अण्डामा सिण्डिकेटको लुट, निरीह सरकारको ‘छुट’
काठमाडौँ । अहिले अण्डा किन्दा कति रुपैयाँ तिर्नुपर्छ ? प्रतिगोटा २३ रुपैयाँ, प्रतिक्रेट कम्तीमा ५३० रुपैयाँ । नेपालीका लागि प्रोटिनको मुख्य स्रोत मानिने अण्डाको अचाक्ली मूल्यवृद्धिले आम उपभोक्तालाई मारमा पारेको छ ।
मूल्य निर्धारणको कुनै स्पष्ट सरकारी मापदण्ड नहुँदा नेपाल लेयर्स कुखुरा पालक सङ्घले मनोमानी ढंगले मूल्य बढाएको उपभोक्ताको गुनासो छ । सरकारी निकाय वाणिज्य विभाग भने कार्टेलिङको सम्भावना स्वीकार गर्छ, तर ‘एक्सन’मा उत्रिरहेको छैन ।
एकलौटी निर्णयमा चल्छ बजार
नेपाल लेयर्स कुखुरा पालक संघ कार्यकारिणी समितिको निर्णय अनुसार आज भदौ १२ गते बिहीबारबाट लागु हुनेगरी अण्डाको मूल्य फेरि बढेको छ । अब फार्मबाट होलसेल मूल्य प्रतिक्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ र सानो अण्डा प्रतिपेटी तीन हजार रुपैयाँ तोकिएको छ ।
उपभोक्ताले भने प्रति गोटा २३ रुपैयाँ र दुई गोटाको ४५ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि भदौ ४ गते पनि संघले ठुलो अण्डा ५३० रुपैयाँ र मिडियम अण्डा ५१५ रुपैयाँ प्रतिक्रेट तोकेको थियो ।
संघले चितवनबाट देशभरिका अण्डा बिक्री डिपोमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ अतिरिक्त शुल्क निर्धारण गरेको छ । बजारमा अण्डा उत्पादन गर्ने संघको निर्णयले पूरै बजारमा प्रभाव पार्ने गरेको छ । यसमा न सरकारले नियमन गर्न सकेको छ, न उपभोक्ताले मूल्य अस्वीकार गर्न सक्ने अवस्था छ । नेपाल अण्डा उत्पादक संघले पछिल्लो समय अण्डाको मूल्य तोकेको छैन । अण्डा उत्पादन गर्ने दुवै संस्थाबिच विवाद भए पनि अहिले अण्डा उत्पादक संघले खासै गतिविधि नगरेको संघकै एक पदाधिकारी बताउँछन् । यो विषयमा कुराकानी गर्न खोज्दा अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले कुनै प्रतिक्रिया दिन मानेनन् ।
'उपभोक्तामाथि अपराध'
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ सरकारले उपभोक्तामाथि अपराध गरिरहेको बताउँछन् । नेपालमा कुखुराको अण्डाको मूल्यमा भइरहेको निरन्तर वृद्धि ’उत्पादक संघहरूले गरेको सुपर कार्टेल’को परिणाम भएको र यसमा सरकारी निकायले नै आपराधिक गतिविधि गर्ने वातावरण बनाइरहेको आरोप उनले लगाए । बानियाँले नेपालमा अण्डाको बजारमा संस्था बनाएर सिन्डिकेट र कार्टेलिङ गरी मिलेमतोमा मूल्य निर्धारण भइरहेको दाबी गरे ।
उनले अण्डाको मूल्यवृद्धि सामान्य नभई संगठित ‘कार्टेल’को उपज भएको बताए । ‘नेपालमा सबैभन्दा सुपर कार्टेल कुनै कुरा छ भने अण्डा हो,’ बानियाँले भने ।
उनका अनुसार अण्डा उत्पादकहरूले संस्था बनाएर सिन्डिकेट गरी मूल्यमा मेलमिलापपूर्ण ढंगले भाउ निर्धारण गर्ने काम भइरहेको छ । यस्तो गतिविधिले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरी उपभोक्तालाई ठग्ने काम गरिरहेको उनको भनाइ छ । कानुनले यस्ता गतिविधिलाई अपराध मानेको भए पनि यसलाई नियन्त्रण गर्ने निकाय उदासीन रहेको बानियाँको आरोप छ ।

अण्डाको मूल्य निर्धारण र नियमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पूर्ण रूपमा निष्क्रिय रहेको आरोप छ ।
‘प्रतिस्पर्धा ऐन अनुसार मूल्य निर्धारण गर्न सक्ने र अनुगमन गर्ने अधिकार वाणिज्य विभागलाई छ । तर विभागले अधिकार प्रयोग नगरी केवल ’बजार अनुगमन, फलानो–ढिस्कानो यता–उता भन्या–भन्या छ, बस्या छ,’ बानियाँले भने ।
वाणिज्य विभागको स्वीकारोक्ति ‘कार्टेलिङ’
अण्डाको मूल्यमा भइरहेको यो निरन्तर वृद्धि र व्यवसायीले आफूखुसी मूल्य निर्धारण गरेको गुनासो बढिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अण्डाको मूल्य तोक्ने कुनै स्पष्ट मापदण्ड नभएको स्वीकार गरेको छ । विभागका निर्देशक भरत आचार्यले उपभोक्ताको गुनासोपछि विभाग सचेत रहेको र यस विषयमा उत्पादकसँग छलफल गर्ने तयारी भइरहेको बताए । उनले ‘कार्टेलिङ’को रहेको हुनसक्ने स्वीकार गरे ।
‘कार्टेलिङ गरेको कि भन्ने कुरा नि छ, हैन ? एकपल्ट तपाईंले उठाउनुभएको कुरा पनि ठिकै हो । हामीले पनि एउटा बैठक गर्ने विचार गरेका छौँ,’ उनले भने ।
विभागले अण्डालाई कृषि उपजको रूपमा लिइने भएकाले अधिकतम खुद्रा मूल्य (एमआरपी) नभई ‘मूल्यसूची’ राख्नुपर्ने नियम रहेको बताउँदै खुद्रा पसलहरूमा मूल्यसूची राख्न अनुगमन गर्ने तयारी गरेको जानकारी दिएको छ ।
कुखुरापालक किसानको तर्क ‘लागतमा सुधार मात्र’
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले मूल्यवृद्धिको आरोपलाई खण्डन गरेका छन् । उनले उपभोक्ताले महँगीका रूपमा हेरे पनि यो मूल्यवृद्धि किसानका लागि खुसीको कुरा नभई लामो समयदेखि लागत मूल्य समेत नउठेको विगतको सामान्य सुधार मात्र भएको बताए । उनले दाबी गरेअनुसार दुई महिना अगाडिसम्म किसानले प्रतिगोटा अण्डा १२ रुपैयाँमा बेच्न बाध्य थिए, जबकि सोही समयमा अण्डाको लागत मूल्य १६ रुपैयाँ ५७ पैसासम्म पुगेको थियो ।
‘किसानले नाफा कमाउने हिसाबमा यो बढेको अवस्था होइन,’ उनले भने । पोखरेलले आर्थिक वर्ष २०७५/७६ सालमा करिब ८०० भन्दा बढी अण्डा उत्पादक किसान रहेकोमा अहिले त्यो संख्या घटेर १५० को हाराहारीमा आइपुगेको बताए । उदासीन सरकारी नीति र भारतीय अण्डाको अवैध आयातले नेपाली किसानलाई विस्थापनको अवस्थामा पुर्याएको उनको आरोप छ ।
संघले समर्थन मूल्य (फार्म रेट) मात्र तोक्ने गरेको भन्दै पोखरेलले भने, ‘हाम्रो संगठनले कहिल्यै बढेको मूल्य भनेर मूल्य निर्धारण गर्दैन । किसानको समर्थन मूल्य फार्म रेट यति हुनसक्छ, अहिलेको अवस्था ठीक हो भनेर मात्र भन्छ ।’
उनले यस्तो दाबी गरे पनि संघले तोकेको यही ‘समर्थन मूल्य’ नै बजारमा कार्टेलिङको आधार बन्ने गरेको छ । सोही अनुसार संघले पत्रिकामै छापेर प्रतिगोटा अण्डाको मूल्य तय गर्ने गरेको छ । अध्यक्ष पोखरेलले हालको मूल्यमा किसानले प्रतिगोटा अण्डाको मूल्य १८ रुपैयाँ हाराहारीमा पाउँदा उपभोक्ताले २२/२३ रुपैयाँ तिर्नुपर्ने देखिन्छ । त्यस बिचको फरक यातायात, भण्डारण, बिचौलियाको नाफा र अन्य क्षतिले गर्दा हुने पोखरेलको दाबी छ ।
‘अहिले उपभोक्तालाई मार पर्यो भनिरहँदा किसानले १८ रुपैयाँमा लागत उठाउनुपर्ने स्थिति छ । यस्तो अवस्था आइसक्यो अब धेरै व्यवसायी पलायन हुन्छन्,’ उनले भने ।
सरकारको निरीहपन र किसानको लागत बढेको तर्कले आम अण्डा उपभोक्तालाई भने प्रत्यक्ष असर पर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण