बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कम्युनिस्ट ध्रुवीकरणको प्रयास : विप्लव, जनार्दन र घनश्यामको उद्घोष

बिहीबार, १२ भदौ २०८२, १७ : ५५
बिहीबार, १२ भदौ २०८२

सारांश

  • नेपालका तीन कम्युनिस्ट नेताहरूले वामपन्थी ध्रुवीकरणको प्रयास थालेका छन्।
  • उनीहरूले कम्युनिस्ट आन्दोलनमा देखिएका समस्या र निराशालाई औँल्याउँदै नयाँ प्रयोगको आवश्यकता रहेको बताए।
  • बुटवलमा आयोजित कार्यक्रममा नेताहरूले वाम आन्दोलनलाई पुनर्गठन र एकीकृत गर्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । नेपालका तीन कम्युनिस्ट नेताहरूले वामपन्थी ध्रुवीकरणको प्रयत्न थालेका छन् । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव),  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले एउटै मञ्चबाट वामपन्थी ध्रुवीकरणको प्रयास गर्ने उद्घोष गरेका हुन् ।

उनीहरूले कम्युनिस्ट आन्दोलन सकिन नदिने भन्दै नेपाली समाजवादी मोडलको अभ्यास प्रयोगमा नल्याएसम्म लाखौँ नेपाली जनताको विश्वास खेर जान नदिने उद्घोष पनि गरेका छन् ।

बिहीबार रुपन्देहीको बुटवलमा सहिद बेपत्ता स्मृति प्रतिष्ठानले गरेको ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ विषयक अन्तर्क्रिया कार्यक्रममार्फत उनीहरूले यो अभियानको सुरुवात गरेको घोषणा गरेका हुन् ।  उनीहरूले कम्युनिस्ट आन्दोलन दिग्भ्रममित भएको तथा समाज र पार्टीहरूमा लडाइँ झगडा रहेको भन्दै समग्र कम्युनिस्ट आन्दोलनको भविष्यप्रति प्रश्न उठ्न पुगेको बताए ।

नेतात्रयले नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका मूल नेतृत्व परम्परागत विचार, कार्यशैली र संरचनामा चलेको भन्दै अव पनि उनीहरूको उक्त कार्यशैलीले मुलुक नचल्ने बताए ।

पहिलो पुस्ताका भनिएका अहिलेका शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबाट वामपन्थी आन्दोलनमा नयाँ ध्रुवीकरण सम्भव नहुने उनीहरूको बुझाइ छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी मूल नेतृत्व राज्य सञ्चालनमा परीक्षण भइसकेकाले वाम आन्दोलनमा नयाँ प्रयोग हुन नसके आम मानिसमा झन् निराशा बढ्ने उनीहरूको ठहर छ ।

समाजको आधार तयार गर्न ‘जडसूत्रवादी र दक्षिणपन्थी’ विचारबाट सम्भव नभएकाले अबको वाम आन्दोलन आधारभूत वर्ग केन्द्रित मुद्दामा केन्द्रित गर्नुपर्ने नेता विप्लव, शर्मा र भुसालको भनाइ छ ।

एमाले, माओवादी र एकीकृत समाजवादीको अध्यक्षको नेतृत्वको सरकारले गरेको कामको समीक्षा गर्दा आधारभूतभन्दा माथिल्लो वर्गलाई सेवा गरेको, राजनीतिक प्रष्टीकरण भएको, आम मानिसमा निराशा फैलिएकाले वाम आन्दोलनको नयाँ प्रयोगको थालनी आवश्यक रहेको तीनै नेताको भनाइ छ ।

कार्यक्रममा सम्बोधन गर्दै विप्लवले नेपालको कम्युनिस्ट आन्दोलन दिग्भ्रमित भएकाले दिग्दर्शन चाहिएको बताए । ‘नेपालको कम्युनिस्ट आन्दोलन दिग्भ्रमित छ । रनभुल्लजस्तो भएको छ’, विप्लवले भने, ‘दिग्भ्रमबाट दिग्दर्शन चाहिएको छ । जसले नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्छ ।’

उनले कुनैपनि विवाद नभएको पार्टी नभएको पनि बताए । ‘ठुलो, सानो सबै पार्टीमा लडाइँ छ । कम्तीमा पनि दुई दुई जना मान्छे भएर मुक्कामुक्की नगरेको पार्टी नै छैन’, विप्लवले भने, ‘यसो हेर्दा यो समस्या पार्टीमात्रै जस्तो लाग्छ तर त्यसो होइन । समाजमै बहस रहेको र त्यसको प्रतिविम्ब पार्टीमा रहेको छ ।’

गणतन्त्रलाई सफलता मानिएपनि त्यसपछि जनताले गणतन्त्रको विशेषता उपभोग गर्न नसक्दा असन्तुष्टि बढेको विप्लवको भनाइ छ ।

‘झन्डा फरक प्रवृत्ति एउटैजस्तो भयो । जनताले कहाँबाट समानता र स्वतन्त्रता खोज्ने ? नेपालमा कुन वर्गको देश हो यो भन्ने फैसला नै भएको छैन’, उनले भने, ‘नेताहरूले जनतालाई भ्रमित पारे ।’ कम्युनिस्टको आदर्श भनेको साम्यवादसम्म पुग्ने भए पनि जताततै असन्तुष्टि बढ्नुमा नेतृत्वले नै जवाफ दिनुपर्ने र समाजवाद लागु हुनेगरी अघि बढ्नुको विकल्प नभएको विप्लवको भनाइ छ । 

यसैगरी नेकपा शर्माले कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य रहेको बताए । ‘त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । आजको नयाँ पुस्ताले चाहेको के हो ? जेनजी पुस्ताको पनि बहस भइरहेको छ ? सबै आवश्यकतालाई सम्बोधन गर्ने गरी कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्छ । वृहत् राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नुपर्छ’ पूर्वमन्त्री समेत रहेका शर्माको दाबी छ ।

२०७४ सालमा नेकपा गठन हुँदा नेता तथा कार्यकर्तामा निकै उत्साह देखिए पनि नेताहरूको स्वार्थका कारण चिसो पानी खन्याइएको शर्माको बुझाई छ ।

‘नेकपा गठन गर्दा नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको थियो । तर सत्ता स्वार्थका कारण उत्साहमा चिसो पानी खन्याइयो’, उनले भने, ‘कसले ग¥यो ? व्यक्तिगत आरोप लगाउन चाहन्न । झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन भयो । यस्तो किन भयो भन्दा पार्टीभित्र अलोकतान्त्रिक गतिविधिका कारण, वैचारिक अभावका कारण समस्या आएको छ ।’ शर्माले अब पुराना पुस्तालाई गाली गरेर नभई विगतबाट शिक्षा लिएर जनताको पार्टी बनाउनुपर्ने जनाए । ‘यसका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकीकृत बनाएर लैजान निरन्तर अभियान चलाउनुपर्छ’, शर्माका भनाइ छ ।

कार्यक्रममा अर्का वक्ता नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको आवश्यकता वामपन्थी कम्युनिस्टहरू ध्रुवीकरण नै रहेको बताए । उनले अहिले आफूहरूले नगरे पनि यो आवश्यक भएकाले अरू कसैले निरन्तर प्रयास गरेर ध्रुवीकृत भइछाड्ने दाबी गरे ।

‘आन्दोलन ध्रुवीकृत गर्न सक्छौँ । आज जुन परिस्थिति छ यसो हेर्दा आज मात्र निस्किएको परिस्थिति होइन, धेरै अघिदेखि देखिएको अन्तर्विरोध हो’, उनले थप भने, ‘अव यो समाजले थेग्दैन भनेर समाजले बुझिसकेको तर नयाँ नबनिसकेको अवस्था छ ।’

सवैतिर असन्तुष्टि देखा परेको भन्दै उनले एमाले, माओवादी वा एकीकृत समाजवादीका नक्कली सीमा भत्काउनुपर्ने र अगाडिको भविष्य छेक्न नहुने बताए । ‘त्यसका लागि सीमा भत्काउन अहिलेबाटै छलफल गर्नुपर्नेछ’, भुसालको जोड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप