बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डन्डिफोर फुटाउँदा अस्पतालको बास

बिहीबार, ०५ भदौ २०८२, १२ : २१
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • अनुहारको 'ट्रायङ्गल अफ डेथ' मा डन्डिफोर फुटाउँदा गम्भीर स्वास्थ्य समस्या र ज्यान जाने खतरा हुन्छ।
  • टिकटक भिडियोमा एक महिलाले डन्डिफोर फुटाउँदा अनुहार सुन्निएको र पक्षाघात भएको अनुभव सुनाइन्।
  • डाक्टरहरूले यस क्षेत्रमा सङ्क्रमण भएमा आँखाको ज्योति गुम्ने, स्ट्रोक, पक्षाघात वा मृत्युसमेत हुनसक्ने चेतावनी दिएका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । ट्रायङ्गल अफ डेथ  (Triangle of Death) भनेर चिनिने अनुहारको भागमा डन्डिफोर फुटाउँदा गम्भीर स्वास्थ्य समस्या र ज्यानै पनि जान सक्छ। यो क्षेत्र नाकदेखि मुखको कुनासम्म फैलिएको हुन्छ।

तीन बच्चाकी आमा लिश मारीले भर्खरै टिकटकमा एउटा भिडियो पोस्ट गरिन्, जसमा उनले आफ्नो अनुहारको तल्लो भागमा रहेको डन्डिफोर फुटाउँदा कसरी अनुहार सुन्निने र पक्षाघात जस्ता समस्या आयो भनेर बताएकी छन्।

उनले आफ्नो बायाँ नाकको तल रहेको डन्डिफोरलाई नङले फुटाउने कोसिस गरिन्। तर केही घण्टामै उनलाई केही गम्भीर समस्या भइरहेको महसुस भयो। उनको अनुहारको बायाँ भाग यति सुन्नियो कि मुस्कुराउने कोसिस गर्दा दुख्न थाल्यो । त्यस्तै मुखको अर्को कुना मात्र माथि उठ्यो।

लगभग चार घण्टापछि उनी अस्पतालको आकस्मिक कक्ष गइन्, जहाँ डाक्टरहरूले उनलाई चार प्रकारका औषधिहरू एन्टी बायोटिक्स र स्टेरोइडहरू दिए। डन्डिफोरमार्फत उनको रगतमा सङ्क्रमण फैलिएकोले उपचार सुरु गरिएको थियो।

लिशको यो घटना अनौठो होइन। उनको टिकटक भिडियो भाइरल भएपछि न्युयोर्क पोस्टले सोही क्षेत्रमा डन्डिफोर फुटाउँदा यस्तै समस्या भोग्ने अन्य मानिसहरूको बारेमा समाचार लेख्यो। एक महिलाले यसले गर्दा उनलाई ‘सुत्केरी हुँदाभन्दा पनि बढी’ दुखाइको साथ स्ट्याफ सङ्क्रमण (staph infection) भएको र दाग बसेको बताइन्।

अर्की एक आमाले पनि आफ्नी छोरीलाई सङ्क्रमित डन्डिफोर फैलिएपछि एक हप्ता अस्पतालमा बस्नुपरेको र अनुहारको शल्यक्रिया गर्नुपरेको कुरा सम्झिइन्।

डाक्टरहरूले ट्राइङ्ग्यल अफ डेथ भनिने अनुहारको यस भागको शारीरिक बनावटका कारण सानो डन्डिफोर फुटाउँदा पनि समस्या आउन सक्ने चेतावनी दिएका छन्।

Triangle-of-Death-pimple3-750x429

छाला रोग विशेषज्ञ डा. विशाखा धोरदेले एनडीटीभीसँगको कुराकानीमा भनिन्, ‘यस क्षेत्रमा उल्टो रक्तसञ्चारलाई रोक्ने कुनै संयन्त्र छैन। यदि कुनै सङ्क्रमित डन्डिफोरबाट ब्याक्टेरिया यी नसाहरूमा प्रवेश गरेमा, ती दिमागसम्म पुग्न सक्छन् र सेप्टिक काभर्नस साइनस थ्रोम्बोसिस (septic cavernous sinus thrombosis) जस्ता गम्भीर सङ्क्रमणहरू निम्त्याउन सक्छन्, जसले गर्दा आँखाको ज्योति गुम्ने, स्ट्रोक, पक्षाघात वा मृत्यु पनि हुन सक्छ।’

अर्का छाला रोग विशेषज्ञ डा. अजय राणाले यसलाई पुष्टि गर्दै भने, ‘यो शारीरिक मार्गका कारण, यस क्षेत्रको सङ्क्रमण, दुर्लभ अवस्थामा, सर्कुलेटरी प्रणालीको अन्य भागहरूले सुरक्षात्मक फिल्टरिङ नगरी अनुहारबाट दिमागसम्म फैलिन सक्छ।’

सरल भाषामा भन्नुपर्दा, जब तपाईं ट्राइङ्ग्यल अफ डेथमा डन्डिफोर फुटाउनुहुन्छ, तब त्यहाँ एउटा खुला घाउ बन्छ, जसबाट खतरनाक ब्याक्टेरिया रगतमा प्रवेश गर्न सक्छ र सङ्क्रमण गराउन सक्छ जुन दिमागसम्म पुग्न सक्छ।

यस्ता घटनाहरू दुर्लभ हुन्छन्, नत्र त हरेक वर्ष लाखौँ किशोरकिशोरीहरू अस्पतालमा पुग्थे। तर, डाक्टरहरूले यसको जोखिम सानो भए पनि यसलाई बेवास्ता गर्न नहुने चेतावनी दिएका छन्।

‘मलाई लाग्छ मैले यो समस्या धेरै छिटो, केही घण्टामै पत्ता लगाएँ,’ लिशले टिकटकमा भनिन्। उनले २४ घण्टासम्म उनको मुख बाङ्गो भएको र तीन दिनमा उनी १००% सामान्य भएको बताइन्।

अरू मानिसहरू भने यति भाग्यमानी थिएनन्, किनभने स्टेफिलोकोकस (Staphylococcus) वा स्ट्रेप्टोकोकस (Streptococcus) जस्ता ब्याक्टेरियाहरू एकपटक रगतमा प्रवेश गरेपछि तिनीहरूसँग लड्न धेरै कठिन हुन्छ। सुन्निने समस्या पनि हुन सक्छ, किनभने ट्राइङ्ग्यल अफ डेथमा डन्डिफोरलाई धेरै दबाब दिएर फुटाउँदा सुन्निने समस्या काभर्नस साइनस (cavernous sinus) सम्म फैलिएर आँखाका नसहरू वा दिमाग नजिकका अन्य संवेदनशील अङ्गहरूमा दबाब दिन सक्छ।

‘म यसबाट लगभग मरिसकेकी थिएँ। यो मजाकको कुरा होइन, म डेढ हप्तासम्म अस्पतालमा थिएँ र शल्यक्रिया पनि गर्नुपर्‍यो,’ एक जनाले लिश मारीको भिडियोमा टिप्पणी गरे।

यदि तपाईंले साँच्चै नै ट्राइङ्ग्यल अफ डेथमा डन्डिफोर फुटाउनु पर्ने नै छ भने, अनुहार र हात राम्रोसँग धुनुहोस्, नङको सट्टा कपासको स्वाब (cotton swab) वा कीटाणुरहित डन्डिफोर फुटाउने उपकरणहरू प्रयोग गर्न डाक्टरहरू सुझाव दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप