लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रै सम्भव भएको हो : अध्यक्ष प्रचण्ड
सारांश
- प्रचण्डले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए, र लोडसेडिङ अन्त्यको स्मरण गरे।
- उनले ऊर्जा क्षेत्रमा पुराना कानुन र नोकरशाही सोचका कारण अवरोध भएको बताए, र नयाँ सेटिङ बनाउनुपर्नेमा जोड दिए।
- प्रचण्डले माओवादी नेतृत्वको सरकारले ऊर्जा व्यापार र लगानीमैत्री वातावरण बनाएको दाबी गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालको ऊर्जा राज्य शिल्प र जलविद्युत् परिदृश्य : रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उनले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।
अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए ।
‘हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,’ उनले भने । कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि उनले स्मरण गरे ।
ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको अध्यक्ष प्रचण्डले बताए ।
‘यो सबै नयाँ नेपालको सपना थियो, त्यो दिनदेखि नै सुरु गरिएको हो,’ उनले भने । अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको स्मरण गरे ।
‘जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक आँट थियो,’ उनले स्पष्ट गरे ।
देशमा ऊर्जा विकासको सम्भावना भए पनि अवरोध पुर्याउने मुख्य कारण पुराना झन्झटिला कानुन र नियम अझै परम्परावादी हुनु र नाेकरशाहीको सोच पुरानो शैलीमै सीमित हुनु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
‘पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जन पक्षीय सेटिङ बनाउनै पर्छ,’ उनले जोड दिए । अध्यक्ष प्रचण्डले स्व। पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने, महत्त्वपूर्ण परियोजना अघि बढाउने र छिमेकीहरूसँग सहकार्य विस्तार गर्ने नेताका रूपमा स्मरण गरे । ‘बोगटीजस्तो इमानदार र निष्ठावान् नेताको योगदानलाई राष्ट्रले सम्झनै पर्छ,’ उनले भने ।
ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनू नेतृत्वको भिजन र योजनाको मूल्याङ्कन गर्ने दृष्टिमा कमजोरी भएको बताउँदै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वको भिजन, रणनीति र आँट नै निर्णायक रहेको बताए ।
‘यदि राजनीतिक नेतृत्वको भिजन र जोखिम लिन सक्ने क्षमता नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,’ उनले स्पष्ट गरे ।
अध्यक्ष प्रचण्डले भारत र बङ्गलादेशसँग ऊर्जा व्यापारका लागि आफूले प्रधानमन्त्री हुँदा निरन्तर पहल गरेको स्मरण गर्दै, निजी क्षेत्रलाई नाफा कमाउने वातावरण बिना लगानी सम्भव नहुने बताए । ‘लगानीमैत्री वातावरण बनाउन माओवादी नेतृत्वकै सरकार दृढ रह्यो,’ उनले भने ।
हालको अस्वस्थ प्रतिस्पर्धा, संस्थागत अतिक्रमण र विधेयक पारित गर्न ढिलाइले ऊर्जा क्षेत्रमा प्रगति अवरुद्ध भएको भन्दै उनले सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे । ‘विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरेर लगानी र विकासको बाटो खोल्नुपर्छ,’ उनले स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट आएको गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व माओवादीकै नेतृत्वको उपलब्धि भएको बताए । ‘माओवादी हुँदा लोडसेडिङ अन्त्य भयो, राष्ट्रिय गौरवका आयोजना अगाडि बढे, शिक्षा र निजामती सेवा सम्बन्धी विधेयक दर्ता भए,’ उनले स्मरण गराए ।
उनले कांग्रेस र एमालेलाई भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिका कारण आलोचना गर्दै भने, ‘यो सरकार डरबाट बनेको हो, यसबाट सुशासन र समृद्धिको आशा गर्न सकिँदैन ।’ अध्यक्ष प्रचण्डले हालसालैको विभिन्न चुनावी परिणाममा जनताले माओवादीलाई विश्वास गर्दै गएको दाबी गरे । ‘जनताले बुझ्न थालेका छन्, देश बनाउन सक्ने शक्ति माओवादी नै हो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले ऊर्जा क्षेत्रलाई राष्ट्रिय हित, जनताको भावना र समृद्धिको आधार मानेर सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘हामीले सामूहिक सङ्कल्पमार्फत यो राष्ट्रलाई नयाँ युगतर्फ लैजान सक्छौँ । पोस्टबहादुर बोगटीजस्तो नेता नै हाम्रो प्रेरणा हुन्,’ उनले पोस्टबहादुर बोगटीलाई स्मरण गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण