ट्रम्पको ट्यारिफ युद्धबिच तियानजिनमा मोदी–सी भेटको मिति तय
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच तियानजिनमा भेटवार्ता हुने भएको छ।
- भेटमा अमेरिकी ट्यारिफ युद्धको प्रभाव र दुई देशबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ।
- यो प्रधानमन्त्री मोदीको पछिल्लो सात वर्षमा पहिलो चीन भ्रमण र गलवान झडपपछिको पहिलो भेट हुनेछ।
नयाँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच आगामी आइतबार तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता हुने भएको छ।
जापानको दुई दिने भ्रमण समाप्त गरेपछि प्रधानमन्त्री मोदी राष्ट्रपति सीको निमन्त्रणामा चीन प्रस्थान गर्नेछन्। भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धको प्रभावबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
दुई नेताबिच अगस्त ३१ मा द्विपक्षीय वार्ता हुने तय भएको छ। यो प्रधानमन्त्री मोदीको पछिल्लो सात वर्षमा पहिलो चीन भ्रमण हुनेछ। साथै, सन् २०२० मा गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि उनको पहिलो भ्रमण पनि हो।
यसअघि सन् २०२४ मा रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनमा दुई नेताबीच भेट भएको थियो। त्यसपछि भारत–चीनले करिब ३,५०० किलोमिटर लामो एलएसी क्षेत्रमा गस्ती सम्बन्धी सहमति जनाएका थिए, जसलाई द्विपक्षीय सम्बन्ध सुधारतर्फको महत्त्वपूर्ण कदम मानिएको थियो।
भारतस्थित चिनियाँ राजदूत सु फेइहोङले भनेका थिए, ‘प्रधानमन्त्री मोदीको तियानजिन भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनेछ। हामी यसलाई धेरै महत्त्वका साथ हेर्छौं र सफल बनाउन प्रतिबद्ध छौं।’
भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री मोदीले गत वर्ष कजानमा भएको भेटपछि सम्बन्धमा देखिएको स्थिर र सकारात्मक प्रगतिको स्वागत गरेको भनिएको छ । उनले यसलाई पारस्परिक सम्मान, पारस्परिक हित र पारस्परिक संवेदनशीलतामा आधारित रहेको भन्दै कैलाश मानसरोवर यात्रा पुनः सुरु हुनुलाई उपलब्धि मानेका छन्।
प्रधानमन्त्री मोदीले राष्ट्रपति सीलाई एससीओ शिखर सम्मेलनमा निमन्त्रणा दिएकोका लागि धन्यवाद दिंदै, चीनको अध्यक्षतालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ‘तियानजिनमा राष्ट्रपति सीसँग भेट्न उत्सुक रहेको’ बताएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण