बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी

बिहीबार, १२ भदौ २०८२, १८ : ०७
बिहीबार, १२ भदौ २०८२

सारांश

  • प्रतिनिधि सभाले भदौ १३ गते भूमिसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ।
  • भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र संवैधानिक परिषद्को विधेयक पारित गरिनेछ।
  • भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी छ।

काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विधेयकलाई पारित गर्ने तयारी गरिएको छ ।

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूची निर्धारण गर्न छलफल गरेका थिए । शुक्रबारको बैठकमा भूमीसम्बन्धी विधेयकलाई पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनले भूमीसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए । 

भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाकाअनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ । भदौ १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित सङ्घीय निजामती विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । 

त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी तयारी गरिएको बर्तौलाले जानकारी दिए । 

उनले भने, ‘यो बैठकको विशेष गरी भोलीदेखि यो महिनाभरिको बैठकका कार्यसूची निर्धारणकै सन्दर्भमा हामी बढी केन्द्रित भयौँ । भोलीको बैठक १३ गते भूमिसम्बन्धी विधेयकलाई हामीले कार्यसूचीमा राख्नेछौँ र भोली त्यो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउनेछौँ । पहिलो हामी यो महत्त्वपूर्ण कार्यसूचीमा केन्द्रित हुनेछौँ । भोलीको बैठकमा सम्माननीय प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि कार्यतालिका रहेको छ । त्यसपछि १८ र १९ गते बैठक बस्नेछ । त्यो बिचमा बैठक रहने अवस्था छैन । १८ गते हामी सम्भवतः नागरिकता सम्बन्धी विधेयक पारित गर्छौँ । त्यसैगरी संवैधानिक परिषद्को काम कर्तव्य अधिकार र कार्यविधिसँग सम्बन्धित राष्ट्रपति कार्यालयबाट फिर्ता भएको, त्यसलाई सभामै छलफल गरेर पारित गर्ने गरी कार्यसूचीमा राखेका छौँ । दुई वटा विधेयक १८ गते पारित गछौँ । यदि १७ गते बेलुका राष्ट्रिय सभाबाट सन्देशसहित सङ्घीय निजामती विधेयक फिर्ता आए हामी १८ गते सन्देश टेबल गछौँ । र १९ गते निजामती विधेयक पनि पारित गर्छौँ । त्यसपछि २५, २६ र २७ हाम्रो बैठक हुन्छ । र तीन दिनको बैठकमा अरू केही व्यवस्थापनसँग सम्बन्धित कामहरू गर्छौँ र विशेष गरी शिक्षा विधेयक हामी २६ गते शिक्षा विधेयकलाई पारित गर्ने गरी लैजान्छौँ ।’ 

उनले भदौ महिनामा प्रतिनिधि सभाबाट सङ्घीयतासँग सम्बन्धित महत्त्वपूर्ण रहेका विधेयकहरू पारित हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप