बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय समाचार

ट्रम्पसँगको वार्तामा जेलेन्स्कीलाई रुस समक्ष आफ्नो भूभाग सुम्पिने दबाब छ ?

सोमबार, ०२ भदौ २०८२, २० : ५९
सोमबार, ०२ भदौ २०८२

सारांश

  • डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई तानाशाहीको आरोप लगाए।
  • युक्रेन युद्ध रोक्न दबाब दिन सक्ने ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुँदैछ।
  • युरोपेली नेताहरूले युक्रेनको प्रत्यक्ष सहभागिता बिना शान्ति सम्झौता नहोस् भन्ने चाहेका छन्।

काठमाडाैँ । यो वर्षको सुरुवातमा अर्थात् राष्ट्रपति पदको दोस्रो कार्यकाल सम्हालेको केही हप्तापछि डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थिए । उनले जेलेन्स्कीका कारण विश्व तेस्रो विश्वयुद्धको सँघारमा उभिएको पनि बताएका थिए ।

त्यसपछि २८ फेब्रुअरीको दिन ओभल अफिसमा जेलेन्स्कीको स्वागत गरिरहेका अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीप्रति अत्यन्तै कठोर व्यवहार अपनाउनका साथै क्यामेराको अगाडि नै उनीमाथि ‘युक्रेन युद्ध रोक्न नचाहेको’ आरोप लगाए ।

ट्रम्पले जेलेन्स्कीलाई अमेरिकी सहायता नभइदिएको भए उनले युक्रेनलाई रुसको हातमा गुमाइसकेका हुने थिए समेत भनेका थिए ।

यो घटनाको करिब ६ महिनापछि फेरि जेलेन्स्की र ट्रम्पबिच भेटवार्ता हुँदैछ । त्यहाँ जेलेन्स्कीलाई समर्थन गर्न बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र जर्मन चान्सलर फ्रिड्रिक मर्त्जसमेत कैयौँ ठुला युरोपेली नेता हुनेछन् ।

१५ अगस्टका दिन अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिचको भेटवार्ता निष्कर्षविहीन रह्यो । यद्यपि यसलाई रुसी मिडियाले ‘पुटिनको जित’ भने । किनभने ट्रम्पले भेटवार्तापछि सोसल मिडिया साइट ट्रुथमा लेखेका थिए, ‘सबैले भनिरहेका छन् कि रुस र युक्रेनबिच चलिरहेको भयानक युद्धलाई अन्त्य गर्ने सबैभन्दा राम्रो तरिका सिधै एक शान्ति सम्झौतामा पुग्नु हो । केवल युद्धविराम सम्झौता होइन, जुन प्रायः लामो समयसम्म टिक्दैन ।’

विशेषज्ञहरूका अनुसार पुटिनलाई संघर्षविरामका लागि मनाउन असफल भएका ट्रम्पले अब जेलेन्स्कीमाथि युद्ध रोक्न दबाब दिन सक्छन् । युक्रेनको भविष्य र युरोपको सुरक्षाको दृष्टिकोणले सोमबारको ट्रम्प–जेलेन्स्की भेटवार्ता यसअघि भएको ट्रम्प र पुटिनबिच भएको भेटवार्ताभन्दा पनि बढी महत्त्वपूर्ण साबित हुन सक्ने उनीहरूको भनाइ छ ।

के जेलेन्स्की रक्षात्मक अवस्थामा छन् ?

पुटिन–ट्रम्पको बैठक अपेक्षाहरूमा खरो उत्रिन सकेन । न कुनै युद्धविराम भयो, न कुनै प्रतिबन्ध लाग्यो, न कुनै ठुलो घोषणा भयो ।

बन्द कोठाभित्र दुई ठुला परमाणु शक्ति (अमेरिका र रुस) यस्तो कुनै सम्झौता गर्न जाँदैछन्, जसमा युरोप र युक्रेनको हितसँग कुनै सम्झौता गरियोस् ? यदि युक्रेन र उसका युरोपेली सहयोगीहरू सफल भएमा त्यस्तो सम्झौता हुने सम्भावना छैन ।

किएर स्टार्मर, इमानुएल म्याक्रों, चान्सलर फ्रिड्रिक मर्त्ज र अन्य युरोपेली नेताहरू जेलेन्स्कीसँग गत फेब्रुअरीमा जस्तो व्यवहार नहोस् भनेर नै वासिङ्टनमा उपस्थित भएका हुन् ।

यी नेताहरू युक्रेनको प्रत्यक्ष रूपमा सहभागिताविना त्यस्तो कुनै शान्ति सम्झौता नहोस् भन्ने चाहन्छन् । जे–जस्तो सम्झौता हुन्छ, त्यसमा युक्रेनका लागि बलियो सुरक्षा ग्यारेन्टी होस् भन्ने उनीहरू चाहन्छन् । युरोपेली नेताहरू शान्ति सम्झौतामा ट्रम्पको पुटिनप्रतिको नरम व्यवहारको असर नपरोस् भन्ने पनि चाहन्छन् ।

यहीँ किएर स्टार्मरको कूटनीतिक योग्यता काम आउन सक्छ । ट्रम्प स्टार्मरलाई मन पराउँछन् र उनका कुरा ध्यान दिएर सुन्छन् । ट्रम्प अर्काे महिना बेलायतको राजकीय भ्रमणमा पनि जाँदैछन् ।

ट्रम्प नेटोका महासचिव मार्क रुटलाई पनि मन पराउँछन् । उनलाई ट्रम्पको विश्वासपात्र पनि मानिन्छ । यद्यपि ट्रम्पले अहिले वासिङ्टनमा उपस्थित अर्का ठुला युरोपेली नेता इमानुएल म्याक्रोंलाई त्यति मन पराउँदैनन् । हालै प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिने फ्रान्सको घोषणामाथि पनि अमेरिकाले कडा आपत्ति जनाएको थियो ।

तर युक्रेन युद्ध रोक्नका लागि केही न केही मूल्य त युक्रेनले चुकाउनै पर्नेछ । युरोपेली नेताहरूले लगातार भनिरहेका छन्– शक्तिको बलमा अन्तर्राष्ट्रिय सीमाहरू बदल्न सकिँदैन ।

जेलेन्स्कीले पनि आफ्नो जमिन रुसलाई नदिने बारम्बार भनिरहेका छन्, तर पुटिन केही अरू नै चाहन्छन् । उनी पूरै डोनबासमा कब्जा चाहन्छन्, जहाँको ८५ प्रतिशत हिस्सामा रुसले कब्जा गरिसकेको छ र उनको उद्देश्य क्राइमिया पनि युक्रेनलाई फिर्ता गर्ने छैन ।

एस्टोनियाकी पूर्वप्रधानमन्त्री र युरोपकी शीर्ष कूटनीतिज्ञ काया कालासका अनुसार युक्रेनका लागि जितको मतलब गुमेको जमिन फिर्ता पाउनु हुनेछैन ।

यदि युक्रेनले आफ्नो लागि बलियो सुरक्षा ग्यारेन्टी हासिल गर्छ र उसले रुसबाट भविष्यमा युक्रेनमाथि कहिल्यै आक्रमण हुने छैन र एक स्वतन्त्र देशको रूपमा उसको सम्मान गर्नेछ भन्ने ठोस प्रतिबद्धता प्राप्त गरेमा त्यो नै उसका लागि जित हुनेछ ।

शान्ति सम्झौतालाई लिएर प्रश्न

अमेरिका र रुस एक प्रस्तावमा काम गरिरहेका छन् जसमा युक्रेनको केही जमिनको बदलामा उसलाई सुरक्षाको ग्यारेन्टी मिल्नेछ र उसले भविष्यमा आफ्नो कुनै पनि हिस्सा रुसलाई दिनुपर्ने छैन भन्ने चर्चा व्याप्त छ ।

तर यसमाथि पनि ठुलो प्रश्नचिह्न छ । आफ्नो जमिन बचाउनका लागि हजारौँ सैनिकको बलिदान दिएको युक्रेनले यो प्रस्ताव स्वीकार्न सक्छ ? यदि पूरै दोनेत्स्कलाई रुसको जिम्मा लगाइयो भने यसले भविष्यमा युक्रेनको सुरक्षा प्रभावित हुने छैन ?

युरोपले कुनै बेला बाचा गरेको थियो कि उसले युक्रेनको तर्फबाट रुसविरुद्ध लड्न आफ्ना हजारौँ सैनिकलाई जमिनमा उतार्नेछ । तर त्यो योजना हाललाई थाँती राखिएको छ । युक्रेनको जमिन र आकाशलाई सुरक्षित बनाउनमै भूमिका सीमित भएको छ । साथै, युरोपले युक्रेनलाई उसको सेनाको पुनर्निर्माण गर्न सघाउने बताइरहेको छ ।

यस क्षेत्रमा हाललाई शान्ति स्थापित भइहाले पनि यसलाई खतरनाक क्षेत्र नै भनिनेछ ।

एक सैन्य विशेषज्ञका अनुसार शान्ति सम्झौता भएपछि पनि पुटिन यहीँ रोकिने छैनन् । उनी आफ्नो सेनालाई फेरि बनाउनेछन् । युक्रेनको थप जमिन कब्जा गर्न तयार नहुन्जेलसम्म उनले यो काम गरिरहने ती सैन्य विशेषज्ञको भनाइ थियो ।

उनका अनुसार यदि यस्तो भयो भने कुनै शक्तिशाली एफ–३५ विमानले युक्रेनतिर बढिरहेको रुसी सेनालाई रोक्नका लागि पहिलो क्षेप्यास्त्र प्रहार गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप