बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नौ प्रश्न

कतिपय पुस्तक साहित्यिक मूल्यभन्दा बढी ‘ट्रेड’मा हिँड्ने ध्याउन्नमा रहेका हुन् कि !

शनिबार, १४ भदौ २०८२, १२ : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • शिक्षण पेशामा आबद्ध जानुका खतिवडाका पाँच कृति प्रकाशित छन्, जसमा उपन्यास, बालकथा र किशोर उपन्यासहरू समावेश छन्।
  • खतिवडालाई रातोपाटीको 'नौ प्रश्न' स्तम्भमा अन्तर्वार्ताका लागि निम्त्याइएको थियो, जसमा लेखनको प्रेरणा, साहित्यिक बजार र कृतिबारे छलफल गरिएको थियो।
  • उनको पछिल्लो कृति 'आतोओडा' लोपोन्मुख समुदायको कथा हो, जसमा उनीहरूको जातीय, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको चित्रण गरिएको छ।

शिक्षण पेसामा आबद्ध जानुका खतिवडाका पाँच कृति प्रकाशित छन्— ‘शून्य’ (उपन्यास, २०७२), ‘असल साथी’ (बालकथा संग्रह, २०७४), कसले चोर्‍यो चकलेट (बाल कथासंग्रह, २०७५), उज्यालोको रङ (किशोर उपन्यास, २०७८) र ‘आतोओडा’ (उपन्यास २०७९) । 

उनै खतिवडालाई आज हामीले रातोपाटीको नौ प्रश्न स्तम्भमा निम्त्याएका छौँ । 

१) तपाईं वास्तवमा किन लेख्नुहुन्छ ?

मलाई अक्षरहरू मन पर्छन् । तिनलाई छर्नु, बटुल्नु र आफूले चाहेको जस्तै आकारमा ढाल्नु निकै आनन्ददायी कार्य हो मेरा लागि । पजलका टुक्रा जोडेर दिइएको चित्र निर्माण गर्न जति रमाइलो हुन्छ नि अक्षरहरू बटुलेर तिनलाई नयाँ आकार दिन मलाई त्यति नै रमाइलो लाग्छ । मैले बटुलेका शब्दहरूले अँध्यारोतिर धकेलिएका, मूल प्रवाहबाट छुटेर किनारामा पछारिएकाहरूको दुरुस्त चित्र उतार्न सके हुन्थ्यो जस्तो लाग्छ अनि लेख्छु । 

२) अन्तिमपल्ट कुन कृति पढ्नुभएको थियो ? यो कृति कस्तो थियो ? यसबारे केही बताइदिनु न । 

मैले यो महिनामा लक्ष्मण वियोगीको ‘सत्यम’ कथा सङ्ग्रह, उमा सुवेदीको ‘परिधि’ उपन्यास र गोविन्दराज विनोदीको ‘अलङ्कार इन्द्रेनी ’ पढेँ । ‘सत्यम’ कथासङ्ग्रह द्वन्द्वकालीन समयको चित्रण, वर्गीय तथा जातीय विभेदजस्ता विषयमा रचित १५ कथा भएको सुन्दर कृति हो । उमा सुवेदीको ‘परिधि’उपन्यास यथार्थको धरातलमा टेकेर स्वैर कल्पनाको उडान भर्ने कलात्मक उपन्यास हो ।

गोविन्दराज विनोदीको ‘अलङ्कार इन्द्रेनी’मा अतिशयोक्ति, अपह्नुति, उत्प्रेक्षा, उपमा, दृष्टान्त, निदर्शना र रूपक गरी सात अलङ्कार शीर्षकका सात अध्याय छन् । प्रत्येकमा सय श्लोक रहेका छन् । ती श्लोकका माध्यमबाट अलङ्कारबारे बुझाउन र प्रयोग कसरी गर्न सकिन्छ भन्ने दृष्टान्त पनि आएका छन् । यो पुस्तक लेखक बन्न चाहने हरकोहीले एकपल्ट पढ्नुपर्छ जस्तो लाग्छ मलाई । आफ्नो भाषालाई विम्बात्मक बनाउन अलङ्कारको प्रयोग गरेर आफ्नो सिर्जनालाई कलात्मक रूप दिन चाहनेले यो कृति पढ्दा फाइदा हुन्छ । 

३) पछिल्लो समयको नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुभएको छ ? हामी कुन दिशातिर गइरहेका छौँ ?

पछिल्लो समयको नेपाली साहित्यिक बजार फराकिलो बन्दै गइरहेको जस्तो लाग्छ । पुुस्तक मेलाहरू, नयाँ प्रकाशन गृहहरूको संख्यामा वृद्धि, अनलाइन बुुक स्टोरहरू र सामाजिक सञ्जालमार्फत प्रचारप्रसारले बजारलाई चलायमान बनाएको छ । थोरै नै सही पठन संस्कृतिको विकासमा पनि केही काम हुन थालेको देखिन्छ । पछिल्लो पुुस्ताका लेखक परम्परागत यथार्थवादभन्दा फरक शैलीको प्रयोग; कथा संरचनामा नवीनता र व्यक्तिगत मानसिक द्वन्द्वको प्रस्तुुतितर्फ आकर्षित भइरहेका छन् । सामाजिक न्याय, लैङ्गिक समानता, पहिचान, प्रवासको पीडा, हिजोको युुद्धले निर्माण गरेका समाजका घाउजस्ता विषयले साहित्यिक बहस ओगटेका छन् । अर्कातर्फ बेस्टसेलर बन्ने होडले साहित्यलाई उपभोग्य वस्तुु बनाएको आलोचना पनि सुुनिन्छ । कतिपय पुुस्तक साहित्यिक मूल्यभन्दा बढी ‘ट्रेड’मा हिँड्ने ध्याउन्नमा रहेका हुन् कि भन्ने चर्चा पनि यदाकदा हुने गरेको पाइन्छ ।  

मैले बटुलेका शब्दहरूले अँध्यारोतिर धकेलिएका, मूल प्रवाहबाट छुटेर किनारामा पछारिएकाहरूको दुरुस्त चित्र उतार्न सके हुन्थ्यो जस्तो लाग्छ अनि लेख्छु ।

समग्रमा भन्नुुपर्दा हामी साहित्यलाई व्यावसायिक बजारमुुखी बनाउनैपर्ने दबाब र साहित्यलाई गहन बौद्धिक सामाजिक विमर्शको क्षेत्र बनाइराख्ने चाहनाबिचको दोहोरीमा गइरहेका छौँ । 

४) यहाँको बुझाइमा आख्यान के हो  ? उपन्यास लेखनमा तपार्ईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ?

कथावस्तु वा कुनै घटनालाई केन्द्रमा राखेर गरिएको गद्यात्मक सिर्जना नै आख्यान हो । मेरो बुुझाइमा आख्यानमा प्रस्तुुत भएको पात्र, समय, स्थान, घटना र वर्णनले पाठकलाई त्यसभित्रको जीवनबोध, अनुुभव र सन्देश प्रदान गर्छ । आख्यान जीवनलाई एउटा दृष्टिकोणबाट बुुझाउने र सुुनाउने माध्यम पनि हो । 

उपन्यास लेखनमा धेरै चुुनौती हुुन्छन् । उपन्यासमा प्रस्तुुत गरिएको पात्र केवल पात्र नभई वास्तविक मानिसझैँ लाग्नुुपर्छ । उनीहरूको मनोविज्ञान, व्यवहार, भाषा, चाहना र दुुःख सबै स्वाभाविक बनाउन ठुुलो मिहिनेत लाग्छ । यसैगरी कथाको प्रवाह कायम राख्नुु, पाठकलाई तानिरहने भाषाशैली, यथार्थ र कल्पनाको सन्तुुलन गर्नुु आदि चुुनौती हुुन् । उपन्यास लेखन केवल कथा लेखन होइन बरु जीवनलाई कलात्मक रूपमा पुुनः सिर्जना गर्ने कठिन अभ्यास हो । 

५) समकालीन नेपाली उपन्यासको अवस्था कस्तो देख्नुभएको छ ? अनि लेख्नका लागि कुन कुराले यहाँलाई सबैभन्दा धेरै झकझक्याउँछ ?

समकालीन नेपाली उपन्यास प्रयोगशील र बहसपूर्ण चरणमा पुुगेको छ । वर्तमान राजनीतिक सङ्क्रमण, युुद्ध विस्थापन, प्रवास, लैङ्गिक असमानता, जातीय–सांस्कृतिक पहिचान लगायत धेरै नयाँ विषय उपन्यासमा समेटिएका छन् । अहिले उपन्यासमा नवीन शैलीको प्रयोग बढिरहेको छ । अहिलेको पुुस्ताले उपन्यासलाई गम्भीर साहित्यिक दस्ताबेज मात्र नभएर मनोरञ्जन र आत्मपहिचान खोज्ने साधनका रूपमा पनि पढ्न थालेका छन् । 

मानिस विस्थापित हुुने अवस्था, नलेखिएका इतिहास, मेरो व्यक्तिगत भोगाइ, जीवनमा भेटिएका मानिसहरू र उनीहरूसँगको गहिरो अनुुभव आदि कुुराले नै मलाई लेख्नका लागि विशेष रूपले झकझक्याउँछन् । 

मैले विद्यार्थीकालमा कलेजको लाइब्रेरीबाट लिएर नयनराज पाण्डेको ‘उलार’ पढेकी थिएँ । यो कृतिले समाजलाई हेर्ने मेरो दृष्टि नै बदलिदिएको थियो ।

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ?

मैले अघि नै भनेँ, अक्षरहरू मेरा साथी हुन् । यीसँग खेल्न मलाई असीम आनन्द लाग्छ । म लेखनमा बिस्तारै कछुवाको गतिमा हिँड्दै छु । अहिलेसम्म मैले जे जति लेखेँ, त्यसबाट मैले केही पाठक कमाएँ, केही शुभचिन्तक र केही आशीर्वाद कमाएँ होला तर लेखेर केही गुमाएको छैन । 

७) यहाँको पछिल्लो कृति ‘आतोओडा’मा त्यस्तो के छ, यो कृति पाठकले किन पढ्ने ? 

आतोओडा ओझेलमा परेका समुदायको आवाज उठाउने कृति हो । यसमा पूर्वी नेपालमा बसोवास गर्ने लोपोन्मुख जाति (सन्थाल)को जातीय, सामाजिक, सांस्कृतिक आर्थिक–राजनीतिक अवस्था र मनोविज्ञानको चित्रण गरिएको छ । मूलधारमा प्रवाहित हुन नसक्नेलाई राज्य र समाज व्यवस्थाले कसरी किनारामा हुत्याएर गएको छ भन्ने विषयलाई उठान गरिएको हुनाले यो कृति पहिचानको पक्षधर तथा सांस्कृतिक विषयमा रुचि हुने पाठकका लागि उपयोगी हुन सक्छ । त्यसैले पढ्नुपर्छ  । 

८) तपाईंलाई झकझकाएको एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुनलाई सम्झिनुहुन्छ, किन ?

मैले विद्यार्थीकालमा कलेजको लाइब्रेरीबाट लिएर नयनराज पाण्डेको ‘उलार’ पढेकी थिएँ । यो कृतिले समाजलाई हेर्ने मेरो दृष्टि नै बदलिदिएको थियो । आञ्चलिकताको स्वाद बोकेको यस कृतिमा वर्गीय द्वन्द्वका साथै सीमान्तकृत वर्गको कथा बुनिएको छ । कसरी उपल्लो वर्गका मानिसले धकेल्दै धकेल्दै सीमान्तकृतहरूलाई भित्तामा पुर्‍याउँछन् भन्ने विषयलाई उठान गरिएको यो कृति पढेपछि मैले आफ्ना वरिपरिका यस्तै मानिस र विषयको अध्ययन गर्न थालेकी हुँ । 

९) आखिर जिन्दगी के रहेछ ? 

मेरो विचारमा जिन्दगी पहिले नै अन्त्यको कल्पना गरेर लेख्न थालेको एउटा अधुरो कथाजस्तै हो । अन्त्य त सबैलाई थाहा छ । यसको नायक पनि व्यक्ति स्वयं हुन्छ तर सम्पूर्ण कथानक भने उसको वशमा हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप