मुक्तक सम्राज्ञी उषा शेरचनको जीवनी
सबैसँग भेटे पनि यो मनले तिम्रै हात मागेको हुन्छ,
सबैसँग हिँडे पनि यो मनले तिम्रै साथ रोजेको हुन्छ ।
उषा शेरचन जीवनका भोगाइको काव्य लेख्छिन्, उषा शेरचन पीडाभित्र डुबेर कविता कोर्छिन् र उषा शेरचन हाँसीहाँसी पनि वेदना पोख्छिन् । उनको लेखनले जीवनको यथार्थ धरातल पहिल्याएको हुन्छ, जिन्दगानीको चित्रण प्रस्तुत गरेको हुन्छ र मानवीय आकर्षण, प्रेम र विश्वासलाई व्यत्त्याएको हुन्छ । त्यसैले उनी चाँडोभन्दा चाँडो चर्चित बनिन्, प्रायः सबैकी प्रिय बनिन् र नेपाली साहित्य संसारकी आवश्यकता बनिन् ।
उषा शेरचन सानैदेखि भावुक थिइन् । उनी गीतमै रुन्थिन्, गीतमै हाँस्थिन् र गीतबाटै आफूलाई परिचालित गराउँथिन् । त्यस बेला उनको प्रिय साथी मुक्तक हुन्थ्यो । त्यस घडी उनका आँसुमा साथ दिने पनि थिए र हाँसोमा साथ दिने पनि थिए । उनको जन्मथलोका केही स्रष्टाले उनको लेखनीमा सुरुमा मलजल गरे । अथवा भनौँ सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी, विनोद गौचन, विजय बजिमय, विश्व शाक्य र दुर्गा बरालको प्रोत्साहन, प्रेरणा र हुटहुटीले उषा शेरचन चाँडोभन्दा चाँडो नेपाली साहित्यिक बगैँचामा फुल्न थालिन् । उनको सुवास चाँडै डाँडापारि पनि पुग्यो । उनको प्रतिभा चाँडै अङ्कुरित भयो, चाँडै फुल्यो र चाँडै फक्रियो । उनी मुक्तक सम्राज्ञीमा समेत अभिलिखित भइन् । साथै उनी नेपाली साहित्यको काव्य संसारमा नै स्थापित भइन् ।
२०१२ भदौ ६ गते सोमबारका दिन उषा शेरचन सर्वप्रथम पोखरा उपत्यकाको गणेश टोल, नालामुखमा रोएकी थिइन् । अथवा भनुँ त्यस दिन यी झपटबहादुर भट्टचन र यामकुमारी भट्टचनकी सुपुत्री बनिन् । जन्मदै उषा शेरचनको अनुहारमा चन्द्रमाको ज्योति छरिएको थियो । यति हुँदाहुँदै पनि उषा शेरचनको एउटा विद्रोही प्रेमीको झैँ, एउटा असन्तुष्ट मान्छेको झैँ र एउटा विक्षिप्त परिवारको झैँ जीवनकथा भेटिन्छ । वास्तवमा उनको जीवनकथा पढ्दा एउटी सङ्घर्ष नै सङ्घर्षमा बेरिएकी स्रष्टाको नाउँ उषा शेरचन भन्नुपर्छ । किनभने उनी लेख्ता आफ्नो छाती उदाङ्गो पारेर लेख्छिन्, छातीभित्र जे छ नलुकाई उनी त्यही पस्किन्छिन् । अनि उनको लेखाइमा एउटा सिङ्गो जीवनको परिभाषा हुन्छ । वास्तवमा मनमा उठेको भावना बेर्दाबेर्दै, उन्दाउन्दै र कोर्दाकोर्दै उनी उषा शेरचन बनिन् । खासगरेर उनको नाउँ नेपाली साहित्यको प्रतिनिधि मुक्तककारमा स्थापित भयो । २०५० सालको आरम्भतिरैबाट राजकवि केदारमान व्यथित बराबर भनिरहन्थे— ‘बहुमुखी प्रतिभाकी धनी भए पनि उषा शेरचनलाई जितेर मुक्तक लेख्ने स्वास्नी मान्छेचाहिँ मैले भेटेको छैन । त्यसैले मैले उषालाई मुक्तक सम्राज्ञी भनेको हुँ ।’
व्यथितबाट प्रदत्त मुक्तक सम्राज्ञीको उपाधिलाई केशवराज पिँडालीदेखि ईश्वरवल्लभसम्मले समर्थन जनाएका थिए । त्यसपछि उनी मुक्तक विधामा झनै चर्चित व्यक्तित्व बनिन्–
विक्षिप्त मनस्थिति बोकेर घोर यातनाका दिनहरू भोगिरहेकी छु,
अभिशप्त छाती बोकेर घोर पीडाजन्य रातहरू बिताइरहेकी छु ।
जिन्दगीका चारै दिशा हराएर अचेल म,
दिग्भ्रमित भएर घोर अन्धकारमा रुमल्लिइरहेकी छु ।
उषा शेरचनले साहित्यिक गोरेटो हिँड्दाहिँड्दै बीए गरिन् । उनले आफ्ना दुःखेका गोडा चाल्दाचाल्दै २०३८ साल फागुन २० गते डीबी शेरचनसँग बिहे गरिन् । अनि जिन्दगानीका विभिन्न आरोह–अवरोहमा लुकामारी खेल्दाखेल्दै छोरी आस्था जन्माइन् र छोरो आस्तिक पनि पाइन् । घर–परिवारमा अति सन्तुष्टिको जीवन भोग्नेमध्ये उनी पनि एक बनेर चिनिइन् ।
उषा शेरचनको हाँसो र आँसुको सिर्जनात्मक यात्राचाहिँ घरजमपछि पनि जारी नै रह्यो । आफ्नो सीप, लगन र योग्यता प्रदर्शन गर्दै जाँदा उनी रत्नश्री स्वर्णपदकबाट सम्मानित भइन्, व्यथित काव्य पुरस्कारबाट पुरस्कृत भइन्, राष्ट्रिय गौरव युवा सम्मानबाट सम्मानित भइन् र राजकीय प्रज्ञापदकबाट पनि सम्मानित भइन् । उनले प्राप्त गरेका अन्य सम्मान हुन्— भूपिस्मृति सम्मान, लोकप्रिया पुरस्कार, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार, प्रतिभा सम्मान, वासुशशि पुरस्कार, विश्व नारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, सत्यमोहन जोशी शताब्दी पदक । अनि उनी वानीरा पुरस्कारबाट सम्मानित हुने प्रथम स्रष्टा भइन् । साथै उनी वीरेन्द्र ऐश्वर्य सेवा पदकबाट पनि अलङ्कृत भइन् ।
लेखेर नै उषा शेरचनको व्यक्तित्व झाँगिन थाल्यो, मौलाउन थाल्यो र हराभरा हुन थाल्यो । त्यसैको परिणामले उनको कवितासङ्ग्रह नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट छापियो । डीबी शेरचनको सिन्दूरले रङ्गिएको दश वर्षपछि उषा शेरचनले ‘नजन्मेका आस्थाहरू’ (कवितासङ्ग्रह : २०४८) जन्माएकी थिइन् । त्यसै गरी उनले ‘अक्षरहरूका शिविरबाट’ (मुक्तकसङ्ग्रह : २०५६), ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कवितासङ्ग्रह : २०६३), ‘तेस्रो रङ्ग’ (कथासङ्ग्रह : २०७०) र ‘आधि’ (उपन्यास : २०७६) प्रकाशनमा ल्याइन् । त्यति मात्र होइन गीतकार उषा शेरचनका गीति क्यासेटहरू ‘अभीप्सा’, ‘सञ्चयन’ र ‘मेरो माटो : मेरो गीत’ पनि जनसमक्ष आए ।
उषा शेरचनका काव्य र गीतिकाव्यले त्यस बेला पाठक र श्रोतालाई च्याप्पै समात्ने गर्थे । त्यो कला क्रमशः विकसित हुँदै जाँदा उनी खासगरी पाठकका हृदयमा थकाइ मार्न थाल्ने भइन् । वास्तवमा लेखिसकेपछि यी आफूले दिग्विजय प्राप्त गरेको अनुभूति सँगाल्ने गर्छिन् । यसै प्रसङ्गमा उषा शेरचन भन्छिन्, ‘मलाई लेखिसकेपछि प्रस्रवको अनन्त पीडापछिको असीम सुखानुभूतिझैँ लाग्छ ।’ तर पनि उनका लेखनमा त्यही प्रस्रवका विम्बले सधैँ पछ्याइरहेका हुन्छन् । उनी लेख्ता पनि त्यही मानवीय पीडालाई अघि सार्ने गर्छिन् । त्यसैले हुन सक्छ उनी चाँडै धुरी चढ्ने कवयित्री बनिन् । उनको कथासङ्ग्रह ‘तेस्रो रङ’ र ‘बेग्लै म’ अनि ‘आधि’ उपन्यासले पनि चर्चाको शिखर चुमेकै हो । उनको लेखनका विषयमा धेरै समीक्षा पनि भए । अनि उनको कविताका बारे इन्दिरा प्रसाईले एउटा सिङ्गो समालोचनात्मक कृति लेखिन्, ‘उषा शेरचनको सङ्घोष’ (२०७२) ।
उषा शेरचनको हाँसो र आँसुको सिर्जनात्मक यात्राचाहिँ घरजमपछि पनि जारी नै रह्यो । आफ्नो सीप, लगन र योग्यता प्रदर्शन गर्दै जाँदा उनी रत्नश्री स्वर्णपदकबाट सम्मानित भइन्, व्यथित काव्य पुरस्कारबाट पुरस्कृत भइन्, राष्ट्रिय गौरव युवा सम्मानबाट सम्मानित भइन् र राजकीय प्रज्ञापदकबाट पनि सम्मानित भइन् ।
कवयित्री शेरचन जिन्दगी जिउने क्रममा आफूले देखेका, भोगेका र अनुभूतिमा सँगालेका कुरा लेख्छिन् । उनी आफ्ना भावनालाई सर्लक्क पाठक सामुन्ने पुर्याएर पाठकको मन–मस्तिष्कलाई छुने कसरत गर्छिन् । वास्तवमा उनको लेखनीको शैली नै प्रभावशाली छ । उनका भावना कोमल भएर पनि लचकदार छन् । अनि उनको संसार विशाल भएर पनि साँगुरो छ । लेखनको विषयवस्तु प्रेम, समर्पण र पीडालाई बनाएर पनि उनी यी तत्त्वलाई आफ्नै छातीभरि कैदी बनाउन चाहन्छिन् । त्यसैले उनी मनको पिङ मच्चाएर आफ्नो वैयक्तिक जीवनको धीत मार्ने गर्छिन्–
ठेस लागेर विश्वासहरू कहिलेकाहीँ लडखडाउन सक्छ,
बिथोलिएर विश्वासहरू कहिलेकाहीँ धमिलिन पनि सक्छ ।
विश्वासको जग नै बलियो राख्न नसके,
मायाका घरहरू कुनै पनि क्षण तासका घरझैँ भत्किन सक्छ ।
नेपालमा उषा शेरचनहरू जति नै ठुला भए पनि सिर्जनाबाट आर्थिक लाभ पटक्कै हुँदैन । यहाँ स्रष्टाको अन्य पेसा, अन्य आयस्रोत र अन्य व्यवहार छैन भने उनीहरू भोकै मर्छन् । त्यसैले उषा शेरचन पनि आफ्ना पतिको व्यापारबाट मक्ख पर्ने गर्छिन् । आफ्नो काँधमा आर्थिक झन्झट नहुँदा उनी मानसिक पीडाबाट रन्थनिनुपर्दैन । तर आर्थिक हिसाब नछोएरै पनि स्रष्टाले उत्कृष्ट सिर्जना गर्न सक्छन् । यति हो, धनीले मिठो खान्छ र धनी मान्छे देश–विदेश घुम्न पनि सक्छ । उसको मन छ भने उसले कुनै समूह, संस्था र मान्छेहरूलाई आर्थिक सहयोग पनि गर्छ । यस परिप्रेक्ष्यमा उषा शेरचन पनि त्यस्तै छिन् । उनको सहयोगमा लालीगुराँस फक्रिएको हुन्छ ।
उषा शेरचनको प्रकृतिसँग गाढा साइनो छ । प्रकृतिका सुन्दर छटाहरू नियाल्नु उषाको विशेष रुचि देखिन्छ । उनलाई गीत सुन्न अत्यन्तै मन पर्छ । जीवनका खुसी र दुःखका रचनाका बेग्लाबेग्लै मोडलाई पनि उनी आत्मसात् गर्न सक्छिन् । त्यसैले उनका रचनाहरू विशेष गरेर व्यवहारजन्य घात–प्रतिघातका घाउ र पीडाहरूबाट सिञ्चित भएर उब्जेका हुन्छन् । सुधारात्मक भावबोध र युगपरिवर्तनीय आशापुञ्जको चाहना राख्न मन पराउने उषा शेरचनका प्रत्येक हिँडाइ कलाले सुसज्जित हुन्छन् । उनका लेखनका हरेक बुँदा, हरेक मोड र हरेक अध्याय कलाकौशलले नै भरिपूर्ण हुन्छन् । उनी लेखनाथ, देवकोटा र समबाट यात्राका अविरल राजमार्ग खोज्छिन्; पारिजात, भूपि शेरचन र बीपी कोइरालाबाट जीवनका अधिकतम चाहना रोज्छिन् अनि नारायणगोपाल र अरुणा लामाका सुस्केराहरूलाई सधैँ मनमनै भोग्ने गर्छिन् । उनी परलोकका लागि पनि जीवन अक्षय पार्न उद्यत छिन् । उनका लागि कर्म नै विशाल छ, अपरिमेय छ र अनन्त छ । त्यही सुदूर जीवनका लागि उनी एकोहोरो मरिमेटेकी छिन् । जीवनमा अनगिन्ती प्राप्तिका शिखर टेक्दाटेक्दै पनि उनी जीवनदेखि थाकिसकेकी छिन् । उनको थकाइमा पनि लक्ष्य भत्किएको छ, उनको विश्राममा पनि घात–प्रतिघातले आक्रमण गरेको छ र उनको शरीरका रगतभरि पनि गन्तव्य ठप्प भएर अडेको छ—
म क्षणप्रतिक्षण निरुद्देश्य लक्ष्यहीन बाटो हिँडिरहेकी छु,
म क्षणप्रतिक्षण घातप्रतिघातका अचानोमा पिल्सिरहेकी छु ।
असीमित चोट र पीडाहरूको शरशैय्यामा छटपटाउँदै,
म क्षणप्रतिक्षण गन्तव्यरहित आँसुको नदी बगिरहेकी छु ।
सानै उमेरमा उषा शेरचनले थुप्रै फुटकर रचनाको निर्माण गरिन् । उनले ‘गोरखापत्र’देखि ‘विमर्श’सम्म र ‘कान्तिपुर’देखि ‘मधुपर्क’सम्म लेखिरहिन् साथै ‘अभिव्यक्ति’, ‘रत्नश्री’, ‘राष्ट्रपुकार’, ‘साप्ताहिकमञ्च’, ‘समीक्षा’ लगायत अन्य विविध पत्रपत्रिकामा उनका कविता छापिने गर्थे । उनको पहिलो रचना ‘जिन्दगी’ शीर्षक कविता २०३५ असोज ७ गते ‘गोरखापत्र’मा छापिएको थियो ।
उषा शेरचनले आधी नेपालका विभिन्न ठाउँ घुमिसकेकी छिन् । नौनीघिउभन्दा नरम भावना बोकेर उनी बादलमाथि पनि चढेकी छिन् भने जमिनमुनि पनि पसेकी छिन् । यही रीतमा उनले भारत, थाइल्यान्ड, चीन, हङकङ, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, जापान, युरोपका धेरै देश र अमेरिकाको भ्रमण गरी अनुभवहरूको सङ्ग्रह गरेकी छिन् ।
साहित्य सिर्जना र सङ्गठनमा त्यत्तिकै उत्साहित उषा शेरचन गुञ्जन समूहकी संस्थापक र नारी प्रतिष्ठानकी संरक्षक पनि हुन् । उनी नारायणगोपाल सङ्गीत कोषको अध्यक्ष, त्रिमूर्ति निकेतनका कोषाध्यक्ष, नइ एकेडेमीको कार्यकारी सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य, उत्तम कुँवर स्मारक पुरस्कार गुठी सदस्यमा पनि आसीन भइन् । उनी नेपाली साहित्य कला डटकमका संरक्षक र पोखरेली युवा सांस्कृतिक संस्थाकी उपाध्यक्ष पनि थिइन् । उनी विश्व नारी नेपाली साहित्य सम्मेलनका केन्द्रिय उपाध्यक्ष पनि भइन् ।
उषा शेरचनको रचनानिर्माण र सङ्गठन परिचालनबाट उनको व्यक्तित्वको सिन्धु विस्तारित भएको महसुस हुन्छ । उनी सिर्जनामै समर्पित छिन् किनभने सिर्जनामा माटो हुन्छ, जनजनको धुकधुकी हुन्छ अनि सृष्टिको रस हुन्छ । आज त्यही विशाल वटवृक्षको निर्माणमा उषा शेरचन जुटेकी छिन् । उनका निराशावादी दिनहरू पनि अब क्रमशः गुफाहरूमा प्रवेश भइसकेका छन् । उनी अब हिम्मतका साथ नयाँ बिहानी उघार्न लम्किरहेकी छिन् । उषाका लालीहरू चुमेर उनी आफ्नो नयाँ दिन रङ्गाउन साइत बनेर बसेकी छिन् । अब उनका मनभरि, आँखाभरि र आशाभरि उत्साह छमछम नाचिरहेका देखिन्छन्—
एउटा काँधमा सूर्य र अर्को काँधमा चन्द्र बोकी आउनु तिमी,
साथमा ताराका बारातहरू पनि लिएर आउनु तिमी ।
सपनाको राजकुमार भएर दन्त्यकथाहरूमा जस्तै,
मेरो मनआँगनमा घोडाका टापहरू बजार्दै आउनु तिमी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण