बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सन्दर्भ : बुबाको मुख हेर्ने दिन

अन्तिम समयमा बुबाको मुख हेर्ने धोको अधुरै रह्यो

शनिबार, ०७ भदौ २०८२, १० : १२
शनिबार, ०७ भदौ २०८२

सारांश

  • गायक यम बरालले बुबाको मुख हेर्ने दिनमा बुबालाई सम्झिएका छन्, जसले उनको जीवनमा ठूलो प्रभाव पारेको थियो।
  • बरालले बुबाको अनुशासन, संगीतप्रतिको प्रेम, र उनले सिकाएका कुराहरू सम्झेका छन्, जसले उनलाई मार्गदर्शन गरेको थियो।
  • उनले बुबाको अभाव र उहाँसँगको सम्बन्धको महत्त्वबारे प्रकाश पारेका छन्, र वृद्धाश्रममा आमाबुबालाई छोड्ने सन्तानप्रति दुःख व्यक्त गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

आज म बुबालाई धेरै सम्झिरहेको छु । उहाँको अनुशासित र कडा स्वभाव, मनमा अगाध माया, अनि भित्रभित्रै संगीतप्रेमी व्यक्तिको रूपमा । आज हाम्रो नेपाली समाजको खास दिन हो- कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । 

बुबाको हात मेरो शिरबाट छुटेको २४ वर्ष बितेछ । मेरो बुबा लोकबहादुर बराल २०५८ सालमा स्वर्गवास हुनुभएको हो । 

आजको दिन मेरो मनमा अनेक याद उर्लेर आउँछन् । जिन्दगीको यात्रामा धेरै वर्ष बिते, तर बुवाको अभाव र उहाँसँग जोडिएका सम्झनाहरू आज पनि उत्तिकै ताजा छन् । उहाँ एकदमै अनुशासित र कडा स्वभावको हुनुहुन्थ्यो । हामी सात दिदीबहिनी र पाँच दाजुभाइको ठुलो परिवार थियो, म उहाँको कान्छो छोरा हो ।

बुवा कस्तो हुनुहुन्थ्यो भनेर सम्झिँदा मेरो मानसपटलमा एउटा कडा, अनुशासित तर भित्रभित्रै संगीतप्रेमी व्यक्तिको चित्र आउँछ । उहाँ एक व्यवसायी हुनुहुन्थ्यो, तर स्वभावले एकदमै ‘स्ट्रिक्ट’ । यति ठुलो परिवारलाई अनुशासनमा राख्नुपर्ने जिम्मेवारीले होला, उहाँ कम बोल्नुहुन्थ्यो । उहाँको मौनतामा पनि एउटा निर्देशन लुकेको हुन्थ्यो । हाम्रो घरमा माछामासुको प्रवेश थिएन, एकदमै सात्त्विक भोजन चल्थ्यो ।

खाना खाने बेलाको नियम झनै कडा थियो । उहाँ खाना खाने बेलामा कसैले बोल्न पाउँदैनथ्यो । उहाँ भन्नुहुन्थ्यो- ‘अन्नको सम्मान गर्नुपर्छ, शान्त भएर खानुपर्छ ।’ त्यो अनुशासन आज पनि मेरो जीवनको हिस्सा बनेको छ ।

बुवा हरेक बिहान आफैँ गोठमा गएर गाई दुहेर बाल्टीमा दूध लिएर आउनुहुन्थ्यो । कहिलेकाहीँ मोही पारेर निकालेको नौनी घिउ छुट्ट्याउनुहुन्थ्यो । आमाले त्यही घिउ खानामा हालिदिँदा त्यसको स्वाद नै अर्कै हुन्थ्यो । बाल्यकालका ती सामान्य लाग्ने क्षणहरू अहिले पनि अनमोल लाग्छ ।

बुवाको कडा स्वभाव भए पनि संगीतप्रतिको प्रेम गहिरो थियो । मलाई याद छ, हरेक बिहान घरमा रेडियो नेपालको मधुरो आवाज गुन्जिन्थ्यो । त्यो आवाज बुवाको दिनचर्याको अभिन्न अङ्ग थियो । बिहान ५ बज्दा नबज्दै उहाँले रेडियो खोलेर भजन सुन्न थाल्नुहुन्थ्यो । पुरुषोत्तम सापकोटाका भजनहरू, रेडियो नेपालको त्यो चिनारी धुन, ती सबैले घरमा एउटा आध्यात्मिक वातावरण बनाउँथ्यो । म सानो थिएँ, आमासँगै सुतिरहेको हुन्थेँ, तर त्यो संगीत मेरो कानमा पर्थ्यो । 

सायद, मेरो संगीतप्रतिको लगावको पहिलो बिउ त्यही बिहानीको रेडियोले रोपेको थियो । कहिलेकाहीँ रेडियो बिग्रिँदा बुवा आफैँले खोलेर बनाउनुहुन्थ्यो । चस्मा लगाएर रेडियोको पाटपुर्जा मिलाइरहेको त्यो दृश्य म कहिल्यै बिर्सिन सक्दिनँ ।

WhatsApp Image 2025-08-21 at 19.09.33

म घरको कान्छो छोरा, बुवासँग डर पनि लाग्थ्यो, तर मायाको एउटा छुट्टै सम्बन्ध थियो । बुवालाई पेट दुख्ने (गानोको रोग) समस्या थियो । आमाले चुलोमा ढुंगा तताएर कपडामा बेरिदिनुहुन्थ्यो र त्यो ढुंगा बुवाको पेटमा सेकाउन लैजाने जिम्मा मेरो हुन्थ्यो । त्यो मेरो लागि एउटा नियमित कामजस्तै थियो । कहिलेकाहीँ बुवाको ढाड दुख्दा, म सानो सात–आठ वर्षको बालक, उहाँको ढाडमाथि चढेर विस्तारै हिँडिदिन्थेँ । मेरो सानो खुट्टाको मसाजले उहाँलाई आराम मिल्थ्यो । त्यो स्पर्शमा पिता–पुत्रको कति गहिरो सम्बन्ध थियो, आज महसुस गर्छु ।

मेरो संगीतप्रतिको मोह सानैदेखि थियो । म गाउँका बुढापाकाहरूसँग राति–राति जाग्राम बसेर भजन–कीर्तनमा जान्थेँ । घर फर्किन ढिलो हुन्थ्यो । बिहान उठ्दा बुवाको गाली खानुपर्थ्यो । ‘पढ्नुपर्छ, यताउता डुलेर हुँदैन’ उहाँ भन्नुहन्थ्यो । उहाँले पिटेको याद छैन । ‘पढ’ भनेर गाली गर्नुहुन्थ्यो । उहाँको सपना मलाई पढाएर एउटा राम्रो सरकारी जागिरे बनाउने थियो । तर मेरो मन संगीतमा नै रमाइसकेको थियो ।

  • त्यो अन्तिम पल

जब म अध्ययनका लागि भनेर काठमाडौं आएँ, तब संगीतमा नै आफ्नो भविष्य खोज्न थालेँ । जब मेरा गीतहरू चल्न थाले र मेरो नाम गीत रेडियोमा बज्न थाल्यो । त्यो समय दसैँमा घर जाँदाको क्षण म कहिल्यै भुल्न सक्दिनँ । रातिको बसमा लामो यात्रा गरेर घर पुगेको थिएँ । 

बुवाले सोध्नुभयो, ‘राम्रोसँग आइपुगिस्’ । मैले हजुर’ भनेँ । त्यसपछि उहाँले भन्नुभएको त्यो वाक्य मेरो जीवनको सबैभन्दा ठुलो पुरस्कार थियो । उहाँले भन्नुभयो, ‘ल, राम्रो गरिस् तैँले, नाम कमाइस् । खुसी लाग्यो ।’ त्यो दिन त्यो कडा स्वभावको बुवाको आँखामा मैले मेरो लागि गर्व र स्वीकृति देखेको थिएँ । उहाँको त्यो एक वाक्यले मेरो सारा संघर्षलाई एकै पटक सार्थक बनाइदियो ।

477739137_28771708265776548_4123558159773577915_n

तर दुर्भाग्य, त्यो खुसी लामो समय टिकेन । २०५८ सालमा उहाँले हामीलाई छोडेर जानुभयो । त्यो समय म काठमाडौँमै थिएँ । माइला दाइले फोन गरेर खबर सुनाउँदा म छाँगाबाट खसे झैँ भएँ । म हतार–हतार प्लेनबाट भद्रपुर हुँदै घरतर्फ लागेँ । तर हाम्रो संस्कार अनुसार घरमा शव राख्न नहुने भएकाले हामी पुग्नुअघि नै अन्त्येष्टिका लागि माई खोला लगिसकिएको रहेछ । जब म माई खोलाको घाटमा पुगेँ, अन्त्येष्टिमा उहाँको शव ८५ प्रतिशतभन्दा बढी जलिसकेको थियो । अन्तिम पटक बुवाको अनुहार हेर्ने धोको अधुरै रह्यो । त्यो पीडा शब्दमा वर्णन गर्न सक्दिनँ । देख्न नपाएको त्यो अन्तिम पलको अभावले मलाई आज पनि पोल्छ ।

उहाँले भन्नुभयो, ‘ल, राम्रो गरिस् तैँले, नाम कमाइस् । खुसी लाग्यो ।’ त्यो दिन त्यो कडा स्वभावको बुवाको आँखामा मैले मेरो लागि गर्व र स्वीकृति देखेको थिएँ । उहाँको त्यो एक वाक्यले मेरो सारा संघर्षलाई एकै पटक सार्थक बनाइदियो ।

बुवा बित्नुभएको तीन महिनापछि मेरो ‘मन’ एल्बमको ‘मन पराएको मायालु तिमी’ गीतको भिडियो सुटिङ थियो । मैले कपाल खौरिएको थिएँ, मनमा पीडा थियो । मैले निर्देशक आलोक नेम्वाङजीलाई भनेँ, ‘सर, म सुटिङ गर्न सक्दिनँ, अरूलाई नै खेलाउनुहोस् ।’ तर उहाँले मान्नु भएन । उहाँले भन्नुभयो, ‘होइन यमजी, तपाईंले नै खेल्नुपर्छ । यो तपाईंको बुवाप्रतिको सम्झना पनि हुन्छ ।’ मैले त्यही खौरिएको कपालमा सुटिङ गरेँ । त्यो गीत र भिडियो मेरो लागि बुवाप्रतिको सांगीतिक श्रद्धासुमन बन्यो ।

  • बुबाको माया

मेरो बुबा एकदमै समाजसेवी पनि हुनुहुन्थ्यो । उहाँ एकदमै उदार स्वभावको हुनुहुन्थ्यो । परेको समय सबैलाई सहयोग गर्नुहुन्थ्यो । सबैको आँखाको नानी हुनुहुन्थ्यो । उहाँको सहयोगी भावनाको कारण हामीलाई (म र दाजुभाइ, दिदीबहिनी) सबैलाई लोकबहादुर बरालको छोरा भनेर चिन्थेँ । माया गर्थे । उहाँ हामीलाई मात्र होइन, सबैलाई पढ्नुपर्छ भन्नुहुन्थ्यो । सबैले पढे मात्र एउटा समुन्नत राष्ट्र बन्छ भन्ने सिद्धान्त राख्नुहुन्थ्यो । आज पनि मलाई उहाँ जस्तै हुनुपर्छ भन्ने कुराले प्रेरित गरिरहन्छ । उहाँको त्यो आदर्श पछ्याउने म कोसिस गरिरहन्छु ।

आज बुबाको सम्झना गर्ने विशेष दिनमा म ती सन्तानहरूलाई भन्न चाहन्छु- जसले आफ्ना बा–आमालाई वृद्धाश्रममा वा सडकमा छोड्छन्, उनीहरूले जीवनको सबैभन्दा ठुलो गल्ती गरिरहेका छन् । जसले जन्मायो, हुर्कायो, बढायो, उसैलाई चिन्न नसक्ने छोराछोरी मेरो विचारमा कुपुत्र-कुपुत्री हुन् ।

आज जब म फर्केर हेर्छु, बुवा हुँदा र नहुँदाको फरक महसुस गर्छु । काठमाडौँमा पढ्दा घर जान नपाउँदा, बुवाको मुख हेर्न नपाउँदा छटपटी हुन्थ्यो । चिठी लेखेर पठाउँदा महिनौँपछि जवाफ आउँथ्यो । तर त्यही अभावमा पनि बुवाले हाम्रो लागि माया पठाउन छोड्नु भएन । नाइट बसमा चामल, घिउ, सागसब्जीहरू काठमाडौँसम्म पठाइदिनुहुन्थ्यो । मेरो विचारमा बुबाले दिएको त्यो माया, त्यो केयरिङ जीवनमा कसैले दिन सक्दैन रहेछ । बुबा बित्दा यो कुरा मैले सधैंका लागि गुमाएछु ।

पछिल्लो समय आफ्नो बुबा, आमालाई वृद्धाश्रममा वा सडकमा छोड्ने क्रम बढेको विभिन्न मिडियामा समाचारहरू देख्न र सुन्न पाइन्छ । त्यो कुराले मन कटक्क खान्छ । 

आज बुबाको सम्झना गर्ने विशेष दिनमा म ती सन्तानहरूलाई भन्न चाहन्छु- जसले आफ्ना बा–आमालाई वृद्धाश्रममा वा सडकमा छोड्छन्, उनीहरूले जीवनको सबैभन्दा ठुलो गल्ती गरिरहेका छन् । जसले जन्मायो, हुर्कायो, बढायो, उसैलाई चिन्न नसक्ने छोराछोरी मेरो विचारमा कुपुत्र-कुपुत्री हुन् । उनीहरूको जीवनमा कहिल्यै फलिफाप हुँदैन । आफ्नो जन्म दिने बुवाको चित्त दुखाएर कमाएको कुनै पनि सम्पत्ति र सफलताको अर्थ हुँदैन ।

मेरा लागि मेरो बुवा आदर्श हुनुहुन्छ । उहाँको अनुशासन, इमानदारी र संगीतप्रतिको प्रेमले मलाई सधैँ सही बाटोमा हिँड्न प्रेरित गर्छ । आज बुवालाई म भौतिक रूपमा त देख्न सक्दिनँ, तर मेरो हरेक गीतमा, हरेक सफलतामा उहाँ हुनुहुन्छ । 

(गायक यम बरालसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

यम बराल
यम बराल
लेखकबाट थप