बाघझोरामा ओभरब्रिज वा अण्डरपास राख्न सांसद बर्तौलाको माग
सारांश
- नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले बाघझोरा खहरेको समस्या समाधान गर्न माग गरेका छन्।
- सांसद बर्तौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवको ध्यानाकर्षण गराउँदै ओभर ब्रिज वा अण्डरपास निर्माणको माग गरेका छन्।
- मन्त्री दाहालले समस्या समाधानका लागि अध्ययन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
मकवानपुर । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले मकवानपुरको बाघझोरा खहरेबाट भएको समस्या हल गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद बर्तौलाले त्रिभुवन राजमार्गको भीमफेदी गाउँपालिका–१ स्थित हेटौँडा–भैसे सडक खण्डमा पर्ने बाघझोरा खहरेको समस्या हल गर्न माग गरेका छन् ।
बाघझोरको ग्राभेलसहितको भेल बाढीका कारण बारम्बार सडक अवरोध हुँदा नागरिकलाई समस्या भएको भन्दै समस्या हल गर्न सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्माको ध्यानाकर्षण गराएका छन् ।
उनले बाघझोराको समस्याको स्थायी समाधानका लागि ओभर ब्रिज (ओभरपास) वा अण्डरपास निर्माण गर्न माग गरेका छन् ।बाघझोरा खहरे बाढीका कारण घण्टौँसम्म राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रुले सास्ती भोग्नुपरेको भन्दै प्राविधिक रूपमा उपयुक्त संरचना निर्माण गर्न सांसद बर्ताैलाले माग गरेका छन् । उनले उक्त संरचनाको तत्काल अध्ययन सुरु गरी निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
‘यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग भएर देशका विभिन्न भागमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरूको साझा समस्या हो । सामान्य वर्षा हुँदा समेत खहरे बाढीले घण्टौँ सडक बन्द हुने अवस्था रहेको छ । सो समस्याको दीर्घकालीन रूपमा अन्त्य हुनुपर्छ । त्यसका लागि अण्डरपास वा ओभर ब्रिज निर्माण गर्नुपर्छ । मन्त्रालयले तत्काल सो विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउन आग्रह गर्दछु,’ सांसद बर्तौलाले भने ।
सांसद बर्तौलाको आग्रहपछि मन्त्री दाहालले बाघझोरा खोलाको समस्यालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताएका थिए ।
समस्या समाधान गर्ने सरकार गम्भीर रहेको उनले प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री दाहालले उक्त स्थानको अध्ययन प्रक्रिया तत्काल अगाडि बढाउन सचिव शर्मालाई निर्देशन दिएका थिए ।
केही दिनअघि मात्रै बाघझोरा खहरेको भेल बाढीका कारण सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु सडकमै अलपत्र परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण