शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलाडी संघको आक्रोश

‘एन्फाको मौनताले नेपाली फुटबलप्रति आकर्षण घट्दै गयो’

मङ्गलबार, ०३ भदौ २०८२, १९ : ००
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • नेपाली फुटबलको वर्तमान अवस्थाबारे अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले चिन्ता व्यक्त गरे।
  • घरेलु लिग नहुँदा खेलाडीहरू विदेश पलायन हुन बाध्य छन्, जसले फुटबलको संरचनागत कमजोरीलाई उजागर गर्छ।
  • एन्फाको निष्क्रियता र दीर्घकालीन योजनाको अभावले नेपाली फुटबलको भविष्य अन्धकारतर्फ धकेलिएको छ।

काठमाडौँ । ‘नेपालमा लिग नभइरहेको अवस्थामा विदेशी लिग खेल्न जानु बिडम्बना हो’ अखिल नेपाल फुटबल खेलाडी संघ (एन्फा) अध्यक्ष विक्रम लामाको यो एक वाक्यले नेपाली फुटबलको वर्तमान अवस्था बताउँछ । 

कुनै समय दशरथ रंगशालामा फुटबल हेर्न टिकट नपाएर दर्शकहरू बाहिरै बस्नुपर्ने अवस्था थियो, तर आज घरेलु फुटबल गतिविधि ठप्प हुँदा राष्ट्रिय खेलाडीहरू नै आफ्नो भविष्य खोज्दै विदेश पलायन हुन बाध्य छन् । यसले नेपाली फुटबलको संरचनागत कमजोरी र नेतृत्वको उदासीनतालाई झल्काउँछ । 

लामो समयदेखि नेपालको घरेलु फुटबल गतिविधि शून्यप्रायः छ । ए, बी र सी डिभिजनका लिगहरू समयमा हुन नसक्दा खेलाडीहरूले आफ्नो प्रतिभा देखाउने र व्यावसायिक भविष्य सुनिश्चित गर्ने मञ्च पाएका छैनन् । 

BIKRAM LAMA (2)

यस्तोमा खेलाडी संघका अध्यक्ष लाम कम्तीमा ६ महिनासम्म चल्ने ए डिभिजन लिग र अन्य श्रेणीका लिगहरू आयोजना गर्न सके मात्र पनि खेलाडीहरूलाई नेपालमै रोक्न सकिने बताउँछन् । 

तर एन्फाको निष्क्रियताका कारण खेलाडीहरू निराश छन्, घरेलु मैदानमा नेपाली खेलाडीले खेल्न नपाएको लामो समय भइसक्यो । यही कारण राष्ट्रिय टिमका खेलाडीहरू नै धमाधम विदेश पलायन भइसके । कोही अस्ट्रेलिया, बंगलादेश, भारतलगायत देशका सामान्यभन्दा सामान्य क्लब फुटबलमा आबद्ध हुन थालेका छन् । 

‘खेलाडीहरू विदेशी लिगमा अनुबन्ध हुनु आफैँमा नराम्रो होइन, तर नेपालमा खेल्ने वातावरण नै नभएर बाध्यताले जानु पक्कै पनि राम्रो कुरा होइन । यो हाम्रो फुटबल प्रणालीको असफलता हो,’ लामा देशको खेल अवस्थाबारे बताउँछन् । 

उदासीन एन्फा

खेलाडीहरूको हकहितका लागि स्थापित खेलाडी संघले यस विषयमा एन्फालाई पटक–पटक झकझक्याउँदै आएको छ । अध्यक्ष लामाका अनुसार संघले पछिल्लो समय मात्रै चार वटा ज्ञापनपत्र बुझाइसकेको छ । पछिल्लो पटक पाँच दिनअघि मात्रै घरेलु फुटबल सुचारु गर्न माग गर्दै एन्फालाई ज्ञापनपत्र बुझाएको थियो । 

आफूहरूले लिग सञ्चालन गर्न पटक–पटक एन्फालाई आग्रह गर्दा पनि कार्यान्वयन गर्ने निकायले वास्ता नगर्दा असहज भएको लामा सुनाउँछन् । ‘हामी हाम्रो कर्तव्यबाट कहिल्यै पछि हटेका छैनौँ । हामीले आवाज उठाउने, झकझक्याउने र सल्लाह दिने हो । तर कार्यान्वयन गर्ने निकायले नै चासो नदेखाएपछि केही लाग्दैन,’ लामा भन्छन् । 

एन्फाले हरेक पटक ‘लिग चाँडै हुन्छ’, ‘हाम्रो तालिकामा छ,’ जस्ता आश्वासन दिने गरेको तर व्यवहारमा उतार्न नसकेको लामाको गुनासो छ ।

‘एन्फाले पुस महिनामा लिग गर्ने आश्वासन दिएको छ, तर खेलाडीहरू विगतका अनुभवका कारण विश्वस्त हुन सकेका छैनन्,’ लामा पनि विश्वास गर्ने ठाउँ देख्दैनन् । 

BIKRAM LAMA (4)

नेतृत्वको मूल्यांकन : न आफ्नो, न एन्फाको कामप्रति सन्तुष्टि

फुटबल खेलाडी संघको अध्यक्षमा लामा निर्वाचित भएका तीन वर्ष पुग्न थाल्यो । यसबिच खेलाडीका लागि आफूले सोचेअनुरूप भने काम गर्न नसकिएको उनी स्विकार्छन् । आफ्नो र एन्फाको कार्यकालको समीक्षा गरेका आफ्नो साढे दुई बर्से कार्यकाललाई १० मा ३ देखि ४ अंक मात्र दिए । ‘हामीले २० वर्षदेखि स्थापित खेलाडी संघलाई बल्ल एउटा पहिचान दिएका छौँ, जहाँ खेलाडीहरूले अपेक्षा गर्न थालेका छन्, तर अझै धेरै काम गर्न बाँकी छ,’ लामा बताउँछन् । यसैगरी एन्फाको वर्तमान नेतृत्वलाई भने उनले १० मा अझ कम २ देखि ३ अंक मात्र दिए ।

‘डोमेस्टिक फुटबलको संरचना हेर्ने हो भने योभन्दा बढी नम्बर दिन सकिँदैन, हामीले जुन किसिमको अपेक्षा गरेका थियौं, त्योअनुसार काम हुन सकेको छैन,’ लामा स्पष्ट पार्छन् । संघलाई प्रशासनिक रूपमा बलियो बनाउने र आउने नेतृत्वलाई काम गर्न सहज बनाउने आफ्नो लक्ष्य रहेको उनी सुनाउँछन् । 

संरचनागत कमजोरीले फुटबलप्रतिको आकर्षण घट्यो 

खेलाडीका रूपमा मैदानमा उत्रिँदाको समय स्मरण गर्दै लामा नेपाली फुटबलको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्छन् । आफ्नो पालामा नेपाली खेलकुदमा फुटबलको निकै ठुलो क्रेज रहेको उनको भनाइ छ । 

‘कुनै वेला रंगशाला भरिभराउ हुन्थ्यो, आज घरेलु खेलमा दर्शक नै हुँदैनन् । यसको मुख्य कारण कमजोर व्यवस्थापन र रणनीतिक योजनाको अभाव हो,’ उनी समस्या देखाउँछन् । उनका अनुसार नेपालको फुटबल प्रणाली दीर्घकालीन योजनाविनाका छन् । चार, आठ वा बाह्र वर्षपछि नेपाली फुटबललाई कहाँ पुर्‍याउने भन्ने स्पष्ट खाका नहुनु नेपाली फुटबलको अहिलेको सबैभन्दा ठुलो कमजोरी भएको उनले ठानेका छन् । कमजोर पूर्वाधार पनि ठुलो समस्याका रूपमा रहेको उनी देख्छन् । 

BIKRAM LAMA (3)

तलब र भविष्यको अनिश्चितता

अझ दुःखलाग्दो कुरा त राष्ट्रिय टिमका खेलाडीहरूले नियमित पारिश्रमिकसमेत नपाउनु हो । एन्फाले महिला राष्ट्रिय टिमलाई पारिश्रमिक नदिएको चार महिना पुग्न थालेको छ । त्यस्तै पुरुष टिमले पनि लामो समयदेखि तलब पाएका छैनन् । देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूले आफ्नो न्यूनतम अधिकारसमेत नपाउँदा उनीहरूको मनोबल कस्तो होला भन्ने प्रश्न गम्भीर छ ।

लामाले यी सबै समस्या खेलाडी संघले समेटेर आवाज उठाएको बताए । तर पछिल्लो समय आफूहरूले यो विषयमा कुनै जानकारी नपाएको पनि उनको भनाइ छ । तर निर्णायक भूमिकामा रहेको एन्फा गम्भीर नबन्दा नेपाली फुटबलको भविष्य नै अन्धकारतर्फ धकेलिएको छ । समयमै घरेलु लिगको क्यालेन्डर बनाएर यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्न नसकिए नेपाली फुटबलले दर्शक र खेलाडी दुवै गुमाउने निश्चित छ । 

फोटो/भिडियो : योगेन्द्र नगरकोटी

भिडियो अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप