बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अझै मर्मत भएन

बुधबार, ०४ भदौ २०८२, १२ : ११
बुधबार, ०४ भदौ २०८२

सारांश

  • मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमा देखिएको प्राविधिक समस्या समाधानको मर्मत कार्य २३ गतेबाट सुरु हुने भएको छ।
  • मर्मतका लागि भारतीय आयल कर्पोरेसन (आईओसी) को प्राविधिक टोली नेपाल आइसकेको छ र फिल्डमा प्रारम्भिक काम सुरु भइसकेको छ।
  • मर्मत अवधिमा इन्धन आपूर्तिमा असर नपर्ने र पुरानो प्रणालीबाट ढुवानी निरन्तर रहने बताइएको छ।

काठमाडौँ । प्राविधिक समस्या देखिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनकाे अझै मर्मत सुरु भएको छैन । पाइपमा देखिएको प्राविधिक समस्या समाधानका लागि भारतीय आयल कर्पोरेसन (आईओसी) को प्राविधिक टोलीले साउन ३१ गते (अगस्ट १६) देखि मर्मतको कार्य सुरु गर्ने भने पनि अहिलेसम्म सुरु नगरेको नेपाल आयल निगमले जनाएको छ । 

नेपाल आयल निगम, मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले मुख्य मर्मत कार्य यही २३ तारिखबाट सुरु हुने बताए । रातोपाटीसँगको कुराकानीमा प्रमुख आचार्यले मर्मतका लागि आईओसीबाट उच्चस्तरीय कर्मचारीसहित १५–१६ जनाको प्राविधिक टोली नेपाल आइपुगेको बताए । ‘टोलीले फिल्डमा प्रारम्भिक काम सुरु गरिसकेको छ,’ उनले भने– ‘तर पाइपलाइनको मुख्य प्रणालीमा गर्नुपर्ने संवेदनशील मर्मतको काम २३ तारिखबाट सुरु हुनेछ, जुन सम्पन्न हुन करिब ५–६ दिन लाग्ने अनुमान छ ।’

साथै मर्मत अवधिमा इन्धन आपूर्तिमा कुनै असर नपर्ने उनको भनाइ छ । मर्मतका क्रममा नयाँ पाइपलाइन प्रणालीबाट आपूर्ति केही समयका लागि रोकिने भए पनि उपभोक्तालाई कुनै असर पर्न नदिन वैकल्पिक व्यवस्था मिलाइएको उनले बताए । ‘मर्मत अवधिभर हामी पुरानो प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालन गर्नेछौँ । हामीले पहिले बन्द गरेर राखेको पुरानो प्रणालीबाट ढुवानी निरन्तर रहन्छ, त्यसैले कुनै पनि डिपोमा तेलको अभाव हुँदैन,’ आचार्यले भने ।

यो मर्मत कार्य यसअघि १६ तारिखमै गर्ने योजना भए पनि आईओसीको तर्फबाट प्राविधिक, जनशक्ति वा सामग्री व्यवस्थापनमा केही ढिलाइ भएकाले २३ तारिखका लागि सारिएको आचार्यको भनाइ छ । 

प्रमुख आचार्यकाअनुसार पाइपलाइन हाल परीक्षणकै चरणमा रहेकाले मर्मतको सम्पूर्ण जिम्मेवारी र लागत आईओसीले नै व्यहोर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप