जलवायु सङ्कटविरुद्ध देशभरका पालिका मुस्ताङमा जुट्दै, क्षतिपूर्ति माग्न घरपझोङमा राष्ट्रिय सम्मेलन
सारांश
- मुस्ताङमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भइरहेको छ, जसले हिउँ पर्न कम भएको छ र खेतीपातीमा असर गरेको छ।
- स्थानीय बासिन्दाले जलवायु परिवर्तनलाई लिएर चिन्ता व्यक्त गरेका छन्, साथै सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा कार्यक्रमहरू कार्यान्वयन हुन सकेका छैनन्।
- मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनका असरबारे साझा धारणा बनाउन देशभरका पालिकालाई समेटेर राष्ट्रिय जलवायु सम्मेलन आयोजना गर्दैछ।
पोखरा । केही वर्षअघि गरिएको एउटा अध्ययनले विश्वमै सबैभन्दा बढी र तीव्र तापक्रम वृद्धि भएको जिल्ला हो मुस्ताङ । मुस्ताङको तापक्रम वृद्धि नेपालका अन्य ठाउँको तुलनामा १० गुणा बढी छ ।
गत जेठ २५ गते मुस्ताङको जोमसोममा ३५ वर्ष यताकै उच्च तापक्रम मापन भयो । त्यसदिन जोमसोम केन्द्रले २७ डिग्री सेल्सियस तापक्रम मापन गरेको थियो । यसअघि २०४६ जेठ १५ गते त्यहाँको तापक्रम ३१ डिग्री पुगेको थियो । प्रायः माइनस डिग्रीमा रहने उपल्लो मुस्ताङ लोमाङथाङको तापक्रम पनि १५ डिग्रीदेखि माथि देखाएको छ ।
मार्फालीहरू आजभोलि मौसममा आएको परिवर्तनले चकित छन् । ‘४ वर्ष ठ्याक्कै भयो अहिले मुस्ताङमा हिउँ परेको छैन । सहर बजारमा जस्तो धुम्म तुवाँलो मात्रै लाग्छ,’ मार्फाका कालबहादुर पन्नाचनले भने, ‘शिरमा बाह्रै महिना बस्ने हिमाल अहिले देखिँदैन, त्यही तुवाँलोका कारण ।’
हिउँ नपरेका कारण खेती पनि राम्रो नफस्टाएको उनको अनुभव छ । ‘खेती नै हुँदैन । हाम्रोमा मल–पानी जे भने पनि त्यही हिउँ हो,’ उनले भने, ‘हिउँ नपरेको वर्ष खेती हुँदैन । ४ वर्ष भयो, बारीमा उतिसाह्रो उब्जनी छैन ।’
मुस्ताङमा आजभोलि स्याउ उत्पादन पनि अस्वाभाविक हिसाबले घट्दै गएको छ । स्थानीयहरू हिउँ नपर्ने र मौसममा देखिएको अस्वाभाविक फेरबदललाई जलवायु परिवर्तनसँग जोडेर हेर्छन् ।
‘जलवायु परिवर्तनले मुस्ताङलाई निकै चिन्तामा धकेलेको छ । नेपालमै कम पानी पर्ने कागबेनी अघिल्लो वर्ष बाढीले बगायो,’ प्रदेशका सांसद विकल शेरचनले भने, ‘हामीले हाम्रो पहुँचमा भएको ठाउँसम्म हारगुहार गरेका छौँ, तर कसैले सुनेको छैन ।’
प्रदेश सभाको बैठकमा शेरचनसहित हिमाली जिल्लाका सांसदहरूले पटक–पटक जलवायु सङ्कटका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । यद्यपि, देखिने गरी नियन्त्रणमा काम हुन सकेको छैन । सरकारले नीति तथा कार्यक्रममा जलवायु अनुकुलनका कार्यक्रम प्रस्ताव गरे पनि बजेट पर्याप्त विनियोजन नगर्दा घोषणा भएका कार्यक्रमसमेत कार्यान्वयन भएका छैनन् ।
मुस्ताङकै छिमेकी जिल्ला मनाङ २०७८ सालमा बाढीले बढारियो । हजारौँ घर मर्स्याङ्दीमा बगे । यी सबै गतिविधिमा जलवायु परिवर्तन प्रमुख कारक रहेको उनीहरूको ठम्याइ छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री रहेकै वेला मुस्ताङ पुगेर ‘मुस्ताङीले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको’ भन्दै तत्कालै ५० करोड रुपैयाँ मुस्ताङ पठाउने घोषणा गरेका थिए । उक्त रकम अहिलेसम्म पुगेको छैन ।
नेपालको हिमालय क्षेत्रमा देखिएको चुनौती हेर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस अन्नपूर्ण आधार शिविरमा आएर फर्किए । त्यसपछिको कोप बैठकमा उनले नेपालले भोगिरहेका सास्तीबारे विश्वको ध्यानाकर्षण पनि गराए ।
तर, आफूहरूको जनजीवनमा खासै परिवर्तन नभएपछि यहाँका स्थानीय सरकारहरू आफ्ना समस्या सुनाउन आफैँ कस्सिएका छन् । मुस्ताङको सदरमुकाममा रहेको घरपझोङ गाउँपालिकाले देशैभरका स्थानीय तहका जनप्रतिनिधि भेला पारेर संयुक्त आवाज उठाउने तयारी गरेको हो ।
जलवायु परिवर्तनका असरबारे साझा धारणा बनाउन देशभरिका ७५३ वटै पालिकालाई समेटेर राष्ट्रिय जलवायु सम्मेलन आयोजना गर्न लागिएको पालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । ‘मुस्ताङमा हिउँ परेको छैन । हिउँमा आधारित कृषि र जीवनयापनमा गम्भीर असर परेको छ,’ उनले भने, ‘हिउँ नपर्दा र जमिनभित्रको हिउँ पग्लिँदा पानीका मुहान सुक्दै गएका छन् । हामीलाई खानेपानी र सिँचाइमा समस्या निम्त्याएको छ । अब यो कुरा दुनियाँलाई सुनाउनु पर्छ ।’
लालचनका अनुसार स्याउ फल्ने ठाउँहरू मौसम परिवर्तनका कारण माथि–माथि सर्दै गएका छन् भने बेमौसमको वर्षा तथा खडेरीले कृषि उत्पादनमा असर पारेको छ । अन्यत्र भएको प्रदूषणका कारण मुस्ताङमा तुवाँलो लाग्ने र हिमाल राम्रोसँग नदेखिने समस्या बढेको उनले गुनासो गरे ।
‘हामीले केही गल्ती गरेकै छैन । हामीले हाम्रो हिमाल किन देख्न नपाउने ? जलवायु परिवर्तनको प्रत्यक्ष मारचाहिँ हामीले खेप्नुपरेको छ,’ उनले भने, ‘नगरेको गल्तीको सजाय भोगिरहेका छौँ भने अब यसको क्षतिपूर्ति माग गर्नुपर्ने छ, तर एक्लै होइन । हाम्रा ७५३ वटै पालिकालाई साथमा लिएर हामी हाम्रो हिस्सा माग्छौँ ।’
भदौ ३१ गते राष्ट्रिय सम्मेलन आयोजना गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले प्रदूषण कम गर्न इलेक्ट्रिक गाडी (इ–रिक्सा), इन्डक्सन चुलोको प्रयोग र फोहोर व्यवस्थापन जस्ता कामहरूलाई प्रोत्साहन गरिरहेको छ । जनचेतनाका कार्यक्रम पनि भइरहेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले बताए ।
‘हामीले हाम्रो स्रोतबाट सम्भव भएसम्मका काम गरेका छौँ । स्थानीय स्तरमा गर्नुपर्ने कुनै काम बाँकी राखेका छैनौँ,’ उनले भने, ‘अब विश्व समुदायले गरेको प्रदूषणको सबै भारी हामीले मात्रै बोक्न नसक्ने भएपछि अरुको साथ खोजेका हौँ । यो सम्मेलनले विश्वको ध्यानाकर्षण हुनेछ ।’
संघ र प्रदेश सरकारलाई पनि सम्मेलनबाट मागपत्र पठाउने अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण