उच्च रक्तचापको खतरा बढ्दो, मुटु जोगाउने ७ सरल टिप्स
सारांश
- नेपालमा उच्च रक्तचापका कारण मुटु रोगीको संख्या बढ्दै गएको छ।
- उच्च रक्तचाप नियन्त्रणका लागि नियमित रक्तचाप परीक्षण, नुन कम खाने, औषधि नियमित खाने, शारीरिक व्यायाम गर्ने, स्वस्थ खाना खाने, तनाव कम गर्ने र मध्यपान तथा धूम्रपान त्याग्नुपर्छ।
- सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका अनुसार ७९ प्रतिशत वयस्कलाई उच्च रक्तचाप भएको थाहा छैन।
काठमाडौँ । पछिल्लो समय नेपालमा उच्च रक्तचापको समस्याले मुटु रोगीको संख्या बढाइरहेको छ । उपचारमा हुने हेल्चक्य्राइँले यो समस्यालाई झनै गम्भीर बनाएको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वनिर्देशक तथा मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि अधिकारी बताउँछन् ।
डा. अधिकारीका अनुसार उच्च रक्तचाप नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न र रक्तचापका कारण हुने जोखिम कम गर्न विभिन्न टिप्स अपनाउन सकिन्छ ।
नियमित रक्तचाप परीक्षण : ७९ प्रतिशत वयस्कलाई रक्तचाप भएकै थाहा हुँदैन । त्यसैले नियमित रूपमा आफ्नो रक्तचाप जाँच गराउनुहोस् । यो नै पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो ।
नुन कम खाने : नेपालीको खानामा नुनको प्रयोग अत्यधिक हुन्छ । विश्व स्वास्थ्य संगठनले दिनमा प्रतिव्यक्ति ५ ग्रामभन्दा कम नुन खान सिफारिस गरे पनि हामी औसतमा ९.१ ग्राम नुन खाने गर्छौं । खानामा नुन कम गर्नुपर्छ । अचार, पापड र बजारका खानेकुराबाट जोगिनुपर्छ ।
औषधि नियमित खाने : रक्तचाप भएर औषधि खाइरहेका बिरामीले चिकित्सकको सल्लाहविना औषधि खान छाड्नु हुँदैन । तथ्यांक अनुसार जम्मा ४.१ प्रतिशत बिरामीले मात्र नियमित उपचारबाट रक्तचाप नियन्त्रणमा राखेका छन् । आफूलाई ठिक महसुस भए पनि औषधि खान छाड्न हुँदैन ।
शारीरिक व्यायाम गर्ने : निष्क्रिय जीवनशैलीले पनि रक्तचाप बढाउँछ । दिनमा कम्तीमा ३० मिनेट हिँड्ने, दौडने वा कुनै व्यायाम गर्ने बानी बसाल्नुपर्छ । यसले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
स्वस्थ खाना : आफ्नो खानामा हरियो सागपात, फलफूल र गेडागुडी समावेश गर्नुपर्छ । चिल्लो, तारेको र प्रशोधित खानेकुरा कम गर्नुपर्छ । स्वस्थ खानाले शरीरको तौल नियन्त्रणमा राख्छ, जसले रक्तचाप घटाउन सहयोग गर्छ ।
तनाव कम गर्ने : अत्यधिक तनावले रक्तचाप बढाउन सक्छ । तनाव व्यवस्थापन गर्न योग, ध्यान वा आफूलाई मन पर्ने काममा समय दिनुपर्छ । पर्याप्त निन्द्रा पनि उत्तिकै जरुरी छ ।
मध्यपान र धूम्रपान त्याग्ने : मध्यपान र धूम्रपानले रक्तनलीलाई कडा बनाउँछ र रक्तचाप बढाउँछ । त्यसैले यस्ता कुराबाट टाडै रहनुपर्छ ।
उच्च रक्तचाप एक मौन रोग हो, जसले थाहै नपाई मुटु, मिर्गौला र मस्तिष्कमा असर पुयाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण