धरान कार्यपालिका बैठकमा लफडा, बजेटसहित २७ एजेण्डा अलपत्र
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पेस गर्ने समयसीमा डेढ महिना बितिसक्दा पनि बजेट आउन सकेको छैन । बुधबार २७ एजेण्डामा छलफल गर्न बसेको कार्यपालिका बैठक पनि आन्तरिक विवादले निष्कर्षविहीन भएको छ ।
दिउँसो २ बजेका लागि मेयर हर्क साम्पाङले आह्वान गरेको बैठक सुरु हुनेबित्तिकै विवाद उत्पन्न भएको थियो । वडा सदस्यहरूले बजेटको विषयमा जानकारी नदिइएको भन्दै प्रश्न उठाएका थिए । जवाफमा मेयर साम्पाङले बजेटको आकार सानो भएकाले तल्लो तहसम्म जानकारी पुर्याउन नसकेको र बजेटको सिलिङ बनाउन मात्रै १८ वटा बैठक बस्नु परेको बताए ।
कार्यपालिका सदस्यहरूले धरानको नीति कार्यक्रम र आर्थिक ऐन नहेरी पास हुन नसक्ने अडान लिएका थिए ।
एमालेको असहमति : ‘मेयर उपमेयर भिजन’मा आपत्ति
बैठकमा विशेषगरी ‘मेयर उपमेयर भिजन’ कार्यक्रमलाई लिएर तनाव भएको थियो । नेकपा एमालेले यस कार्यक्रमको प्रक्रियामा असहमति जनाउँदै ’व्यक्तिगत विकास गर्ने कुरा होइन, जनताकै माझमा जानुपर्छ’ भन्ने अडान लिएको थियो ।
रातोपाटीलाई जानकारी दिँदै धरान उपमहानगरका एक कार्यपालिका सदस्यले भने, ‘बजेटको त सिलिङमै सहमति हुन सकेन । बैठक टुंगोमा नपुगेकाले कुनै पनि एजेन्डामा निर्णय भएको छैन ।’
यसअघि स्रोत तथा सिलिङ निर्धारण गर्ने बैठक बसिसकेको र त्यसमा सहमति भइसक्दा पनि एमालेले फरक मत राखेको उनले बताए । एमालेले कार्यपालिकाको निर्णयविनै स्रोत वडालाई सिलिङ किन पठाइयो भन्दै प्रश्न उठाएको थियो ।
नेपाली कांग्रेसले उक्त भिजन कार्यक्रममा सहमति जनाइसकेको भएपनि एमालेको विरोधका कारण बजेटसम्बन्धी कुनै पनि एजेन्डाले कार्यपालिकामा प्रवेश पाउन सकेन । एमाले पक्षले असहमतिका बाबजुद पनि निर्णय भएको भन्दै नमान्ने अडान लिएको छ ।
धरान उपमहानगरपालिकाका प्रवक्ता मनोजकुमार भट्टराईले बजेटमा प्रक्रिया अगाडि बढ्न नसकेको पुष्टि गरे । ‘छलफल मात्र भयो आज, धेरै एजेण्डा थिए, सकिएको छैन । सुरुमै एमालेको असहमति कायमै रहेकाले बैठक कुनै निष्कर्षमा पुग्न नसकेको हो,’ उनले भने ।
के-के थिए एजेण्डा ?
आजको बैठकमा बजेट तथा नीति कार्यक्रमका अतिरिक्त आर्थिक कार्यविधिहरू अनुमोदन गर्ने, कर, शुल्क तथा दस्तुरहरूको निर्धारण, निर्माण तथा खरिदसम्बन्धी प्रक्रियाहरू, करार तथा ज्यालादारी कर्मचारीहरूको व्यवस्थापन, कर्मचारी सेवा सर्त नियमावली, स्थानीय ऐन, नियम तथा कार्यविधि संशोधन, विषयगत समिति र बोर्डहरूको गठन तथा कार्यक्षेत्र निर्धारण र सार्वजनिक जग्गाको व्यवस्थापन तथा उपयोग लगायतका २७ एजेन्डाहरू छलफलका लागि राखिएको थियो । तर कुनै पनि एजेण्डामा निर्णय नभएकाले अर्को बैठक बस्ने भएको छ । तर निश्चित भइसकेको छैन ।
चालु आर्थिक वर्षको बजेट पारित नहुँदा धरानमा नयाँ योजना तथा कार्यक्रम सुरु हुन सकेका छैनन् । दैनिक प्रशासनिक खर्च बाहेक अन्य विकास निर्माणका काम ठप्पप्रायः छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण