नेपालमा सरुवा रोगको ‘म्याराथन’
सारांश
- नेपालमा डेंगुसँगै जापानिज इन्सेफलाइटिस, हैजा र स्क्रब टाइफस जस्ता सरुवा रोगको प्रकोप बढेको छ।
- जापानिज इन्सेफलाइटिसबाट २० जनाको मृत्यु भएको छ भने हैजाबाट ३ जनाको मृत्यु भएको छ।
- स्वास्थ्य विज्ञहरूले बहुआयामिक र एकीकृत रणनीतिको आवश्यकता औंल्याएका छन्।
काठमाडौँ । नेपालमा डेंगुको बढ्दो सङ्क्रमणबारे सधैँ चर्चा भइरहँदा अन्य घातक सरुवा रोगहरू सुसुप्त रूपमा फैलिरहेको छ ।
जनस्वास्थ्य विज्ञहरू डेंगुसँगै जापानिज इन्सेफलाइटिस (जेइ), हैजा र स्क्रब टाइफसले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको भन्दै यसलाई समग्रमा सम्बोधन गर्ने एकीकृत रणनीति अपनाउनुपर्ने बताउँछन् ।
परिवार कल्याण महाशाखाका अनुसार जापानिज इन्सेफलाइटिसका १०३ केस पुष्टि हुँदा २० जनाको मृत्यु भएको छ । यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मधेश प्रदेशमा हैजाको प्रकोप फैलिएर ५४० सङ्क्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्क्रब टाइफस सङ्क्रमण २ हजार २४ जनामा भएको पाइएको छ ।
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले नेपालमा फैलिएको सरुवारोगलाई ‘म्याराथन’ सँग तुलना गरेका छन् । ‘हाल सरुवा रोग म्याराथनजस्तो भएको छ । कहिले कुन र कहिले कुन अगाडि बढ्ने भन्ने देखिएको छ,’ उनले भने, ‘जनस्वास्थ्य प्रणालीलाई केवल एउटा रोगमा मात्र केन्द्रित नभई बहुआयामिक र एकीकृत रणनीति अपनाउनुपर्ने सन्देश हो यो ।’

प्रायः तराई क्षेत्रमा देखिने जापानिज इन्सेफलाइटिस (जेइ) पहाडी जिल्लामा पनि देखिएको छ । १०३ कुल सङ्क्रमितमध्ये १६ वटा केस भने पहाडी जिल्लामा पत्ता लागेको खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए ।
जापानिज इन्सेफलाइटिसका केस सुरुमा पूर्वी नेपालबाट क्रमशः पश्चिमी क्षेत्रमा फैलिएको उनले बताए ।
सङ्क्रमितमध्ये ५५ प्रतिशतको मुख्य पेसा कृषि रहेको र धेरैजसो केस धानखेत वा सुँगुर फार्म नजिकका बासिन्दामा पाइएको छ, जहाँ रोग फैलाउने क्यूलेक्स लामखुट्टेको बासस्थान हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुलाई प्रथामिकता दिई पूर्व आकलन गरी सोही अनुसारको कार्यक्रम सञ्चालन गरे पनि जापानिज इन्सेफलाइटिसलाई उपेक्षा गर्दा मृत्युदर बढेको छ । मृत्यु भएका २० मध्ये ११ जना पुरुष र ९ जना महिला छन् ।
यसका अधिकांश सङ्क्रमित १५ वर्षभन्दा माथिका छन् भने मृत्यु हुने ८० प्रतिशत ४० वर्षभन्दा माथिका छन् ।

सरुवा रोग विशेषज्ञ डा. पुनले विगत वर्षदेखि नै जेइ रोगको पुनरागमनबारे चेतावनी दिँदै आएको बताए । ‘यो रोग लाग्दा ३० प्रतिशत बिरामीको मृत्यु हुने र बाँचेकामध्ये झन्डै ५० प्रतिशत स्थायी रूपमा अपाङ्ग हुने जोखिम रहन्छ । यसले स्नायु प्रणालीमा गम्भीर असर पार्छ,’ उनले भने ।
जापानिज इन्सेफलाइटिसको खोप अभियान र रोकथाममा थप जोड दिनुपर्ने उनले बताए ।
जापानिज इन्सेफलाइटिस ७ वटै प्रदेशमा देखिएको छ । जिल्लागत रूपमा देशका २८ जिल्लाका ६४ पालिकामा जापानिज इन्सेफलाइटिसका सङ्क्रमित फेला परेको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।
कोशी प्रदेशमा १७ जना सङ्क्रमित हुँदा ३ जनाको मृत्यु भएको छ । मधेस प्रदेशमा १३ जना सङ्क्रमित हुँदा ३ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा १५ सङ्क्रमितमध्ये ४ जनाको मृत्यु भएको छ ।
यसैगरी गण्डकी प्रदेशमा १३ जना सङ्क्रमित हुँदा ३ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३४ जना सङ्क्रमित हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा २ जना सङ्क्रमित छन् भने र सुदूरपश्चिम प्रदेशमा ९ जना सङ्क्रमित हुँदा १ जनाको मृत्यु भएको छ ।
- हैजाको प्रकोप जारी
मधेस प्रदेशमा हैजाको प्रकोप जारी छ । पछिल्लो २४ घण्टामा थप ११५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशभर सङ्क्रमितको संख्या ५४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ६२ नयाँ बिरामी वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका छन् । यस्तै, बाराको कलैया अस्पतालमा हैजाका एक जना नयाँ बिरामी भेटिएका छन्, जसको यात्रा इतिहास वीरगन्जसँग जोडिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले जनाए । उनका अनुसार पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा पनि ८ नयाँ बिरामी भर्ना भएका छन् ।
_bEoPjTGn5A.jpg)
नारायणी अस्पतालमा हैजाका सबैभन्दा धेरै १५८ बिरामीको उपचार भइरहेको छ । त्यसपछि तराई अस्पतालमा ४२ र वीरगन्ज हेल्थ केयर अस्पतालमा २४ सक्रिय बिरामी छन् । २८३ सक्रिय बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् ।
पुरुषमा हैजा सङ्क्रमणको दर बढी देखिएको छ । विशेषगरी १५–२४ वर्ष र ५–१४ वर्ष उमेर समूहका पुरुष बढी प्रभावित भएका छन् ।
सरुवारोग विशेषज्ञ पुनका अनुसार अप्रत्यासित रूपमा देखा पर्ने हैजा सरुवा रोग भएकाले यसको उपचार सरल भए पनि समयमै पहुँच नपुगेमा मृत्युदर उच्च हुने जोखिम रहन्छ ।
‘यसको राम्रो उपचार भनेकै यसलाई रिहाइड्रेसन, जीवनजल अथवा स्लाइन पानी हो,’ उनले भने, ‘यदि समयमै उपचार गरेमा मृत्युदर १ प्रतिशतभन्दा तल झार्न सकिन्छ, तर उपचार नगरे ग्रामीण क्षेत्रमा २५ देखि ५० प्रतिशतसम्म बिरामीको मृत्यु हुन सक्ने खतरा रहन्छ ।’
हैजा सङ्क्रमण भएपछि तत्काल उपचार आवश्यक पर्ने भएकाले स्वास्थ्य प्रणालीको द्रुत प्रतिक्रिया ल्याउनुपर्ने उनले बताए ।
हाल तराई/मधेस क्षेत्रमा हैजाको जोखिम बढेको र लामखुट्टेजन्य रोगहरू डेंगु तथा जापानिज इन्सेफलाइटिसको खतरा पनि कायम रहेको चिकित्सकहरू बताउँछन् । यी सरुवा रोगहरूबाट बच्न व्यक्तिगत सरसफाइ र सावधानी नै प्रमुख उपाय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ट कन्सल्ट्यान्ट डा. विमल चालिसे बताउँछन् ।
- हैजाबाट बच्न के गर्ने ?
– पिउने पानीलाई सकेसम्म उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्ने ।
– पकाएको खानालाई सधैँ छोपेर राख्ने र बासी खानेकुरा नखाने ।
– काँचो खानेकुरा (फलफूल, तरकारी) राम्ररी पखालेर मात्र प्रयोग गर्ने ।
– दिसा–पिसाब जथाभावी नगरी अनिवार्य रूपमा शौचालयको प्रयोग गर्ने ।
– खाना बनाउने र प्रयोग गर्ने भाँडाकुँडाहरूलाई सधैँ सफा राख्ने ।
यस्तै, डेंगु र जापानिज इन्सेफलाइटिस दुवै लामखुट्टेको टोकाइबाट सर्ने रोग हुन् । जापानिज इन्सेफलाइटिसले खासगरी मस्तिष्कमा समस्या गराउन सक्छ भने डेंगुमा सामान्यतया ज्वरो आउने र जिउ दुख्ने जस्ता लक्षण देखिन्छन् । यी रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण