बाँझिएको जमिन फाँडेर रहरलाग्दो कागतीखेती
सारांश
- स्याङ्जाका एक युवाले व्यावसायिक रूपमा कागतीखेती सुरु गरेका छन्, जसबाट उनले राम्रो आम्दानी गरिरहेका छन्।
- कोरोना महामारीको लकडाउनको समयमा कागतीखेती सुरु गरेका उनले गत वर्षबाट उत्पादन लिन थालेका हुन् र यस वर्ष उत्पादन दोब्बर बढेको छ।
- उनले वालिङ बजारका होटलहरूमा कागती बिक्री गर्दै आएका छन् र आगामी दिनमा थप बोट रोप्ने योजना बनाएका छन्।
स्याङ्जा । स्याङ्जाका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन् ।
विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन् । उनले गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए ।
कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गर्नुभएका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ । “बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ”, उनले भने “त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु ।”
खेतीपाती नभएपछि बाँझिएको जमिनलाई फाँडेर उनले गाउँमै पहिलोपटक व्यावसायिक रूपमा थालेको कागतीखेती आज नमूनाका रूपमा रहेको छ । कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए ।
“एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर बढी हुँदै गएको छ ।” झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्नुभएका रेग्मीले गत वर्षमात्र झण्डै रु ६० हजारको कागती बिक्री गरेका थिए ।
यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ । उनले कागती प्रतिकेजी रु दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आएका छन् । “यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन”, उनले भने, “कागती व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु ।”
खाली तथा बाँझिएको जमिनमा अझै नयाँनयाँ बोट थप्दै जाने योजनामा उनी छन् । गाउँमा व्यावसायिक रूपमा उनले कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण