चीनको ‘म्यानुफ्याक्चरिङ’ सफलताको राज के हो ?
सारांश
- चीनले लामो समयको प्रयासबाट उत्पादन क्षेत्रमा ठूलो प्रगति गरेको छ, जहाँ विदेशी कम्पनीहरू प्रतिस्पर्धामा टिकेनन्।
- चीनले उच्च प्रविधि र कम मूल्यमा उत्पादन गर्न ठूलो स्केलको प्रयोग गरेको छ, जसले शिक्षा र मानव पुँजीमा जोड दिएको छ।
- चीनले शिक्षामा लगानी गरेको छ र पश्चिमा देशहरूबाट सिकेर आफ्नो उत्पादन क्षमता र प्रतिस्पर्धात्मक क्षमता बढाएको छ।
आजको चीनको म्यानुफ्याक्चरिङको जुन अवस्था छ, यो रातारात हासिल भएको होइन । यसका लागि धेरै लामो यात्रा तय गरिएको छ । अहिले धेरै मापदण्डबाट हेर्दा यो क्षेत्र अहिलेसम्मकै सबैभन्दा बलियो पनि छ । २० वर्ष अघिसम्म चीनमा विदेशी लगानीका उद्यमहरूले चीनको निर्यात क्षेत्र धानिरहेका थिए । अहिले ती सबै ‘फर्म’ चीन छोड्दैछन् ।
उनीहरू चिनियाँ उद्यमीहरूसँगको प्रतिस्पर्धामा बजारको हिस्सा गुमाएर बाहिरिएका हुन् । यसरी विदेशी कम्पनीहरूलाई हराएर अगाडि आएका प्रभावशाली चिनियाँ कम्पनीहरू विगतमा जस्तो न्यून मूल्य अभिवृद्धिका उत्पादनमा मात्रै सीमित छैनन् । सेमिकन्डक्टर तथा विद्युतीय सवारी लगायत विभिन्न प्रकारका ‘हाइ–टेक’ उद्योगमा विश्वस्तरमा अगुवा भएका छन्, जसको मूल्यमा उनीहरू प्रस्ट लाभमा छन् ।
आजको चीनले सुनौलो समयमा जापान र दक्षिण कोरियाको झल्को दिन्छ । सन् १९७० को दशकमा जापान ‘हाइ–टेक’ सामान उत्पादन गरिरहेको थियो । यस अन्तर्गत घरायसी प्रयोजनका सामान, सवारी साधनजस्ता उत्पादनले अमेरिकी विकल्पलाई नै जितेर अघि बढेका थिए । सन् १९९० को दशकमा दक्षिण कोरिया इलेक्ट्रोनिक्स तथा सवारी साधन उत्पादनको ‘पावर हाउस’का रूपमा उदाएको थियो ।
उनीहरूको हकमा फरक विशेषता के थियो भने कुल गार्हस्थ्य उत्पादनको मामिलामा सन् १९७० को दशकको जापान र सन् १९९० को दशकको दक्षिण कोरिया अमेरिकाको आधा हाराहारी पुगेका थिए । तर चीनको हालको कुल गार्हस्थ्य उत्पादन ‘नोमिनल’ स्वरूपमा हेर्ने हो भने आजको अमेरिकाको तुलनामा १६ प्रतिशत मात्रै छ । अमेरिकाको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ८५ हजार अमेरिकी डलर हुँदा चीन भने केवल १३ हजार ३ सय डलर वरपर मात्रै छ ।
यदि ठुलो जनसङ्ख्या भएको मुलुकले आफ्ना जनतालाई उच्च गुणस्तरको शिक्षा दिन सफल भयो भने त्यसले अन्ततः व्यापक मात्रामा मानव पुँजी उपलब्ध गराउँछ ।
यति न्यून कुल गार्हस्थ्य उत्पादन भएको मुलुकले कसरी त्यति धेरै अत्याधुनिक प्रविधि क्षेत्रमा आफूलाई अगुवा बनाउन सफल भयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । अझ गज्जबको अर्को प्रश्न त अत्याधुनिक–प्रविधिको क्षेत्रका आफ्ना उत्पादनहरूमा चीनले कसरी न्यूनतम मूल्य कायम गर्न सफल भयो भन्ने हो । यी दुवै मामलामा उठेका प्रश्नहरूको जबाफमा महत्त्वपूर्ण रूपमा एउटा विशेषता आइपुग्छ । त्यो हो ‘विशाल स्तर’ अर्थात् ‘म्यासिभ स्केल’ ।
यदि ठुलो जनसङ्ख्या भएको मुलुकले आफ्ना जनतालाई उच्च गुणस्तरको शिक्षा दिन सफल भयो भने त्यसले अन्ततः व्यापक मात्रामा मानव पुँजी उपलब्ध गराउँछ । यस्तो मुलुकले विकसित अर्थतन्त्रबाट सहजै सिक्न सक्छ । जसकारण विकासको सुरुवाती चरणमै आफ्नै नवप्रवर्तनकारी क्षमता विकास गराउँछ ।
माओत्से तुङको समयमा पश्चिमा मुलुकहरूसँग चीनको असाध्यै न्यून व्यापार हुने गर्थ्यो । तथापि चीनमा पश्चिमा विश्वविद्यालयहरूमा पढेका अगुवाहरूको ठुलो पंक्ति भने विद्यमान थियो । उनीहरू चीनमा जनगणतन्त्र स्थापना हुनुअघि नै युरोप/अमेरिकामा पढेर आएका थिए । यो समूहले चीनमा वैज्ञानिक अनुसन्धान तथा प्राविधिक क्षेत्रको विकासमा असाध्यै महत्त्वपूर्ण भूमिका खेल्यो, जसले सोभियत संघको सहायतामा चीनको अर्थतन्त्रलाई औद्योगिकीकरण गराउनमा ठुलो मद्दत पुग्यो ।
अझ महत्त्वपूर्ण त सन् १९५० को दशकमै चीनले सफलतापूर्वक आधुनिक आधारभूत शिक्षाको जग बसाल्न सफल भयो । चीनमा चरम गरिबीका बाबजुद चिनियाँ बालबालिकाहरूले निःशुल्क शिक्षाको अवसर पाए । साथै त्यही समय उच्च शिक्षा प्रणालीमा पनि व्यापक पुनर्संरचना गरियो ।
आजको चीनमा अमेरिकाको तुलनामा पाँच गुणा जनशक्ति विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित अर्थात् ‘स्टेम’ पृष्ठभूमिबाट आएका छन् ।
त्यसबखत चीनमा रहेका अधिकांश प्रतिष्ठित विश्वविद्यालयहरू पश्चिमा धार्मिक संस्था तथा धर्म प्रचारकहरूले स्थापना गरेका थिए । त्यस्ता विश्वविद्यालयहरू सन् १९११मा अन्त्य भएको छिङ वंशीय राजतन्त्र तथा सन् १९११ देखि १९४९ बिचको गणतान्त्रिक अवधिमा स्थापना भएका थिए । माओको पालाबाट चीनले सोभियत मोडेलको उच्च शिक्षा लागु गर्यो, जस अन्तर्गत प्राविधिक तथा सिपमूलक तालिमहरूमा जोड दिइन्थ्यो ।
मुख्य जोड विज्ञान र इन्जिनियरिङमा गरिन्थ्यो । उदार शिक्षामा जोड दिने पश्चिमा मोडेल विपरीत चीनले लागु गरेको मोडेल अनुसार व्यावहारिक क्षमता सहितका विशेषज्ञ उत्पादन हुन्थ्यो । गत ४० वर्षमा चीनले आफ्नो आधारभूत शिक्षाको मोडेल कायमै राख्यो साथै अझै सहज पहुँचमा पुर्यायो । सन् १९९९ मा सरकारले विश्वविद्यालयमा विद्यार्थीको सहभागिता बढाउने निर्णय गर्यो । त्यसयता वार्षिक रूपमा एक लाख विद्यार्थी विश्वविद्यालयबाट दीक्षित हुने गरेकोमा त्यो सङ्ख्या बढेर अहिले एक करोड २० लाख पुगेको छ ।
यो सङ्ख्याको आधाभन्दा बढी विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितजस्ता विषय पढेका हुन्छन् । आजको चीनमा अमेरिकाको तुलनामा पाँच गुणा जनशक्ति विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित अर्थात् ‘स्टेम’ पृष्ठभूमिबाट आएका छन् । इन्जिनियरिङ पढेकाहरूको सङ्ख्या ७ गुणा धेरै छ । यस्तो आँकडाले अमेरिकी उपभोक्ताहरू भन्दा पृथक् रूपमा चिनियाँ उपभोक्ताहरूले इलेक्ट्रोनिक्सदेखि विद्युतीय सवारीसम्मका उत्पादनहरूमा कसरी प्रभावकारी, सस्तो तथा व्यापक रूपमा उपलब्ध मर्मत सेवाको आनन्द लिन्छन् भन्ने कुरा पनि बताउँछ ।
चीनले पश्चिमाहरूबाट सिक्नुपर्ने सन्दर्भको महत्त्व पनि बुझेको छ । गत ४० वर्षमा करिब ६० लाख चिनियाँहरू विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पठाइएको छ । धेरैजसो त्यस्ता विद्यार्थीहरू अध्ययन पूरा गरेर चीनमै फर्किएका छन्, जसकारण गत दुई दशकमा चीनको म्यानुफ्याक्चरिङ क्षेत्रले अत्याधुनिक स्तर हासिल गर्नमा धेरै ठुलो योगदान पुगेको छ ।
केन्द्रीय सरकारले प्राथमिकता निर्धारण गर्छ, तर पनि खास प्रकारका उद्योगहरूलाई समर्थन गर्न ल्याइने त्यस्ता कुनै पनि नीतिले व्यावहारिक रूपमा तेर्सो अर्थात् उद्योगहरूबिच आपसी प्रतिस्पर्धात्मक नीतिको रूपमा काम गर्छ ।
शिक्षा समग्र समीकरणको एउटा हिस्सामात्रै थियो । चीन सरकारले सन् १९७९मा गरेको निर्णयले स्थानीय फर्महरूलाई विदेशी कम्पनीसँग ‘जोइन्ट भेन्चर’ स्थापना गर्न अनुमति दियो, जसका कारण व्यापक उत्पादन क्षेत्रहरूको प्राविधिक स्तरोन्नति भयो । अझ महत्त्वपूर्ण कुरा, यसबाट चीनले निरन्तर आफ्नो उन्नत उत्पादन क्षमता तयार गर्दै जाँदा त्यसले आपूर्ति शृङ्खला तथा सहायक पूर्वाधारको पनि विकास गर्यो । फलतः आजको चीनको उत्पादन क्षेत्र आपूर्तिकर्ता, नवप्रवर्तक उत्पादक तथा र बन्दोबस्तीका सामान प्रदायकहरूको मजबुत सञ्जालमा खडा भएको छ ।
चीनको सरकारले यही अन्तर्निर्भर प्रणालीको विकास र प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ । तर पश्चिमाहरूले ठानेजस्तो यो प्रणाली कुनै हालतमा नियन्त्रणमुखी वा ‘टप–डाउन’ प्रकृतिको छैन । चीनमा जम्मा ३१ वटा प्रान्त छन्, तीन सय हाराहारी मध्यमस्तरका सहर छन् तथा २८ सय वरपर काउन्टी र नगर छन् । प्रत्येक तहमा सरकार छन् । उनीहरू आपसमा आर्थिक वृद्धि तथा औद्योगिक विकास प्रवर्द्धनमा प्रतिस्पर्धा गर्छन् ।
केन्द्रीय सरकारले प्राथमिकता निर्धारण गर्छ, तर पनि खास प्रकारका उद्योगहरूलाई समर्थन गर्न ल्याइने त्यस्ता कुनै पनि नीतिले व्यावहारिक रूपमा तेर्सो अर्थात् उद्योगहरूबिच आपसी प्रतिस्पर्धात्मक नीतिको रूपमा काम गर्छ । चीनको यस्तो आर्थिक रणनीति सम्भव हुन ठुलो मात्राको उत्पादन (म्यासिभ स्केल)ले महत्त्वपूर्ण भूमिका खेलेको छ । यही रणनीतिले चिनियाँँ म्यानुफ्याक्चरिङको तीव्र विकास तथा निरन्तर प्रतिस्पर्धात्मक क्षमता वृद्धिका लागि आधारको काम गरेको छ ।
(लेखक चीनको फुदान विश्वविद्यालयको ‘स्कुल अफ इकोनोमिक्स’का डीन हुन् । साथै सांघाईमा रहेको ‘थिङ्क ट्याङ्क’ संस्था ‘चाइना सेन्टर फर इकोनोमिक स्टडिज’का निर्देशकको रूपमा कार्यरत छन् । प्रस्तुत आलेख जापान टाइम्सबाट लिइएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण