बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भियतनामकी उपराष्ट्रपति र राष्ट्रपति पौडेलबिच भेटवार्ता

सोमबार, ०९ भदौ २०८२, ११ : २७
सोमबार, ०९ भदौ २०८२

सारांश

  • भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भयो।
  • उपराष्ट्रपति सुआन उपराष्ट्रपति राम सहाय यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी थिइन्।
  • उनी नेपालको औपचारिक भ्रमण पूरा गरी सोमबार नै स्वदेश फर्किनेछिन्।

काठमाडौँ। नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताए । “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  

नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरूमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए । उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गरेका थिए । 

Courtesy Call between D president and President of Nepal_ (2)

उनले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबिचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुसीको विषय भएको पनि बताए । 

सो अवसरमा भियतनामका उपराष्ट्रपति सुआनले  नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बिच वृहत् सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको उल्लेख गरेकी थिइन् ।

भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताइन् । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताइन् ।

उपराष्ट्रपति सुआन उपराष्ट्रपति राम सहाय यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी सोमबार नै स्वदेश फिर्ता हुने तालिका छ ।

Courtesy Call between D president and President of Nepal_

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप