नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने
सारांश
- नेपाल पर्यटन बोर्ड र टिकटकबीचको साझेदारीले नेपाललाई विश्वभर प्रचार गर्ने लक्ष्य लिएको छ।
- यो सहकार्यले नेपालका प्राकृतिक दृश्य, संस्कृति, पर्व, र अनुभवहरूलाई डिजिटल प्लेटफर्ममार्फत प्रस्तुत गर्नेछ।
- साझेदारीले नेपाललाई नयाँ पुस्ता र विश्व पर्यटनमाझ जोड्नेछ, साथै स्थानीय व्यवसायीलाई फाइदा पुर्याउनेछ।
काठमाडौँ । हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत त कहिले अनुपम प्रकृतिमार्फत । अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर सुनाउने भएको छ ।
नेपाल पर्यटन बोर्डले नेपालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी गरिएको जनाएको छ । यस साझेदारीले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, पर्व–उत्सव, खानपान र साहसिक अनुभवलाई विश्वका करोडौँ डिजिटल दर्शकमाझ पुर्याउने लक्ष्य लिइएको छ ।
यहाँ आयोजित साझेदारी पत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्ड र टिकटकबिचको यो सम्झौता केवल प्रचारप्रसारको काम मात्र नभई नेपाललाई नयाँ पुस्तासम्म पुर्याउने अभियान भएको बताए । आजका युवाले भ्रमणको निर्णय गर्नुअघि वास्तविक कथा र अनुभव खोज्न चाहने भन्दै उनले टिकटकमार्फत उनीहरूसम्म नेपालका अद्वितीय पर्यटकीय गन्तव्यका कथा सुनाउने र देखाउने अवसरको उपयोग हुने विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा उल्लेख गर्दै यस सहकार्यमार्फत ग्रामीण समुदाय, साना व्यवसायी र स्थानीय पथप्रदर्शकलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । “हामीले सधैँ नेपाललाई हिमाल र अध्यात्मको देशका रूपमा चिनाइरहेका छौँ । हाल समय बदलिएको छ । डिजिटल प्लेटफर्ममा देखिने कथा नै विश्व यात्रुका लागि पहिलो प्रेरणा बन्न थालेका छन् । त्यसैले टिकटकसँगको सहकार्यले नेपाललाई डिजिटल पुस्तासम्म पुर्याउने बाटो खोलिदिएको छ ।”
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्याउन महत्त्वपूर्ण समझदारी भएको उल्लेख गरे । उनले भने, “हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभई स्वदेशमा रहेका युवालाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढङ्गले अभिव्यक्त गर्ने अवसर दिनेछ ।”
सिइओ जोशीका अनुसार बोर्डले अन्तरराष्ट्रियस्तरका ‘ट्राभल कन्टेन्ट क्रिएटर’लाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ‘होमस्टे’सम्म पुर्याएर प्रचारप्रसार गरिने योजना सुनाए ।
साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।
कार्यक्रममा टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत हरेक दिन करोडौँ मानिसले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पुर्याउने विश्वास व्यक्त गरे । “टिकटकमा हरेक दिन करोडौँ मानिस नयाँ गन्तव्य र अनुभव खोज्छन् । नेपालजस्तो हिमाल, अध्यात्मतक, विविध संस्कृतिले भरिपूर्ण देशलाई छोटा भिडियोमार्फत संसारभर पुर्याउन पाउनु हाम्रो लागि पनि गर्वको विषय हो । सहकार्यले नेपाललाई विश्वका पर्यटकको ‘बकेटलिस्ट’ मा थप बलियो गरी स्थापित गर्नेछ”, उनले भने ।
मत्ताकिनले यस अभियानअन्तर्गत ‘लाइफटाइम एक्पिरियन्स’ ह्यासट्यागमा विशेष ‘इन–एप प्लेटफर्म’ बनाइने जानकारी दिए । उनले अगाडि भने, “हिमालयदेखि तराईका नदी, उत्सवदेखि खानपान र साङ्गीतिक परम्परा सबैलाई छोटा भिडियोमा उतारेर विश्वभर देखाइनेछ ।”
समझदारीमा सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन गरिने उल्लेख छ । यसबिचमा काठमाडौँमा ‘भिजिट नेपाल’ कार्यक्रम आयोजना हुनेछ र जसमा अन्तर्राष्ट्रिय ‘कन्टेन्ट क्रिएटर’, सांस्कृतिक दूत र पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।
नेपाल पर्यटन बोर्ड र टिकटकको यो समझदारीले नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र नयाँ विश्व पर्यटन सन्दर्भमा ‘डिजिटल पुल’ को काम गर्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण