बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षा विधेयक तत्काल जारी गर्नुपर्छ : नैनसिंह महर

बिहीबार, ०५ भदौ २०८२, १४ : ४८
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्न माग गरेका छन्।
  • उनले निःशुल्क र गुणस्तरीय शिक्षा कार्यान्वयनका लागि विधेयकमा स्पष्ट खाका हुनुपर्ने बताए।
  • महरले शिक्षामा बजेटको २० प्रतिशत छुट्याउनुपर्ने र शिक्षकलाई निजामतीसरह सेवा सुविधा दिनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले लामो समयदेखि प्रतीक्षित विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्न सरकारसँग माग गरेका छन् । उनले देशमा चौतर्फी निराशा छाएको बेला विधेयक जारी गरेर सरकारले सकारात्मक सन्देश दिनुपर्ने बताएका हुन् ।

स्कुल फाउन्डेसन द्वारा आज बानेश्वरमा आयोजित शिक्षा विधेयक विषयक विमर्श कार्यक्रममा बोल्दै नेता महरले संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि विद्यालय शिक्षा विधेयकमा स्पष्ट खाका आउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले भने, ‘निःशुल्क र गुणस्तरीय शिक्षाको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा विद्यालय शिक्षा विधेयकमै प्रस्ट हुनुपर्छ, अन्यथा संविधानको व्यवस्था केवल कागजमा मात्र सीमित रहन्छ ।’

लामो समयदेखि विधेयक संसद्मा अड्किएर बस्दा शैक्षिक क्षेत्रमा अन्यौलता छाएको बताउँदै महरले सरोकारवालाको चासोलाई समेत ध्यानमा राख्दै विधेयकलाई तत्काल पारित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले शिक्षा जस्तो गम्भीर विषयमा राजनीति गर्न नहुने भन्दै सबै दलहरूलाई साझा धारणा बनाएर अघि बढ्न आग्रह गरे ।

महरले अधिकारको मात्र खोजी गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या निम्त्याएको तर्क गर्दै कर्तव्यबोध सहितको सुधार आवश्यक रहेको पनि औँल्याए । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत छुट्याउनुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याए । साथै, शिक्षकहरूलाई निजामतीसरहको सेवा सुविधा, प्रधानाध्यापकको लागि छुट्टै व्यवस्था, र भौतिक पूर्वाधारमा राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप