिएदेखि नै विद्यमान छ । अमेरिका र उसका सहयोगीहरूलाई ताकेर लामो दुरीका क्षेप्यास्त्र तथा आणविक हतियार बनाउने सोचबाट उनलाई केही कुराले पनि भड्काएको छैन ।

उनले यस मामलामा कुरामात्रै गरेका छैनन् । काम पनि फत्ते गरेका छन् । अमेरिकालगायत अन्य विश्व शक्तिहरूले वारम्बार आणविक हतियारको बाटो नलिन दिएको दबाबका बाबजुद उत्तर कोरियाले करिब ५० वटा ‘वार हेड’ तथा ४० भन्दा धेरै आणविक हतियार निर्माण गरिसकेको छ । यसका अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्रले अमेरिकाका हरेक सहरमा आक्रमण गर्ने क्षमता राख्छन् । एसिया प्रशान्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्न सक्षम हजारौँ क्षेप्यास्त्र छन् ।

इन्टरनेट र सामाजिक सञ्जालमा किम जोङ उनले क्षेप्यास्त्र परीक्षण अवलोकन गरेका, आणविक हतियार तथा क्षेप्यास्त्र निर्माणमा लागेका वैज्ञानिकहरूसँगको भेटका तस्बिरहरू छ्यापछ्याप्ती छन् । किम यसअघि नै अभेद्य बनिसकेको तथा निरन्तर उन्नत हुँदै गएको उत्तर कोरियाको आणविक हतियार कार्यक्रमबारे संसारले थाहा पाओस् भन्ने चाहन्छन् ।

उत्तर कोरियाको आणविक कार्यक्रम झनै जटिल बन्दै गएको छ, भलै त्यहाँ पनि इरानमा जस्तै अभियान चलाउनेबारे अहिलेसम्म कुनै सूचना वा संकेत भने देखिएका छैनन् ।

उत्तर कोरियाको मामिला इरानभन्दा फरक छ । अमेरिकी राष्ट्रपति इरानमा झै उत्तर कोरियामा आक्रमण गरेर हतियारविहीन बनाउने धम्की दिइरहेका छैनन् । हतियार, क्षेप्यास्त्र र गठबन्धनमार्फत किम अझै बलियो हुँदै गएको हालको अवस्थामा पनि दोस्रो कार्यकाल यहाँसम्म आउँदा ट्रम्पले उत्तर कोरियाका मामिलामा धेरै चासो राखेका छैनन् ।

सुरुवाती खुफिया सूचनाहरूले जनाएजस्तै हवाई हमलामार्फत इरानको आणविक कार्यक्रममा अपुरणीय क्षति गराउन अमेरिका असमर्थ भएको हो भने अब उत्तर कोरियामा त्यस्तै प्रकृतिको सैन्य अभियान चलाउनेबारे सोच्न पनि सकिँदैन । इरानको आणविक महत्त्वाकाङ्क्षा निष्क्रिय पार्न भनेर सञ्चालन गरिएको सैन्य गतिविधिको लहर अहिले शान्त भइसकेको छ ।

तर, उत्तर कोरियाको आणविक कार्यक्रम भने झनै जटिल समस्याका रुपमा बढ्दै गएको छ । त्यहाँ पनि इरानमा जस्तै अभियान चलाउनेबारे अहिलेसम्म कुनै सूचना वा संकेत देखिएका भने छैनन् । मेरो विचारमा उत्तर कोरियालाई लक्षित गरेर त्यस्तो अभियानबारे सोच्नु हुँदैन । बरु आगामी दिनका लागि थप आशाजनक बाटोका बारेमा सोच्नुपर्छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किमले आणविक कार्यक्रम त्याग्ने आफ्नो कुनै मनसाय नरहेको बारम्बार स्पष्ट पारेका छन् । यस्तो प्रतिबद्धता सत्तामा उनको परिवारको पकड सुनिश्चित गर्नका लागि पनि आवश्यक छ । तर, यता अमेरिकामा भने रिपब्लिकन र डेमोक्रयाटिक दुवै दलबाट आएका विभिन्न राष्ट्रपतिले विगत २५ वर्षभन्दा अघिदेखि उत्तर कोरियाको निःशस्त्रीकरणको कुरा गर्न छाडेका छैनन् ।

2

सन् २०२१ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाइडेनले प्योङयाङसँग निःशर्त वार्ताको निमन्त्रणा गरेका थिए, तर त्यो प्रस्ताव कार्यान्वयन भएन । यसै वर्ष पनि राष्ट्रपति ट्रम्पले किमलाई आणविक कार्यक्रम पूर्ण रूपमा परित्याग गराउने अभिलाषा दोहोर्‍याए । अमेरिकाले अब पनि आणविक निःशस्त्रीकरणको उही पुरानो मागलाई लिएर आउने दिनहरूमा पनि कूटनीतिक प्रयास अल्झाइरहन गाह्रो छ ।

वासिङ्टनले उत्तर कोरियालाई आणविक हतियारयुक्त राज्यका रूपमा स्वीकार्दैन तर व्यवहारमा भने अमेरिकी सेनाले पहिले नै उत्तर कोरियासँग आणविक हतियार छ भन्ने तथ्यलाई स्वीकार गरेको छ ।

अर्थात् अब आणविक हतियारयुक्त उत्तर कोरिया सामान्य जस्तो भइसकेको छ । यद्यपि वासिङ्टनले उत्तर कोरियालाई आणविक हतियारयुक्त राज्यका रूपमा आधिकारिक रूपमा स्वीकार भने गर्दैन । व्यवहारमा भने अमेरिकी सेनाले पहिले नै उत्तर कोरियासँग आणविक हतियार भएको तथ्यलाई स्वीकार गरेको छ । त्यसैलाई मध्यनजर गरेर सैन्य अभ्यासको योजना निर्माण गर्ने र सञ्चालन गर्ने काम हुने गर्छ ।

राष्ट्रपति ट्रम्प आफैँले समेत तीन पटकभन्दा धेरै सार्वजनिक रूपमा उत्तर कोरिया आणविक शक्ति हो भन्ने आशयको अभिव्यक्ति दिइसकेका छन । आजका दिनमा यो आणविक शक्तियुक्त उत्तर कोरियाको यथार्थलाई कूटनीतिक तथ्यको रूपमा स्वीकार गर्न पक्कै सजिलो छैन । तर तनाब कम गर्न, अनिच्छित युद्ध रोक्न तथा उत्तर कोरियाको बढ्दो हतियार भन्डारमा सयौँ नयाँ हतियार प्रवेश गर्न नदिनका लागि भने त्यसको ठुलो महत्त्व छ ।

त्यसका लागि ट्रम्प प्रशासनले नयाँ कूटनीतिक मार्गचित्र तयार गर्नुपर्छ । जसले आफ्नो मुलुकको अर्थतन्त्रलाई कमजोर बनाइरहेका प्रतिबन्धहरूको शृङ्खलाबाट राहत पाउनका लागि उत्तर कोरियाले तीव्र गतिमा बढ्दो आणविक कार्यक्रमलाई मत्थर पार्नेछ । नीतिगत असन्तुलनले जापान, दक्षिण कोरियालगायत मुलुकहरूमा चिन्ता बढाइदिन्छ ।

त्यसैले बढ्दो आणविक जोखिमको व्यवस्थापनका लागि उत्तर कोरियाबारे अमेरिकी दृष्टिकोणमा व्यापक परिवर्तनको खाँचो छ । उत्तर कोरियाको आणविक हतियार कार्यक्रमको सीमा तथा विस्तारको अवस्था बुझ्नका लागि न्युयोर्क टाइम्सले केही समयअघि ‘जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेशन स्टडिज’ द्वारा सङ्कलित भू–उपग्रहमार्फत लिइएका दर्जनौँ तस्बिर तथा उत्तर कोरिया सरकार आफैँले जारी गरेका प्रचार सामाग्रीहरूको अध्ययन गरेको थियो ।

यी तस्बिरहरूका आधारमा २८ वटा स्थानमा फैलिएको तथा केही भूमिगत रूपमा सञ्चालितसहित गरेर अर्बौं डलर खर्चमा वर्षौंदेखि सञ्चालित आणविक तथा क्षेप्यास्त्र परिसर ध्वस्त पार्न सजिलो नरहेको पाइएको छ । अब यो वास्तविकतालाई स्वीकार गर्दै किम जोङ उनलाई वार्ताको टेबलमा फिर्ता बोलाएरमात्रै उत्तर कोरियाले निम्त्याउन सक्ने खतरालाई नियन्त्रण गर्न सकिन्छ । यही आजको यथार्थ हो ।

अर्बौं डलरको कोरियाली आणविक परिसर ध्वस्त पार्न सजिलो छैन, त्यसैले अब किम जोङ उनलाई वार्ताको टेबलमा बोलाएरमात्रै उत्तर कोरियाले निम्त्याउन सक्ने खतरालाई नियन्त्रण गर्न सकिन्छ ।

आजका दिनमा पनि अमेरिका र उत्तर कोरियाबिच औपचारिक सम्बन्ध छैन । अब आगामी दिनमा पनि यस्तै रवैया जारी राख्ने हो भने उत्तर कोरियाको भण्डार बढ्दै जानेछ । अन्य आठ वटा आणविक शक्तिहरूसँगको तुलनामा उत्तर कोरियाको आणविक हतियार भन्डार हाराहारी हुँदै जानेछ ।

  • योङब्योन

अमेरिकाले उत्तर कोरियासँग गर्ने गरेका सबै आणविक निशस्त्रीकरण प्रस्तावको केन्द्रमा योङब्योन परिसर मुख्य रुपमा उल्लेख हुने गर्छ । करिब १० वर्ग माइलको पहाडी भूगोलमा फैलिएको तथा धेरै भवन मिलेर बनेको योङब्योन आणविक परिसरले उत्तर कोरियाको प्लुटोनियम, अत्यधिक समृद्ध युरेनियम तथा ट्रिटियम उत्पादनको काम गर्छ ।

यी सबै थर्मोन्यूक्लियर हतियार बनाउन आवश्यक सामग्री हुन् । उत्तर कोरियाले सन् १९६० को दशकमा सोभियत संघसँग आणविक ऊर्जा सम्झौता गरेपछि योङब्योनमा प्रारम्भिक निर्माण सुरु भएको हो । सन् १९९१ मा सोभियत संघ विघटन भए पश्चात उत्तर कोरियाले आफ्नो सबैभन्दा ठुलो सहयोगी गुमायो ।

Y

अमेरिकाले त्यस पश्चात दक्षिण कोरियामा तैनाथ गरेका आफ्ना सबै आणविक हतियार फिर्ता लग्यो । उत्तर र दक्षिण कोरियाबिच कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरण सम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर सम्पन्न भयो । त्यसयता ‘आणविक निःशस्त्रीकरण’ भन्ने शब्द राजनीतिक शब्दकोशमा समेत स्थापित भयो ।

सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेर सद्दाम हुसेनलाई फाँसी दिएपछि उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र तथा आणविक कार्यक्रमहरू पुनः अगाडि बढायो । इराकमा भएको आक्रमणलाई प्योङ्याङले गम्भीर चेतावनीका रूपमा बुझ्यो ।

तर, पनि प्योङयाङले योङब्योनमा आणविक हतियार कार्यक्रम अगाडि बढाइरह्यो । पूर्वाधारको सबैभन्दा चर्चित खण्ड सन् १९८६ मा निर्माण सम्पन्न भएको हतियार–ग्रेड प्लुटोनियम उत्पादन गर्ने पाँच मेगावाट क्षमताको रिएक्टर हो । अमेरिकाको बिल क्लिन्टन प्रशासनले सन् १९९४ मा यस परिसरमा सैन्य हमला गर्ने विचार गरेको थियो ।

तर, त्यसो गर्दा पूर्ण युद्धको जोखिम उच्च रहेको बुझेर कूटनीतिक विकल्प रोजियो । त्यसै वर्ष अमेरिका र उत्तर कोरियाद्वारा हस्ताक्षर गरिएको सहमतिले उत्तर कोरियालाई थप अन्य रिएक्टर निर्माण रोक्न आह्वान गर्‍यो । सन् २००२ मा बुश प्रशासन अन्तर्गत अमेरिकाले उत्तर कोरियालाई युरेनियम प्रशोधनको काम अघि बढाएको आरोप लगाएपछि विवाद बढ्दै गएर कूटनीतिको बाटो भत्कियो ।

मिडलबरीको विश्लेषण अनुसार योङब्योनले सन् २०२२ मा नयाँ प्रशोधन केन्द्र थप गर्‍यो । त्यसै वर्षको जुन महिनामा संयुक्त राष्ट्रसंघले अर्को सेन्ट्रीफ्यूज हलको शंकास्पद निर्माण बारेमा उल्लेख गरेको छ ।

  • काङसन

उत्तर कोरियाभर भू–उपग्रहमार्फत प्राप्त तस्बिरहरूका अनुसार काङसनमा ‘युरेनियम सेन्ट्रीफ्यूज प्लान्ट’ तथा अन्य उत्पादन केन्द्रहरू रहेको पाइएको छ । मिडलबरीका अनुसार राजधानी सहर प्योङयाङभन्दा बाहिर रहेको काङसन पछिल्लो पटक आणविक प्रशोधन केन्द्रका रूपमा विस्तार गरिएको क्षेत्र हो ।

k

विभिन्न संस्थाले गरेका अध्ययन अनुसार उत्तर कोरियाले ४ हजार पाउण्डसम्म प्रशोधित युरेनियम तथा १७८ पाउण्ड प्लुटोनियम उत्पादन गरेको छ । उत्तर कोरियाले वार्षिक आधा दर्जन नयाँ हतियार निर्माण गर्ने पर्याप्त सामग्री बनाउन सक्छ ।

हतियार उत्पादनमा भएको प्रगतिबाट उत्साहित हुँदै किम जोङ उनले पहिलो पटक सन् २०२१ मा पर्याप्त साना हतियार विकास गरेको उल्लेख गरेका छन् । यस्ता हतियारहरू पनडुब्बी तथा ड्रोनसहित कम्तीमा आठ प्रकारका डेलिभरी प्रणालीमा जडान गर्न मिल्नेगरी डिजाइन गरिएका छन् ।

  • पुग्य–री आणविक हतियार परीक्षण स्थल

सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेर सद्दाम हुसेनलाई फाँसी दिएपछि उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र तथा आणविक कार्यक्रमहरू पुनः अगाडि बढायो । इराकमा भएको आक्रमणलाई प्योङ्याङले गम्भीर चेतावनीका रूपमा बुझ्यो ।

हामीलाई थाहा छ, उत्तर कोरियाका हतियार फोस्रा छैनन् । उसका क्षेप्यास्त्रले काम गर्छन् भन्ने पनि थाहा छ । यहाँनिर प्रश्न उठ्छ– अमेरिकाले आफ्नो कूटनीतिक पहलहरू किन अगाडि सार्दैन ?

उत्तर कोरियालीहरूको बुझाइमा सद्दाम हुसेनसँग आणविक हतियार नभएकै कारण उनले आफ्नो शक्तिमात्रै गुमाउनु परेन, अन्ततः आफ्नो जीवनसमेत गुमाउनु पर्‍यो । उत्तर कोरियाले त्यस्तो गल्ती दोहोर्‍याउनु हुँदैन भन्ने ठान्यो । लगत्तै पहिलो आणविक हतियार परीक्षण सन् २००६ मा देशको उत्तरपूर्वमा रहेको पुग्य–री आणविक परीक्षण स्थलमा भूमिगत रूपमा सम्पन्न भयो, जसले उत्तर कोरियालाई २१औँ शताब्दीमा आणविक हतियार परीक्षण गर्ने पहिलो र केवल एकमात्र राष्ट्रको सूचीमा पार्‍यो । अन्य सबै राष्ट्रले त्यसभन्दा लगभग एक दशक अघिबाटै परीक्षण गर्न बन्द गरेका थिए । विश्वभरको भूकम्प मापन प्रविधि तथा विकिरण सेन्सरहरूद्वारा प्राप्त विस्फोटको जानकारीले अन्तर्राष्ट्रिय समुदायलाई त्यसवेला अलमलमा पारेको थियो ।

p

पछि विश्वका नेताहरूले सन् २००७ मा उत्तर कोरियालाई योङब्योनमा रहेको रिएक्टर बन्द गर्न तथा त्यसको प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई उत्तर कोरिया प्रवेशको अनुमति दिन सहमत गराए । सुरुवातमा राम्रो देखिए पनि केही समयमै त्यो सहमति भंग भयो तथा निरीक्षकहरूलाई अनुमति दिइएन र रिएक्टर पुनः सुचारु गरियो ।

उत्तर कोरियाले त्यसयता ती स्थानमा थप पाँच वटा उपकरण परीक्षण गरिसकेको छ । अमेरिकाको राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले मार्चमा उल्लेख गरे अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किमले थप अर्को एउटा परीक्षणका लागि तयारी गरिरहेको हुन सक्छ ।

सन् २०१८ मा ट्रम्पसँगको योजनावद्ध शिखर सम्मेलन अघि सद्भावको प्रदर्शन हेतु परीक्षण स्थलका केही भाग विस्फोट गराइएको थियो । पछि शिखर सम्मेलन रद्द हुन पुग्यो । फलतः अहिले मिडलबरी विश्लेषणका अनुसार उत्तर कोरियाले त्यस बेला ध्वस्त भएका भवन तथा सुरुङ प्रवेशद्वार पुनर्निर्माण गरिसकेको छ ।

  • ह्यामुङ

यसबिच उत्तर कोरियाले ठुलो मात्रामा छोटो दुरीका क्षेप्यास्त्र बनाएको छ । उसले युक्रेन युद्धमा प्रयोग गर्नका लागि रूसलाई समेत हतियार बेचिरहेको छ । ती सबै क्षेप्यास्त्र राष्ट्रको दोस्रो ठुलो सहर ह्यामुङमा रहेको कारखानामा तयार गरिँदैछ ।

h

उत्तर कोरिया शीतयुद्धपछि थप रणनीतिक साझेदारहरू बढाइरहेको छ । प्योङयाङले यसलाई अवसरका रूपमा लिएको छ । उत्तर कोरिया अस्तित्वमा आएयताको अधिकांश समय चीनले बलियो साझेदारको भूमिका निर्वाह गर्दै आएको छ । चीनले सन् ५०को दशकमा भएको कोरियाली युद्धमा अमेरिका विरुद्ध लड्न सैन्य बल नै पठाएको थियो ।

साथै चीन सुरुवातदेखि नै सबैभन्दा बलियो व्यापार साझेदार र सहयोगीका रूपमा रहँदै आएको छ । गत जुन महिनामा प्योङयाङले रूससँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गर्‍यो । विश्लेषकका अनुसार मस्कोले पहिलेदेखि नै उत्तर कोरियालाई क्षेप्यास्त्र प्रविधिमा महत्त्वपूर्ण सूचना र प्रविधि उपलब्ध गराउँदै आएको थियो ।

फलतः क्षेप्यास्त्र उत्पादनका तौरतरिकामा सुधार गर्न, हल्का स्तरका विविध हतियार उत्पादन गर्न तथा युक्रेन युद्धमा प्रयोग हुने क्षेप्यास्त्रहरूबाट तथ्यांक संकलन गर्न सघाइरहेको छ । हालै प्राप्त प्रतिवेदन अनुसार रूसले उत्तर कोरियाको आणविक पनडुब्बी कार्यक्रमलाई सघाइरहेको छ ।

  • सोहाई

उत्तर कोरियाले हालका सर्वोच्च नेता किमका बुवा र हजुरबुवाको नेतृत्वमा मिसाइलहरू निर्माण र परीक्षण प्रारम्भ गरेको भएता पनि सन् २०११ मा किमले पदभार ग्रहण गर्दाका बखतसम्म परिपक्व भइसकेको थिएन । अहिले योङब्योनबाट करिब ५० माइल टाढा पीत सागर (येल्लो सी) छेउमा रहेको सोहाईको उपग्रह प्रक्षेपण केन्द्रमा धेरैजसो क्षेप्यास्त्रको परीक्षण गर्ने गरिन्छ ।

उत्तर कोरियाली सेना आजको दिनमा सबै प्रकारका ‘ब्यालिस्टिक मिसाइल’, ‘क्रुज मिसाइल’, ‘हाइपरसोनिक मिसाइल’ तथा ठुला अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र (आईसीबीएम) ले सुसज्जित छ । जसलाई अहिले मोबाइल लन्चर मार्फत दुर्गम क्षेत्रमा बसेरसमेत चलाउन सकिन्छ । अझ उल्लेखनीय कुरा, यसलाई कुनै पूर्वचेतावनी विना नै प्रक्षेपण गर्न मिल्छ ।

उनीहरू देशभरका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गर्छन् । यस्ता क्षेत्रहरूमा सोहाई पनि उल्लेखनीय छ । मिडलबरी प्रतिवेदनका अनुसार सोहाईमा हुने परीक्षण हालैका वर्षहरूमा निरन्तर विस्तार भइरहेका छन् । सन् २०१७ मा कोरियाले निरन्तर बढाएको परीक्षणले अमेरिका र उत्तर कोरियालाई युद्धको सम्मुखमा पुर्‍याएको थियो ।

त्यसबेला ट्रम्पले उत्तर कोरियामाथि आक्रमणको धम्कीसमेत दिएका थिए । त्यसबेला दुई मुलुकबिच बढेको तनावले अन्ततः देशहरू बिच तनाव निम्त्यायो । घटनाक्रम विकसित हुँदै जाँदा पहिलो पटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताहरू प्रत्यक्ष कुराकानी गर्ने अवस्थामा पुगे ।

S

सन् २०१८ र २०१९ मा ट्रम्प र किमबिच भएका तीन वटा भेटघाटमा उनीहरूले आपसमा प्रेमपूर्ण पत्रहरू समेत आदानप्रदान गरेका थिए । त्यसवेला धेरैले उत्तर कोरियाको आणविक कार्यक्रम सुस्त हुने आशा गरेका थिए । हतारमा तय भएको योजना तथा अमेरिकाको आणविक निःशस्त्रीकरणमा एकोहोरो ढिपीका कारण उक्त अन्तर्क्रिया निराशामा परिणत हुन पुग्यो । 

तथापि किम सन् २०१८ मा क्षेप्यास्त्र परीक्षणहरूबाट केही हदसम्म पछि हटेका थिए । उनले सन् २०२० र २०२१ मा थोरै परीक्षणमात्र सञ्चालन गरे । तर, सन् २०२२ मा आइपुग्दा यसको गति फेरि बढ्यो । विगत केही वर्षमा बाइडेन प्रशासनको समयमा प्योङयाङले पहिलेभन्दा धेरै क्षेप्यास्त्र परीक्षण गर्‍यो । साथै हतियारहरूको नयाँ शृङ्खलासमेत सार्वजनिक गर्‍यो ।

अब हामी सबैलाई थाहा छ, उत्तर कोरियाको आणविक कार्यक्रमको पूर्वाधार विशाल छ । हामीलाई थाहा छ, उत्तर कोरियाका हतियार फोस्रा छैनन् । उसका क्षेप्यास्त्रले काम गर्छन् भन्ने पनि थाहा छ । यहाँनिर प्रश्न उठ्छ– अमेरिकाले आफ्नो कूटनीतिक पहलहरू किन अगाडि सार्दैन ?

उत्तर कोरियासँग कूटनीतिक विकल्प अपनाउने काम विश्वव्यापी रूपमा हेर्दा त्यति लोकप्रिय नहुन सक्छ । त्यहाँको व्यवस्था लोकतान्त्रिक छैन । उसले अन्य कुराहरूका साथै आफ्नो भोकमरी र गरिब जनसंख्याको उद्धारमा लगाउनु पर्ने लगानी आफ्नो सैन्य क्षमता बढाउनेमा लगाइरहेको छ ।

तथापि आसन्न आणविक खतरा असाध्यै गम्भीर छ । अमेरिकी गुप्तचरहरूका अनुसार उत्तर कोरियाले परम्परागत सैन्य क्षमतामा भएको आफ्नो कमजोरीका कारण सुरुमै आणविक हतियार प्रहार गर्ने सम्भावना हुन्छ । त्यसैले वार्ता, छलफल र कूटनीति अनिवार्य हुन आएको छ ।

अबको दिनमा ट्रम्प प्रशासनले आफ्नो पुरानै असफल नीतिलाई निरन्तर राख्ने जिद्दी छोडेर परिस्थिति बिग्रनबाट रोक्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । विगतमा अमेरिकी अधिकारीहरूले उत्तर कोरियालाई ‘आणविक शक्ति’ का रूपमा उल्लेख गर्दा दक्षिण कोरिया निराश भएको थियो ।

तर, हामीले स्वीकार्नै पर्ने सत्य के हो भने यति धेरै मात्रामा आणविक हतियार भएको कुनै पनि देशले कहिल्यै आफ्ना हतियार त्यागेको इतिहास छैन । केही पूर्वसोभियत राज्यहरूले त्यागेको जस्तो लाग्न सक्छ तर वास्तवमा उनीहरूको त्यस्ता हतियारमा कहिल्यै नियन्त्रण थिएन ।

यस अघिका अमेरिकी राष्ट्रपतिहरूले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न असफल भए । यसको मुख्य कारण उनीहरूले पूर्ण निःशस्त्रीकरणमा जोड दिनु हो । ट्रम्पले अबका दिनमा त्यस्तो गल्ती दोहोर्‍याउनु हुँदैन । आणविक खतरा रोक्न तथा अपेक्षित परिणाम निकाल्नका लागि उनले थप व्यावहारिक रणनीतिमाथि विचार गर्नुपर्छ ।

(द न्युयोर्क टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डब्ल्यु. जे. हेन्निगन
डब्ल्यु. जे. हेन्निगन
लेखकबाट थप